मकवानपुर । नेपालमा १ हजार ९ सय २० जना काेराेना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जनामा कोरोना भाइरस पुष्टि भएसँगै संक्रमितकाे संख्या थपिएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ४३ पीसीआर परीक्षणमा १ हजार ७ सय २ जना र ३ हजार ७३ एन्टिजेन परीक्षणमा २ सय १८ गरी १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । याेसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४७ हजार ४ सय ३३ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार २ सय ४८ रहेको छ । याे समेत ६ लाख ९८ हजार १ सय ७३ जना संक्रमणमुक्त भएका छन् । आइतबार काेराेना संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेकाे संख्या बढी छ । काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ जना रहेका छन् । जसमध्ये ३५ हजार ५ सय ५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १ सय ९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय ८१ जना आईसीयू र १ सय ६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
मकवानपुर प्रहरीले अपहरणमा परेका २ जना युवाको उद्वार गरेर ४ दिनपछि सकुसल परिवारको जिम्मा लगाएका छन् । प्रहरीले उनीहरुलाई भारतबाट उद्वार गरेर हेटौंडा स्थित परिवारको जिम्मा लगाएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार पत्रकार सम्मेलन गरेर यो जानकारी सार्वजनिक गरेको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर –९ स्वागत टोल बस्ने २३ वर्षीय गोविन्द श्रेष्ठ र २२ वर्षीय पवन रानामगरलाई सकुसल उद्वार गरी शनिबार नै परिवारको जिम्मा लगाएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।
उनीहरु भदौ ३ गते राति ९ः ३० बजे हेटौंडा बसपार्क क्षेत्रबाट अपहरणमा परेका थिए । श्रेष्ठ र राना मगरलाई ३ जना भारतीय नागरिकहरुले विभिन्न प्रलोभन देखाएर भारतको मोतिहारीसम्म पु-याएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । त्यसपछि उनीहरुलाई त्यहाँ बन्धक बनाइएको थियो ।
अपहरणकारीले उनीहरुसंँग प्रतिव्यक्ति ५ लाख भारतीय रुपीयाँ फिरौती माग गरेका थिए । फिरौती नपाए मृगौला बेचिदिने भन्दै यातना दिएका थिए पीडितको परिवारले जनाएक छ ।भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरुको उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक रिमालले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको रिमालले बताए ।
मकवानपुर प्रहरीले केही समय अगाडि मकवानपुर जिल्ला मनहरी गाउँपालिकाबाट अपहरीत एक बालिकालाइ पनि भारतबाट सकुसल उद्धार गरेको थियो ।
मकवानपुर । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेकोले देशभर सामान्य बदली रही हल्का देखि मध्यम बर्षाकाे सम्भावना रहेका छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिण तिर रहेको छ।
प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
प्रदेश नं १,गण्डकी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाकाे बुलेटिनमा उल्लेख छ । पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु समेत महाशाखाले सबैमा अनुरोध गरेकाे छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
भदाै ६ गते आइतबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
भदाै ७ गते सोमबार पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
भदाै ८ गते मंगलबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश ,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
मकवानपुर । आज जनै पूर्णिमा पर्रव मनाइदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर तागाधारीहरूले नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। जनै पूर्णिमा पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ। विधान शास्त्र अनुसार यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।
स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ। अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो।
यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण जनै पूर्णिमामा भीड नह्रुने गरी मनाउन तीनै तहका सरकारले आह्वान गरेको छ। वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ। भक्तजनहरू रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि मन्दिर परिसर, नदीको किनार र मठ मन्दिरमा जाने गर्छन् ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्ष कोरोनाको भयकै कारण उत्सव छैन।
जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। क्वाँटीले रोग प्रतिरोधी क्षमतासमेत बढाउने भएकाले कोरोनाबाट बच्न उपयोगी हुन्छ।
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।
घरबाट भागेर २०३६ सालमा राजनीतिमा लागेकी नेकपा (एमाले) नेत्री अष्टलक्ष्मी शाक्य २ भदौमा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी छन्। उनी २०७४ सालको प्रदेश सभा निर्वाचनमा काठमाडौं ८ ‘क’ बाट निर्वाचित भएकी थिइन्। एमाले बागमती प्रदेशको इन्चार्ज समेत रहेकी शाक्य गुटगत आन्तरिक संघर्षका कारण त्यति वेला मुख्यमन्त्री बन्न सकिनन्। अहिले एमाले विभाजन भएको वेला उनी मुख्यमन्त्री बनेकी छन्। नवौं महाधिवेशनमा माधवकुमार नेपाल समूहबाट उपाध्यक्ष जितेकी शाक्य यति वेला भने अध्यक्ष केपी शर्मा ओली पक्षमा उभिएकी छिन्। नेपालले २ भदौमा नयाँ पार्टी गठन गरेसँगै ओलीले डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर शाक्यलाई मुख्यमन्त्री बनाएका हुन्। अब नेपाल पक्षले साथ नदिंदा उनको मुख्यमन्त्री पद जोगिने देखिंदैन। उनी भने सबैको साथ पाएर नै मुख्यमन्त्री बनेको बताउँछिन्। मुख्यमन्त्री शाक्यसँग सरिता दाहालले गरेको कुराकानी :
नेकपा (एमाले) विभाजन भएको र निर्वाचन नजिकिंदै गरेको वेला छोटो समयका लागि मुख्यमन्त्री बन्नुभएको छ। कसरी अघि बढ्ने योजना छ ?
छोटो समयकै लागि भन्नुपर्यो, १६ महिना जति मात्रै बाँकी छ। यसमा पनि केही चुनौती र केही अवसरहरू देखेकी छु। पहिलो, बजेट नै हो। यसअघिको बजेटबाट भएका राम्रो कामको समीक्षा गर्छाैं। बजेट तथा कार्यक्रममा आवश्यकता र विगतको कार्यान्वयनको पाटो हेर्नु छ। त्यसपछि काम शुरू गर्छौं।
बागमती प्रदेशका सबै जिल्ला अत्यन्तै सम्भाव्यता बोकेका छन्। मैले पटक-पटक भन्ने गरेकी छु, यहाँको जीवन दुःखमा बस्नुपर्ने खालको छैन, हामीले आँट गरेर योजनाहरू बनाउने र कार्यान्वयनमा ल्याउने हो भने कोही पनि अभाव र समस्यामा बस्नुपर्ने छैन। अवसर नै अवसर भएको यो प्रदेशमा सबैको साथ चाहिन्छ, धेरै काम गर्न सकिन्छ। जनता र प्रदेशका लागि काम गर्छु।
अहिले हाम्रो ध्यान कोभिड-१९ नियन्त्रणमै छ। खोपको अपर्याप्तता छ, केही अव्यवस्थालाई व्यवस्थित गर्नुपर्छ। यस्तै, बाढीपीडितको अवस्थाप्रति पनि ध्यान दिनुपर्छ। सरकारले केही गर्ला भन्ने आशा बोकेर बस्नुभएको छ। उहाँहरूका लागि केही गर्नुपर्छ। बाढीपीडितको जहाँ-जहाँ समस्या छ, त्यहाँ ध्यान दिनेछु।
अर्को, सुशासन कायम गर्नुपर्नेछ। भ्रष्टाचार, अनियमितता विरुद्धको लडाँइ छ। विकास निर्माणका नियमित योजना त छँदै छन् ।
देशको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ। महिलाका लागि केही विशेष योजना छन्?
म पहिले पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी हुँ। त्योभन्दा अगाडि जति वेला म आन्दोलनमा थिएँ, मेरो विषय महिला नै थियो। अखिल नेपाल महिला संघको अध्यक्ष भएको नाताले पनि मेरो मुख्य पाटो महिला नै थियो र आज पनि हो।
कमरेड साहना प्रधानसँग आन्दोलनमा हिंड्दा पनि महिलाको विषयमा हामी गहिरिएर सोच्ने र विश्लेषण गर्दथ्यौं। जेल पर्दाताका आन्दोलनको विषय पनि महिलाकै थियो। मेरो आन्दोलनको विषय महिला, मैले सबैभन्दा बढी समय खर्चिएको विषय महिला आन्दोलन, अनि आफैं पनि महिला भएका कारण मैले महिलाको मुद्दालाई बिर्सने त कुरै भएन। महिला कति पीडित, कति दमित, कति दुःख, पीडा सहेर बसेका छन् भन्ने बुझेकी छु।
अहिले संविधानमा महिलाका विषयमा जे व्यवस्था भएको छ, त्यो हाम्रो आन्दोलनबाट नै आएको हो। अझै पनि महिला पीडित छन्। हामीले अझै लड्नुपर्छ। अब मैले महिलासँगै सबै नागरिकको सवाललाई सम्बोधन गर्नुपर्छ। संविधानमा भएका व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्छ। बागमती प्रदेशको हकमा मैले नेतृत्व गर्ने छोटो समयमा कति सक्छु, गरेर देखाउनेछु।
विगतमा धेरै पटक मुख्यमन्त्री हुने भन्ने हल्ला चल्यो। तर, यस पटक भने एकाएक मुख्यमन्त्री बन्नुभयो। यो कसरी सम्भव भयो?
विगतमा हल्ला भए, तर हल्लामै सीमित रहे। यो पटक अपर्झट नै कदम उठाइयो। सबै नेतालाई समेत जानकारी दिन सकिएन, तर थाहा पाएपछि पनि सबै दलका नेता, सांसदले फोन गरेर आफ्नो साथ छ भन्नुभएको छ। सत्ता र विपक्षी दलका नेताले ‘तपाईं हिजै मुख्यमन्त्री बन्नुपर्ने थियो, आज बन्नुभयो, हाम्रो पूर्ण साथ छ’ भन्नुभएको छ। सबै दलका नेताले ‘जे कदम चाल्नुभयो, हाम्रो पूर्ण साथ छ’ भन्नुभएको छ। म ढुक्क छु, मेरो कार्यकाल सफल पार्न सबैको विश्वास प्राप्त हुनेछ।
तपाईंको पार्टी राजनीति त एकाएक बदलियो नि ?
पार्टीभित्रको हलचल त केही लामै हो, मुख्य बागमती प्रदेशमा किन यस्तो भयो भन्ने सवाल अहिले चर्चामा छ। केन्द्रीय राजनीतिमा जे जस्तो देखिएको छ, यसले दुःखी बनाएको छ।
अहिले विकासका लागि राजनीतिक सहमति र प्रष्ट भिजनका साथ अगाडि बढ्नुपर्ने वेला हो। काम गर्न कुनै अप्ठ्यारो पनि छैन। तर, पार्टीभित्र बेमेल, अस्वस्थ प्रतिस्पर्धा, गुटगत गतिविधि, एक–आपसमा मिल्नै नसक्ने घमण्ड र दम्भले नै नोक्सान पुर्यायो।
नेतृत्व तहमा घमण्ड बढी भयो। सबैलाई सम्मान गर्ने, समेटेर लैजाने, त्यो खालको लचकता र फराकिलोपन देखिएन। यसै कारण हामीले धेरै अवसर गुमायौं। राजनीतिक वातावरण कमजोर हुँदै गयो। जनतामा निराशा बढायो। अनेक चलखेल बढे, एकताबद्ध हुने अवस्था नै देखिएन।
यस्तो अवस्थामा बागमती प्रदेशबाट एकताको सन्देश दिने प्रयास गरेका हौं। हामी विभाजनतिर जानु हुन्न भनेर दबाब दिन खोजेका हौं। त्यसका लागि सल्लाह गर्दै, सहमति खोज्दै, अगाडि बढ्दै आयौं। मन फराकिलो बनाउँदै आयौं।
म पार्टीको सिनियर भएको हिसाबले पनि नेतृत्व गर्नुपर्ने थियो। मैले बाटो देखाउनुपर्ने भएकाले एकताको पक्षमा उभिएकी हुँ। लोकतन्त्र जोगाउन, गणतन्त्र जोगाउन, संविधानको मर्म राख्न एकताको पक्षमा फराकिलो सोच राखेर यो आँट गरेकी हुँ। मलाई डोरमणिजीबाट पनि साथ मिल्यो।
तपाईं त माधवकुमार नेपाल पक्षकी नेत्री, अध्यक्ष केपी शर्मा ओलीको चर्को विरोध पनि गुर्नभयो। अहिले मुख्यमन्त्री पदका लागि आफ्नो विचार साट्नुभएको भन्ने आरोप छ नि?
यस्तो आरोप लगाउनेलाई मैले भन्नु केही छैन। लोकतन्त्रमा आफ्नो विचार राख्न पाइन्छ, लागेको भन्न पाउनुहुन्छ।
मुख्यतः अष्ट कस्ती मान्छे हुन् भनेर चिन्नुपर्छ। अष्टले पदका लागि कहिले होडबाजीमा लागेकी छ? पार्टीमा हिजो मेरो देन के थियो, आज के योगदान गरिरहेकी छु? यो सब बुझ्नेहरूले त्यस्तो आरोप लगाउनुहुन्न।
आन्दोलनको दौरानमा, कम्युनिष्ट पार्टी स्थापना गर्ने क्रममा झलनाथ खनाल, जीवराज आश्रित, मदन भण्डारी, माधव नेपालले मलाई यहाँसम्म ल्याउनुभयो। घरपरिवार छाडेर म एक्लो निस्कँदा अन्योलमा थिएँ, उहाँहरूले नै मलाई कम्युनिष्टको सिद्धान्त बुझाउनुभयो। विचारमा खार्नुभयो। उहाँहरूको साथ मेरा लागि अद्वितीय छ। घर छोडेर हिंडेको मान्छेलाई धेरै सिकाउनुभयो, र अहिले यहाँ छु।
केपी कमरेडलाई मैले झापा आन्दोलनपछि मात्रै चिनेकी हुँ। म कोही नेतृत्वलाई अपमान गर्न सक्दिनँ, किनकि उहाँहरूले दुःख बुझेर आउनुभएको छ। त्याग गरेर आउनुभएको छ। तर, यतिखेर आएर जस्तो सोच राख्नुपर्ने हो, त्यो देखिएन। मुलुक, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र, गणतन्त्रका लागि एकजुट भएर अगाडि बढौं, मन फराकिलो गरौं, कसैले कसैलाई निषेध नगरौं भन्ने सोच नेतृत्वले राख्नुपर्थ्यो, त्यो देखिएन।
पछिल्लो समय केपी कमरेडको दम्भ बढी भयो। पदमा पुगेपछि अगाडि-पछाडि कोही देख्नुभएन। व्यक्ति-व्यक्तिलाई पनि निषेध गर्ने काम भयो। त्यही कारणले राजनीतिलाई यो ठाउँमा पुर्यायो।
नमिलेको घर र मिलेर बसेको घरमा कति फरक हुन्छ? पार्टी भनेको पनि घर नै हो। अहिले नमजा लागेको छ। पार्टी अप्ठ्यारो अवस्थामा पुगेको छ। मैले आफ्ना तर्फबाट केपी कमरेडलाई भनेकी छु- अब तपाईंले पार्टी हाँक्न सक्नुहुन्न।
त्यसैले पनि फलानालाई छोडेर फलानाको तर्फ गयो भन्ने मेरो विषयमा लागू हुनै सक्दैन। म सबैको आदर–सम्मान गरेर अगाडि बढ्छु। हामी फुट्नु राम्रो हैन, यो प्यानल, त्यो प्यानल हैन, संस्कारयुक्त कम्युनिष्ट पार्टीका लागि मेरो मत हो।
अहिले कम्युनिष्ट आन्दोलनमा एकताको जरुरी छ। मैले एकताका लागि यो कदम चालेकी हुँ। यता र उताभन्दा पनि एकताकी पक्षधर हुँ। प्राप्त उपलब्धिको रक्षा गर्ने वेलामा फुटेको मलाई पटक्कै ठीक लागेको छैन। अब एक ठाउँमा आउनैपर्छ, मिल्नैपर्छ भन्ने दबाब दिन खोजेकी हुँ।
२०५४ सालमा पार्टी फुट्दाको पीडा मैले पनि भोगेकी छु। त्यो फुटपछि पार्टीभित्र कति धेरै तिक्तताहरू जन्मिए, त्यो अहिले झलझली सम्झिरहेकी छु। त्यस्तै घटना फेरि नहोस् भनेर म एकताको पक्षमा उभिएकी हुँ। कसैलाई धोका दिएकी छैन, कसैको पक्षमा गएकी हैन।
यो तपाईंको पार्टीको कुरा भयो। बागमतीका बासिन्दालाई के भन्नुहुन्छ ?
यति वेला राजनीतिक अस्थिरता देखेर जनतामा निराशा बढेको छ। लोकतन्त्र बेकारको रहेछ भन्ने सोच आउन सक्छ। जनताका लागि शान्ति, विकास, समृद्धि चाहिएको छ। यो वेला राजनीतिक अस्थिरता देखेर आत्तिनु स्वभाविक पनि हो। नआत्तिनुस्, राम्रो समय आउँछ।
लोकतन्त्र भनेको विचारको तन्त्र हो, फरक विचार आउनु स्वाभाविक हो भनेर बुझिदिनुस्। सकारात्मक विचारै महत्त्वपूर्ण हुन्छ। आफ्नो ठाउँबाट सरकारलाई सहयोग गरिदिनुस्, सरकार सधैं जतनाकै लागि हो। धैर्य राखिदिनुस्, केही राम्रो गरेर देखाउनेछु।
https://www.himalkhabar.com बाट