मकवानपुर । मुस्लिम धर्मावलम्बीको पर्व बकर ईद (इदुल जोहा) आज आइतबार मनाइदै छ । मुस्लिमहरुको दोस्रो महान् पर्व बागमती प्रदेशको राजधानी हेटौंडसहित देसैभर मनाईदै छ । बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको करिब ७० दिनपछि आउने बकर ईद पर्वलाई मुस्लिम समुदायले हर्सोल्लासका साथ मनाउने गर्छन्। मुस्लिम धर्मावलम्बीले तीन दिन मनाउने बकर ईदको पहिलो दिन आज बिहान स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्छन् । त्यसपछि एकापसमा शुभकामना आदान प्रदान गर्छन् ।
मकवानपुरमा पनि मुस्लिम समुदायले बकर ईद मनाउदै छन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर -४ भैरवरोडमा रहेको मकवानपुरकै सबैभन्दा पुरानो ठूलो मस्जिद जामे मस्जिदमा बकर ईद मनाउन आईतबार बिहान मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । मकवानपुरमा स्थानीय र बाहिरी जिल्लाबाट आएर बसोबास गरेकासहित करिब १० हजारको संख्यामा मुस्लिम धर्मावलम्बीहरु रहेको बताइएको छ ।
बकर इदमा त्यागका लागि पशुबली दिने प्रचलन छ। पशुबलीको मासु तीन भागमा बाँडी वितरण गर्ने गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ।
धार्मिक मान्यता अनुसार यस दिन अल्लाह मान्छेको निकै नजिक रहने गर्छन्। यो दिन सबैले नजिकको मस्जिद, इदगाह र मजारमा सामूहिक नमाज पढ्ने, शुभकामना अदानप्रदान गर्ने गर्छन् । सामूहिक रूपमा ठूलो जनावरको बली दिने, गरिबलाई बाँड्ने र सामूहिक भोजनको आयोजना गर्ने गर्छन् ।
हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धर्मावलम्बी बताउछन् ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ईद (ईद उल फित्र) पर्वको शुभकामना दिएका छन् । मंगलबार मुख्यमन्त्री पाण्डेले इस्लाम धर्मावलम्बीहरुको महान् चाड ईद (ईद उल फित्र) पर्वको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धि कामना गर्दै शुभकामना दिएका हुन् ।
शुभकामना सन्देशमा पाण्डेले विविधतायुक्त नेपाली समाजमा रहेका हरेक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्वका मौलिक चाडपर्वहरु रहेको बताएका छन् । हाम्रा साझा सांस्कृतिक धरोहरका रुपमा रहेका असल संस्कृति तथा परम्पराहरुको संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन प्रर्वधनमा सघाउ पुग्न गई राष्ट्रिय अर्थतन्त्रमा मद्दत पुग्नेमा विश्वस्त रहेको पाण्डेले बताए ।
‘चाडपर्वहरुले हामी बिच नयाँ उमड्ड र उत्साहका साथ एक अर्काको अस्तित्व र उपस्थितिलाई सम्मान व्यक्त गर्दै एक आपसमा एकता तथा बन्धुत्व स्थापित गर्न सफल भएको अनुभूति भएको छ’ शुभकामना सन्देशमा उनले भनेका छन् ‘भविष्यमा अझ आपसी सद्भाव मित्रतामा वृद्धिको कामना गर्दछु ।’
संविधानको कार्यान्वयन गर्दै नेपाल भित्रका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा देशलाई अघि बढाउनु आजको आवश्यकता भएको उनले जारी गरेकाे शुभकामना सन्देशमा उल्लेख छ । यसका लागि बागमती प्रदेश सरकार प्रदेश भित्र मनाइने पर्व तथा संस्कृतिको संरक्षण¸ जगेर्ना र विकास गर्न प्रतिबद्ध रहेको उनले बताए ।
यस्तै, ईद पर्वले हामी बिच आत्मीयता¸ आपसी समझदारी¸ एकता¸ सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवं अमन चयन कायम गर्ने वातावरण निर्माण भइ समृद्ध नेपाल र समुन्नत बागमती प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गरेका छन् ।

मकवानपुर । अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी मनाइँदैछ । वैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्री मध्ये एक चिज लगाई सर्बत सँगै र जौको सातु दान गर्ने चलन छ ।
आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीयामा आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ ।
शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी संकल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।
गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ । कोरोनाको जोखिम पूर्णरूपमा अन्त्य नभइसकेकाले सातु र सर्वतले मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ ।
आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ ।
त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो ।
हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरू पर्छन । ती मध्ये एउटा महायोगको नाम हो अक्षय तृतीया । यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ ।
गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्ने जस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्त्वपूर्ण मानिन्छ । हिन्दु कालगणना अनुसार चार स्वयं सिद्ध मुहूर्तहरू छन् ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने ।
पौराणिक कथा अनुसार विष्णुले परशुराम अवतार लिएकाले यस दिनलाई परशुराम जयन्तीका रूपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका दश अवतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ ।
चार धामहरूमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथि कै दिन खोलिन्छ । भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनै पनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो ।
वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश जूत्ता गाई भूमि स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृ तर्पण गरिन्छ ।
शास्त्रीय विधान अनुसार आज दियो कलश र गणेशलाई पूजी कलस माथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ ।
मकवानपुर । विन्दामाया तामाङ ओखलढुंगाले फेसबुकमा आमा सम्वन्धमा यसरी भाव व्यक्त गरिन् ।
आमाको प्यार बेच्ने अनि किन्ने कुनै खानदान नभईदियोस
