मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडवाड विशेष सुरक्षा योजना लागू गरेको छ । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै मकवानपुर प्रहरीले सुरक्षा योजना लागू गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पत्रकार भेटघाट गर्दै चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै जिल्लाभर ७१३ जना प्रहरी परिचालन गरिने जनाएकाे छ । मकवानपुर प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले चाडपर्व लक्षित सुरक्षा योजनाबारे जानकारी गराएका हुन् ।
‘प्रहरीले चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, अनलाइन ठगी, हत्या, हिंसा, गुण्डागर्दी तथा जुवातास र लङ्गुरबुर्जाजस्ता गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेको छ’ प्रहरी उपरीक्षक खत्रीले भने ‘यसका लागि नियमित तथा विशेष गस्ती, सादा पोसाकमा प्रहरी परिचालन र संवेदनशील क्षेत्रमा निगरानी बढाइनेछ ।’
त्यस्तै, बजारमा अखाद्य तथा म्याद गुज्रिएका वस्तुको बिक्रीवितरण नियन्त्रण गर्न सम्बन्धित निकायसँग समन्वय गरी अनुगमन गरिने बताइएकाे छ। धार्मिक तथा सांस्कृतिक स्थल, बजार क्षेत्र, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, बसपार्क र बढी भीडभाड हुने स्थानमा सुरक्षा व्यवस्था कडा पारिने मकवानपुर प्रहरीले जनाएको छ ।
चाडपर्वका बेला हुने सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सहजताका लागि हेटौंडा–भीमफेदी–काठमाडौं चल्ने यात्रुवाहक सवारी साधनमा टाइम कार्ड लागू गरिने समेत एसपी खत्रीले जानकारी दिए । यात्रुको गुनासो तथा समस्या सम्बोधन गर्न हेटौंडाको रातोमाटे, बसपार्क, फापरबारी बसपार्क, थानाभर्याङ, लोकप्रिय मोडस्थित सुमो काउन्टर तथा मनहरी र भीमफेदीमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरिएको बताइएकाे छ। तोकिएभन्दा बढी भाडा असुल गर्ने सवारी साधनमाथि अनुगमन गरी कानुनी कारबाही गरिने उनले बताए ।
लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुई जना चालक भए/नभएको जाँच गरिनेछ । चालकलाई आराम गराउन रातोमाटे, बसपार्क र थानाभर्याङलगायत स्थानमा सवारी साधन रोक्ने व्यवस्था मिलाइएको समेत एसपी खत्रीले बताए । त्यसैगरी, चौकीटोल, रातोमाटे, थानाभर्याङ, भीमफेदी र थाहा नगरपालिकालगायत स्थानमा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी चलाउनेलाई नियन्त्रणमा लिन ट्राफिक प्रहरीसहितको टोलीले आकस्मिक जाँच गर्ने बताइएकाे छ ।
‘सुरक्षा योजनाअन्तर्गत एसपीको नेतृत्वमा हातहतियारसहित १० जनाको विशेष कमान्ड पोस्ट स्थापना गरी तैनाथ गरिने छ’ एसपी खत्रीले भने ‘प्रहरी निरीक्षकको कमान्डमा मातहतका कार्यालयसमेत समेटेर १०७ जनाको टोली कार्यालय सुरक्षामा परिचालन गरिने छ ।’ चाडपर्वका समयमा हुन सक्ने सम्भावित विपद् व्यवस्थापन तथा नागरिक सचेतनामूलक कार्यक्रमलाई पनि सुरक्षा योजनामा समेटिएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग जिल्ला सुरक्षा समितिको बैठक बसेर छलफल तथा निर्णय गरेपछि एकीकृत सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चाडपर्व सुरक्षाका लागि बागमतीका १३ जिल्लामा १२ हजार १६७ प्रहरी परिचालन
यसैगरी दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गर्दै बागमती प्रदेशका १३ जिल्लामा १२ हजार १६७ जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जनधनको सुरक्षा र शान्तिसुव्यवस्था कायम राख्ने उद्देश्यले नेपाल प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत काठमाडौँ उपत्यकाका तीन जिल्लामा ७ हजार ६६८ जना प्रहरी परिचालन गरिएको छ। प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत परिचालन गरिएका ती प्रहरीबाहेक बागमती प्रदेशका बाँकी १० जिल्लामा थप ४ हजार ४९९ जना प्रहरी खटाइएको छ।
चाडपर्वका समयमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान, जनधनको सुरक्षा र महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर सुरक्षा योजना कार्यान्वयन गरिएको प्रवक्ता काफ्लेले बताए।
चाडपर्व सुरक्षा योजनामा परम्परागत सुरक्षा पद्धतिसँगै प्रविधिमा आधारित निगरानीलाई प्राथमिकता दिइएको प्रवक्ता काफ्लेले बताए। नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन योजनाबद्ध प्रहरी परिचालन, नियमित अनुगमन र सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नागरिक–प्रहरी सहकार्यलाई समेत प्राथमिकतामा राखिएको छ। यसका लागि स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवाला निकायसँग निरन्तर समन्वय र सहकार्य गरिने प्रहरीले जनाएको छ।

