मकवानपुर । बडादशैं अन्तर्गत विजया दशमीमा लगाइने टीकाको उत्तम साइत शुक्रबार विहान १० बजेर २ मिनेटमा रहेको छ । विजया दशमी पनि भनिने दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ ।
घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई दशैंको टीकाको दिन बिहान ८ बजेर १९ मिनेटमा विसर्जन गरिने साइत रहेको छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेहरुका लागि बिहान १० बजेर २ मिनेटकोसाइत शुभ रहेको भएपनि दिनभरीनै टिका लगाउँन सकिने पञ्चाङ निर्णायक समितिले जनाएकाे छ ।
यसैगरी टीका लगाउने मानिस पूर्व र लगाईदिने मानिस पश्चिम फर्किएर टिका लगाउने तथा अाशिर्वाद लिने गर्दा राम्राे मानिन्छ । टीका र जमरालाई दूर्गादेवीको प्रसादको रुपमा लगाउने प्रचलन छ । कसैकसैले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म र कसैले विजया दशमीको दिनमात्र टीका लगाउने गर्दछन् ।
मकवानपुर । बडा दशैं अन्तर्गत आज महानवमी पर्व मनाइदैछ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने याे पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरिन्छ । नवरात्र अन्गर्गत आज अन्तिम दिन देशभरका शक्ति पीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्ति पीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्ति पीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती(चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
पशु बलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।
मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्ति पीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्च बलि पनि दिने गरिन्छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोत पूजा र निशाना पूजा गरिन्छ । यस अवसरमा हनुमान ढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोत पूजा गर्ने प्रचलन रहेको छ ।
हनुमान ढोका दरबारमा रहेको वर्षमा एक पटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ ।
मकवानपुर । साफ च्याम्पियनसिपको इतिहासमै नेपाल पहिलाे पटक फाइनलमा प्रवेश गरेकाे छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग बराबरी खेल्दै फाइनल यात्रा तय गरेकाे हाे ।
माले रंगशालामा नेपाल र बंषलादेश बीच भएकाे खेलको शुरूवाती चरण मै बंगलादेशले १ गोल गरेकाे थियाे । खेलको नवौँ मिनेटमा नै बंगलादेशका सुमोन रेजाको गोलमा नेपाल पछि परेको थियो । अतिरिक्त समय सहित करिब ९६ मिनेटको खेलमा फाईनलमा पुग्ने नेपालीको सपना खेलको अन्तिम समयमा आएर मात्रै पूरा भएकाे हाे ।
बंगलादेश सङ्ग निकै प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयमा नेपालले पेनाल्टी मार्फत गोल गरेर खेल बराबरीमा राेकिए पछी नेपालले फाइनल यात्रा तय गरेकाे हाे । नेपालले पाएको पेनाल्टीलाई अन्जन विष्टले गोलमा परिणत गर्दै खेल बराबरीमा परिणत भएकाे थियाे । असाेज २७ गते साँझ भएको खेल १–१ को बराबरीमा सकिएपछि नेपालले पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको हो । त्यसपछि कुनै गोल हुन नसकेपछि नेपालले फाइनलमा स्थान बनाउन सफल भएको हो ।
साफ च्याम्पियनसिपकाे ४ खेलपछि नेपाल ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । अब भारत र माल्दिभ्सबीचको खेलले दोस्रो फाइनलिस्ट को हुने तय गर्नेछ । माल्दिभ्सको ६ तथा भारतको ५ अंक रहेको छ । माल्दिभ्सले बराबरी मात्र खेले फाइनलमा पुग्नेछ भने भारतले भने खेल जित्नै पर्ने दबाब छ । बंगलादेश ५ अंक बटुल्दै प्रतियोगिताबाट बाहिरिएको छ । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन ।
यस अघि नेपाल र बंगलादेश फुटबल इतिहासमा २२ पटक आमनेसामने खेल भएका थिए । तीमध्ये १३ खेलमा बंगलादेश र ७ खेलमा नेपाल विजयी भएको थियो । दुई खेल बराबरी भएको थियो । साफ च्याम्पियनशीपमा भने नेपाल र बंगलादेश सातपटक आमनेसामने भएका छन् । जसमा नेपालले तीनपटक र बंगलादेशले चारपटक जीत हासिल गरेका थिए ।
मकवानपुर । हेटौंडामा थ्रेसर पल्टदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा धान काट्ने थ्रेसर पल्टिदा त्यसमा सवार १ जानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर जानकारी दिएकाे हाे । थ्रेसरमा सवार ४ जना मध्ये अन्य ३ जना घाईते भएका प्रहरीले बताएकाे छ ।
पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको प्र ०२–०३–००१ त १०३ नम्बर को धान काट्ने थ्रेसर अनियंत्रित भई सडक छेउमा पल्टिएको थियाे ।
मकवानपुर । यो वर्षको मनसुन बाहिरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारबाट यो वर्षको मनसुन पूर्णरुपमा नेपालबाट बाहिरिएको जनाएको छ। महाशाखाले मंगलबार प्रकाशित गरेकाे बुलेटिनमा समेत देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेकाे जनाएकाेले पनि यस वर्षकाे मनसुन बाहिरिएकाे जनाउँछ ।
यो वर्ष औषतभन्दा ९ दिन ढिला गरी मनसुन बाहिरिएको हो। औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिन्छ। गएको शुक्रबार नेपालका केही क्षेत्रबाट बाहिरिन शुरू गरेको मनसुन सोमबार पूर्णरुपमा बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बहिर्गमन भएको थियो। यस वर्षको मनसुनमा सरदरभन्दा १५ प्रतिशत बढी वर्षा भएको छ। यो वर्ष मनसुनका चार महिना (जेठदेखि असोज) मा सबभन्दा बढी पोखरामा वर्षा भएको छ।
पोखरा विमानस्थल क्षेत्रमा चार महिनामा सरदर ३०६४ मिमि वर्षा हुन्छ, यो पटक ४२७० मिमि वर्षा भएको छ । यस वर्ष मनसुनमा सबभन्दा कम वर्षा कर्णालीको उत्तर पूर्वी क्षेत्रमा भएको छ। मुस्ताङमा सरदर १५८.५ मिमि वर्षा हुने भए पनि यो वर्ष ४ सय ३० मिमि वर्षा रेकर्ड भएको छ।