दाेलखा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेत गृह जिल्ला दाेलखामा स्वास्थ्य सामग्री सहित आइपुगेकी छिन् । प्रदेश सरकारबाट दोलखा जिल्ला स्वास्थ्य कार्यालयलाई करिब एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नकाे लागि मन्त्री बस्नेत दाेलखा आएकी हुन् ।
सामाजिक विकास मन्त्री बस्नेतले जिल्ला स्वास्थ्य कार्यालय दाेलखाका प्रमुख अर्जुन पौडेललाई शनिबार एक कार्यक्रमका बीच भेन्टिलेटर, मोबाइल एक्सरे मेसिन, अक्सिजन कन्सेन्ट्रेटर, अक्सिजन सिलिण्डर, डेड बडी ब्याग, डिजिटल थर्मोमिटर, पल्स अक्सिमिटर, सर्जिकल तथा करिब ७० हजार वटा मास्क, पन्जा, स्यानिटाइजर, गाउनलगायत स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेकी छन् ।
स्वास्थ्य सामग्रीहरु जिल्ला स्वास्थ्य कार्यालय दाेलखामार्फत आवश्यकताका आधार जिल्लाका ९ वटै पालिका र अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा प्रदान गर्ने गरी स्वास्थ्य कार्यालयलाई प्रदान गरिएको मन्त्री बस्नेतले बताइन् । यसप्रकारका स्वास्थ्य सामग्री आवश्यकता अनुसार बागमती प्रदेश अन्य सबै जिल्लामा पनि जिल्लाकै मन्त्री तथा सांसदहरुमार्फत पठाइसकेको उनले बताइन् । स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा मन्त्री बस्नेतले एकडेढ हप्ताभित्रै मिर्गौला रोगीहरुको लागि डायलासिस गर्न लागि आवश्यक पर्ने डायलासीस मेसिन पनि जिल्लामा पठाइने जानकारी दिइन् ।
शनिबार नै मन्त्री बस्नेतले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पनि पुगेर विभिन्न सामग्री हस्तान्तरण गरेकी थिइन् भने प्रदेश अन्तर्गतको चरिकोट अस्पतालको पनि अवलोकन गरिएकाे थियाे । शिक्षाको समेत जिम्मेवारीमा रहनु भएकी सामाजिक विकास मन्त्री बस्नेतले विभिन्न सामुदायिक विद्यालयहरुलाई ल्यापटप र प्रोजेक्टर पनि हस्तान्तरण गरेकी छन् ।
हिंसा पीडित महिलाहरुसँग भेट सामाजिक विकास मन्त्री बस्नेतले चरिकोटमा रहेको आवाज नेपालको सुरक्षित आवास गृहमा पुगेर हिंसा पीडित महिला तथा बालबालिकाहरुसँग पनि भेट गर्दै उनले पीडितहरुको कुरा सुनिन । महिला तथा बालबालिका पनि प्रदेश सरकारमा सामाजिक विकास मन्त्रालयकै कार्यक्षेत्रमा रहेकाले मन्त्री बस्नेतले जिल्ला पुग्दा सुरक्षित आवास गृहमा पुगेर आवास गृहको अवस्था र त्यहाँ बसिरहेको महिलाहरुको अवस्थाबारे आवाज नेपालकी अध्यक्ष सृजना कार्कीसँग पनि भेट गरी बुझ्रकी हुन् ।
सामाजिक विकास मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला पुग्नुभएकी मन्त्री बस्नेतले अन्य विभिन्न सरोकारवालाहरुसँग पनि भेटघाट र छलफल गरेकाे उनकाे निजी सचिवालयले जनाएको छ ।
मनग्य आम्दानीका लागि फूल खेती गरेका गुञ्जनगरका कमलप्रसाद अर्यालले डेढ बिघा जमिनमा फूलखेती गरेका छन्। बारी ढकमक्क फूलले ढाकेको छ। उनी दिनहुँ फूलबारीमा पुग्छन्। फुलेका फूलहरू देखेपछि उनी खिन्न हुन्छन्। मिहिनेत र खर्च गरेर उत्पादन गरेको फूल उनले बिक्री गर्न पाएनन्। बेच्न नपाउँदा बारीमै फूल ओइलिएको छ। उनले तीन ओटा फूल बिक्री गर्ने लक्ष्य लिएका थिए।
अर्यालले डेढ बिघा जमिनमा ग्ल्याडिओलस लगाएका छन्। यो विवाह, उत्सव, पाहुना स्वागत सत्कारमा प्रयोग हुन्छ। कोभिड संक्रमणको जोखिमले सबै कार्यक्रम बन्द भए। त्यसको असर फूल खेतीमा पनि पर्यो। ‘लगानीको हिसाबले तरकारीमा भन्दा फूलखेतीमा बढी हुन्छ। लकडाउनले कार्यक्रम नै नभएपछि सभा समारोहमा मात्रै प्रयोग हुने फूल बिक्री भएन’, अर्यालले भने, ‘बारीमा सुकाएर फाल्नुको विकल्प रहेन।’ बिक्री गर्न पाएको भए उनले ४० लाखको फूल बिक्री गर्थे। व्यावसायिक रूपमा गरिएको फूलखेतीले बजार पाउन नसकेपछि उनी निराश छन्। उनले गत वर्ष पनि घाटा व्यहोरे। यो वर्ष ३० लाखको बिक्री गर्ने लक्ष्य थियो उनको।
करिब डेढ लाखको मात्रै बिक्री गरेपछि लकडाउन सुरु भयो। अत्यावश्यक सेवामा परेका खाद्यवस्तु, तरकारी बिक्री भए। तर फूलखेती गर्ने किसानको लगानीसमेत डुबेको छ। फूलखेतीबाट लगातार दोस्रो वर्ष पनि घाटा भएपछि कमलप्रसादकी श्रीमती कृष्ण अर्यालले राज्यले फूलखेती गर्ने किसानका लागि केही नगरेको गुनासो गरिन्। ‘अन्य कृषि व्यवसायलाई अनुदान या बजारको लागि सरकार नै लाग्छ’, उनले भनिन्, ‘उत्पादन गरेपछि भएको नोक्सानीमा राज्यले केही गरिदिएन।’
फूल प्रतिगोटा सानो र ठूलो हेरी १२ देखि २० रुपैयाँसम्म बिक्री हुन्छ। बिक्री गर्न नपाएपछि किसानको लगानी डुबेको हो। पुष्प व्यवसायअन्तर्गत चारवटा क्षेत्र हुन्छ। माला, सजावटमा प्रयोग गर्ने कट फ्लावर उत्पादक, कट फ्लावर बिक्रेता, बिरुवा उत्पादन तथा बिक्री वितरण र गार्डेनिङ पर्छन्। बन्दले सबैभन्दा बढी प्रभाव उत्पादकलाई पारेको छ। लगानी, बिउबिजनको खर्चसमेत धानेनन्।
‘बारीमा उत्पादन भएको फूल राख्न मिलेन, त्यसै बारीमा कुहिने हो’, फ्लोरिकल्चर एसोसियसन नेपाल जिल्ला अध्यक्ष प्रकाशराज पन्तले भने, ‘सबैभन्दा बढी शतप्रतिशत घाटा उत्पादकलाई भएको छ।’ जिल्लामा फूलखेतीमा लाग्ने किसान कम छन्। सिजनमा मात्रै फूलेर बिक्री गर्ने फूलको बिरुवा बेच्न पाएनन्। यो वर्ष मात्रै चितवनमा पाँच करोडको नोक्सानी परेको छ। अन्नपूर्ण पाेष्टबाट
पहिलो मात्रा मात्र खोप लिएकाहरु पनि कोरोना संक्रमणले गम्भीर बिरामी भएनन्
कोभिड–१९ विरुद्घका दुवै मात्रा खोप लिएका ‘स्वस्थ व्यक्ति’ कसैको पनि हालसम्म संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार दुवै मात्रा खोप लिएकामध्ये धेरै कमलाई संक्रमणको लक्षण देखिएको छ र उनीहरूमा जटिल समस्या पाइएको छैन । दुवै मात्रा खोप लिएका व्यक्तिहरूमा मुलुकभित्र छुट्टै विस्तृत अध्ययन भने गरिएको छैन ।
त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार दुवै मात्रा खोप लिएका ७४ वर्षीय एक पुरुषको शिक्षण अस्पतालमा मृत्यु भए पनि उनी रगतको क्यान्सर (लिम्फोमा) का बिरामी थिए । ‘पहिलेदेखि नै कोमर्बिडिटीका कारण रोग प्रतिरोधक क्षमता कम भएकाले खोप लगाए पनि प्रभावकारी नहुने सम्भावना हुन्छ,’ डा. दासले भने, ‘उहाँको बढी उमेर, रक्त क्यान्सर जस्तो कोमर्बिडिटी भएकाले खोप लगाउँदासमेत शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएर एन्टिबडी नबनेको वा धेरै कम बनेको हुन सक्छ ।’
शिक्षण अस्पतालमा महामारीको पहिलो लहरमा १ सय ६० र दोस्रो लहरमा करिब ३ सय जनाको संक्रमणले मृत्यु भएको तथ्यांक छ । शिक्षण अस्पतालमा एक मात्रा खोप लगाएका २१ जना र दुई मात्रा खोप लगाएका एक जनाको मृत्यु भएको थियो । ‘मृत्यु भएकामध्ये एक मात्रा खोप लिएकाहरूको विस्तृत अध्ययनको खाँचो छ,’ शिक्षण अस्पतालका अर्का चिकित्सकले भने, ‘एक मात्रा खोप लिएर पनि मृत्यु भएकामध्ये धेरैजसोलाई खोप लिनुअघि, खोप लिन लाइनमा बस्दा वा खोप लिएलगत्तै संक्रमण भएको हुन सक्छ ।’
वीर अस्पतालमा दुई मात्रा खोप लगाएका कसैको पनि मृत्यु नभएको कोभिड फोकल पर्सन डा. अच्युत कार्कीले जानकारी दिए । निजामती कर्मचारी अस्पतालका कोभिड फोकल पर्सन डा. सुमनबाबु मरहट्टाका अनुसार त्यहाँ पनि दुई मात्रा खोप लगाएकाको मृत्यु रेकर्ड भएको छैन । दोस्रो लहरमा कुनै स्वास्थ्य समस्या नभएका र खोप नलिएका ३० वर्षे युवकको समेत गरी ४० जनाको उक्त अस्पतालमा मृत्यु भएको थियो । सेती प्रादेशिक अस्पताल धनगढीका कोभिड फोकल पर्सन डा. शेरबहादुर कमरका अनुसार त्यहाँ पनि दुई मात्रा खोप लगाएका व्यक्तिको मृत्यु भएको छैन ।
कोभिड–१९ बाट शनिबारसम्म ८ हजार ६ सय ७५ जनाको मृत्यु भइसकेको छ भने ६ लाख १९ हजार ३ सय ६५ संक्रमित भएका छन् । मृत्युदर १.६ प्रतिशत छ । कोभिड–१९ विरुद्धको खोप भने ७ लाख ३१ हजार ६ सय ५३ जनाले दुई मात्रा र २५ लाख एक सय ९६ जनाले एक मात्रा लिएका छन् । उनीहरूलाई भारतमा उत्पादित कोभिसिल्ड र चीनमा उत्पादित भेरोसेल खोप लगाइएको हो ।
स्वस्थ व्यक्तिले दुई मात्रा खोप लगाएको २ साता भइसकेपछि संक्रमण भएर ज्यान गएको जानकारी हालसम्म प्राप्त नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताए । उनका अनुसार एक मात्रा खोप लगाएको दुई सातापछि संक्रमित भएकामा समेत मृत्यु न्यून देखिएको छ । कोभिड–१९ विरुद्धको दुई मात्रा खोप लिएका थोरैमा मात्र संक्रमण देखिएको छ भने उनीहरूमा जटिलतासमेत अत्यन्त कम पाइएको छ । एक मात्रा खोप लिएको दुई–तीन साता बितेका व्यक्तिमा कोभिड संक्रमणको जटिलता कमी देखिएको चिकित्सकहरू बताउँछन् । पूर्ण मात्रामा खोप लगाउनु नै कोभिड–१९ समस्याको समाधान रहेको उनीहरूको भनाइ छ । ‘हामीकहाँ दोस्रो लहरमा दुई वा एक मात्रा खोप लिएका करिब दुई सय स्वास्थ्यकर्मी संक्रमित भए । तीमध्ये २ जनालाई मात्र अस्पतालमा भर्ना गर्नुपर्यो तर आईसीयूमा लानुपरेन,’ वीर अस्पतालका डा. कार्कीले भने, ‘हामीकहाँ भर्ना भएका कोभिडका गम्भीर बिरामी खोप नलगाएकैहरू हुन् ।’
त्रिवि शिक्षण अस्पतालका डा. दासले पनि त्यहाँका संक्रमित कर्मचारी कसैलाई पनि अस्पताल भर्ना गर्नुनपरेको बताए । ‘महामारीको दोस्रो लहरमा १९ देखि ६३ वर्षसम्मका १ सय २० जना संक्रमित भएका थिए । उनीहरू सबैजसोले दुई मात्रा खोप लगाइसकेका थिए,’ उनले भने । दोस्रो लहरमा बढी संक्रामक देखिएको कोरोना भाइरसको डेल्टा भेरिएन्ट छ्यापछ्याप्ती रहेका बेला पनि सात भागको एक भाग कर्मचारी संक्रमित हुनु र उनीहरू कसैलाई पनि अस्पताल भर्ना गर्नु नपर्ने अवस्था खोपकै प्रभाव भएको डा. दासले बताए ।
निजामती अस्पतालमा कोभिडको दोस्रो लहरमा ६ जना डाक्टरसहित २२ देखि ५६ वर्षसम्मका २१ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई संक्रमण देखिएको थियो । उनिहरूले दुवै मात्रा खोप लिएका थिए । तीमध्ये २ जनालाई मात्र अस्पतालमा भर्ना गर्नुपर्यो । उनीहरूमा पनि मध्यम किसिमको लक्षण देखिएको थियो । निजामती अस्पतालका डा. मरहट्टाले भने, ‘खोप मात्र कोभिडको समाधान हो । पछिल्लो समय नेपालमा ४–५ जना युवा डाक्टरको कोभिडले मृत्यु भयो तर उहाँहरूले खोप लिएको इतिहास थिएन ।’
मुलुकमा कोभिडको दोस्रो लहर आउनुअगावै १३ लाख ६४ हजार ७ सय १ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिइसकेकाले ६५ वर्षमाथिको उमेर समूहमा अनुमान गरिएभन्दा धेरै कम मृत्युदर देखिएको स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बताए । ‘एक मात्रा खोपले पनि ज्येष्ठ नागरिकमा संक्रमण, मृत्युदर र अस्पताल बसाइको समय घटाएको देखिन्छ,’ उनले भने, ‘यसले एक मात्रा खोप लगाए पनि शरीरमा प्रतिरोधी क्षमता बढ्ने बुझ्न सकिन्छ ।’ कान्तिपुर दैनिकमा समाचार छ
मकवानपुर । नेपालमा शनिबार थप ३ हजार ६ सय ६० संक्रमित कोरोनामुक्त भएका छन्। याे सँगै हालसम्म नेपालमा ५ लाख ५३ हजार ३ सय ४२ जना कोरोनामुक्त भएका छन्।
यस्तै, नेपालमा २ हजार ४ सय १ जनामा कोरोना भाइरस पुष्टि भएको छ। देशभर गरिएको ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६ सय ८८ र ४ हजार ६ सय ८६ एन्टिजेन परीक्षणमा ७ सय १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४५ हजार २ सय ९ पुगेको छ।
त्यस्तै कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएका छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ। हाल नेपालमा ५७ हजार ६१८ सक्रिय संक्रमित आइसोलेशन र ४४१ जना क्वारेन्टाइनमा छन्। त्यस्तै हालसम्म ३२ लाख ६२ हजार ५८९ वटा पीसीआर र १ लाख ३८ हजार ३१३ एन्टिजेन परीक्षण गरिएको छ।
मकवमनपुर । मकवानपुरमा संचालनमा रहेकाे २ वटा आइसोलेसनलाई फरक फरक संस्थाले खाद्यान्न पुस्तक सहयाेग गरेकाे छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरले मकवानपुरको भीमफेदी गाउँपालिकास्थित आइसोलेसन वार्डलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । शनिबार महासंघ मकवानपुरले भीमफेदी आइसोलेसन पुगेर चामल, चिउरा, दाल, तेल, अण्डा, चाउचाउ, बिस्कुट, पानी, साबुन सहयोग गरेको हो ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो । यसअघि पनि नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरले हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
यसैगरी निजीक्षेत्रको सक्रियतामा सञ्चालित पल्पसा आइसोलेसन सेन्टरलाई पुस्तक सहयोग गरिएको छ । कोभिड–१९ संक्रमित भई चिकित्सकको निगरानीमा आइसोलेसन सेन्टरमा बस्दै आएका संक्रमितलाई अध्ययन गर्न पुस्तकालय अभियान समूह मकवानपुरको समन्वयमा सचेत नागरिक युवा समूह मकवानपुरले ६ हजार रुपैयाँ बराबरको १९ थान पुस्तक शनिबार आइसोेलेसन सेन्टरलाई हस्तान्तरण गरिएको हो ।

सचेत नागरिक युवा समूह मकवानपुरका अध्यक्ष शिव नारायण श्रेष्ठले पल्पसा आइसोलेसन सेन्टरका संयोेजक कृष्ण कटुवाललाई पुस्तक हस्तान्तरण गरेका हुन् ।