मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार ३ हजार ९ सय ६३ जनामा पीसीआर परीक्षण गर्दा थप १ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ मन्त्रालयले जानकारी दिएकाे हाे ।
यस्तै पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भइ घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।यो सँगै नेपालमा हालसम्म कोरोनाका कारणले ज्यान गुमाउनेको संख्या ३ हजार २० पुगेको छ ।
यसै बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमणको माहामारी नियन्त्रणका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ ।
बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए ।
उनले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन् ।पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड बढेको देखिन्छ । मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रुपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउन निर्देशन दिएको छ ।

