मकवानपुर । प्रतिनिधी सभाकाे विशेष अधिवेशन बैशाख २७ गते साेमबार बस्ने भएकाे छ । मन्त्रिपरिषद्काे बैशाख १९ गतेकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् ।
‘प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकोले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७८ साल वैशाख २७ गते सोमबारका दिन अपरान्ह १:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधि सभाको विशेषअधिवेशन राष्ट्रपतिले आह्वान गर्नु भएको छ ’ राष्ट्रपति कार्यालयकाे विज्ञप्तीमा भनिएकाे छ ।
प्रधानमन्त्रीले आफूमाथि संसद्को विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् । हाल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।
२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ भने नेपाली काँग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ पार्टी छाडेका ४ जना पदमुक्त भएपछि०, जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १–१ सिट रहेको छ । जसमध्ये नेपाली काँग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।

मकवानपुर । मकवानपुर जिल्लामा आइतबार बैशाख १९ गते ८ जना काेराेना सक्रमित काेराेना सक्रमण मुक्त भएका छन् । यो संगै जिल्लामा हालसम्म संक्रमण मुक्त हुनेको संख्या ३ हजार ८ सय ९४ जना पुगेको छ ।
यस्तै आइतबार मकवानपुरमा थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज गरिएको ६३ जनाको स्वाब परीक्षणमा ३६ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै मकवानपुरमा कोरोना भाइरस पुष्टि हुनेको संख्या ४ हजार ५ सय ७१ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएकाे छ ।
आज थप भएकाे ३६ जना समेत गरी मकवानपुरमा ६ सय ४४ जना काेराेना भाइरसकाे सक्रिय संक्रमित रहेका छन् । सक्रिय सक्रमित मध्य ६ सय १५ जना घरमा उपचारत रहेका छन् भने १६ जना हेटौंडा अस्पतालको आईसियू र १३ जना हेटौंडा-६ स्थित गौरिटार आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यसैगरी २ जना संक्रमित बाहिरी जिल्लाका हेटौंडामा उपचाररत रहेका छन् । मकवानपुरमा हालसम्म कोरोनाको कारण ३५ जनाको मृत्यु भएको छ ।
मकवानपुर । अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले मकवानपुर सहित देशभर पहाडी भूभागमा पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बर्षा भइ रहेको छ । मकवानपुरमा पछिल्लाे समय बढेकाे गर्मीलाइ भइरहेकाे बर्षाबाट राहत मिल्ने भएकाे छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ हावाहुरी सहित बर्षा भएको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख १९ गते आइतबार दिउँसो देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ। वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना रहेकाे महाशाखाले जानकारी दिएकाे छ। आइतबार राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकाे बताइएकाे छ ।
यस्तै बैशाख २० गते सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना महाशाखाले जनाएकाे छ। साेमबार राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ।
बैशाख २१ गते मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना महाशाखाले जानकारी दिएकाे हाे। मंगलबार राती देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायतका अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ। वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुइ स्थानहरुमा मध्यम बर्षाको समेत सम्भावना छ ।
यसै गरी देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन समेत महाशाखाले अनुरोध गरेकाे छ।
मकवानपुर । विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्टको कोभिड-१९ को संक्रमण मकवानपुर जिल्लामा तीव्ररूपमा फैलिरहेकोले नेपाल सरकार (मन्त्रिपरिषद्) को बैशाख ६ र १३ गतेको बैठकको निर्णयहरूमा भएको व्यवस्था बमाेजिम कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्नको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार बैशाख राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्म मकवानपुरको ४ वटा स्थानीय तह र राजमार्गको ५ सय मिटर वरपर निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, मकवानपुरको बैशाख १८ गतेकाे सिफारिस तथा जिल्ला सुरक्षा समितिको बैशाख १८ गतेकाे निर्णय समेतको आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम मिति बैशाख १९ गते रातिदेखि १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिकाको सम्पूर्ण क्षेत्र र मनहरी गाउँपालिकाको पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को दाँयारबाँया ५००/५०० मिटरको क्षेत्रमा निषेधाज्ञा गरिएको हो ।
निषेधाज्ञामा के गर्न पाइने के गर्न नपाइने
१. औषधी उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायक पर्ने स्थानमा
जान बाहेक कुनै पनि व्यक्तिहरू घर बाहिर निस्कन र हिँडडुल गर्न नपाइने ।
२. अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसल विहान ५:०० बजेदेखि विहान ९:०० बजेसम्म मात्र खोल्न पाइने,
औषधी पसल, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने
तोकिएका वर्कसप नियमित सञ्चालन गर्नुपर्ने । अन्य सबै प्रकारका व्यवसायहरू बन्द रहने ।
३. एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने
ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबीजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधन बाहेक कुनै पनि प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक (मोटरसाइकल समेत) र अन्य ढुवानीका सवारी साधनहरू सञ्चालन गर्न नपाइने ।
४. सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकिङ तथा वित्तिय क्षेत्र एवं अत्यावश्यक सेवा प्रदान
गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा र समाचार संकलन/सम्प्रेषण कार्यमा खटिएका सञ्चारकर्मीहरूको
हकमा पहिचान खुल्ने फोटो सहितको परिचयपत्रका आधारमा आवत जावत गर्न दिइने ।
५. अन्य जिल्लाबाट आएका पूर्व-पश्चिम राजमार्ग भई जाने लामो दूरीका सवारी साधन, मालवाहक
सवारी साधनहरू तथा निर्माण सामग्री ढुवानीका साधनहरू यस जिल्लामा नरोकिने गरी आवत
जावत गर्न पाइने ।
६. अत्यावश्यक सरकारी सेवाहरू एक तिहाई कर्मचारीको व्यवस्थापन गरी आलोपालो प्रणालीबाट
सञ्चालन गर्ने ।
७. बैंक, वित्तिय संस्था तथा सहकारीबाट प्रदान गरिने सेवा जनस्वास्थ्यका मापदण्ड अनिवार्य
अवलम्बन गरी भिडभाड नहुने गरी आलोपालो विधिबाट विहान ९:०० बजेदेखि दिनको ४:०० बजेसम्म मात्र सञ्चालन गर्ने । तर, सबै बैंक तथा वित्तिय संस्थाहरूले आ-आफ्ना ATM तथा विद्युतीय सेवाहरू २४ सै घण्टा सुचारू राख्नुपर्ने ।
८.मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गरी अन्य समयमा बन्द गर्ने । धार्मिक, सांस्कृतिक र सामाजिक लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न नपाइने । तर, विवाहका लागि बढीमा १५ जनासम्म नजिकको प्रहरी इकाईसँग समन्वय गरी आफ्नै निवासमा जनस्वास्थ्यका मापदण्ड
पालना गरी सम्पन्न गर्न सकिने ।
९. विवाहका लागि जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँ वा अन्तर जिल्ला जानुपर्ने भएमा
दुईवटासम्म सवारी साधनमा १५ जनासम्म मात्र जान सकिने ।
१०. औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई जनस्वास्थ्यका
मापदण्डहरू अनिवार्य पालना गरी गराई उद्योग परिसरभित्रै वा निश्चित स्थानमा राखी बाहिर
आवत जावत नहुने सुनिश्चितता गरी उद्योग सञ्चालन गर्न सकिने ।
११. विकास आयोजना तथा निर्माण कार्य सञ्चालन गर्दा आयोजनास्थल वा निर्माणस्थलमा नै कामदार
तथा कर्मचारी रहने व्यवस्था मिलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी, गराई निर्माण कार्य सञ्चालन गर्न सकिने ।
मकवानपुरमा बैशाख १९ गते रातीबाट निषेधाज्ञा (निर्णय सहित)
Tags: No Comments
मकवानपुर । मकवानपुरमा बैशाख १९ गते आइतबार राती १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ । काेराेना संक्रमितकाे सक्रिय संख्या मकवानपुरमा ५ सय माथि पुगेकाेले संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन निषेधाज्ञा लगाइएकाे बताइएकाे छ ।
जिल्ला सुरक्षा समितिको शनिबार अपराह्नको बैठकले हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाकाे सबै क्षेत्र तथा मनहरी गाँउपालिकाकाे राजमार्ग क्षेत्रकाे दाँयाबाँया ५ सय मिटर वरपर निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । प्रजिअ पाण्डेका अनुसार बैठकले कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै जिल्लाका उक्त स्थानीय तहमा भोलि आइतबार राती १२ बजेदेखि लागू हुने गरी आगामी बैशाख ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे हाे ।
यसअघी शनिबार दिउँसो बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकामा निषेधाज्ञा लगाउन सिफारिस गरेकाे थियाे ।
त्यसैगरी राजमार्गको ५ सय मिटर वरपर निषेधाज्ञा लगाउन पनि केन्द्रले सिफारिस थियाे । बजारका तरकारी पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुला राख्न र पास बिना सवारी साधन संचालन गर्न नदिने गरी निर्णय गर्न सिफारिस गरेको थियो ।
निशेधाज्ञाकाे निर्णय हेर्नुहाेस

