मकवानपुर । सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण प्रदान गरेकाे छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने ९ सय ३ जनालाई विभिन्न मानपदवीद्वारा विभूषित गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । हरेक वर्ष संविधान दिवसका दिन ३ असोजमा विभूषण पाउनेहरूको नाम सार्वजनिक गरिँदै आएको छ ।
नेपालकाे सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपालरत्न सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टरार्ईलाई प्रदान गरिने छ ।


मकवानपुर । राष्ट्रिय बाल दिवसको अवसरमा जिम्मेवार अभिभावक विषयमा निबन्ध लेखन प्रतियाेगिता भएकाे छ ५७ औं बाल दिवसकाे अवसरमा जेसीआई हेटौंडा लेडीको आयोजनामा निबन्ध प्रतियोगिता तथा प्रस्तुती कार्यक्रम भएको हो ।
हेटौंडामा भएकाे प्रतियोगितामा ९ जना प्रतियोेगीहरुकाे सहभागिता रहेको थियो । बाल दिवसमा बालबालिकालाई नै सहभागी गराई कार्यक्रमको आयोजना गरिने परम्परा विपरित जेसीआई हेटौंडा लेडीले बालबालिकाको हकअधिकार सुनिश्चित गर्न, बालबालिकाको उचित स्याहार, पालनपोषणमा अभिभावकको अनुभव तथा प्रयासलाई प्रस्तुत गर्ने गरी निबन्ध प्रतियोगिताको आयोजना गरिएको जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले बताईन् ।
प्रतियोगितामा सहभागीले बाल अधिकार, बालबालिकाको स्याहारमा अभिभावकको भूमिका र आफूले गर्दै आएको अभ्यासबारे व्याख्या गरेका थिए । अस्मिता नेपालको समन्वयमा भएको प्रतियोगितामा भावना रिजाल प्रथम भएकी छिन् । यसैगरी राम मिजार द्वितीय भएका छन् । शशिता दंगाल तृतीय भएकी थिइन् ।
प्रथम, द्वितीय र तृतीय हुने प्रतियाेगीले प्रमाणपत्रसहित क्रमशः २ हजार ५ सय, २ हजार र १ हजार ५ सय रुपैयाँ नगद प्राप्त गरेका छन् । अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले अभिभावकबीच आयोजना गरिएको प्रतियोगिता नौलो र उपलब्धीमूलक भएको बताईन् ।
जेसीआई हेटौंडा लेडीकी सदस्य इन्दिरा बानियाँको संयोजकत्व तथा बागमती प्रदेशको बालअधिकार समितिका सदस्य झविन्द्र ज्ञवालीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । ज्ञवालीले बालबालिकालाई गरेको माया अभिभावकले फिर्ता पाउँछन् भन्ने महत्वपूर्ण अभिव्यक्ति सिक्ने अवसर प्राप्त भएको बताए ।
निबन्ध प्रतियोगिताको निर्णायकमा साहित्य संगम मकवानपुरकी उपाध्यक्ष अनिता न्यौपाने र हेटौंडा–१, चौकीटोलस्थित अमर माविकी शिक्षक खगिन्द्र शर्मा रहनुभएको थियो ।
मकवानपुर । संविधान दिवसकाे अवसरमा ८ जना कैदी बन्दीले सजाय माफी पाएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जना कैदी बन्दीलाई माफी दिएकी हुन् । यसैगरी उनले ५ सय २३ जना कैदी बन्दीकाे बाँकी कैद कट्टा गरेकी छन् ।
मन्त्रिपरिषदको सिफारिसमा ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी दिइएको राष्ट्रपति कार्यालयका जनाएकाे छ । ५ सय २३ जना कैदीले भुक्तान हुन बाँकी कैद कट्टा गरिएको हो ।
असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।

मकवानपुर । संविधान दिवस २०७८ को अवसरमा खुल्ला दाैड प्रतियाेगिता सम्पन्न भएकाे छ । असाेज २ गते शनिवार विहान भएकाे ५ किलोमिटर खुल्ला दौड प्रतियोगितामा महेश मोक्तान प्रथम भएका छन् ।
संविधान दिवस, मुल आयोजक समिति बागमती प्रदेशको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति र जिल्ला एथलेटिक्स संघ, मकवानपुरको संयोजनमा भएको प्रतियोगितामा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका सुरेश साह र श्यामकुमार राई क्रमश द्वितीय र तृतीय भएका छन् ।