ममता नै उच्छिन्ने त्यत्ती सम्मको अरु वरदान नभईदियोस
सयौं – हजारौं आमाको आँसु झरेको सर्वत्र देखेकी छु मैले
विन्ती छ भगवान आफ्नै आमा नचिन्ने सन्तान नभईदियोस ।
याे मुक्तकिलाे भावले समेत आमाकाे महत्व अमुल्य रहेकाे बताउँछ । आमाकाे मुख हेर्ने दिन आजकाे लागि उनकाे भावले भने जस्तै आमालाई भगवानकाे अर्काे रुपले पुज्ने गरिन्छ । त्यसाेत आज विहानै देखि आमाकाे नाममा समाजिक संजाल भरिएका छन् ।
यसैगरी वृन्दा ढुगानाले फेसवुकामा आमाकाे नाममा यसरी मुक्तक राखेकी छन् ।
आफू बरु भोकै बसेर सन्तान अघाउने आमा
मष्तिस्कमा नै पसेर माया सद्भाव जगाउने आमा
सकिंदैन वयान गरेर महिमा अपरम्पार आमाको
आफ्नो चाहना कसेर आफ्ना सजाउने आमा।
आज वैशाख कृष्ण औंसीको दिन । नेपालमा हिन्दू संस्कृति अनुसार आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको रूपमा मनाइने गरिन्छ। आमालाई सम्मान गरी बैशाख १७ गते शनिबार आमाको मुख हेर्ने दिन मनाइँदै छ । आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ । आमालाई श्रद्धा, भक्तिपूर्वक स्नेह र सम्मान गरी विभिन्न खानेकुराका परिकार खुवाउने हुनाले कसैकसैले यसलाई आमालाई खुवाउने औंसीका रूपमा पनि लिने गरेका छन् । यो दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ ।
आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छे अनुसारका खाद्य पदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्। आमा नहुनेहरू भने यस दिन काठमाडौँ उपत्यकाको पश्चिम दिशातर्फ पहाडको फेदीमा रहेको मातातीर्थ जाने गर्छन् । मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो। कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन्। मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि छ। उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ।
मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो । आमाको पवित्रस्थल भएकाले त्यो स्थानको नाम मातातीर्थ रहेको भनाइ बुढापाकाको छ । त्यहाँ गएर छोराछोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आफ्ना आमालाई मुक्त गराउन सक्छन् । स्वस्थानी व्रतकथाअनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको कथन छ । त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सो कार्य गर्ने सन्तानले जीवनभर सुखसन्तोष पाउने जनविश्वास छ ।
स्वस्थानी व्रतकथा अनुसार यो तीर्थमा सतीदेवीको अङ्ग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो। त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुख-सन्तोष पाउने जनविश्वास छ।यसरी विधिवत् रूपमा छोराछोरीहरू आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आ-आफ्ना आमाको मोक्ष प्राप्त गराउन यो तीर्थमा मेला भर्न आउँछन्। यो तीर्थमा सतिदेवीको अङ्ग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको वर्णन श्री स्वस्थानी व्रतकथामा पाइन्छ। पुण्य प्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ।
यसै गरी भगवान् विष्णुको सातौँ अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुगेका थिए। उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे। फलस्वरूप श्रीराम र उनीहरू बीच घमासान युद्ध भयो। युद्धले गर्दा दुवै पक्ष आकुल-व्याकुल थिए। त्यही बेला माता सीताजीलाई प्यास लाग्यो। पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गङ्गामाताको स्तुति गर्न थाले। ‘माता गङ्गासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमीनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो। त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगाको मूर्ति कोरिन पुग्यो भन्ने अर्काे धार्मिक विश्वास समेत पाइन्छ।
त्यतिबेला त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजीकै बसेर खाजा खाइरहेका थिए। एउटा गोठालो मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ। उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने वेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने वाचाका साथ छोरालाई सम्झाई-बुझाई फर्काइन्। आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो भन्ने गरिन्छ ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फागु पर्वकाे अवसरमा मुख्यमन्त्री राजेन्द्र पाण्डेकाे शुभकामना दिएका छन् । मुख्यमन्त्री पाण्डेले नेपालीहरुकाे पर्व पहाड तथा हिमाली क्षेत्र तथा तराईमा हर्षोल्लास पूर्वक मनाउने रङ्गहरुको महान पर्व फागु पूर्णिमा (होली) को शुभकामना दिएका छन् ।
मुख्यमन्त्री पाण्डेले विहीबार शुभकामना सन्देश जारी गर्दै होली पर्वको अवसरमा स्वदेश तथा प्रवासमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, सहिष्णुता, एकता र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका हुन् । उनले शुभकामन सन्देशमा भनेका छन् ‘धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न मनाइने यस किसिमका पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गर्न तथा सामाजिक सम्मिलनमा महत्वपूर्ण योगदानका साथै सांस्कृतिक पर्यटनको विकासमा सहयोग पुग्नेछ ।’
उनले असत्य माथि सत्य र खराब माथि असल पक्षले विजय हासिल गरेको रुपमा लिइने होली पर्व देशभर हर्षोल्लास पूर्वक मनाइने राष्ट्रिय पर्वमा खेलिने रङ्गहरुको यो पर्वले सबैको जीवनलाई रङ्गिन र उल्लासमय बनाउन, जीवन प्रति आत्मविश्वास बढाउन पनि प्रेरित गर्ने विश्वास व्यक्त गरे । उक्त चाड पर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सदभाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने पाण्डेले शुभकामना सन्देशमा भनेका छन् ।