मकवानपुर । राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरको अध्यक्षमा धर्मेन्द्र दाहाल चयन भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरको बुधबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हाे ।
अधिवेशनबाट समुहकाे उपाध्यक्ष विजय पौडेल, सचिव बलराम पुडासैनी, कोषाध्यक्ष सरला अधिकारी र सहसचिव उज्ज्वल अधिकारीलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै समूहको सदस्यहरु मिना श्रेष्ठ, बिक्रमकुमार बानियाँ, दिलबहादुर लामा, अनिष चौँलागाई, सुशन लामिछाने र राजन कटुवाललाई चयन भएका छन् ।

सोही अवसरमा अधिवक्ता एवम् पत्रकार ऋषि केबीको स्वर्गीय पिता रामहरि केशीको स्मृतिमा ‘स्वर्गीय रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार २०७७’ स्थापना गरिएको छ । समूहले यस बर्ष फोटोग्राफीमार्फत पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हेटौंडा ६ निवासी रत्नलाल महर्जन र फोटोग्राफर दृष्टान्त विडारीलाई नगद २ हजार ५ सय नगदसहित सम्मानपत्र प्रदान गरेको छ।
स्वर्गीय केबीको बुहारी पुन्यशीला श्रेष्ठले सम्मानित हुने दुवैलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । कार्यक्रममा समूहका बागमती प्रदेश सल्लाहकार गिरिजा अधिकारी, पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम, सल्लाहकार बालकृष्ण अधिकारीलगायत मकवानपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । आजबाट कक्षा १२ को परीक्षा सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।
यसपालि कक्षा १२ को परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुदैछन् । बोर्डका अनुसार विद्यार्थीले पढेकै विद्यालयबाट परीक्षा दिन पाउँनेछन् । कोभिड सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरूलाई पछि छुट्टै व्यवस्था गरिने बोर्डले जनाएको छ ।
कोराेनाे भारइसकाे महामारीका कारण यसअघी पटकपटक परीक्षा स्थगित भएको थियो। अधिकांश विद्यार्थीहरूले कोभिविरूद्ध खोप लगाएपछि परीक्षा सुरु हुन लागेको छ। यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोभिडका कारण साउनमा पनि स्थगित गरिएको थियो । परीक्षा असोज ८ गते सकिनेछ।
वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले एक साता कुर्ने भएको छ । एकल बहुमत रहेको एमाले विभाजन भएसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारलाई सदनबाट विश्वासको मत लिनुपर्ने बाध्यात्यमक अवस्था सिर्जना भएको छ । विपक्षी गठबन्धनको बैठकले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत लिनका लागि एक साताको समय दिने सहमति गरेको हो ।
‘राजनीतिमा इमानदारिता हुन्छ । हामीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन एक साताको समय दिएका छौं । यस अवधिमा सदन बोलाएर विश्वासको मत लिने वातावरण बनेन भने हामी सरकार फेर्ने प्रक्रियामा अगाडि बढ्छौं,’ माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले भने । उनले मुख्यमन्त्रीले एक साताभित्र विश्वासको मत लिने प्रक्रिया अगाडि नबढाए अविश्वास प्रस्ताव दर्ता गरेर अगाडि बढ्ने सहमति विपक्षी दलहरूबीच भएको बताए ।
उनका अनुसार अविश्वासको प्रस्ताव दर्ता भएको बढीमा साता दिनभित्रमा प्रदेश सरकार फेर्ने गरी विपक्षी गठबन्धनले तयारी अगाडि बढाइसकेको छ । विपक्षी गठबन्धनलाई भावी मुख्यमन्त्रीको नाम छिनोफानो नहुँदा अविश्वासको प्रस्ताव अगाडि बढाउन समस्या भइरहेको छ । प्रदेशमा नयाँ सरकार गठनका लागि सदनमा ५५ मत आवश्यक पर्छ । माओवादी केन्द्रको २३, कांग्रेसको २२ र नेकपा (एकीकृत समाजवादी) को १३ गरी विपक्षी गठबन्धनसँग ५८ मत छ । यस्तो अवस्थामा विपक्षीको सरकार बन्ने निश्चित छ ।
बैठकमा विवेकशील साझा पार्टीलाई पनि सरकारमा ल्याउन पहल गर्ने सहमति भएको छ । ‘सरकार फेर्न विवेकशील तयार देखिएको छ । तर सरकारमा जाने विषयमा निर्णय गरेको छैन । हामीले उहाँहरूलाई सरकारमा पनि ल्याउन पहल गर्नेछौं,’ जम्मकट्टेलले भने । उनले सरकारको नेतृत्व र समयको विषय भने टुंगिएको बताए । ‘आधा/आधा कार्यकाल सरकारको नेतृत्व गर्ने लगभग निश्चित छ । कुन दलले पहिला भन्ने हो,’ उनले भने ।
सरकारको नेतृत्व आधा/आधा कार्यकाल गर्ने विषयमा कांग्रेस र माओवादी एक मत छन् भने एकीकृत समाजवादीको फरक मत छ । ‘सरकारको नेतृत्व र समयको विषयमा छलफल गरे पनि सहमति भएन । गठबन्धनमा रहेका दलको शीर्ष तहबाटै टुंग्याएर अगाडि बढ्ने गरी छलफल सकिएको छ,’ बैठकमा सहभागी एक नेताले भने । ती नेताका अनुसार एकीकृत समाजवादीले पूरै कार्यकाल सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी गरिरहेको छ । मुख्यमन्त्रीको दौडमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँ र एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे छन् । नेतृत्व हत्याउन दुवैले आ–आफ्नो लबिइङ गरिरहेका छन् । सुवास विडारीले लेखेकाे समाचार इकान्तिपुरमा साभार
मकवानपुर । हेटाैडाकी सुस्मिता थापा हत्याकाण्डका आराेपित अरुण कार्की पुर्पक्षको लागि थुनामा राख्न कारागार पठाइएकाे छ ।
हेटौँडा–४ कर्राकी सुस्मिता केसी थापाको हत्या आरोपमा सुस्मिताको जेठी नन्द दुर्गा कार्कीको श्रीमान अरुण कार्की जिल्ला अदालत मकवानपुरमा साेमबार हाजिर भएका थिए । सोमबार जिल्ला अदालतमा हाजिर भएपछि उनलाई प्रहरीले हिरासतमा राखेको थियो ।
मगलबार न्यायाधिस सिता अधिकारीकाे इजलासले कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हाे । सोमबार जिल्ला अदालत मकवानपुरमा उपस्थित भएका कार्की मंगलबार भएको थुनछेक बहसपछि पुर्पक्षकाे लागि थुनामा राख्ने आदेश भएको श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए ।
यसअघि बुहारी सुस्मिता थापाको हत्या आरोपमा उनको ससुरा प्रकाश थापा, सासू तुलसाकुमारी थापा, जेठी नन्द दुर्गा थापा कार्की र कान्छी नन्द सीता थापालाई पुर्पक्षको लागि कारागार पठाइएको थियो । फरार रहेका अरुण कार्की आफै अदालतमा हाजिर भएसँगै सुस्मिता हत्याकाण्डमा आरोपितहरु सबै पक्राउ परिसकेको छ ।
हत्यामा संलग्न भनिएका ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापालाई आजीवन कैद सजायको माग दाबी गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । त्यसैगरी घटनाको मतियारको रुपमा सासु तुलसी कुमारी थापालाई १२ बर्ष जेल सजाय, अर्की नन्द २७ बर्षीय दुर्गा थापा र उनका पति ३४ बर्षीय अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गरिएको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले चाेरी मुद्दाकाे फरार प्रतिवादी १ जनालाई पक्राउ गरेकाे छ ।
मकवानपुर जिल्ला अदालतको २०७७ साल पुष २४ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद र ३ लाख जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी भुपाल थिङलाई पक्राउ गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर हेटाैडा वडा नं. ३ बस्ने थिङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भदाै २८ गते हेटाैडा १४ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर उपस्थित गराइएकाे प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
पक्राउ परेका थिङले जरिवाना वापतकाे ३ लाख रुपैया तिर्न नसकी जरिवानाको कैद समेत गरी २ बर्ष १० महिना १५ दिन कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी मकवानपुर पठाईएको दासले जानकारी दिए ।