प्रथम भएका मोक्तानले निर्धारित ५ किमीको दुरी १६ मिनेट २१.८८ सेकेण्डमा पुरा गरेका थिए । यस्तै द्वितीय भएका साहले उक्त दुरी १७ मिनेट ४२ मिलिसेकेण्ड र तृतीय भएका राईले १७ मिनेट १६.५३ सेकेण्डमा उक्त दुरी पुरा गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमैसंग १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्ने जिल्ला एथलेटिक्स संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलले जानकारी दिए । पुरस्कार भाेली असोज ३ गते संविधान दिवसको दिन हुने विशेष कार्यक्रममा प्रदान गरिने पनि पोखरेलले बताए ।
मकवानपुर । नेपाली चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक भएकाे छ । ओएसआर डिजिटलले सार्वजनिक गरेको ‘मेरो देशको नाम नेपाल’ काे चलचित्रकाे एउटा राष्ट्रभक्ति गीत हो। दशैकाे घटनस्थापनको दिन असोज २१गते डिजिटल प्लेटफर्मबाट रिलिजको तयारी गरिरहेको चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक भएको हाे।
मनोज पण्डितको शब्द रहेको गीतमा हरि लम्सालले स्वर र संगीत भरेका छन्। पण्डित चलचित्र एकका निर्देशक पनि हुन्। चलचित्र ‘एक’ मधेसलाई नेपालबाट अलग्याउने प्रयत्नका विरूद्ध एक देशभक्त ‘गुप्तचर’को संघर्षको कथा हो।
प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन्। सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन्। गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्र ‘एक’मा संगीत भरेका छन्।
सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन्। कोरोना महामारीका कारण थला परेको सिनेमा उद्योगको विकल्प खोज्दै डिजिटल प्लेटफर्ममार्फत यही असोज २१ गते घटस्थापनाका दिनदेखि सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाइ नेट तथा ओहो मूभिजबाट प्रदर्शनमा आउने भएको छ।
यो चलचित्र ‘एक’मा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूले ‘स्पाइ ड्रामा’मा अभिनय गरेका छन्।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सिमाना जोडिएका र विवादित ठाउँहरूमा छायांकन गरिएको यो गीतमा चलचित्रका नायक विशाल पोखरेल आफैले अभिनय गरेका छन् । मधेसलाई अलग बनाउने अभियानका साथ राजनीतिमा आएका सिके रावतको घरमै पनि यो गीतका केही दृश्यहरू छायांकन गरिएको छ।
‘रअ’, सिआइए, आइएसजस्ता अन्तर्राष्ट्रिय ख्याती प्राप्त गुप्तचर संस्थाहरूजस्तै नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’ (सि.ए.आई)को परिकल्पना पनि यो फिल्ममा गरिएका छन्। फिल्ममा सिएआई एउटा गुप्तचर संस्था हुन्छ। राष्ट्रका यी चिन्ताहरूलाई उनले ‘रिल’मा उतार्ने प्रयन्त गरेका छन्। खासगरी स्वतन्त्र मधेसको राजनीतिक एजेन्डा देशका लागि निकै षड्यन्त्रमूलक भएको चित्रण यो फिल्ममा गरिएको छ।
कलाकार प्रमोद अग्रहरिलाई स्वतन्त्र मधेसको राजनैतिक एजेन्डा बोकेको पात्रका रुपमा प्रस्तुत गरेको चलचित्र ‘एक’मा विशाल पोखरेल नेपालको गुप्तचर निकाय सिएसआईको गुप्तचर एजेन्टका भूमिकामा देखिएका छन्। यी दुई पात्रबीच मिसन केन्द्रित अन्तरसंघर्षको कथात्मक प्रस्तुती रहेको यो स्पाइ जनर एक्सन प्रधान फिल्ममा ज्योत्सना योगी महिला एजेन्टको भूमिकामा देखिएकी छन्।