मकवानपुर । हेटाैंडामा महिला प्रधानाध्यापक सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसरमा हेटौंडामा महिला प्रधानाध्यापकलाई सम्मानित गरिएको हाे । शिक्षक दिवसको अबसरमा हेटौंडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयका ३ महिला प्रधानाध्यापक सम्मानित भएका हुन् ।
सम्मानित हुनेमा अमर माध्यमिक विद्यालय हेटाैडा १ की प्रधानाध्यापक मालती उप्रेती, बाराही निम्न माध्यमिक विद्यालय हेटाैडा १ की प्रधानाध्यापक मञ्जु देबकोटा र भावना प्राथमिक विद्यालय हेटाैंडा १८ की प्रधानाध्यापक रुपा रिजाल रहेका छन् ।
डेक नेपालकाे सहकार्य र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको समन्वयमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसीई) मकवानपुरले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालले उनीहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए ।
जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख खुलालको प्रमुख आतिथ्य, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख प्रेमराज खरेल र शाखा अधिकृत कृष्णप्रसाद पौडेलको विशेष आतिथ्य तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, बागमती प्रदेश संयोजक प्रकाश खतिवडाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बागमती प्रदेश संयोजक खतिवडाले गुणस्तरीय शिक्षाका लागि अभिभावकको भूमिका र शिक्षकको उत्तरदायित्व विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसीई) मकवानपुरका जिल्ला संयोजक बुद्धविर लामाले सहजिकरण गरेको कार्यक्रममा बंशगोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने, अमर माध्यमिक विद्यालयकी प्रधानाध्यापक मालती उप्रेती, प्राध्यापक एवं पत्रकार सुरेश श्रेष्ठ लगायतले अन्तर्राष्ट्रिय शिक्षा दिवसको बारेमा मन्तव्य व्यक्त गरेका थिए । हरेक बर्ष अक्टोबर ५ मा मनाईने अन्तर्राष्ट्रिय शिक्षक दिवसको यसबर्षको नारा ‘शैक्षिक सुधारको केन्द्रमा शिक्षक’ भन्ने रहेको छ ।
मकवानपुर / देशभरका ६२ जना बालिका तथा किशोरीहरुले एक दिनका लागि स्थानीय सरकारको प्रमुख, वडा अध्यक्षलगायत विभिन्न पद सम्हाल्ने भएका छन् ।
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपालले गैरसरकारी संस्था ‘हामी दाजुभाइ’ सँगको सहकार्यमा आज भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो । हरेक अक्टोबर ११ मा नेपाल सहित विश्वभर मनाइने अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान नेपालले ७ जिल्लाको ३१ पालिकाहरुमा बालिका तथा किशोरीहरुलाई पदभार ग्रहण गराउने ‘गल्र्स टेक ओभर’ कार्यक्रम गराउन लागेको हो ।
यसवर्ष बालिका तथा किशोरीहरुको लागि अनलाइन सुरक्षासँग सम्बन्धित रहेर ‘डिजिटल जेनेरेसन, आवर जेनेरेसन’ भन्ने नारासहित गल्स टेक ओभर कार्यक्रम हुन लागेको हो । यो कार्यक्रमले बालिका तथा किशोरीमा आत्मविश्वास बढाउनुका साथै सम्बन्धित निकायलाई पनि अनलाइनको महत्व, जोखिम, सदुपयोगका बारेमा काम गर्न दबाब पुग्ने आयोजकको भनाइ छ ।
आजदेखि शुरु भएर अक्टोबर ११ सम्म ‘गल्स टेक ओभर’ कार्यक्रम हुने प्लान इन्टरनेशनल नेपालका निर्देशक प्रसेन खातीले जानकारी दिइन । उनले भनिन् “यो कार्यक्रमका लागि बालिका तथा किशोरीहरुलाई पाँच दिनको तालिम दिएर तयार पारेका छौँ, उहाँहरु त्यो भूमिकामा हुँदा नेतृत्वको भूमिका बारेमा अनुभव लिन्छन्, महत्व बुझ्छन् र आगामी दिनमा जनप्रतिनिधिसँग मिलेर काम गर्न उहाँहरुलाई अझ सहज हुनेछ ।”
मकवानपुरलगायत सुनसरी, सिन्धुली, बाँके, बर्दिया, जुम्ला, र कालीकोट जिल्लाका ३१ स्थानीय तहको विभिन्न पदमा रहेर किशोरी तथा बालिकाहरुले पद ग्रहण गर्नेछन् । यसक्रममा उनीहरुले अनलाइनबाट बालिका तथा किशोरीहरुमा हुनसक्ने जोखिम, अनलाइनका फाइदा–बेफाइदा र सदुपयोगबारे छलफल गर्नेछन् । यसरी पद ग्रहण गर्नेहरुलाई प्लानले अभिमुखीकरण गरेको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षको जिम्मेवारी १८ वर्षीय सुमित्रा अछामीले सम्हाल्नेछिन् । ‘आज भएको भर्चुअल पत्रकार सम्मेलनमा उनले भनिन्, ‘अहिले तयारीमा छु । एक दिनको लागि वडाध्यक्ष भएर अनलाइनले किशोरी तथा बालिकामा पारेको प्रभावका विषयमा छलफल गरेर यसबारेमा संवेदनशील हुन सबै जनप्रतिनिधिलाई आग्रह गर्नेछु ।’
बालिका, किशोरीको अनलाइन प्रयोग बारेको प्रतिवेदन सार्वजनिक
आजै प्लान इन्टरनेशनल नेपालले बालिका र किशोरीको अनलाइन प्रयोग बारेको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार किशोरी तथा बालिकाहरुले कोभिड १९, यौन तथा प्रजनन स्वास्थ्य जस्ता विषयमा जानकारी लिन अनलाइन प्रयोग गर्ने गरेको पाइएको छ ।
यो अध्ययन २६ देशका २६ हजारभन्दा बढी किशोरी र बालिकाहरुसँग गरिएको प्लानले जनाएको छ । अध्ययनमा सहभागी किशोरी, बालिका मध्ये ५५ प्रतिशतले ७ घन्टा अनलाइनमा बिताउने गरेको पाइएको छ । उनीहरुले विभिन्न सामाजिक सञ्जालबाट गलत र भ्रामक सूचना पाइने, नचिनेका व्यक्तिहरुले सामाजिक सञ्जालहरुमा रिक्वेस्ट पठाउने र कुरा गरेर तनाव दिने जस्ता कार्य हुँदा व्यक्तिगत जीवनमा प्रभाव परेको बताएका छन् ।
अध्ययन प्रतिवेदन अनुसार यस्ता गलत सूचना फेसबुकबाट ६५ प्रतिशत, टिकटकबाट २७ प्रतिशत, ह्वाट्स एपबाट २७ प्रतिशत र युट्युबबाट २७ प्रतिशत हुने गरेको प्रतिवेदनमा उल्लेख छ। अनलाइन सुरक्षाका लागि डिजिटल साक्षरता सम्बन्धी शिक्षा आवश्यक रहेको भन्दै सरकारसँग डिजिटल सुरक्षाको माग पनि गरिएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटाैडामा काेराेना संक्रमण पुष्टि भएका थप १ जनाकाे मृत्यु भएकाे छ । लामो समय पछि हेटाैडामा काेराेाना संक्रमण पुष्टि भएकाकाे मृत्यु भएकाे हाे ।
स्वास्थ्यमा गम्भीर समस्या भएपछि असोज १७ गते आईतबार राती उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको १ जनाको उपचारको क्रममा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको हाे । साेमबार बिहान हेटौंडा-९ की ६९ वर्षीया महिलाको उपचारकाे क्रममा मृत्यु भएकाे र मृत्यु मृत्यु पश्चात काेराेना पुष्टि भएकाे हेटौंडा अस्पतालले जनाएको छ ।
महिला ब्लड क्यान्सर पीडित रहेको र निमोनिया समेत भएको हेटौंडा अस्पतालको कोभिड इन्चार्ज डाक्टर प्रशान्त बिडारीले जानकारी दिए । ‘ ती महिलालाई स्वास्थ्यमा गम्भीर समस्या भएसंगै आइतबार राती हेटौंडा अस्पताल ल्याईएको डाक्टर बिडारीले बताए । महिलाले केहिदिन अघि आफुलाई कारोना भएको हुनसक्ने भन्दै परीक्षणको लागि स्वाब पनि दिएका रहेछन् परीक्षणको रिपोर्ट साेमबार पाेजेटिभ आयो । रिपाेर्ट आउनु अघी नै उपचारको क्रममा उनकाे निधन भएकाे विडारीले बताए ।
यो संगै मकवानपुरम कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६५ पुगेको छ । यसैगरी जिल्लामा पछिल्लो २४ घण्टामा ६५ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा क्रमशः ७ जना र एक जना गरी ८ जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेहरुमा ७ जना हेटौंडा उपमहानगरपालिका भित्रका र एक जना मनहरी गाउँपालिका भित्रका रहेका छन् । जिल्लामा सोमबार थप ४ जनाले कोरोना जितेका छन् ।
जिल्लामा हाल १ सय ३९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा १ सय ३२ जना आफ्नै घरमा र ७ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ ।
मकवानपुर । साफ च्याम्पियनसिप-२०२१ मा नेपालसँग श्रीलंका ३-२ ले पराजीत भएकाे छ । साफ च्याम्पियनसिप अन्तरगत सोमबार भएकाे खेलमा नेपालले श्रीलंकालाई ३-२ ले हराएको हाे ।
माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा भएको च्याम्पियनसिपकाे ३३औं मिनेटमा नेपालका लागि सुमन लामाले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ५१औं मिनेटमा अन्जन विष्टले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
श्रीलंकाका लागि भने ५७ औं मिनेटमा मरविन ह्यामिल्टनले उत्कृष्ट गोल गरेका थिए । नेपालका लागि ८६औं मिनेटमा आयुष घलानले तेस्रो गोल गरेका थिए । श्रीलंकाका लागि इन्ज्युरी समयमा डिलोन डि सिल्भाले पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए । यसअघि पहिलो खेलमा माल्दिभ्सलाई पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई पराजित गर्दै ६ अंक बटुलेको छ ।
मकवानपुर । नेपाल टेलिकमले असोज १९ गते मङ्गलबारदेखि ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएकाे छ । नेपाल टेलिकमले चाडपर्वका अवसरमा मङ्गलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको हाे ।
टेलिकमकाे अफर आउँदाे कात्तिक २ गतेसम्म रहने तथा अगामी तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने नेपाल टेलिकमले जनाएकाे छ ।
डाटा प्याकअन्तर्गत १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयामा उपलब्ध हुनेछ । भ्वाइस सेवा अन्तर्गत २५ रुपैयामा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयामा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५ सय रुपैयामा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिन्छ । यसैगरी २ सय ९४ रुपैयामा २० जीवी डाटा १० दिनभित्र र ९८ रुपैयामा ६ जीवी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ ।
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध हुनेछ । २ सय देखि ४ सय ९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५ सय एमबी र ५ सय भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १ हजार २४ एमबी डाटा प्याक उपलब्ध हुने टेलिकमले जानकारी दिएकाे छ । उल्लिखित प्याकेज प्राप्त गर्नका लागि ग्राहकले १४१५ डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत पनि यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिनेछ ।