मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध ओनेरेक्स सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले पथलैया तर्फबाट हेटौडा आउँदै गरेको ना १६ प ८३२७ नम्बरको मोटरसाईकललाई रोकी जाँच गर्दा ओनेरेक्स १२ बोटल सहित माेटरसाइकलमा सवार २ जनालाइ पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीले हेटौंडा–१५ बाट लागूऔषध सहित मोटलसाइकल चालक हेटौंडा–४ का ३६ वर्षीय शिशिर राज जोशी र मोटरसाइकलमा सवार हेटौंडा–८ का २५ वर्षीय सुसान्त नेपालीलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
मकवानपुर । चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा चैत्र १३ गते सुरु हुने गोल्डकपको उद्घाटन खेल आयोजक टिम, बागमती खेलकुद विकास समिति र नव जनजागृती युवा क्लब सिमरा बीच हुने भएकाे छ । चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताकाे सबै तयारी पूरा भएको अायाेजकले जनाएकाे छ ।
छोटो समयमा धेरै तयारी गरेर प्रतियाेगिता थालिएको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए । नियमित खेलकुद प्रतियोगिता गरिदाँ खेलसँगै शिक्षा क्षेत्रको विकास हुने अध्यक्ष घलानले बताए । “गाउँपालिका भित्र रंगशालाको समेत आवश्यकता खड्किएकोले बढी चासो र आकर्षक आवश्यक छ” अध्यक्ष घलानले भने । आन्तरिक खेलाडीलाई मनोबल बढाउन र उत्कृष्ट खेलाडी बनाउने अवसर सिर्जना गर्न खेललाई निरन्तरता दिएको अध्यक्ष घलानले बताए ।
बागमती गाउँपालिकाको जनता माविको खेल मैदानमा गोल्डकपको आयोजना गरिनेछ । फाइनल खेल चैत्र २३ गते हुनेछ । खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ बागमती गाउँपालिका वडा नम्बर ८ शान्तिपुर स्थित जनता माबिको चौरमा खेल हुनेछ । दैनिक ७ देखि १० हजार जनाले खेलको अवलोकन गर्ने खेलकुद विकस समिति अध्यक्ष भीमबहादुर राई बताए । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ ।
नगद १ लाखबाट सुरु गरिएको यो खेलमा समयसापेक्ष पुरस्कार राशि बढाउदै आएको छ । प्रतियोगिताको पुरस्कार राशि यसवर्ष केही बढाइएको छ । गतवर्ष बागमती गोल्डकपको तेस्रो संस्करणको विजेताले नगद ६ लाख रुपैयाँ प्राप्त गरेका थिए । उपविजेता हुने समूहले ३ लाख रुपैयाँ प्राप्त गरेका थिए । बागमती गाउँपालिका खेलकुद विकास समितिले गत वर्षको तुलनामा प्रथम पुरस्कारमा २ लाख र द्वितीय पुरस्कारमा १ लाख रुपैयाँ थप गरेको हो ।
कुलखर्च चौहत्तर लाख, पैतालिस हजार अनुमान गरिएको र मुख्य प्रायोजक बागमती गाउँपालिकाले ३५ लाख आर्थिक सहयोग गर्ने बागमती गाउँपालिका खेलकुद विकास समिति पुर्व अध्यक्ष ध्रुव थापाले बताए । अपुग रकमका लागि उद्योगी व्यापारी तथा अन्य गाउँपालिकासँग सहकार्य गरिने उनले बताए ।
प्रतियाेगितामा बागमती खेलकुद विकास समिति, नव जनजागृती युवा क्लब सिमरा, थ्रि स्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागी हुने आयोजकले बताएको छ ।
स्थानीय खेलाडी उत्पादन गर्ने र उनीहरुको सीप र कौसलतालाई प्रोत्साहन गर्ने मुख्य उद्देश रहेको उनले बताए । यसभन्दा अगाडि सम्पन्न गरिएको तीन वटा खेलको अनुभवलाई समेट्दै खेल सम्पन्न गर्ने तयारीमा लागेको आयोजकले जनाएको छ ।
तेस्रो बागमती गोल्ड कपको उपाधी र दोस्रो बागमती गोल्ड कप २०७५ को उपाधी सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्ड कप २०७५ को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुलीले पोल्टामा पारेका थिए ।
मकवानपुर । हेटौंडा चेस क्लबतथामकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा बागमती प्रदेशकाे राजधानी हेटौंडामा बुधबारदेखि अन्तर शहर राष्ट्रव्यापी टिम चेस प्रतियोगिता शुरु भएको छ ।
नेपालका विभिन्न शहरको प्रतिनिधित्व गर्दै सहभागी भएका १७ टोलिको प्रतिष्पर्धा रहेको प्रतियोगिताको पहिलो दिन पहिलो चरणका खेल सम्पन्न भएका छन् । पहिलो चरणको समाप्तिमा दोलखा तथा ललितपुर स्पोर्टस क्लबले शत प्रतिशत नतिजा निकाल्दै सुखद शुरुवात गरेका छन् । दोलखा जिल्ला च्याम्पियन आशिष फुँयालको नेतृत्वमा रहेको दोलखाको टिमले पहिलो खेलमा काठमाण्डौ गोकर्णेश्वरको माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबलाई ४–० को अन्तरले पराजित गर्यो ।
त्यसैगरी युवा खेलाडी सुश्रुत दाहालको नेतृत्वको ललितपुर स्पोर्टस क्लबले प्रदेश–१ बुद्धिचाल संघको टोलीलाई ४–० को अन्तरले हराउनै हराएकाे छ । प्रतियोगिताको शिर्ष टोली हेटौंडा उपमहानगरपालिकाले धनगढी उपमहानगरलाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको छ । यसै महिनाको पहिलो साता भक्तपुरमा सम्पन्न अन्तर नगरपालिका कपको उपाधि जितेकाे नेपालका स्टार खेलाडी सम्मिलित टोलीका लागि पहिलो चरणको पहिलो बोर्डको नतिजाअप्रत्याशित रह्यो ।
वर्तमान महिला च्याम्पियन वुमन फिडेमास्टर सुजना लोहनीलाई धनगढीका युवा खेलाडी दिपक धामीेले पराजीत गरेसँगै दबाब झेलेको हेटौंडालाई फिडेमास्टर रुपेश जयसवाल, वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोतम चौंलागाई तथा पूर्व राष्ट्रिय च्याम्पियन शुरवीर लामाले उत्कृष्ट प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा पारेका हुन् ।
पहिलो चरणको समाप्तिमा दोलखा लगायत ८ टोलीले समान २÷२ म्याच प्वाईन्टका साथ प्रतियोगितामा अग्रता बनाउन सफल रहे । गजुरमुखी चेस क्लब ईलामले स्याङ्जालाई, ललितपुर महानगरले पोखरा महानगरलाई, नाईट चेस क्लब काकडभिट्टा झापाले बिदुर नगरपालिका नुवाकोटलाई, महालक्ष्मी नगरपालिकाले मिसन चेस क्लब काठमाडौंलाई तथा भक्तपुर नगरपालिकाले बाँकेलाई समान ३ का विरुद्ध १ अंकको अन्तरमा पराजीत गर्दै प्रतियोगितामा अग्रता बनाएका छन् ।
प्रतियोगिताको विशेषताको रुपमा प्रत्येक टोलिले आफ्नो पहिलो बोर्डमा अनिवार्य रुपमा महिला खेलाडी वा १६ वर्ष भन्दा मुनि उमेर समुहको खेलाडीलाई प्रतिष्पर्धा गराउनुपर्ने बाध्यात्मकव्यवस्थाले समग्र प्रतियोगिताआकर्षित बनेको छ ।
कुल पुरस्कार राशी ५ लाख ५० हजार रुपैंया रहेको प्रतियोगिताका विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख ५० हजार, तेश्रो हुनेले ५० हजार तथा चौथो र पाँचौ स्थानमा रहनेले क्रमशः ३० हजार तथा २० हजार प्राप्त गर्नेछन् । त्यसैगरी व्यक्तिगतर्फ प्रत्येक बोर्डका उत्कृष्ट खेलाडीले जनही १० हजार प्राप्त गर्नेछन् ।
यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले एक समारोहका बिच चेसको गोटी चालेर प्रतियोगिताको आरम्भ गरेका थिए। चैत्र १४ गतेसम्म सञ्चालनहुने यस प्रतियोगिताअन्तरगत विहीबार ३ चरणका खेल सञ्चालन हुनेछन् ।
मकवानपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले चार्टर्ड एकाउन्टेन्ट (सिए) ले पाइरहेको समकक्षता सम्बन्धी समस्या सरोकारवाला पक्षको बैठक राखेर हल गरिने बताएका छन् । चार्टर्ड एकाउन्टेन्ट (सिए) ले पाइरहेको समकक्षता त्रिभुवन विश्वविद्यालयले स्थगित गरेकाे थियाे ।
नेपाल चार्टर्ड एकाउन्टेन्स संघको प्रतिनिधिमण्डलसँग बुधबारको भेटमा मन्त्री श्रेष्ठले आश्वासन दिदैं भने ‘राज्यले पढ्न बोलाउने, पढाउने र पास गरिसकेपछि बेवारिसे बाउन मिल्छ र ?’ सिएलाई दिइँदै आएको समकक्षता स्थगन गर्ने त्रिभुवन विश्वविद्यालयको कदमप्रति प्रश्न गर्दै मन्त्री श्रेष्ठले भने, ‘तुरुन्तै त्रिभुवन विश्वविद्यालय, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ र शिक्षा मन्त्रालयबीच मिटिङ राखेर यो समस्या हल गर्न पहल गर्छु ।’
संघका अध्यक्ष आनन्द शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले त्रिभुवन विश्वविद्यालयले सिए उपाधि प्राप्त गरेका विद्यार्थीलाई विगतमा दिँदै आएको स्नातकाेत्तर समकक्षता स्थगित गरेको जानकारी गराउँदै उक्त निर्णय फिर्ताका लागि पहल गरिदिन मन्त्री श्रेष्ठसँग आग्रह गरेको थियो ।
संघले कठोर मेहनत, धैर्य र लगनशीलताका साथ सिए उपाधि प्राप्त गरेका विद्यार्थी त्रिभुवन विश्वविद्यालयको कदमबाट प्रत्यक्ष प्रभावित भएको जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयले एउटा सूचना समेत प्रकाशित नगरी सिएलाई स्नातकोत्तरमा भर्ना नलिएको र समकक्षता दिने समयमा भर्ना भई अध्ययन सकेर अहिले उत्तीर्ण भएकालाई समेत ट्रान्स्कृप्ट र प्रमाणपत्र दिन इन्कार गरेको गुनासो मन्त्रीसमक्ष राखेको थियो । समकक्षताको प्रमाणपत्र उपलब्ध नहुँदा सम्भावित रोजगारीको अवसर, संस्थागत नियुक्ति, उच्च शिक्षा र अध्ययन, अनुसन्धान लगायत अवसरबाट सिएहरु बिमुख हुनुपरेको संघको गुनासो छ ।
‘विश्वभर चार्टर्ड एकाउन्टेन्टलाई कर, लेखा, लेखापरीक्षण तथा वित्त क्षेत्रका विषयविज्ञको रुपमा लिइन्छ र यसको पाठ्यक्रम सोही अनुसार डिजाइन गरिएको हुन्छ । विज्ञको रुपमा विश्वभर सम्मानित यो पेसालाई राज्यले उचित व्यवहार नगर्दा सिएहरु पेसागत सम्मान र सामाजिक प्रतिष्ठाका खोजी तथा उच्च शिक्षा हासिल गर्न बिदेसिने खतरा छ,’ संघको प्रतिनिधिमण्डलले भेटका अवसरमा शिक्षामन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
त्रिभुवन विश्वविद्यालयले आफ्नो संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद १४ मा शैक्षिक तथा प्राज्ञिक संस्थाहरु तथा तिनका प्रमाणपत्र वा उपाधिलाई मान्यता तथा समकक्षतासँग सम्बन्धित मापदण्ड अनुसार छलफल गरी यथाशीघ्र निर्णय गर्ने आश्वासन दिए पनि यस शैक्षिक सत्रमा उच्च शिक्षामा सिएहरुले भर्ना हुन नपाएको संघको गुनासो छ ।
अन्तर्राष्ट्रिय अभ्यासमा चार्टर्ड एकाउन्टेन्ट शिक्षाको एकेडेमिक कोर्स म्यापिङ गरी समकक्षता दिने व्यवस्था रहेको संघको भनाइ छ । संघले भेटमा भारत तथा बेलायतको समकक्षता प्रदान गर्ने निकायको सूचना पनि मन्त्रीलाई बुझाएको छ । समकक्षता स्थगनले सिए उपाधि प्राप्त विद्यार्थीको थप अध्ययन, सरकारी क्षेत्रमा रोजगारी तथा संस्थागत नियुक्तिमा समस्या खडा गरेको भन्दै संघले आवश्यक नीतिगत व्यवस्था गरी त्यस्ता विद्यार्थीलाई समकक्षता दिने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
निर्जा श्रेष्ठले सहजीकरण गरेको प्रतिनिधिमण्डलमा संघका अध्यक्ष आनन्द शर्मा वाग्ले, उपाध्यक्ष रमेशकुमार धिताल, महासचिव तेजप्रसाद सुवेदी र सदस्य कुनाल कयाल सहभागी रहेको संघले जनाएको छ ।
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार ३ हजार ९ सय ६३ जनामा पीसीआर परीक्षण गर्दा थप १ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ मन्त्रालयले जानकारी दिएकाे हाे ।
यस्तै पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भइ घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।यो सँगै नेपालमा हालसम्म कोरोनाका कारणले ज्यान गुमाउनेको संख्या ३ हजार २० पुगेको छ ।
यसै बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमणको माहामारी नियन्त्रणका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ ।
बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए ।
उनले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन् ।पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड बढेको देखिन्छ । मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रुपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउन निर्देशन दिएको छ ।