- मञ्जु मैनाली
मकवानपुर/जेसीआई हेटौडा लेडीको आयोजना तथा व्यवसायी राजु अधिकारीको सहयोगमा अटो एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
कोरोना भाइरसको महामारीमा हेटौडा उपमहानगरपालिकामा भित्र संचालित ३६ वटा अटो एम्बुलेन्स चालकलाई वासेबल पीपीइ सेट वितरण गरिएको हो । साथै अटो एम्बुलेन्स चालकहरुलाई ३६ पाकेट मास्क,३६ पिस फेससिल्ड,२० लिटर सेनीटाइजर सहयोग गरिएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले महामारीमा जोखिम मलेर कार्यक्षत्रमा खटेका अटो एम्बुलेन्स चालकहरुलाई मानवियता प्रकट गर्न आग्रह गरे ।
‘अटो चालकले भाडा बढी लिएको गुनासो आएको छ, यो महामारीमा भाडा भन्दा चालकलाई मानवियता देखाउ’ उनले भने । जेसीआई हेटौडा लेडी र सहयोगी व्यवसायी अधिकारीले जस्तै मानवियता प्रकट गर्न महतले अनुरोध गरे ।

कार्यक्रम मा जेसीआई हेटौडा लेडी अध्यक्ष प्रतिमा श्रेष्ठ पूर्व अध्यक्ष रश्मि बस्नेत, हेटौडा जेसिजका अध्यक्ष सिनेटर लिशेन बस्नेत, कुखुरा ब्यबसायी संघ का अध्यक्ष गोकुल नाथ पौडेल, निवर्तमान अध्यक्ष राजु अधिकारी, अटो व्यवसायी संघका अध्यक्ष भीमप्रसाद गौतम, महासचिब नवराज घिमिरे, जेसिज पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।
अटो एम्बुलेन्स चालकहरुलाई घाम पानीमा फेरफार गर्नको लागि समेत पीपीइ सेट अपुग भएकोले सहयोग गरिएको अधिकारीले बताए । महामारीमा नागरिकको स्वास्थ्यको लागि लागिपरेकाहरुलाई १० हजारबराबरको स्वास्थ्य सामग्री व्यवस्था गरिएको शाखाको कार्यक्रम संयोजक ज्योति काफ्लेले बताइन् । तस्बिरहरूः मञ्जु मैनाली
मकवानपुर । यसबर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै हुने भएकाे छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले एसइई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार नै गर्ने निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस वर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसइई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति शिक्षा मन्त्रालयसँग अनुमति मागेको थियो ।
यस वर्षको एसइई जेठ १३ गतेदेखि संचालन गर्नेगरी तयारी गरेपनि करोना महामारीका कारण हुन सकेको थिएन । गत वर्ष पनि परीक्षा सुरू हुनुभन्दा एक दिनअगाडि एसइई स्थगित गरि आन्तरिक मुल्यांकनबाट नजिता प्रकाशित गरिएको थियो ।
मकवानपुर / बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले ल्याउन लागेको बजेट कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् ।
आइतबारबाट सुरु भएको बजेट अधिवेशनको दोस्रो दिन सोमबार विपक्षिदलका नेताहरुले प्रदेश सरकारले ल्याउन लागेको बजेट “फेल” गराउन आफूहरुको मुख्य भूमिका हुने बताए । सोमबार प्रदेशसभाको आठौँ अधिवेशनमा बोल्दै प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका नेता जम्मकट्टेलले प्रदेशसभा विघटन गरे पनि बजेट पास हुन नदिने चेतावनी दिए ।
ओली सरकारलाई लक्ष्यित गर्दै उनले भने “सत्तामा बसिनै रहनु पर्ने हो, जसरी पनि बस्नै पर्ने हो ?” नेता जमकट्टेलले भने “दुनियाँ मजाकमा उडाएर सत्तामा टाँस्सीरहने ?” उनले ओली सरकार गणतन्त्र विरोध भएको जिकिर गरे । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति तथा योजना प्रस्तुतीको पुर्व तयारी हुदैं गर्दा विपक्षि दलका नेता जमकट्टेलले यस्तो बताएका हुन् ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट समावेशीता र आवश्यकताको आधारमा नआउने निश्चित भएको भन्दै यस्तो जिकिर गरेका थिए । “मनोमानी रुपमा ल्याइने बजेटमा हामी साक्षि किन बस्ने ?” उनले भने “प्रदेश सभा विघटन गरेर बजेट पास गर्न हामी दिंदैनौ” जमकट्टेलले भने ।
लोकप्रिय बजेट ल्याएर सस्तो नाटक गरेको उनले बताए । चुनावि रिहल्र्सन गरेको भन्दै उनले संघीय सरकारले ल्याएको जस्तो बजेट ल्याएमा प्रतिपक्षले जस्तो सुकै मुल्य चुकाएर भएपनि बजेट पास हुनै नदिने बताए । ‘बजेट ल्याउँदा अलिअलि विवाद होला, मिलाएर पास गरौँला भन्ने सोचेको हुन सक्छ। म विपक्षी दलको नेताका तर्फबाट भन्छु, जस्तो सुकै मूल्य चुकाएर पनि बजेट पास हुन दिदैनौँ,’ जम्मकट्टेलले भने, ‘तपाईंहरूले कसरी बजेट ल्याउनु हुन्छ मलाई थाहा छ,नीति तथा कार्यक्रम तयार भइसक्यो । मन्त्रिपरिषद्बाटै पास हुन बाँकी छ । अब नयाँ योजना नो इन्ट्री भनिएको छ, कुनै हालतमा बजेट पास हुन दिदैनौँ ।’
पूर्वमन्त्री जम्मकट्टेलले समावेशीता र आवश्यकताका आधारमा बगमती प्रदेश सरकारले बजेट ल्याउने छाँटकाँट नदेखिएको भन्दै नीति परिवर्तनको विकल्प नभएको धारणा राखे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै लाइन बागमतीमा देखिएकोले बजेटको विषयमा प्रश्न उठ्दा र हाउस नचलेपछि प्रदेशसभा विघटन गर्ने संकेत देखिएको बताएका छन् ।
‘बागमतीमा पनि प्रधानमन्त्री केपी ओलीकै लाइनमा छ । बजेटमाथि प्रश्न उठेपछि र हाउस नचलेपछि विघटन गर्नुहुन्छ । तर, पनि बजेट पास हुनेवाला छैन, हामीलाई आपत्ति पनि छैन, जनतामै जाने हो,’ उनले भने ।
प्रदेशसभा विघटन गरे प्रतिवाद गर्ने ठाउँ सडक र जनता भएकोले त्यहीँ गएर संघर्ष गर्ने उनको भनाइ छ । नेता जम्मकट्टेलले प्रदेशको नीति तथा योजना आयोगले केही काम नगरेको भन्दै सुझाव मात्रै माग गरेको बताए । ‘पहिल्यै नीति तथा कार्यक्रम तयार पारेर हामीसँग सुझाव मागिएको छ । बिनाअर्थको सुझाव मागेर हामीसँग आयोगले ठट्टा गरेको छ,’ उनले भनेका छन् ।
यसैगरी सदस्य अष्टलक्ष्मी शाक्यले लोकतन्त्र बलियो हुनु पर्ने बेलोमा धरापमा पर्दा पनि सरकार आफ्नो स्वार्थकै पछाडि लागेको बताइन् । “संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी मजबुत बनाउने भन्नेमा हामी किन लाग्दैनौ, संविधान नै धुजा धुजा बनाउन किन लागेका छौ, जनताको छलफल चलाउने थलो प्रतिनिधि सभा नहुदा हामीले हाम्रो जिम्मेवारी कसरी पुरा गर्ने ?” उनले भनिन् ।
कार्यक्रममा प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेश सरकारको उपस्थितीबारे जनताले मुल्याङ्कन गरिरहेको बताए । संसद अधिवेशन अर्को सूचना जारी नभएसम्मको लागि स्थागित गरिएको छ ।
मकवानपुर । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी भएका छन् ।
कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् ।
पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ १ सय १८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् ।
विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ थियो । निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २ सय १४ गरी २ सय ९७ मत खसेको थियो ।
राष्ट्रियससभा सदस्य चन्द्रबहादुर खड्का माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए । उक्त पदमा भएको उपनिर्वाचनमा एमालेबाट खड्का नै उम्मेदवार थिए भने विपक्षी गठबन्धनको समर्थनमा कांग्रेसले पाण्डेयलाई उम्मेदवार बनाएको थियो ।
२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा पाण्डेय एमालेको तर्फबाट कपिलवस्तु २ (१) बाट निर्वाचित भएका थिए । गत वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर पुनः नियुक्त भएपछि पाण्डेयले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका थिए ।
सोही दिन कांग्रेस प्रवेश गरेका उनलाई विपक्षी गठबन्धनले राष्ट्रिय सभा उपनिर्वाचनको साझा उम्मेदवार बनाएका थिए ।
मकवानपुर । हेटाैडामा ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित महिलाहरुलाई खाद्यान्न सहयोग गरिएकाे छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका पार्टी सभापति ईन्द्रबहादुर बानियाँले ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित महिलाहरुलाई खाद्यान्न सहयोग गरेका हुन् ।
माईती नेपाल हेटौंडाको संयोजनमा नेता बानियाँले सोमबार कोरोना महामारीको मारका कारण ज्याला मजदुरी गर्न नपाएका र घरेलु हिंसाबाट प्रभावित १५ जना महिलाहरुलाई चामल २५ किलो, तेल २ लिटर, नुन दुई प्याकेट, दाल ३ किलो, चना २ किलो, चिउरा ५ किलो, चिनी ३ किलो, चियापती एक प्याकेट, मस्यौरा २ प्याकेटलगायतका खाद्य सामाग्री सहयोग गरेका हुन्।
कोरोना महामारीको विषम परिस्थितिमा श्रम गरेर खाने महिलाहरुलाई परेको असरलाई थोरै भएपनि राहत होस् भनेर माईती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाको समन्वयमा सहयोग गरेको नेता बानियाँले बताए । आगामी दिनमा यसरी ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित महिलाहरुलाई रोजगारीको लागि विशेष पहल गर्ने समेत बाँनियाले जनाकारी दिए ।
कार्यक्रममा माईती नेपालकी कार्यक्रम संयोजक लामा, फिल्ड सुपरभाइजर मन लामा, महिला मुक्ति मञ्च मकवानपुरकी अध्यक्ष उर्मिला लटौलालगायतले नेता बानियाँलाई खाद्यान्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । साे अवसरमा कार्यक्रम संयोजक लामाले मकवानपुरमा ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित महिलाहरुको अवस्था बारे जानकारी गराएकी थिइन् ।