मकवानपुर । साहित्य संगम मकवानपुरको १५ औं अधिवेशन शनिवार भएकाे छ । अधिवेशनकाे अवसरमा साहित्यकार, प्रचार्य र सञ्चारकर्मी सहित ३ जना सम्मानित भएका छन् ।
अधिवेशनमा साहित्य संगम मकवानपुरका पूर्व अध्यक्ष श्याम कुमार बानिंया, कृष्ण आदर्श बालवाटिका विद्यालयका प्राचार्य नवीन केसी र सञ्चारकर्मी जमुना थिङलाई सम्मानित भएका छन् ।
यसैबीच मकवानपुरकाे अग्रणी साहित्य संस्था साहित्य संगम मकवानपुरमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । २०४४ सालमा स्थापना भएको संगममा १५ औ अधिवेशनले अध्यक्षमा साहित्यकार अनिता न्यौपानेलाई चयन गरेको छ । संगमको नेतृत्व तहमा पुग्ने न्यौपाने नै पहिलो महिला साहित्यकार भएकी छिन् ।
संगमको शनिबार भएको अधिवेशनले अध्यक्षमा न्यौपानेलाई सर्वसहमत रुपमा निर्वाचित गरेको हो । हेटौंडा–४ भैरवरोडमा आफ्नै प्रेक्षालय रहेको संगमको नेतृत्वमा आएपछि न्यौपानेले सबै साहित्यकारलाई समेट्दै मकवानपुरे साहित्यको श्रीवृद्धिमा लाग्ने बताइन् । उनले सबै तह र तप्काका साहित्यकारलाई संगम आफ्नै हो भन्ने अनुभूती हुनेगरी काम गर्ने उल्लेख गरिन् ।
यसअघि सदस्य, कोषाध्यक्ष तथा उपाध्यक्षमा दुई कार्यकाल काम गरिसकेको अनुभवलाई उपयोग गर्दै समितिका सदस्य तथा मकवानपुरे सबै साहित्यकारसँग छलफल र सहमतिमा योजनावद्ध रुपमा काम गर्ने उनले प्रतिवद्धता जनाएकी छिन् । उनले संगममा रहेर मकवानपुरे साहित्यको विकाससँगै भौतिक विकासलाई पनि जोड दिने बताइन् । उनले गुटउपगुुटबाट टाढा रहेर नितान्त साहित्यको सेवामा सर्मर्पित हुने प्रतिक्रिया दिएकी छिन् ।

यसैगरी अधिवेशनले उपाध्यक्षमा सानु खनाल, सचिवमा डिबी बर्तौला, सहसचिवमा यमनदेव उत्प्रेरक, कोषाध्यक्षमा मनोज पोखरेल निर्वाचित भएका छन् । संगमको कार्यसमिति सदस्यमा मेनुका तिमल्सिना, कुवेर पराजुली, गंगा सापकोटा र सुनिल गौतमलाई निर्वाचित गरेको छ ।
समितिको अन्य पदमा सर्वसहमत भएपनि सचिवमा भने निर्वाचन भएको थियो । सचिवमा डिबी बर्तौला र रमेश बञ्जारको उम्मेदवारी परेपछि मतदान प्रक्रियाबाट बर्तौला विजयी भएका हुन् । मतदानमा प्रक्रियामा बर्तौलाले ७३ र बञ्जारारले ९ मत प्राप्त गरेका थिए ।
संगमका अध्यक्ष निमेष निखिलको अध्यक्षमा अधिवेशन भएको अधिवेशनको प्रमुख अतिथि साहित्यकार तुल्सी थापा रहेका थिए । अधिवेशनको बन्दसत्रले कोषाध्यक्ष सानु खनाल र सचिव डिबी बर्तौलाको प्रतिवेदन पास गरेको छ । यस्तै अधिवेशनले संगमको विधानको विभिन्न बुँदालाई परिमार्जन तथा थप गरेको छ ।
कार्यक्रममा साहित्य संगम मकवानपुरका सल्लाहकारद्वय तुल्सी घिमिरे र आरसी रिजाल , भिमविराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्य, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, साहित्य संगम मकवानपुरका पूर्व अध्यक्ष सुवास खनाल, मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेल, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, नेपाली लेखक संघका अध्यक्ष विष्णु गौतम, नवसर्जक साहित्य चौतरीका अध्यक्ष प्रशन्ना चौलागाई लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरकाे आज असाेज ९ गते शनिबार मकवानपुरका १० वटै स्थानीय तहमा गाँउ–नगर अधिवेशन हुँदैछ । असाेज ८ गते शुक्रबार १० वटै स्थानीय तहमा निर्वाचन अधिकृत खटाइएको कांग्रेस मकवापनुरले जनाएकाे छ । मकवानपुरको १० स्थानीय तहमध्ये सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन हुने कांग्रेस मकवानपुरको कार्यबाहक सभापति विष्णु लामिछानले बताए ।
गत भाद्र २० गते भएको वडाअधिवेशनले मकवानपुरको १ सय २ वडाबाट क्षेत्रिय प्रतिनिधिमा १८ सय ३४ जना चयन गरेको थियो । मकवानपुरको हेटौंडा उपमहानगरमा भने कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षधरका नेताहरुले नगर सभापतिमा आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् । हेटौंडा उपमहानगर सभापतिमा देउवापक्षका उत्सब इटेनी र रामचन्द्र पौडेल गुटका महेन्द्र राउत प्रतिस्पर्धामा छन् । उनीहरु दुवैलाई सहमति गराउने प्रयास जारी भएपनि शुक्रबार सहमति हुन नसकेपछि हेटौंडामा मतदान हुने भएको कांग्रेस मकवानपुर पार्टी प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । हेटौंडामा ४ सय २० जना क्षेत्रिय प्रतिनिधिले मतदान गर्ने छन् ।
यसैगरी मकवानपुरको थाहा नगरपालिकाको १२ वडाबाट १ सय ९८ जना क्षेत्रिय प्रतिनिधि, मकवानपुरगढीमा १ सय ३७, राक्सिराङ १ सय ५४, कैलाश १ सय ७९, ईन्द्रसरोवर ७८, भीमफेदी १ सय ५७, बकैया १ सय ९४, बागमती १ सय ५४ र मनहरी १ सय ६३ जना क्षेत्रिय प्रतिनिधिले मतदान गर्न पाउँनेछन् । यसमध्ये काग्रेस मकवानपुर सभापति, संघीय सभापतिसहित ७ जना क्षेत्रीय प्रतिनिधि थप हुने कांग्रेस मकवानपुरले जनाएकाे छ ।
मकवानपुर सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरका स्थानीय तहका १ सय २ वडामध्ये ८९ वडामा सर्वसम्मत ढंगले निर्वाचन सकिएकाले गाउँ/नगरको अधिवेशन पनि सर्वसम्मत ढंगले सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका अनुसार असाेज ९ गते शनिबार ६४ जिल्लामा पालिकामा अधिवेशन हुँदैछ । यसअघि वडा अधिवेशन भईसकेका जिल्लाका गाउँपापालिका, उपमहानगरपालिका र नगरपालिकामा पालिकास्तरीय अधिवेशन हुने भएको हो । क्रियाशिल विवादका कारण वडा अधिवेशन हुन नसकेका जिल्लामा भने अधिवेशनको मिति अझै टुंगो लागेको छैन ।
मकवानपुर । एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजबाट सुरु हुने भएकाे छ । चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग प्रतियोगिता असाेज ९ गते शनिबारबाट शुरु हुदैछ । प्रतियाेगितामा ६ फ्रेन्चाइज टोलीले भाग लिने र सवैले आफ्नो तयारी अन्तिम चरणमा पु-याएका छन् ।
उद्घाटन खेलमा उपत्यका डर्वीको काठमाडौं किङ्स इलेभेन र ललिपुर प्याट्रिएट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे हुनेछ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स इलेभेन पहिलोपटक फाइनल खेल्दै उपाधि जित्ने लक्ष्यमा छ ।
यसपटक इपिएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी देखि भुटानका मिक्यो दोर्जीसम्मका खेलाडीले इपिएल खेल्दै छन् । टेस्ट र एसोसिएट दुबै देशका खेलाडी इपिएलमा हुँदा विश्वमा चर्चा थप बढ्नेछ । सबै फ्रेन्चाइजले आफ्नो अन्तिम टोली घोाषणा गरि सकेका छन् । सबै टोलीमा ४–४ विदेशी खेलाडी छन् । प्लेइङ–११ मा तीन विदेशी खेल्न पाउनेछन् ।
यसपटकको इपिएलमा विराटनगर वारियर्सका कप्तान पारस खड्का, वसन्त रेग्मी र काठमाडौं किंग्स इलेभेनका दीपेन्द्रसिंह ऐरी र ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल देखिने छैनन् । दीपेन्द्र चोटका कारण नखेलेका हुन् । पारस, बसन्त र ज्ञानेन्द्रले व्यक्तिगत कारण नखेल्ने जनाएका छन् ।
काठमाडौंमा पाकिस्तानका स्टार अलराउन्डर शाहिद अफ्रिदी छन् । तर अफ्रिदी दुई खेलमात्र खेलेर फर्कने छन् । काठमाडौंमा युवा र अनुभवी खेलाडीको मिश्रण छ । ब्याटिङमा सुवास खकुरेल, अमित श्रेष्ठ, राजु रिजाल, सिद्धान्त लोहनी, जिम्बावेका रयान बर्ल र अफगानिस्तानका रहमानउल्लाह गुरबाज छन् ।
सिद्धान्त र बर्ल आक्रामक ब्याटिङको क्षमता राख्छन् । सिंगापुरका जनक प्रकाश र अमरसिंह राउटेला मध्यगतिका बलिङ अलराउन्डर हुन् । यी दुवै ब्याटर तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्छन् । विश्व स्टार सन्दीप काठमाडौंमा मुख्य हतियार हुन् । सन्दीप पछिल्लो समय उत्कृष्ट लयमा छन् । नेपाली क्रिकेटका योर्कर किंग जितेन्द्र मुखिया पनि काठमाडौंमानै छन् ।
यता, साविकको विजेता ललितपुर प्याट्रिएट्स काठमाडौंलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । कप्तान ज्ञानेन्द्र मल्ल नहुँदा टोलीलाई उनको अभाव खड्कन सक्नेछ । उनले व्यक्तिगत कारण इपिएलमा नहुने आफ्नो टोलीलाई बताइसकेका छन् । युवा ब्याट्सम्यान कुशल भुर्तेलले टोलीको कप्तानी गर्नेछन् । ललितपुरले विदेशी खेलाडीको रुपमा भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी, अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाई, श्रीलंकाली विकेटकिपर ब्याट्सम्यान सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डो रहेका छन् । सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, बिभत्सु थापा, अरियो पौडेल, शंखर राना, नारायण जोशी, सुर्य तामाङ र नागराज सिंह स्वदेशी खेलाडीको रुपमा छन् ।
लिगमा ६ टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने छ । लिगमा शीर्ष दुईमा रहने टोलीबीचको पहिलो क्वालिफायरको विजेताले फाइनलमा स्थान बनाउनेछ । तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्नेछ । उक्त खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ । फाइनल २३ असोजमा हुनेछ । विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । पहिलो संस्करणको उपाधि पञ्चकन्या तेज, दोस्रो विराटनगर वारियर्स र तेस्रो ललितपुर प्याट्रिएट्सले उपाधि जितेका थिए । ललितपुरले २०१८ को फाइनलमा भैरहवा ग्ल्याडियसटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । प्रशासनले विशेष गरी दसैँ, तिहार र छठलाई लक्षित गरी चाडपर्व सुरक्षा योजना ल्याएको हाे ।
नेपालीहरूको प्रमुख चाडपर्वको समयमा जिल्लाभित्र भरपर्दो शान्ति सुव्यवस्था कायम राख्न र कोभिड-१९ को सन्दर्भमा जनस्वास्थ्यका दृष्टिकोणले सुरक्षित रहँदै चाडपर्वहरू मनाउनु पर्ने बाध्यतात्मक परिस्थिति समेतलाई दृष्टिगत गर्दै सुरक्षा याेजना ल्याइएकाे जिल्ला प्रशासन कार्यालयले शुक्रकार प्रेस विज्ञप्ति जारी गरी जनाएकाे हाे । योजनाको कार्यान्वयनबाट सम्पूर्ण क्षेत्रमा सुरक्षित एवं भयरहीत वातावरणको प्रत्याभूती एवं जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै, गराउँदै हर्षोल्लासका साथ चाडपर्वहरू मनाउने तथा यात्रुहरुलाई एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सहज वातावरणको सिर्जना हुने विश्ववास समेत प्रशासन कार्यालयले लिइएको छ ।
चाडपर्व लक्षित सुरक्षा योजनामा सार्वजनिक यातायातका साधनहरूमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रुहरू राख्न रोक लगाउनेदेखि चाडपर्वको समयमा यात्रुवाहक सवारी साधनहरूलाई बढी भाडा असुल्न नदिन सादा पोसाकमा प्रहरी परिचालन गर्ने योजना समेटिएका छन् । साथै सवारी साधनले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा तत्काल कानुनी दायरामा ल्याउने योजना जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको छ ।
लोक मार्गमा हुनसक्ने दुर्घटना, चक्काजाम, बन्दलाई मध्यनजर गर्दै निर्वाधरूपमा सवारीसाधन सञ्चालन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली २४ सैं घण्टा स्टेण्डवाई राखिने छ भने यात्रुहरूलाई आवतजावतका क्रममा ठगिन तथा विभिन्न किसिमका हैरानी खेप्न नदिन हेटौडा उपमहानगरपालिका एरियाको बसपार्क र चौकीटोल सुमो काउन्टरमा ट्राफिक सहितको चार्ड पर्व लक्षित नागरिक सहायता कक्ष स्थापना गरी यात्रुहरूलाई आवश्यक सहयोग गर्ने योजना रहेको छ ।
यस्तै मर्मत गर्नुपर्ने सडकहरू समयमा नै मर्मत गर्न पालिकाहरूलाई अनुरोध गर्नुका साथै जिल्लास्थित राष्ट्रिय सडक एवं आफ्नो अधिकार क्षेत्रभित्रका सडकहरू समयमा नै मर्मत गर्न सडक डिभिजन कार्यालय, मकवानपुरलाई अनुरोध गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले सार्वजनिक सवारी साधनहरूको टिकट सर्वसुलभ रूपमा उपलब्ध हुने व्यवस्था मिलाउने, अवैध चिज वस्तुको ओसारपसार नियन्त्रण गर्ने तथा त्यस प्रकारका वस्तुहरू ओसारपसार हुनसक्ने नाकाहरूमा विशेष निगरानी राख्ने जनाएको छ ।
जिल्लाको प्रवेश नाका तथा मुख्य–मुख्य चेक प्वाइन्टहरूमा कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउनेदेखि राजमार्गमा सार्वजनिक यातायातका सवारी साधनहरू एवं यात्रुहरूलाई भरपर्दो सुरक्षा प्रदान गर्न जिल्ला प्रहरी कार्यालय, मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल, नं. १४ गण, मकवानपुरले संयुक्त रूपमा गस्ती गर्नुका साथै रातको समयमा समेत गस्तीको व्यवस्था मिलाउने योजना रहेको छ ।
प्रशासन कार्यालयले बजारमा खाद्यान्न, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक उपभोग्य वस्तुहरूको आपूर्ति र विक्री वितरणलाई सहज बनाई राख्न सरोकारवालाहरूसँग नियमित समन्वय गर्ने जनाएको छ ।
बजारमा कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्य वृद्धि जस्ता क्रियाकलापलाई नियन्त्रण गर्ने र कानुन विपरीतका क्रियाकलाप गर्नेलाई कानुनी दायरामा ल्याउने,घरेलु मदिरा उत्पादन तथा बेचबिखनमा रोक लगाउने र जुवा तास, कौडा खेल्ने लगायतका गैर कानुनी क्रियाकलापहरू नियन्त्रण गर्ने प्रशासनको भनाई छ ।
चाडबाडका बेला प्रयोग गरिने पटका, आतिशबाजी लगायतका विस्फोटक पदार्थको आयात, ओसार पसार, विक्री वितरण एवं प्रयोगलाई नियन्त्रण गरिनेछ भने जिल्ला प्रहरी कार्यालय, मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल, मकवानपुरले बजार इलाकामा थप पिकेट डिउटी तथा निरन्तर गस्ती पट्रोलिङको व्यवस्था मिलाइने छ ।
राजमार्ग छेउछाउका होटेलहरूको नियमित अनुगमन गरी दूषित खाद्य पदार्थको विक्री वितरण एवं अधिक मूल्य लिने कार्यलाई नियन्त्रण गर्ने योजना पनि मकवानपुर प्रशासनले अघि सारेको छ ।
यसैगरी मठ मन्दिर लगायत अन्य धार्मिक स्थलहरूमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी भिडभाड नहुने सुनिश्चितता गरी सहज वातावरणमा पूजाआजा गर्ने व्यवस्था सम्बन्धित पक्षले मिलाउने जनाउँदै धार्मिक स्थानहरूमा भिडभाडको समयमा गरगहना लुटपाट तथा चोरी हुने कार्यलाई नियन्त्रण गर्ने भनेको छ ।
कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सबै प्रकारका मेला, महोत्सव, साङ्गीतिक कार्यक्रम, चिट्ठा विक्री वितरण एवं खोल्ने कार्यमा पूर्ण रूपमा रोक लगाउने तथा तिहारको अवसरमा खेलिने देउसी भैलोलाई व्यवस्थित गर्न समय निर्धारण गरिने भएको छ ।
चाडपर्वको मौका छोपी तस्करी, निषेधित पदार्थ ओसारपसार, दुर्व्यसनी लगायतका अवैध एवं गैर कानुनी क्रियाकलापहरू नियन्त्रण गर्न विशेष योजना अघि सारेको जनाउँदै चाडपर्वको मौकाको फाइदा उठाउँदै हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन, ओसारपसार लगायतका अन्य क्रियाकलापहरू नियन्त्रण गर्ने प्रशासनको भनाई छ ।
मकवानपुर । प्रहरी सहायक निरीक्षक (असई) नविन बिक्रम थापा भदाै महिनाकाे उत्कृष्ट प्रहरी भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाभरिबाट उत्कृष्ट काम गर्ने १ जना प्रहरीलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै आएकाेमा भदाै महिनाकाे उत्कृष्ट प्रहरी थापा भएका हुन् । थापा प्रहरी चौकी सुनाचुरीमा कार्यरत छन्।
थापाले लागुऔषध मुद्दामा फरार अभियुक्तलाई पक्राउ,अपहरण गरी भारत लगिएका दुई युवालाई सकुशल उद्धार,लागुऔषध गाँजासहित मानिस पक्राउ गर्न भूमिका निर्वाह गरेको,जवरजस्ती करणी मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको, ओसारपसार नियन्त्रणमा उत्कृष्ट कामगरी आम जनताको गुनासोलाई प्रभावकारी ढङ्गबाट समाधान गर्न सफल रहेको लगायतकाे कार्यकाे मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाभरिबाट प्रहरी सहायक निरीक्षक थापालाई भदौं महिनाको उत्कृष्ट प्रहरी घोषण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरद्वारा जारी पत्रमा उत्कृष्ट कार्य बापत उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ ।