मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले संविधान दिवसकाे शुभकामना व्यक्त गर्नु भएकाे छ । जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको आज १० बर्ष पूरा भएको छ ।
यसै अवसरमा उहाँले शुभकामना सन्देश मार्फत भन्नु भएकाे छ ‘यो सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक बधाई, साथै शुभकामना व्यक्त गर्दछु ।’
‘संविधान देशको मुल कानून हो । यो सुनौलो बिहानी ल्याउन योगदान गर्नुहुने इतिहासको विभिन्न कालखण्डका शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु’ प्रदेश प्रमुखले सन्देशमा भन्नु भएकाे छ । नेपाली जनताको संघर्ष र बलिदानबाट वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस / राष्ट्रिय दिवस मनाइरहेका छौँ उहाँले शुभकामनामा भन्नु भएकाे छ । देशको वर्तमान परिस्थिती उल्लाषपूर्ण नभएकाे बताउँदै उहाँले जेनजी आन्दोलनबाट भएका सबैप्रकारका क्षतिलाई परिपुरण गर्नेगरी आगामी कदम चाल्नुपर्ने बताउनु भएकाे छ ।
उहाँले शुभकामना सन्देशमा भन्नु भएकाे छ ‘केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको संविधान जारी भएको आजको दिनलाई उत्सवको रुपमा मनाउँदै अघि बढ्नु पर्नेछ ।’

यो १० वर्षको अन्तरालमा लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरु सम्पादन भएका छन्’ उहाँले भन्नु भएकाेछ ‘संविधानमा मूलभूत लोकतान्त्रिक मूल्य मान्यता समेटिएका छन् । संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान छ ।’
सकारात्मक कामको पहलमा सबैको ऐक्यवद्धता आवश्यक रहन्छ । त्यसैले पनि संविधानमा लिपिबद्ध हक अधिकार कार्यान्वयनका लागि सरोकारवाला सबैले आ-आफ्नो स्थानबाट पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा हार्दिक अनुरोध समेत गर्दछु उहाँले भन्नु भएकाे छ ।
प्रदेश प्रमुखले सन्देशमा भन्नु भएकाे छ ‘संविधान कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मुल्य मान्यता र प्रणालीलाई राष्ट्रिय जीवन पद्धति बनाउन संविधान दिवस / राष्ट्रिय दिवस, २०८२ ले हामी सबैमा नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्दछु ।’
मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कामकाज अस्थायी रुपमा पुनः सुरु भएकाे छ । जेनजी आन्दोलनको क्रममा भएको आगजनीबाट भवन पूर्णरुपमा क्षतिग्रस्त भएपछि मन्त्रालयकाे काम कृषि विकास निर्देशनालयकाे भवनबाट अस्थायी रुपमा पुनः सुरु भएको छ।
भदौ २४ गते भएको आन्दोलनमा आन्दोलनकारीले हेटौंडा–१ चौकीटोलस्थित मन्त्रालयको भवनमा आगजनी गरेका थिए। आगलागीबाट भवन पूर्णरुपमा नोक्सान भएपछि मन्त्रालयको सम्पूर्ण काम रोकिएको थियो। मन्त्रालयको कामकाज हाल अस्थायी रुपमा हेटौंडा स्थित कृषि विकास निर्देशनालयको भवनबाट सुरु गरिएको छ। मन्त्रालयले भने क्षतिग्रस्त भवनको प्राविधिक निरीक्षण गरी आवश्यक निर्णय पछि मात्र स्थायी व्यवस्थाबारे टुंगो लाग्ने जनाएको छ।
कर्मचारीहरुलाई मनोबल उच्च राखेर काम गर्न हौसला प्रदान गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले “जेन–जीको नाममा अराजक समूहले सरकारी तथा निजी संरचनामा नोक्सानी पुर्याएको छ” भन्दै घटना दुःखद भएको टिप्पणी गरेका छन्। भदौ २३ गते आन्दोलनकै क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री पौडेलले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
मकवानपुर । जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका १५ र बारा जितपुर सिमरा उपमहानगरपालिका २२ चुरियामाई स्थित मकवानपुर र बाराकाे सिमाना पुर्व पश्चिम सडक खण्डमा सेना बोकेको ट्रक दुर्घटना भएको छ।
२ नम्बर राजदल गण तनहुँबाट धनुषा तर्फ जाँदै गरेको सेनाको ट्रक दुर्घटना भएको हो। दुर्घटनामा परि ३ जना गम्भीर र १३ जना सामन्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकमा २२ जना सेना सवार थिए ।
उप सेनानी हर्ष बिक्रम अधिकारीको कमाण्डमा जादै गरेको ४ वटा नेपाली सेनाको ट्रक मध्ये लु १ ग २८० नं.को ट्रक सिमानाको पुल बाट अन्दाजी १२ फिट तल खोल्सामा खसेको थियो ।
घाइतेहरुलाई नेपाली सेनाकै सहयोगमा उद्दार गरी उपचारको लागी हेटौडा अस्पताल ल्याइएको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।
मकवानपुर । सरकारले १ असोजमा शोक दिवस घोषणा गर्दै यो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसै दिन सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत गरिएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरि क्षतिपुर्ति स्वरुप १० लाख र किरिया खर्चको लागि ५ लाख उपलब्ध गराउने भएको छ । ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन् ।
मकवानपुर । अन्तरिम मन्त्रिपरिषदमा नवनियुक्त तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई शपथ गराएका हुन् ।
पूर्वसचिव समेत रहेका खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका मौका पाएका हुन् । त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । अधिवक्ता र जेनजी आन्दोलनका सहजकर्ता भनिएका अर्यालले भने गृह र कानुन मन्त्रालय सम्हाल्ने मौका पाएका हुन् ।
जेनजी आन्दोलन पछिको बदलिँदो राजनीतिक परिवेशमा अन्तरिम सरकारकाे प्रधानमन्त्री नियुक्ति भएकी सुशीला कार्कीले सोमबार बेलुका खनाल, घिसिङ र अर्याललाई मन्त्री नियुक्ति गरेकी थिइन् ।