मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित बादरेभीरमा ईभी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १२ः३० बजे हेटौंडा–भैंसे सडकखण्डअन्तर्गत भीमफेदी १ त्रिखण्डी नजिकै बादरेभीरमा बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी दुर्घटनामा भएकाे हाे ।
काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको उक्त ईभी सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका–१ का ५० वर्षीय हरि साह गम्भीर घाइते भएका छन्। उनको मुखमा चोट लागेको र थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज सीएमसी रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही स्थानका ३२ वर्षीय राजेश साहको बायाँ खुट्टामा, भारतको बिहारस्थित मोतिहारीका ३४ वर्षीय सर्फे आलमको नाक र बायाँ काँधमा तथा हरि साहका छोरीहरू २६ वर्षीया चन्दा कुमारी साह र २३ वर्षीया शिवा कुमारी साहको शरीरमा भित्री चोट लागेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, हरि साहका पाँच वर्षीय नाति आर्यन साहको शरीरमा भित्री चोट लागेको छ। उनका नातिनी शान्ति कुमारी साह र नाति शिवान्स साह भने सामान्य अवस्थामा रहेका छन्। हरि साहलाई थप उपचारका लागि चितवन रिफर गरिएपछि उनीहरूसमेत चितवन मेडिकल कलेज गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा रौतहटको चन्द्रपुर नगरपालिका–११ की २४ वर्षीया सबिता कुमारी चौधरीको बायाँ कोखामा, यमुनामाई गाउँपालिका–४ का १९ वर्षीय राहुल ठाकुरको मुखमा तथा धमनामाई गाउँपालिका–४ का १६ वर्षीय विजय कुमार ठाकुरको टाउको र दाहिने खुट्टामा चोट लागेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकाे थियो। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रहरी समायोजनको प्रक्रिया यथाशीघ्र टुङ्गिनु पर्ने बताउनु भएको छ। ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आयोजित कार्यक्रम उहाँले यस्तो बताउनु भएकाे हाे ।
मुख्यमन्त्री थापामगरले संविधानले परिकल्पना गरेको सङ्घीय शासन प्रणालीलाई प्रभावकारी बनाउन प्रहरी समायोजनको प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन सङ्घीय सरकारसँग आग्रह समेत गर्नु भएकाे छ । प्रहरी समायोजन ढिलाइ हुँदा प्रदेश सरकारलाई शान्ति सुरक्षा व्यवस्थापन तथा प्रहरी प्रशासनलाई प्रभावकारी बनाउन व्यावहारिक कठिनाइ भइरहेको उहाँले बताउनुभयो। ‘प्रदेशको भौगोलिक अवस्था, स्थानीय आवश्यकता र सुरक्षा चुनौतीलाई नजिकबाट बुझ्ने प्रदेश सरकारलाई प्रहरी परिचालन, जनशक्ति व्यवस्थापन र सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने वातावरण आवश्यक रहेको छ ।’
‘सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायबीच आवश्यक समन्वय, सहकार्य र संवादमार्फत प्रहरी समायोजनको प्रक्रिया छिटो निष्कर्षमा पुर्याउन आग्रह गर्दछु’ मुख्यमन्त्री थापामगरले भन्नुभयो समायोजनपछि प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन व्यवस्थित हुनुका साथै प्रहरी कर्मचारीको वृत्ति विकास, जनशक्ति परिचालन र नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न सकारात्मक परिणाम आउने छ ।’
मुख्यमन्त्री थापामगरले प्राकृतिक विपद्का बेला नेपाल प्रहरीले निर्वाह गर्दै आएको साहसिक र मानवीय भूमिकाको प्रशंसा गर्नुभयो। बाढी, पहिरो, आगलागी र भूकम्पजस्ता विपद्का समयमा प्रभावित नागरिकले सबैभन्दा पहिले राज्य र सुरक्षाकर्मीबाट सहयोगको अपेक्षा गर्ने उहाँले बताउनुभयो। हालै भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको उल्लेख गर्दै उहाँले कठिन परिस्थितिमा नेपाल प्रहरीले नेपाली सेना, सशस्त्र प्रहरी बल, प्रदेश सरकार, स्थानीय प्रशासन, स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरी खोज तथा उद्धार, राहत वितरण र प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।
जोखिमपूर्ण भूगोल, अवरुद्ध सडक, प्रतिकूल मौसम र नदीको तीव्र बहावका बाबजुद प्रहरी कर्मचारीले आफ्नै ज्यान जोखिममा राखेर नागरिकको जीवन रक्षाका लागि काम गरेको भन्दै प्रहरीको कर्तव्यनिष्ठा र सेवाभावको मुख्यमन्त्रीले प्रशंसा गर्नुभयो। विपद्का बेला कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीका परिवारजनको योगदानप्रति पनि उहाँले सम्मान व्यक्त गर्नुभयो।
मुख्यमन्त्री थापामगरले प्रहरी संगठनको सबैभन्दा ठूलो शक्ति जनविश्वास भएको बताउँदै प्रहरी सेवा निष्पक्ष, पारदर्शी, संवेदनशील र नागरिकमैत्री हुनुपर्नेमा जोड दिनुभयो। कानून सबैका लागि समान रहेको अनुभूति प्रत्येक नागरिकले गर्न पाउनुपर्ने उल्लेख गर्दै उहाँले पहुँच, प्रभाव र व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर कानुनअनुसार काम गर्ने संस्कारले मात्रै प्रहरीप्रतिको जनविश्वास बलियो बनाउन सक्ने बताउनुभयो। अपराध अनुसन्धान, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, मानव बेचबिखन नियन्त्रण, लागुऔषध नियन्त्रण, साइबर अपराधको अनुसन्धान र सार्वजनिक सम्पत्तिको संरक्षणमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
बागमती प्रदेशमा तीव्र सहरीकरण, बढ्दो सवारी चाप, सडक दुर्घटना, लागुऔषध दुरुपयोग, साइबर अपराध तथा घरेलु हिंसालगायतका चुनौती रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले यस्ता समस्याको समाधानका लागि प्रदेश सरकार, सुरक्षा निकाय, स्थानीय तह र नागरिक समाजबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।
७१औँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको प्राङ्गणमा आयोजित कार्यक्रममा अमर प्रहरीका परिवारजनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष तथा कान्तिपुर दैनिकका पत्रकार प्रताप विष्टलाई सम्मान गरिएको थियो । कार्यक्रममा राम्रो काम गर्ने प्रहरी उच्च अधिकृतहरु लगायतकालाई पनि सम्मान गरिएको थियो ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीको अध्यक्षतामा भएकाे कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित बहादुर घलान लगायतकाको आतिथ्यता रहेको थियो ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडवाड विशेष सुरक्षा योजना लागू गरेको छ । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै मकवानपुर प्रहरीले सुरक्षा योजना लागू गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पत्रकार भेटघाट गर्दै चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै जिल्लाभर ७१३ जना प्रहरी परिचालन गरिने जनाएकाे छ । मकवानपुर प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले चाडपर्व लक्षित सुरक्षा योजनाबारे जानकारी गराएका हुन् ।
‘प्रहरीले चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, अनलाइन ठगी, हत्या, हिंसा, गुण्डागर्दी तथा जुवातास र लङ्गुरबुर्जाजस्ता गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेको छ’ प्रहरी उपरीक्षक खत्रीले भने ‘यसका लागि नियमित तथा विशेष गस्ती, सादा पोसाकमा प्रहरी परिचालन र संवेदनशील क्षेत्रमा निगरानी बढाइनेछ ।’
त्यस्तै, बजारमा अखाद्य तथा म्याद गुज्रिएका वस्तुको बिक्रीवितरण नियन्त्रण गर्न सम्बन्धित निकायसँग समन्वय गरी अनुगमन गरिने बताइएकाे छ। धार्मिक तथा सांस्कृतिक स्थल, बजार क्षेत्र, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, बसपार्क र बढी भीडभाड हुने स्थानमा सुरक्षा व्यवस्था कडा पारिने मकवानपुर प्रहरीले जनाएको छ ।
चाडपर्वका बेला हुने सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सहजताका लागि हेटौंडा–भीमफेदी–काठमाडौं चल्ने यात्रुवाहक सवारी साधनमा टाइम कार्ड लागू गरिने समेत एसपी खत्रीले जानकारी दिए । यात्रुको गुनासो तथा समस्या सम्बोधन गर्न हेटौंडाको रातोमाटे, बसपार्क, फापरबारी बसपार्क, थानाभर्याङ, लोकप्रिय मोडस्थित सुमो काउन्टर तथा मनहरी र भीमफेदीमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरिएको बताइएकाे छ। तोकिएभन्दा बढी भाडा असुल गर्ने सवारी साधनमाथि अनुगमन गरी कानुनी कारबाही गरिने उनले बताए ।
लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुई जना चालक भए/नभएको जाँच गरिनेछ । चालकलाई आराम गराउन रातोमाटे, बसपार्क र थानाभर्याङलगायत स्थानमा सवारी साधन रोक्ने व्यवस्था मिलाइएको समेत एसपी खत्रीले बताए । त्यसैगरी, चौकीटोल, रातोमाटे, थानाभर्याङ, भीमफेदी र थाहा नगरपालिकालगायत स्थानमा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी चलाउनेलाई नियन्त्रणमा लिन ट्राफिक प्रहरीसहितको टोलीले आकस्मिक जाँच गर्ने बताइएकाे छ ।
‘सुरक्षा योजनाअन्तर्गत एसपीको नेतृत्वमा हातहतियारसहित १० जनाको विशेष कमान्ड पोस्ट स्थापना गरी तैनाथ गरिने छ’ एसपी खत्रीले भने ‘प्रहरी निरीक्षकको कमान्डमा मातहतका कार्यालयसमेत समेटेर १०७ जनाको टोली कार्यालय सुरक्षामा परिचालन गरिने छ ।’ चाडपर्वका समयमा हुन सक्ने सम्भावित विपद् व्यवस्थापन तथा नागरिक सचेतनामूलक कार्यक्रमलाई पनि सुरक्षा योजनामा समेटिएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग जिल्ला सुरक्षा समितिको बैठक बसेर छलफल तथा निर्णय गरेपछि एकीकृत सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चाडपर्व सुरक्षाका लागि बागमतीका १३ जिल्लामा १२ हजार १६७ प्रहरी परिचालन
यसैगरी दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गर्दै बागमती प्रदेशका १३ जिल्लामा १२ हजार १६७ जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जनधनको सुरक्षा र शान्तिसुव्यवस्था कायम राख्ने उद्देश्यले नेपाल प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत काठमाडौँ उपत्यकाका तीन जिल्लामा ७ हजार ६६८ जना प्रहरी परिचालन गरिएको छ। प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत परिचालन गरिएका ती प्रहरीबाहेक बागमती प्रदेशका बाँकी १० जिल्लामा थप ४ हजार ४९९ जना प्रहरी खटाइएको छ।
चाडपर्वका समयमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान, जनधनको सुरक्षा र महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर सुरक्षा योजना कार्यान्वयन गरिएको प्रवक्ता काफ्लेले बताए।
चाडपर्व सुरक्षा योजनामा परम्परागत सुरक्षा पद्धतिसँगै प्रविधिमा आधारित निगरानीलाई प्राथमिकता दिइएको प्रवक्ता काफ्लेले बताए। नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन योजनाबद्ध प्रहरी परिचालन, नियमित अनुगमन र सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नागरिक–प्रहरी सहकार्यलाई समेत प्राथमिकतामा राखिएको छ। यसका लागि स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवाला निकायसँग निरन्तर समन्वय र सहकार्य गरिने प्रहरीले जनाएको छ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा भएकाे २ वटा छुट्टाछुट्टै दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे छ । हेटौंडा ८ मा ट्रकले माेटरसाइकललाई ठक्कर दिंदा १ जना तथा हेटौंडा १० पुरानो घरको जगबाट इँटा झिक्ने क्रममा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको हाे ।
पूर्व–पश्चिम सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–८ गुम्बाचोकनजिकै ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ। मृत्यु हुनेमा हेटौंडा –९ एचआइडी (HID) बस्ने ५५ वर्षीय श्याम कुमार तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहान हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना ४२ प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग १ ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिँदा तामाङ घाइते भएका थिए।
इलाका प्रहरी कार्यालय पशुपतिनगर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले घाइते तामाङलाई उपचारकाे लागि हेटौंडा अस्पताल पुर्याएकेमा उपचारका क्रममा बुधबार बिहान ७:५५ बजे मृत्यु भएको हाे ।
ठक्कर दिने ट्रक, मोटरसाइकल र सर्लाही धनकौल गाउँपालिका–१ का ४४ वर्षीय ट्रक चालक नागेश्वर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यसैगरी हेटौंडा उपमहानगरपालिका–१० मेनरोडमा पुरानो घरको जगबाट इँटा झिक्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन्।
मृत्यु हुनेमा हेटौंडा १० पूर्वीलीटोलका करिब ४५ वर्षीय किरण राना मगर रहेका छन्। ढिस्कोले पुरिएर घाइते भएका मनहरी गाउँपालिका–६ का करिब २७ वर्षीय रोशन श्रेष्ठको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। उनको कम्मरमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मगंलबार साँझ करिब ५:२५ बजे सडक छेउमा रहेको पुरानो घरको जगबाट इँटा निकाल्ने क्रममा माथिबाट अचानक माटो झरेर दुवै जना पुरिएका थिए। घटनालगत्तै प्रहरी टोलीले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याएकोमा चिकित्सकले किरण राना मगरलाई साँझ ६:०२ बजे मृत घोषणा गरेका थिए।
उक्त घर न्युजिल्यान्डमा बस्दै आएकी उर्वासी श्रेष्ठको भएको र विगत १५/२० वर्षदेखि हेटौंडा–११ का वसन्त कप्रौलाले भाडामा लिँदै आएका थिए। हाल नयाँ घर बनाउनका लागि पहिले नै भत्काइएको पुरानो घरको जगबाट इँटा झिक्ने काम भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुर । प्रदेश निर्वाचन कार्यालय हेटौंडाले मकवानपुरका ३ हजार मतदाताकाे नाम मतदाता सूचीबाट हटाएको छ । नागरिकता परित्याग गरेका, मृत्यु भएका र दोहोरो नाम दर्ता भएका समेत गरी करिब साढे ३ हजार मतदाताकाे नाम मतदाताकाे सूचीबाट हटाइएकाे हाे ।
सबैभन्दा धेरै मृत्यु दर्ता भएका १ हजार ९६४ मतादातालाई कार्यालयले सूचीबाट हटाएको छ । वडा कार्यालयहरूबाट प्राप्त मृत्यु दर्ताका आधारमा त्यस्ता नाम हटाएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । यसैगरी दोहोरो मतदाता नामावली भएका १ हजार ५०२ मतदाताको नाम पनि सूचीबाट हटाइएको उनले बताए । त्यसैगरी नागरिकता त्यागेका ६ जनाको नाम पनि कार्यालयले सूचीबाट हटाएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त नागरिकता त्यागेको विवरणका आधारमा उनीहरूलाई सूचीबाट हटाएको निर्वाचन अधिकारी ढकालले जानकारी दिए ।
निर्वाचन कार्यालय हेटौंडाका अनुसार मकवानपुरका ३ हजार ४७२ मतदाताको नाम मतदाता नामवाली सूचीबाट हटाइएको छ । निर्वाचन कार्यालयले हटाएको नामावली प्रकाशित गरेको छ । त्यसबारेमा कुनै दाबीविरोध भए प्रमाणसहित तत्कालै निर्वाचन कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । गत फागुनमा भएको संसदीय निर्वाचनमा मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता थिए ।