हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेकोले देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मनसुन सक्रिय भएकाेले मकवानपुर सहित देशका अधिकांश भाग वर्षा भइरहेककाे छ ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारि वर्षा भई बाँकी प्रदेशका १/२ स्थानमा हल्का देखी मध्यम वर्षा भईरहेको महाशाखाले जनाएकाे छ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जानकारी दिएकाे हाे ।
उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले सबैमा अनुरोध गरेकाे छ ।
३ दिनको मौसम पूर्वानुमान
असार १८ गते शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
असार १९ गते शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
असार २० गते आइतबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक दुइ स्थानमा अति भारि बर्षाको पनि संभाबना रहेको छ।
सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् । अहिले देशभर झन्डै ४ लाख शिक्षक–कर्मचारी छन् । तीमध्ये अधिकांशले खोप लगाउन पाएका छैनन् । खोप लगाउने प्राथमिकतामा समेत शिक्षक–कर्मचारी छैनन् ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ स्वास्थ्यमन्त्रीसमेत भए पनि खोप अभियानमा आफूलाई प्राथमिकतामा नराखेको शिक्षकको गुनासो छ ।
नेपालमा पहिलोपटक ८ माघ २०७७ मा भारत सरकारमार्फत १० लाख मात्रा कोभिसिल्ड खोप भित्रिएको थियो । खोप अभियान सुरु भएको १ सय ५८ दिन बितिसक्दा पनि शिक्षकलाई खोप लगाउन सरकारले कुनै ठोस जवाफ दिएको छैन । १ असारबाट शैक्षिकसत्र सुरु भएको छ । सरकारले जारी गरेको निषेधाज्ञासमेत खुकुलो हुँदै गएको छ । तर, यो बेलामा शिक्षकलाई खोप लगाएको भए भौतिक उपस्थितिसहित पठनपाठन गराउने विकल्पबारे सोच्न सकिन्थ्यो ।
अहिले अधिकांश विद्यालयका शिक्षकले खोप लगाउन नपाउँदा हामीलाई खोप कहिले ? भन्दै सरकारसमक्ष प्रश्न तेस्र्याएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको कोभिड १९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा पनि शिक्षकलाई समेटिएको छैन ।
नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले खोप लगाउन सरकारले शिक्षकलाई प्राथमिकतामा नराखेको बताए । उनले भने, हामी विद्यार्थीसँग प्रत्यक्ष जोडिने व्यक्ति हौं । सरकारलाई पटकपटक खोप दिलाउन लिखित र मौखिक आग्रह गरे पनि सरकार गम्भीर देखिँदैन ।’ सरकारले खोप उपलब्ध नगराउँदासम्म कक्षाकोठामा भौतिक उपस्थितिसहित पठनपाठन गराउन नसकिने भन्दै यो अवस्थामा वैकल्पिक विधिबाट मात्रै पठनपाठन गराइने बताए ।
काठमाडौं त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले शिक्षकहरूलाई कोरोनाविरुद्ध खोपको प्राथमिकतामा राखिनुपर्ने बताए । उनले भने, ‘शिक्षकहरूलाई खोप लगाउनबाट सरकारले बेवास्ता गरेको छ । शिक्षकहरू अभिभावक, विद्यार्थीसँग प्रत्यक्ष सम्पर्कमा रहिरहनुपर्नेहुन्छ । त्यसैले पनि शिक्षकलाई खोपको पहिलो प्राथमिकतामा राख्नुपर्ने हो ।’
सरकारले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । केही दिनमै सरकारले खरिद गरेको १० लाख डोज भेरोसिल खोप चीनबाट नेपाल भित्रिँदै छ । तर, सो खोप लगाउने सूचीमा पनि शिक्षक प्राथमिकतामा छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २५ लाख ७७ हजार ९ सय ६५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यस्तै, ७ लाख ४९ हजार १ सय ३६ जनाले खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् ।
शिक्षक रामराज बस्नेतले सरकारले खोप अभियानमा शिक्षकलाई बेवास्ता गरेको बताए ।
यस्तै, त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षाको समयतालिका सार्वजनिक भएको छ । तर, त्रिविका शिक्षक कर्मचारीले पनि खोप लगाउन पाएका छैनन् । केही शिक्षकहरूले खोप उपलब्ध नगराए दबाब निर्माण गरेर संघर्ष गर्ने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको पहिलो प्राथमिकीकरण सूचीमा स्वास्थ्यकर्मी, सार्वजनिक सफाइकर्मी, नेपाल सरकार बैंक तथा संस्थानका कर्मचारी, कैदीबन्दी रहेका छन् । यस्तै, खोप लगाउने दोस्रो प्राथमिकताको सूचीमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षका दीर्घ रोगी रहेका छन् । राजधानी दैनिकमा प्रशान्त वलीले लेखेकाे समाचार साभार गरिएकाे
मकवानपुर । बागमती प्रदेश सभाकाे विहीबारकाे बैठकमा ३ विधेयक पेश गरिएकाे छ । सभामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरेका छन् ।
यसैगरी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेकी छिन् भने अर्थ तथा विकास समिति सदस्य सांसद विजय सुवेदीले सार्वजनिक सडक तथा परिवहनसम्बन्धि समितिको प्रतिवेदनसहितको विधेयक पेश गरेका थिए ।
त्यस्तै, सभामा आन्तरिक मामिला तथा योजना मन्त्री केशवराज पाण्डेले प्रदेशका विभिन्न जिल्लामा बर्षाका कारण भए जनधनको क्षति र उद्धार कार्यबारे जानकारी गराएका छन् ।
सभामा बोल्दै मन्त्री पाण्डेले असार १ गतेकाे वर्षाको कारण सिन्धुपाल्चोकमा आएको बाढी तथा पहिरोले पाँचपोखरी थाङपालका ६५ परिवार, हेलम्बुमा २ सय ४ परिवार र मेलम्चीमा २४ घरपरिवार गरेर २ सय ९३ घरपरिवार विस्थापित भएको बताए । मन्त्री पाण्डेले असार १ गतेको बाढी तथा पहिरोमा परि ५ जनाले ज्यान गुमाएको बताए । मन्त्री पाण्डले ज्यान जानेमा चिनियाँ नागरिक र भारतीय नागरिक २/२ जना तथा एक जना नेपाली नागरिक रहेको अहिलेसम्म २० जना सम्पर्क बिहिन रहेको बताए ।
त्यसैगरी मन्त्री पाण्डले तत्काल विपत्त व्यवस्थापनको लागि प्रदेश सरकारले ५ करोड रुपँया दिने निर्णय गरेको सभामा जानकारी गराए । १ करोड रुपँया सिन्धुपाल्चोकको विपत्त व्यवस्थापन समिति मार्फत खर्च हुने, सिन्धुपाल्चोक, चितवन रसुवामा रु ५०/५० लाख रुपँया भौतिक पूर्वधार मन्त्रालयको जलस्रोत तथा सिँचाई डिभिजन मार्फत खर्च हुने र बाँकी जिल्लाहरुमा २५ लाखको दरले सोहि डिभिजन मार्फत खर्च हुने गरी रकम पठाइएकाे पाण्डेले जानकारी दिएका छन् ।
प्रदेशका १ सय ९ सांसदलाई ज्ञापनपत्र
बागमती प्रदेशका १सय ९ सांसदलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले बागमती प्रदेश सरकारले आफै संचारगृह संचालन गर्न बजेट विनियोजन गरेकोप्रति ध्यानाकर्षणसहित १सय ९ सांसदलाई ज्ञापनपत्र बुझाएको हो ।
पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रूपेश दुलाल र महासचिव कृष्ण सारू मगरसहितको टोलीले केही सांसदलाई भेटेर र अन्य सांसदलाई संसदीय दलमार्फत ज्ञापनपत्र बुझाएको हो ।महासंघले सभामुख, उपसभामुख, संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसदलाई ज्ञापनपत्र बुझाइएको छ ।
ज्ञापनपत्रमा महासंघले प्रदेश सरकारले आम संचारगृह संचालन गर्ने निर्णय फिर्ता गराउन भूमिका खेलिदिन आग्रह गरिएको छ ।
मकवानपुर । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणकाे लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेकाे छ । संस्थाले आज असार १७ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हाे।
लघुवित्तकाे जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेकोमा जारी पुँजीकाे ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय अंकित मूल्यमा आईपीओ निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता शेयर कर्मचारीहरुका लागि र १९ हजार ४ सय ५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार २१ गते हुनेछ भने ढिलोमा असार ३१ गते हुनेछ।
आईपीओमा कसरी दिने आवेदन
लघुवित्तको आईपीओमा प्रतिशेयर १ सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्ता बराबरको एक लाख रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।
लघुवित्तको आईपीओमा असार १७ गते देखि असार २१ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे असार ३१ गतेसम्म म्याद थप हुनेछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता मुक्तिनाथ क्यापिटल रहेको छ ।
मकवानपुर । नेपाल सरकारले भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ । असार १४ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता वसन्तकुमार नेम्बाङले नेपाल–अंग्रेज युद्धको समयमा वरिष्ठ सैनिक रहेका थापालाई राष्ट्रिय विभूतीमा समावेश गर्ने निर्णय भएको जानकारी दिए ।
विसं १८०२ सालमा लमजुङ जन्मिएका थापा विसं १९७१ मा नेपाल–अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए । गोरखासँगको अन्तिम युद्धमा पराजित भई युद्धबन्दीका रुपमा काठमाडौं पुगेको करिब एक वर्ष पछि थापा नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए। योसँगै नेपालमा राष्ट्रिय विभूतिको संख्या १७ पुगेको छ ।
यसअघि गौतम बुद्ध, अंशुवर्मा, सीता, जनक, अरनिको, रामशाह, अमरसिंह थापा पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, भीमसेन थापा, बलभद्र कुँवर, त्रिभुवन, मोतीराम भट्ट, शङ्खधर साख्वा, पासाङल्हामु शेर्पा र महागुरु फाल्गुनन्द गरी १६ जना राष्ट्रिय विभूति थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङले सार्वजनिक गरेका मन्त्री परिषदकाे निर्णयहरु
– सार्वजनिक खरीद पुनरवलोकन समितिका अध्यक्षमा भीमकुमार ओझा (पाँचथर) र सदस्यमा महेन्द्रबहादुर गुरुङ (ओखलढुङ्गा) तथा राष्ट्रिय योजना आयोगका सदस्यमा राजबहादुर गिरी (बाजुरा)लाई नियुक्त ।
– राष्ट्रिय बीमा संस्थानका प्रशासकमा कविप्रसाद पाठक (झापा)लाई पुनः नियुक्त र नेपाल इञ्जिनीयरिङ परिषद्का रजिष्ट्रारमा इ शिवमंगल गिरीलाई नियुक्त
– नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिका अध्यक्षमा डा अर्जुन कार्की तथा सदस्यमा डा अमिना सिंह, डा असीम ढकाल, प्रा डा विपीनचन्द्र अधिकारी, वीरेश शाह, डा दोभान राई, डा सङ्गीताकौशल मिश्र, डा सूर्यराज आचार्य, डा उत्तमबाबु श्रेष्ठ र श्रवणकुमार राणालाई नियुक्त
– विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका सदस्यमा खड्गबहादुर राई र वाङ्छेदर लामालाई नियुक्त
– फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिको म्याद थप आगामी भदौ ३१ गतेसम्म थप गरिने भएको छ ।
– आर्थिक वर्ष २०७६÷०७७ र २०७७÷०७८ गरी लगातार दुई वर्षसम्म वार्षिक रुपमा न्यूनतम एक सय कामदार पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र आव २०७८÷७९ का लागि नवीकरण गराउन आएमा सरकारले नवीकरण गरिदिने
– सुर्खेत जिल्ला चिङ्गाड गाउँपालिकाको केन्द्र वडा नं ५, आवलिङबाट सोही गाउँपालिकाको वडा नं २ पुङ्खेत कायम गर्न स्वीकृति दिइने
– सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८ र नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गर्ने ।
– विसं २०७८ असार २२–३१ सम्म आयोजना हुन लागेको युनाइटेड नेशन हाइलेभल पोलिटिकल फोरम अन सस्टेनेबल डेभलभमेन्ट–२०२१ मा नेपालका तर्फबाट भर्चुअल सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलका नेतृत्वमा सात सदस्यीय टोलीको मनोनयन
– नेपाल प्रहरीको कार्य/अपराध अनुसन्धान विभागको कार्यविभाजन गरी एक प्रहरी अतिरिक्त महानिरीक्षक पद दरबन्दी सिर्जना गर्ने र सैनिक सेवा (चौथो संशोधन) नियमावली, २०७८ को मस्यौदामाथि लोक सेवा आयोगको परामर्श माग गर्न स्वीकृति प्रदान गरिने ।
– एशियाली विकास बैङ्कको कार्यकारी निर्देशकको कार्यालय, मनिलामा २०२१ नोभेम्बर १ देखि २०२३ अक्टोबर ३१ सम्मको दुईवर्षे कार्यकालका लागि नेपालले प्रतिनिधित्व गर्ने निर्देशकका सल्लाहकारमा अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई मनोनयन गरी काजमा पठाउने ।
– विश्व बैंक समूहका अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रुपमा प्राप्त हुने १ सय ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने र तत्सम्बन्धी वित्तीय सम्झौतामा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्नका लागि अर्थ मन्त्रालयका सचिव वा सहसचिव, अन्तरराष्ट्रिय सहायता समन्वय महाशाखालाई अख्तियारी दिइने ।
– सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको मानवस्रोत विभागमा कार्यरत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई कार्य तथा सीमा सुरक्षा विभाग र कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललाई मानवस्रोत विभागमा सरूवा गरिने ।
– सरकारले नेपाली सेनाका पाइलट सहायकरथी आशिषनरसिंह राणालाई पाइलट उपरथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने तथा मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका सदस्यमा प्रा डा मनराज कोलाक्षपति, डा पदमबहादुर शाही र डा. अनिल पोखरेललाई नियुक्त गर्ने ।
– यही असार ७ गतेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का सदस्य–सचिवमा वालिङ नगरपालिका, स्याङ्जाका जीवनारायण काफ्लेलाई तोक्ने र खोपको क्लिनिकल ट्रायलसम्बन्धी प्रक्रिया स्वीकृत गर्ने ।
– गण्डकी नदी बेसिनमा जोखिम समुदाय तथा पारिस्थितिकीय प्रणालीको जलवायु समानुकूलन सुधार आयोजनाका लागि हरित जलवायु कोषबाट विश्व संरक्षण सङ्घमार्फत प्राप्त हुने अमेरिकी डलर २७.४ मिलियन अनुदान सहायता स्वीकार गर्ने ।
– जापान सरकारबाट जेडिएस दोस्रो चरणअन्तर्गत सन् २०२१ का लागि छात्रवृत्तिका रुपमा प्राप्त हुने जापानी येन ३ सय ५६ मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने ।
– सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं १० स्थित ६१–६–० बिघा नदी उकास जग्गामध्येबाट हुलाकी राजमार्ग र सोको मापदण्डअनुसारको जग्गा छाड्ने गरी रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३० वर्ष अवधिको दीर्घकालीन भाडामा उपलब्ध गराउन स्वीकृति दिइने ।
– खबर गरौँ ११४५ हेल्पलाइन सेवा सञ्चालन गर्न राजपत्राङ्कित तृतीय श्रेणीका चार अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
– बीउबिजन उत्पादन, आपूर्ति तथा व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने र सडक बोर्डको कार्यकारी निर्देशकको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने ।