मकवानपुर । मकवानपुरबाट १६६ जना कैदीबन्दी नियन्त्रणमा लिइएको छ । देशका विभिन्न कारागार तथा बाल सुधारगृहबाट भागेकाहरु मध्ये नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा उनीहरूलाई मकवानपुरको विभिन्न स्थानबाट नियत्रणमा लिइएकाे हाे ।
भिमफेदी कारागारबाट भागेका ४४० कैदीबन्दी मध्ये ७८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । प्रहरीका अनुसार भिमफेदी कारागारका ३६२ जना कैदीबन्दी अझै फरार रहेका छन् । भिमफेदी कारागारमा एक नाबालकसहित कुल १ हजार ६६ जना कैदीबन्दी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जनाकारी दिए ।
प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार मकवानपुरस्थित बाल सुधार गृहबाट भागेका ७२ जना मध्ये ४१ जनालाई नियन्त्रणमा लिइएको छ भने ३१ जनाको खोजी कार्य जारी छ । उक्त बाल सुधार गृहमा कुल ९४ जना रहेका थिए । काठमाडौं उपत्यकाका विभिन्न कारागारबाट भागेका कैदी बन्दीहरुलाई पनि मकवानपुरबाट प्रहरीले पक्राउ गरेको छ । नख्खु कारागारबाट भागेका मध्ये ७ जना र जगन्नाथदेवलस्थित केन्द्रीय कारागारबाट भागेका २ जनालाई नियन्त्रणमा लिइएको छ ।
कास्की कारागारबाट भागेका १ जना र तनहुँ जिल्ला कारागारबाट भागेका २ जनालाई नियन्त्रणमा लिइएको सुरक्षा निकायले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिइएका ३५ जना कैदीबन्दी कुन कारागारबाट भागेका हुन् भन्ने खुल्न बाँकी रहेको प्रवक्ता अर्यालले बताए । उनीहरूको पहिचान गर्ने कार्य भइरहेको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा–११ थानाभर्याङमा रहेको बालसुधार केन्द्रबाट एकैचोटि ७२ जना बालकहरु भागेका छन् । बुधबार दिउँसो ३ बजे उनीहरु भागेको प्रहरीले जनाएको छ । गृहमा ९४ जना बालकहरु रहेको थिए । अपराधिक गतिविधिमा संलग्न बालकहरू सुधारको लागि राखिएका थिए ।
बालसुधार गृह मकवानपुरका कार्यालय प्रमुख प्रदीप गौतमका अनुसार बालसुधार गृहको संरचना तोडेर उनीहरू फरार भएका हुन् । घटनापछि सुरक्षा निकायहरू, प्रहरी टोली तथा सरोकारवाला निकायहरू सक्रिय भएका छन् र फरार बालकहरूको खोजी कार्य तीव्र पारिएको बताइएको छ ।
यता मकवानपुरको भिमफेदी गाउँपालिका वडा ६ मा रहेको भिमफेदी कारागारका कैदी बन्दीहरु पनि भागेका छन् ।
कारागारको ख ब्लकमा रहेको कैदी बन्दी पर्खाल फुटाई भागेका हुन् । कारागारमा रहेका कैदी बन्दीहरु मध्ये अन्दाजी ४ सय जना मुख्य गेटबाटै भाग्ने कोशिस गरेपछि कारागार सुरक्षा बेशमा खटिएको सुरक्षा निकायले ५ राउण्ड ग्यास सेल फायर गरेको थियो । मंगलबार राती २५९ जना कैदी बन्दी फरार रहेका थिए । बुधबार दिउँसो फेरी १६९ जना फरार भएको कारागार प्रशासनले जनाएको छ । अब यस कारागारमा ६२६ जना बाँकी रहेको बताइएको छ ।
रेकर्ड सबै खरानी सेना परिचालनपछि चकमन्न हेटौंडा
जेनजीको आन्दोलपछि आगजनी गरिएको हेटौंडा खण्डहर बनेको छ । बागमती प्रदेशको राजधानी हेटौडाको सबै मन्त्रालयहरु, सरकारी कार्यालयहरु, विभिन्न दलका नेतृत्वको निजी घरहरु तोडफोड र आगजनी गरिएको छ ।
हेटौँडा उपमहनगरपालिकाको विभिन्न वडा कार्यालयका समेत महत्वपूर्ण कागजातहरु जलेर खरानी भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुर मात्र सग्लो रहेको हेटौंडामा प्रदेश सरकारका अधिकांश मन्त्रालयहरु तोडफोड तथा आगजनी गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोकसेवा आयोगका संघीय र प्रदेश कार्यालय समेत जलेका छन् । मकवानपुर जिल्ला अदालतको भवनसहित कागजात जलेर नष्ट भएका छन् ।
यि कागजसँगै इतिहास तथ्याङ्कहरु खरानी भएका छन् । जेनजी पुस्ताको माग अनुसार भ्रष्टाचार विरुद्धको छानविनको लागि समेत नापि, मालपोत, अख्तियार कार्यालयहरुको रेकर्ड खरानी भएका छन् ।
प्रदेशसभा सचिवालयका दुईवटा भवन जलेर नष्ट भएका छन् । हेटौँडा उपमहानगरपालिका कार्यालयको आगो बुधबार दिउँसोसम्म पूर्णरुपमा निभाउन सकिएको छैन । जिल्ला ट्राफिक कार्यालय मकवानपुरको कार्यालयमा समेत आगजनी भएको छ । भाटभटेनी स्टोरदेखि निजी घरमा समेत आगजनी र तोडफोड भएका छन् ।
मकवानपुर । बागमती प्रदेश राजनीति हेटौंडा हेर्दा हेर्दै खरानी भएको छ । प्रदेश सरकारको प्रदेश सभा सचिवालय सबै मन्त्रालयहरू नष्ट भएका छन् ।
सरकारी कार्यालयहरू हेटौंडा उपमहानगरपालिका, लोकसेवा आयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीलगायतको पार्टी कार्यालयहरू, प्रदेशको सन्चार रजिस्ट्रार कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, हेटौंडा स्थित भाटभटेनी मार्केट सबै धोस्त भएका छन् ।
साझ अबेरसम्म दन्किरहेको आगोले आसपासको घरहरूमा आगो सर्ने त्रास बढेको छ भने युवाहरू सडकमा उत्सव मनाउन थालेका छन् ।
स्थानीय प्रशासनले मंगलबार दिउसो १ बजेबाट राती १२ बजे सम्मको लागि कर्फ्यू जारी गरेको छ ।
आगलागीको घटनापछि बिद्युत अवरुद्ध भएकोले जनजीवन थप प्रभावित भएको छ ।
मकवानपुर । संघीय गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् ।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका थिए । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।
सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा लेखकले घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने र राजीनामा दिने बताएका थिए ।
सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुल्यो
सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।
चर्को विरोध र सत्तारुढ दलबाटै दबाब थेग्न नसकेपछि अन्तत: सरकार निर्णयबाट पछि हटेको हो ।
