- सुपेन्द्र बस्नेत
दशैं आयो, खाउँला पिउँला ।
कहाँ पाउँला – चोरी ल्याउला ।
धत्त पापि म त छुट्टै बसौंला ।।
निकै महत्पूर्ण सन्देश बोकेका यि हरफहरुमा भाखा हालेर बाल्यकालमा खुबै खेलिन्थ्यो। नेपालीहरुको महान चाड बडा दशैं नजिकिन थालेपछि यो निकै प्राथमिकताका साथ गुन्जिने गर्दथ्यो। जो आजसम्म पनि प्राथमिकताका साथ स्मरण गरिने गरिन्छ। र, निरन्तर गुन्जिनै रहेको छ।
वर्षा ऋतु समाप्ति पछि जब सरद ऋतुको आगम हुन्छ। तब, बिहानी पख हल्का हुस्सु लाग्न थालेर चिसोको अनुभूति हुन्छ। दिउँसो पारिलो घाम लागेर घमाइलो र आकाश खुलेर रमाइलो देखिन थाल्छ। गाइने किरा (फिरफिरे) हरुको आगमन, झ्याकिरीहरुको झ्याउ झ्याउ, बिहानी पख चराको चिरबिर, बत्तिमा पुतलीहरुको आकर्षण आदि इत्यादिले नेपालीहरुको महान चाड बडा दशैं आएको सन्देश दिन्छ।
यतिबेला स्वदेशमा रहने नेपालीलाई मात्र हैन, विदेशमा रहने नेपालीहरुलाई पनि नेपालीहरुको महान चाड ‘बडा दशैं’ ले मज्जाले छोइसकेको छ। हिन्दु धार्मिकग्रन्थ अनुसार, रामले रावरणको र महादुर्गा भवानीले महिसासुर राक्षसको बध गरेको खुशीयालीको महाउत्सव हो यो बडा दशैं। जसलाई असत्य माथि सत्यले विजय प्राप्त गरेको महत्वपूर्ण क्षणका रुपमा स्मरण, चर्चा, चित्रण र पूजन गर्ने गरिन्छ। यस अर्थमा धार्मिक दृष्टिकोणले बडा दशैंको मूल मर्म शक्ति र सत्यको पूजा, अर्चना, साधना र आराधन हो।
सामाजिक, साँस्कृतिक ,परम्परा, चालचलन र रहनसहनका दृष्टिकोणले बडा दशैंलाई पारिवारिक मिलन, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, एकता, पहिचान र मनोरञ्जनको एक महान महोत्सवको रुपमा चित्रण र व्याख्या पनि गर्न गरिन्छ।तर, मुलत: बडा दशैंको मूल मर्म धार्मिक क्रियाकलाप, आस्था र विश्वासमा नै केन्द्रिकृत रहेको छ। हिजोआज यस महान पर्वलाई ‘विजयादशमी’ भनेर सम्बोधन गर्ने, चिन्ने, चिनाउने, व्याख्या गर्ने र सोही अनुसार मनाउने गरेको पाइन्छ।
खास गरी सामाजिक सञ्जालहरु र सञ्चार माध्यमहरुमा जानेर वा नजानेर यस महान चाडलाई ‘बडा दशैं’ को सट्टा प्राथमिकताका साथ ‘विजयादशमी’ मात्र भनेर सम्बोधन गर्दै शुभकामना आदानप्रदान गरिरहेको देखिन्छ। जसले नजानिदो ढंगले बृहत महिमा, गरिमा र महत्व बोकेको चाडलाई संकुचित र कुन्ठित गरिरहेको छ।अझ भनौं चाडको मूल मर्मलाई नै ओझेलमा पारिरहेको छ। हिन्दु धार्मिक पात्रो अनुसार सोह्र श्राद्ध (भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी) सम्मका १६ तिथि समाप्त भएर नौरथा प्रारम्भ भएसंगै बडा दशैं शुभारम्भ हु्न्छ। मुलत: जमरा राख्ने दिन घटस्थापनादेखि टिका लगाउने दिन दशमीसम्मको दश दिनलाई बिषेश मानिन्छ। यद्यपि, पूर्णिमाको दिनसम्म दशैंको टिका लगाएर हर्षोल्लास मनाउने चलन छ।
हिन्दु धर्मग्रन्थ अनुसार आश्विन शुक्लपक्षको प्रतिपदा अर्थात घटस्थापनादेखि नवमीसम्मको हरेक दिन नवदुर्गाको भिन्न भिन्न स्वरुपले दशैंको क्षेत्र बृहद रहेको पुष्टि गर्दछ। धार्मिकग्रन्थका अनुसार महिसासुर लगायतका दानवहरुको बध गर्ने अभियानका क्रममा नौं रुप धारण गरेको विश्वास गरिन्छ। त्यसैले दुर्गालाई नवदुर्गाका नामले पनि पुकारिने गरिन्छ।
यसरी धार्मिक ग्रन्थ अनुसार हरेक दिन(नौ दिन) र असत्य माथि सत्यको विजय प्राप्त भएको दशमीको दिन, जसलाई विजयादशमी भनेर पुकारिन्छ, सहितलाई समेटेर संयुक्त रुपमा ‘बडा दशैं’ भनेर सम्बोधन गरिनु पर्दछ। नकि ‘विजयादशमी’ मात्र । तब मात्र यो बृहत चाडको यथार्थ मर्म, महत्व, गरिमा र महिमा दर्शाउन र बचाउन सकिन्छ । जसलाई पुष्टि गर्न नवदुर्गाको नौं रुप, त्यसको शक्ति, भूमिका र महत्वलाई यसरी उल्लेख गरिएको पाइन्छ ।
१) शैलपुत्री – हिमालय पर्वतकी पुत्रीको रुपमा उत्पन्न ६ वटा हात भएकी नवदुर्गाको पहिलो रुपलाई शैलपुत्री भन्ने गरिन्छ। जसको हातहरु शंख, चक्र, गधा, पध्म, त्रिशुल र डम्बरुले सुशोभित भएका हुन्छन्। महिसासुर सहित दानवहरुले देवगण माथि अति नै अत्याचार गरेपछि दानवहरुको नष्ट गरेर देवगणको रक्षा गर्ने महाअभियान सफल पार्न आफ्नो रुपधारण गरेकी नवदुर्गाको पहिलो रुप हो यो। सोही अनुसार यस दिन उनको पूजा, अर्चना र साधना गर्ने गरिन्छ।
२) ब्रम्हचारिणी – नवदुर्गाको दोस्रो रुपलाई ब्रम्हचारिणी भनिन्छ। यो पाँचवटा हात भएकी ब्रम्हचारिणी शंख, चक्र, गधा, पध्म, जपमाला तथा अमृतले भरिएको अमृतघडाले सुशोभित रुप हो। जो उनको ध्यान जपको रुप हो। शास्त्र अनुसार, नव दुर्गा महिसासुरको वध गर्नु उचित हो वा होइन ? भन्ने यकिन गर्नका लागि आत्मज्ञान प्राप्त गर्न यो रुप धारण गरी ध्यान जपमा लिन भएकी विश्वास गरिदै आइएको छ।
३) चन्द्रघण्टा – चार हातमा शंख, चक्र, गधा र पध्म बोकेकी र मस्तकमा घण्टा आकारको अर्ध चन्द्र रहेको नव दुर्गाको तेश्रो रुप चन्द्रघण्टा हो।शास्त्र अनुसार, घण्टालाई सञ्चार र चन्द्रलाई फैलाउनुको रुपमा अर्थ्याइएको पाइन्छ। यस दिन सोही अनुसार दुर्गाको पूजा, अर्चना, आराधन र प्रार्थना गर्ने गरिन्छ।
४) कुष्माण्डा – दुर्गा भगवतीको चौथो रुप कुष्माण्ड हो। महिसासुरको बध गर्ने अभियान अन्तरगत ब्रम्हाण्ड उत्पन्न गर्नका लागि उनले यो रुप धारण गरेको मान्यता रहेको छ। आफ्नो मुस्कानबाट ब्रम्हाण्ड उत्पन्न गरेकी हुनाले यिनलाई कुष्माण्डा भनिएको हो। देवीले महिसासुरलाई यस रुपले आफ्नो बसमा ल्याएकी थिइन्। जसलाई शक्तिशालिनी तथा शान्तिदायनी रुप पनि भन्ने गरिएको छ। नवरात्रको यस दिनलाई शक्ति पूजाको विशेष दिन पनि मानिन्छ ।
५) स्कन्दमाता – देवताका सेनापति स्कन्द कुमारकी माताको रुपलाई स्कन्दमाता भनिन्छ।दुर्गाले यस रुप धारण गरेर सत्यका लागि असत्यका विरुद्ध लड्न सेना तयार पारेको कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ ।
६. कात्ययानी –दुर्गाको छैटौं रुपलाई कात्ययानी भनिन्छ। कात्ययानले घोर तपश्या गरेर दुर्गालाई छोरीको रुपमा प्राप्त गरेकाले यस रुपलाई कात्ययानी भनिएको पाइन्छ। महिसासुरले आफ्नो मृत्यु जल, थल र वायु कहि पनि हुन नसकोस् ।र, कुनै पनि हतियारबाट नहोस् भनि बिष्णुबाट बरदान पाएका थिए। जसले गर्दा उनको बध गर्न असम्भव झै थियो। यस्तो निकै गम्भीर अवस्थालाई दुर्गामाताले यही रुपमा गहन चिन्तन मनन गरेर उसको बध गर्ने सही उपाय पहिचान गरेको विश्वास गरिन्छ ।
७) कालरात्री – यो दुर्गाको सातौं रुप हो। यो रुपमा दुर्गाको दाँयापट्टि ५ र बाँयापट्टि ४ हात रहेका छन्। उनको यस रुपको बाँया हातमा मुसल र दण्ड र दाँया हातमा त्रिशुल र तरवार सुशुजित छन्। देवीको यस अद्भुत शक्तिको कालरात्री स्वरुपलाई विनाशिनी पनि भनिन्छ । देवीले यस रुपमा महिसासुरलाई आफ्नो काखमा राखेर नङको सहायतामा पेट चिरेर बध गरेकी थिइन्। जसलाई असत्य माथि सत्यको विजय भएको विश्वास गरिन्छ।
यसै विश्वासका कारण देवीको असत्यमाथि सत्यको विजय अभियान सफल भएको दिन भन्दै देवीको पूजनीय कर्मको सम्मान स्वरुप बली दिने प्रचलन चलिआएको मानिन्छ। जस अनुसार सप्तमीदेखि महाअष्टमीको दिनसम्म राँगा, बोका, भाले, हाँस, भेडाहरुको बली दिने प्रचलन छ। हिंसा गर्न नचाहनेहरुले भने घिरौँला, लौंका जस्ता तरकारीका कैडालाई पशुको स्वरुप दिएर बली दिने प्रचलन पनि छ।अहिंसावादीहरुले भने नवदुर्गालाई कदर स्वरुप नरिवल चडाउने गरेको पाइन्छ।
८) महागौरी – धर्मशास्त्रले नवदुर्गाले महिसासुरको बध गर्ने महाअभियानमा सफलता प्राप्त गरिसकेपछि आफ्नो आठौं रुपमा सबै बस्त्र तथा पहिरण सेतो धारण गरेको बताएको छ। शास्त्र अनुसार यस रुपमा उनले महिसासुर लगायतका दानवहरुको शरिर कुहाउने र उनीहरुलाई शान्ति दिलाउने काम फत्ते गरेको विश्वास गरिन्छ ।
९) सिद्धिधात्री – नव दुर्गाको अन्तिम रुप सिद्धिधात्री हो। यस रुपमा देवी दुर्गा बाँया हातमा अमृतघडा र दाँया हातमा स्वस्तिक तथा कमल र लिएकी छिन्। देवीले यस रुपमा यस अणिमा, महिमा, गरिमा, लधिमा, प्राप्ति, प्राकम्प, इशित्व र वशित्व नाम भएका आष्ट सिद्धि दिन सक्ने विश्वास गरिन्छ। नवमीको दिन शक्तिपीठ तथा देवीको पूजा, अर्चना, साधना र आराधना गर्नाले देवीको शक्ति र सिद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यहि विश्वासका आधारमा हिन्दु धर्मावलम्वीहरुले यस दिन माता नवदूर्गा भवानीको पूजा, अर्चना, साधना र आराधना गर्ने गर्दछन्।
बडा दशैंको दशौं दिन (जसलाई ‘विजयादशमी’ भन्ने गरिन्छ) लाई विजयोत्सवको मुख्य दिन मानिन्छ । यो दिन देवताले दानव माथि अर्थात सत्यले असत्यमाथि विजय प्राप्त गरेको विजयोत्सव मनाउने हर्षोल्लासको दिन हो। यो दिन नव दुर्गा दानवी शक्तिमाथि र भगवान रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा हर्षोल्लासका साथ खुसीयाली मनाउदै नव दुर्गा भवानी र भगवान श्री रामको पूजा, अर्चना, आराधन, साधना र प्रार्थना गर्दै विजयको प्रसाद ग्रहण गर्ने गरिन्छ।
जस अनुसार, निधारमा विजयको प्रतिक रातो अबिरमा मुछिएको अक्षताको टिका र घटस्थापनाका दिन अर्थात नव दुर्गाले महिसारसुरलाई बध गर्ने अभियान फत्ते गर्न पहिलो रुप धारण गरेको दिन राखिएको जमरा शिरमा लगाउने चलन छ। यो नेपाली पात्रो अनुसार हरेक वर्ष आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिमा पर्दछ। यस दिन एक आपसमा उत्तरोत्तर प्रगति उन्नति, आरोग्य र दिर्घायुको कामनासहित शुभकामना आदानप्रदान गर्नुका साथै आफन्तजन, नातेदार, नाता कुटुम्ब, गुरु, मान्यवरहरुको हातबाट टिका तथा जमरा, दक्षिणा ग्रहण गर्दै अमुल्य गआशिर्वाद लिने प्रचलन चलिआएको छ।
बडा दशैंमा टिका लगाउदा पुरुषलाई दिने आशिर्वाद यस प्रकार रहेको छ :
“आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।”
यसको अर्थ हो :-
द्रोणपुत्र अस्वत्थामको जस्तो लामो आयु अर्थात दीर्घायु होस्। दशरथ राजाको जस्तो धनसम्पति होस् । भगवान रामको जस्तो शत्रु नाश होस् । नहुष राजाको जस्तो ऐश्वर्य होस् । पवनसुत हनुमानको जस्तो गतिशिलता होस्।दुर्योधनको जस्तो मान होस् । सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस्।हलधर बलरामको जस्तो बल होस् । कुन्ती पुत्र युधिष्ठरको जस्तो सत्यवादिता होस्।विदुरको जस्तो ज्ञान होस् । भगवान नारायणको जस्तो कृति वा प्रशिद्धि होस् ।
महिलालाई दिइने आशिर्वाद यस प्रकार रहेको छ :
“जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।”
यसको अर्थ हो:-
जयंती देवीको जस्तै महेश्वरीको रूप र विजयशलिनी होस्। मंगला देवीको जस्तो स्वतन्त्र ,मुक्ति देवीको रूपमा प्रसिद्दि होस्।काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनु।भद्रकालीको जस्तै भद्र, खुशी, मंगल हुनु।कपालिनी देवीको जस्तो दुश्मनहरूका लागि भयानक हुनु।दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु। क्षमाकी देवीले जस्तै क्षमा दिनु।शिव देवी जस्तै कल्याणकारी र सर्वशक्तिमान हुनु।धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु। स्वाहा देविले जस्तै हरेक यज्ञ र दानपुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दानपुण्यको संकल्प लिनु।
बडा दशैंको बृहत गरिमा, महिमा र महत्वका कारण टिका, जमरा, प्रसाद, आशिर्वाद र दक्षिणा ग्रहण गर्ने कार्य, पूर्णिमाको दिनसम्म गर्ने गरिन्छ। वर्ष दिनमा एक पटक विषेश र भव्य रुपमा मनाइने यस महान चाडलाई थप रौनक र हर्षोल्लासमय बनाउन शक्तिपीठहरुको दर्शन तथा पूजा आराधन गर्नुका साथै आफन्तजनहरुसंग भेटघाट गर्ने,
नयाँ नयाँ बस्त्रहरु लगाउने, मिष्ठान्न भोजन गर्ने गराउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती, चोक चौतारो, मठमन्दिर सरसफाइ तथा रंगरोघन गर्ने, पिङ खेल्ने, चङ्गा उडाउने, जस्ता क्रियाकलापहरु पनि गरिन्छ।यस अर्थमा ‘बडा दशैं’ धार्मिक ,साँस्कृतिक, सामाजिक , पारिवारिक , शैक्षिक, ज्ञान, पहिचान, परम्पार, रितिरिवाज, एकता, उत्सव आदिका दृष्टिले बहुआयामिक महान चाड हो।
यसरी घटस्थापनादेखि नवमीसम्म नव दुर्गाको नौं रुपको पूजा, अर्चना, आराधना, प्रार्थना र उपासना गर्ने र दशमीका दिन टिका, जमरा, प्रसाद, दक्षिणा र आशिर्वाद ग्रहण गर्दै हर्षोल्लासका साथ बृहत रुपमा मनाइने चाड भएकाले यो चाडलाई केबल ‘विजयादशमी’ मात्र नभनेर महान चाड ”बडा दशैं” कै नामले पुकारेर चाडको मूल मर्म अनुसार बृहत् रुपमा मनाउदै धार्मिक विधि र परम्पराको अनुसरण गर्ने, प्रचारप्रसार गर्ने, शुभकामना आदानप्रदान गर्ने, चर्चा परिचर्चा गर्ने, प्रवर्धन गर्ने र संरक्षण गर्ने गर्नु अपरिहार्य छ। नेपाल र नेपालीको सक्कली पहिचान पनि हो। यसर्थ, यस महान शुभ घडिमा सबैलाई यही नै अपिल गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ! असत्य माथि सत्यको विजय प्राप्त गर्न आवश्यक शक्ति मिलोस् ! नव दुर्गा भवानीले सबैको कल्याण गरुन् !
हेटाैडा मकवानपुर हाल अमेरिका बोष्टन (vishwanews.com बाट)
मकवानपुर । नेपालीहरुकाे महान चाड दशैंको सातौ दिन फुलपाती पर्व आज घरघरमा फूलपाती भित्रयाइदै छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्वमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइने गरिन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले चिनिने फूलपाती नौवटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ।
केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुने धर्मशास्त्रमा बर्णन गरिएकाे छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने धर्मशास्त्रविद् रामचन्द्र आचार्य फुर्सदी बताउँछन् ।
आज हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । यस वर्षको फूलपाती आज अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम रहेको छ । यसैगरी देशभरका शक्तिपिठहरुमा समेत फुलपाती भित्र्याउने गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।
प्रदेश २ को गाउँ गाउँमा दसैंको बेला झिझियाको निकै आकर्षण देखिएको छ । पूर्णतान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महरूव रहेको छ । दसंैमा देवीको स्तुतिका रूपमा यो नृत्य गरिने गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गरिने गरिएको जनविश्वास रहेको छ ।
यसको बनावट र स्वरूपभित्र जादु, टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैंटो त्यसकै नमुना हो । टाउकोमा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसमा निहित विशेष अर्थलाई संकेत गर्दछ । महिलाको टाउकोमा राखिएको घैंटोको प्वाल कुनै बोक्सीले गन्न सफल भएमा नाच्ने महिला ठहरै हुने जनविश्वास रहेको छ । त्यसै कारण सो घैंटो टाउकोमा राखी जादु टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रूपमै नृत्य गरिने गरिन्छ ।
झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । त्यो विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकोमा घैंटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अद्भूत वातावरणको निर्माण हुन्छ । नृत्यसँगै गाइने सो गीतमा बोक्सीलाई गाली गरिनुका साथै धम्की समेत दिइने गरिन्छ । बोक्सीको अनैतिक शक्तिको प्रभाव सो गालीले कम हुने गरेको तथा सन्ततिको सुरक्षा हुने जनविश्वास रहेको संस्कृतिविद् डा. रेवतीरमण लाल बताउँछन् ।
महिलाको टाउकोमा राखिएको घैंटोको प्वाल गन्न कुनै बोक्सी सफल भएमा नाच्ने महिला ठहरै हुने जनविश्वास रहेको छ । त्यसैले सो घैंटो टाउकोमा राखी जादु टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रूपमै नृत्य गर्ने गरिन्छ

झिझिया लोकनृत्य धनुषालगायत महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सासहितका जिल्लामा गर्ने गरिन्छ । यो नृत्य भारतीय मिथिला क्षेत्रमा पनि प्रस्तुत गरिन्छ । झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो, जसमा बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैंटो टाउकोमा राखी नृत्य गर्ने गरिन्छ ।
झिझियाको सुरुवात
मिथिलामा झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । घैंटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैंमा साहस र कलाको अलौकिक प्रर्दशन झिझिया नृत्य हो । समाज रूपान्तरणसँगै लोकनृत्य गायब हुन थालेका छन् । तैपनि गाउँघर तथा सहर बजारमा यसलाई जीवित राख्न भए पनि बर्सेनि झिझिया नृत्यको आयोजना गरिँदै आएको छ । तराईका विभिन्न क्षेत्रमा समय समयमा बोक्सी प्रकरणका घटना सुनिँदै आएको छ । कानुनले त्यस्ता प्रकरणलाई असत्य भन्दै बोक्सीको आरोप लगाउनेलाई नै सजाय दिइने नेपालमा कानुनी व्यवस्था छ । सजायको कानुनी व्यवस्था भए तापनि बोक्सीको घटनामा कमी आएको पाइँदैन । समाजमा बोक्सीको उपस्थिति रहेको भन्दै सातौं वा आठौं शताब्दीतिर बोक्सीविरुद्ध प्रतिकार गर्ने उद्देश्यले एउटा अनौठो नृत्यको प्रदर्शन गर्दै झिझिया नृत्यको सुरुवात गरिएको इतिहासकार बताउँछन् । गाउँघरमा ती झिझिया नृत्यले निरन्तरता पाइरहँदा सहरबजार समेत झिझिया नृत्यबाट अछुतो रहन सकेको छैन । जनकपुरधाममा अहिले प्रत्येक राति समूह समूहमा महिलाहरू झिझिया नृत्य गरिरहेको सहजै देख्न सकिन्छ । दसैंको समयमा विभिन्न क्लबकै पहलमा झिझिया नृत्यको आयोजना गरिने गरिएको पाइन्छ ।
घैंटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैंमा साहस र कलाको अलौकिक प्रर्दशन झिझिया नृत्य हो । समाज रूपान्तरणसँगै लोकनृत्य गायब हुन थालेका छन् । तैपनि गाउँघर तथा सहर बजारमा यसलाई जीवित राख्न भए पनि बर्सेनि झिझिया नृत्यको आयोजना गरिँदै आएको छ
उद्देश्य
समाजमा प्रचलित जनविश्वासअनुसार गाउँकी डाइन (बोक्सी) महिला जादुमन्त्र सिकेर, त्यसको सिद्धिका लागि गाउँका जन्मजात बालबालिकालाई टुनामुनाद्वारा मारेर श्यमशानमा त्यही मरेको बच्चालाई जिउँदो पारी नांगै नृत्य गर्ने गर्छन् । दसैंको समय बोक्सीको सिद्धि प्राप्त गर्नका लागि उचित समय भएकाले बोक्सीका घटना दसैंको समयमा बढी संख्यामा हुने गरेको पाइएको छ । घटनामा वृद्धि हुन थालेपछि महिलाहरूले नै एउटा धार्मिक, सांस्कृतिक अनुष्ठानको सुरुवात गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्ने बोक्सीको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोकनृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको छ । आफ्ना साखासन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको मुख्य उद्देश्य रहेको छ ।
यसको अर्को उद्देश्य दसैंको समयमा देवी दुर्गालाई रिझाउनु पनि रहेको छ । झिझिया नृत्य गर्दै गाइने गीतमा बोक्सीलाई गाली गर्नुका साथै भगवती दुर्गाको स्तुति गरिएका अत्यन्त मोहक गीत पनि गाइन्छ । त्यसमा प्रत्येक दसैंमा आफ्ना खास सवारीसाथ आउने भगवतीको शृंगार डोलीमा सवारी र कामख्याको गन्तव्यको सजीव चित्रण गरिएका गीतहरू गाइने गरिन्छ ।
नृत्य पूर्वको तयारी
झिझिया नृत्य प्रारम्भ गर्नुपूर्व तयारी हुने गर्छ । एउटा वा दुईटा स्वच्छ घैंटो किनेर त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ । घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । त्यसमा मट्टितेल हालेर बालिन्छ । त्यसपछि टाउकोमा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । तर, टाउकोमा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ । अर्थात् बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा छेकबार गरिन्छ ।
सभ्य गुरुक बन्दे पाऊँ । बजर केवाडी ।
बजर बान्हो दशो दुआरी ।
मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो ।।
यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकोमा आगो बलिरहेको घैंटो राखेर बिना हातको सहारा लिई नाच्दै ब्रह्मस्थानमा पुगेर सबैभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् । ब्रह्मस्थानमा नृत्य गरे लगत्तै झिझियाको औपचारिक रूपमा सुरु हुन्छ । त्यसपछि घर–घरमा गएर नृत्य देखाउने परम्परा रहेको छ । प्रत्येक घरबाट पूर्णाहुतिका लागि अन्न रुपैयाँ चन्दा माग्ने गर्छन् । त्यही मागिएको रकम जोडेर विजया दशमीको दिन पूजापाठ, भोजभतेर र प्रसाद वितरण गरिन्छ अनि झिझिया लोकनृत्य बिसर्जन हुन्छ ।
नृत्यको सबल पक्ष गीत
झिझिया नृत्यको सबभन्दा सबल पक्ष सो नृत्यमा गाइने गीत नै हुन् । झिझिया नृत्यमा पनि दुई खाले गीत हुन्छन् । पहिलो त देवी स्तुति र दोस्रो बोक्सीलाई गाली गर्ने तथा धम्क्याउने गीतहरू हुन्छन् ।
लील रंग डालीया, सबुजेंग ओहरिया ।
मैयागे भिडी गेलाह बत्तिसो कहार ।
कमरुआ देश मैआ कब जइहे गे ।।
बोक्सीहरू भर्खरै मृत्यु भएका बालकलाई चिहानबाट झिकी उसलाई जिउँदो पारेर नांगै नाच्ने गरेको जनविश्वास पाइन्छ । जो बालक उसकै टुनामुनाद्वारा मारिएको हुन्छ ।
बरहमके पछुआरिए डैनियां
मत करिहें शृंगार गे बमेलेल आरती
दहिने तरुआरी गे
नचैत नचैत गेले डैनियां
सीमा ओइ पार गे सँगे सँगे गेलौ डैनियां
राजा कोतवाल गे देख लेलकौ खागै डैनियां नंटे उघार गे ।।
यो झिझियाको गीतको मध्यमबाट बोक्सीलाई गाली गरिने गरिन्छ ।
कोठाके उपर डैनिया, खिडकी लगैले ना,
खिडकी ओत्ते डैनिया, गुनावा चलैले ना ।
आगे किछु होएतौ डैनिया, गदहा पर चढैवौ
गदहा चढाए डैनियां नमुहां हसैबौ ना ।।
बोक्सीलाई धम्काउने काम पनि गीतकै माध्यमबाट गरिन्छ । खबरदार, यदि तिमी झयाल पछाडिबाट टुनामुना गरी जादु चलायौ भने तिमीलाई गधामाथि चढाएर गाउँमा घुमाउँछौ र नाम बदनाम गराउँछौ यो गीतको अर्थ हो ।
समाजमा बोक्सीलाई कतिसम्म घृणित मानिन्छ भन्ने यो कुरा यो गीतको बोलबाट स्पष्ट हुन्छ ।
डैनिया बेटा मरल पडल है,
अन्हार घर झिझडी ।
कोइ नै बाँस कटबैया है
अन्हार घर झिझडी ।।
यो गीतको बोलको अर्थ घरमा बोक्सीको छोरा मरेको छ, बाँस काट्नेसम्म कोही छैनन् भन्ने हो ।
मैथिलीका वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमलले झिझिया गीतको एउटा अर्को पाटो पनि छ र त्यो मनोरञ्जनात्मक र व्यंग्यात्मक शैलीको पाटो हो भनी बताउनु भयो । झिझिया नृत्य देखाउँदै गाउँका भद्रभलादमी कहाँ जाँदै गर्दा पूर्णाहुतिको लागि चन्दा पनि माग्ने चलन छ । दलानमा पुग्दापुग्दै गीत गाउनेहरुरू गाउँछन् :
जाबे भैया सुनलनि, झिझियाके अबैया
ताबे भैया ठोकलनी केवार ।।
अर्थात् जब झिझिया टोली आउने सुइँको दाइले पाउनुभयो आप्mनो घरको ढोका बन्द गर्नुभयो । यस स्थितिमा घरपट्टिबाट अवश्य पनि केही न केही चन्दा दिने गर्छन् ।
एक डिबिया तेलला झिझिया रुसल जाइ छै ।
दू महला के कोन सिंगार ।।
अर्थात् एउटा दियो बराबर तेल दिन नसकेपछि झिझिया रिसाएर फर्कदा यो घरको के अर्थ ।
समाजमा प्रचलित यो झिझिया गीतले सामाजिक अन्धविश्वासलाई प्रस्ट्याउँछ । यद्यपि, गाउँटोलका महिलाले आफ्नो पारिवारिक शान्तिको कामना गर्दै हिन्दुहरूको महान् चाड दसैंताका झिझिया नाच नाच्ने परम्परा रहेको छ । परम्परागत लोकविश्वासमा आधारित कैयौं यस्ता लोकगीत लोपोन्मुख अवस्थामा रहेका छन् । सामाजिक संस्कारमा रहेको अन्धविश्वासप्रति छाया दर्साउने यस किसिमका लोकगीतलाई समेत सांस्कृतिक दृष्टिले जगेर्ना गर्नुपर्ने आवश्यकता देखिन्छ ।
सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष एवं सांसद रामअशीष यादवले लोकसंस्कृतिको जीवन्त प्रस्तुति झिझिया नृत्य संस्कृतिको निरन्तरता कि अन्धविश्वास उखेल्न गाह्रो भएको बताउँछन् । उनले कलालाई रूपान्तरण गर्ने आवश्यकता रहेको बताए ।
दसैंको समयमा प्रस्तुत गरिने झिझिया नृत्यले दर्शकलाई मनोरञ्जन प्रदान गर्न सामथ्र्यवान् रहेको पाइन्छ । ५ वर्षका बालबालिकादेखि लिएर तरुणी र अधबंैसेसम्म यस नृत्यमा सहभागी हुने गर्छन् । उनका अनुसार टाउकोमाथि राखिएको घैंटो र त्यसमाथि उज्यालो दिइरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैंमा एउटा ठूलो कलाको प्रदर्शन गर्नु हो ।
सुन सुन गे डैनिया कदमतर तोरा बेटाके खेबौ ब्रह्मतर बोक्सीलाई आधार मानेर यस संस्कृतिलाई निरन्तरता दिनु अन्धविश्वासबाहेक अरू केही मान्न नसकिने भन्नेहरूको पनि कमी छैन । तर, झिझिया नृत्यमा प्रदर्शन गरिने कलालाई रूपान्तरित समाजमा परिस्कृत गर्दै अगाडि बढाउँदा झिझिया नृत्य अझै लोकप्रिय र समाजले त्यसबाट केही लिन सक्ने मिथिला नाट्य कला परिषद्का पूर्वअध्यक्ष मदन ठाकुरले बताए ।
झिझियालाई बचाउने प्रयास
झिझियालाई बचाउन मिथिलाञ्चलमा विशेष प्रयास सुरु भएको छ । मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश झाले मिनापले नेपाल भारतका विभिन्न ठाउँमा गरिने सांस्कृतिक कार्यक्रममा झिझियालाई विशेष प्रस्तुतिका रूपमा लिइने गरेको छ । मिनापले केही वर्षयता झिझियाको ५ सयभन्दा बढी नृत्य प्रदर्शन गरेको छ । जनकपुरकै राजदेवी युवा क्लबले दसैंका बेला प्रत्येक वर्ष झिझिया नृत्य प्रतियोगिताको आयोजना गर्ने गर्छ । दसैंकै बेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लबको भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुति हुने गर्छ ।
सिरहा र सप्तरीमा समेत प्रत्येक वर्ष झिझिया प्रतियोगिताको आयोजना हुने गरेको मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरि भट्टराईले बताए । राजधानी दैनिकमा प्रकाशित समाचार साभार गरिएकाे
मकवानपुर / नेपाली समुदायमा सबैभन्दा धेरै चर्चाको साथ मनाइने बडादशैं आजबाट सुरु भएको छ । आज दशैंको लागि घरघरमा जमरा राखिन्छ र नौ दिनसम्म पूजाआजा गरिन्छ । दशौं दिन सोही जमरालाई समृद्धिको प्रतिक मानेर शिरमा धारण गर्ने गरिन्छ ।
दशैंको पहिलो दिन आज जमरा राख्ने दिनलाई घटस्थापना भन्ने गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ । जौको पहेंलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका–प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।
जमरा राख्नको लागि हिजै सरसफाई गरेर चोखो गरी राखिएको घर, मन्दिर, कोठाहरुमा आज विधि पूर्वक जमरा राखिन्छ ।कुल परम्परानुसार कसैले जमरा राख्दा जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन् । तर जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।
आज अर्थात घटस्थापनाको दिनदेखि नवरात्र शुरु भएको छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाआरधना गर्ने परम्परा छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।
असोज २९ गते बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्ने र १० बजेर २ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउँदा पूर्वतर्फ फर्किएर लगाउनुपर्ने पनि समितिले जनाएको छ ।
अन्य साइत हेर्नुहाेस्

मकवानपुर / हेटौंडा उपमहानगरपालिका -५ को ढुङ्गेधारालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चासो देखाईएको छ ।
मकवानपुरको धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको यो क्षेत्रमा खासै चर्चामा नरहेपछी स्थानीय तहले यस्तो चासो प्रकट गरेको हो । अब यहाँ रहेको ढुङ्गे धाराको महत्त्व तथा दुर्गा देवीको दरबारको रुपमा विकास गरिने भएको छ ।
ढुङ्गेधारा पर्यटन विकास मन्चको अध्यक्ष इश्वर ढुङ्गानाले जिल्लाको नयाँ पर्यटकीय क्षेत्रको पहिचानसहित, हरेक उमेर समुहको लागि बस्ने, हिड्डुल गर्ने पार्क, ठुलो शिवको मुर्तीलगायत भौतिक संरचना निर्माण गरिने बताए ।
अहिले ढुङ्गेधारा पर्यटकको गन्तब्य भएको भन्दै अध्यक्ष ढुङ्गानाले देश बिदेसबाट पनि भक्तजन, पर्यटक आउने संरचना बनाइने बताए । हेटौंडा-५ नम्बर वडा कार्यलयको सहयोगमा मन्दिरको पर्खाल, सिँढी निर्माण लगायतको काम भइरहेको छ ।
सनिबार ढुङ्गेधारा पर्यटन विकास मन्चको आयोजनामा भएको बडादशैं, दीपावलि, नेपाल सम्बत तथा छ्ट पर्बको अवसरमा सुभकामना आदानप्रदान कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले पर्यटकीय क्षेत्रको विकासमा उपमहानगरले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रम हेटौंडा -५ का वडा अध्यक्ष राजेश बानियाँले वडा कार्यालयको तर्फबाट पनि सकेको सहयोग गर्ने बताए । कार्यक्रममा ढुङ्गेधाराको विकासको लागि स्थानीयस्तरबाटै सहयोग जुटेको अध्यक्ष ढुङ्गानाले बताए । नेपाली कांग्रेस हेटौडा ५ कमिटीका कमल राईले सात हजार सात सय रुपैयाँ, भुतपुर्व सैनिक मिलन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सुधिर थापाले १५ हजार रुपैयाँ र शिव थापाले चार हजार एक सय रुपैयाँ ढुङ्गेधारा पर्यटन विकास मन्चलाई सहयोग गरेका थिए ।