मकवानपुर/ नेपाल सरकारका मुख्यसचिबको उपस्थितीमा सातवटै प्रदेशको प्रदेश सचिवहरुको समन्वय बैठक हेटौंडामा सुरु भएको छ । २६ मंसिरदेखि ३ दिनसम्म चल्ने बैठकमा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीको सभागीता रहेको छ ।
बागमती प्रदेशले आयोजना गरेका कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले देशको समृद्धिको लागि प्रदेशको समृद्धि आवश्यक भएको बताए । मुख्यमन्त्री पाण्डेले केन्द्रीय सरकारबाट कानुन निमार्णदेखि हरेका सवालमा प्रदेश सरकारलाई सहजिकरण हुनुपर्ने बताए । संघीयता कार्यान्वयनको सवालमा सबै प्रदेशहरुबीच समन्वय आवश्यक भएको पाण्डेले बताए ।
कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले केन्द्रले सरकारले विकेन्द्रीकरण गर्नुपर्ने क्षेत्रहरु विकेन्द्रीकरण तथा हस्तान्तरण गरिने प्रतिवद्धता व्यक्त गर्दै आवश्यक सहजिकरणमा केन्द्रले आफ्नो भूमिका सधैं निर्वाह गर्ने बताए । प्रदेशको काममा समेत केन्द्र सरकारले सेवा पु¥याउँने र प्रदेश सरकारले पनि सेवा प्रवाह र सुशासनमा ध्यान दिन निर्देशन दिए ।
समन्वय बैठकले प्रदेशहरुमा देखिएका विद्यामान समस्याहरुको विश्लेषण गरेर आगामी दिनमा संघीयताको सफल कार्यान्वयनलाई कसरी सशक्त बनाउने भन्ने मार्ग निर्देशन बनाउने बागमती प्रदेशको प्रमुख सचिव किरणराज शर्माले बताए । केन्द्र सरकारको समन्वय र सहकार्य भएमा प्रदेश सरकारलाई सेवा प्रवाह र सहजिकरणमा सहयोग मिल्ने प्रमुख सचिव शर्माले बताए ।
मकवानपुर । पहिलो संस्करणको अन्तरपालिका पुरुष फुटबलको उपाधि थाहा नगरपालिकाले जितेको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको प्रतियाेगिता अन्तरगत शनिबार भएको फाइनल खेलमा हेटौँडा उपमहानगरपालिकालाई सडन डेथमा हराउँदै थाहा नगरले पहिलो संस्करणको उपाधि हात पारेकाे हो ।
हेटौँडा–४, स्थित हुप्राचौरमा शनिबार भएको उपाधि भिडन्तमा निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाई ब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमा थाहा विजयी भएको थियो । सडन डेथमा हेटौँडाका खेलाडीले प्रहार गरेको बल बाहिर गएपछि थाहा नगरपालिकाले २–१ उपाधि चुमेको हो ।
खेलको २७ औँ मिनेटमा हेटौँडाले अनिश महर्जनको गोलबाट अग्रता बनाएको थियो ।पहिलो हाफको अतिरिक्त समयमा विनोद घलानले गोल गर्दै २–० को अग्रता लिएको हेटौँडाले दोस्रो हाफमा सम्हालिएर खेल्न सकेन । खेलको ५६ औँ मिनेटमा थाहाका लागि राजन गोलेले गोल गर्दै थाहालाई खेलमा फर्काएका थिए । अन्तिम समय (७७ औँ मिनेट) मा हेटौँडाका आकाश कटुवालबाट आत्मघाती गोल भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।
विजेता बनेसँगै थाहा नगरपालिकाले उपाधिसहित नगद २ लाख रुपैयाँ प्राप्त गर्यो भने, हेटौँडाले नगद एक लाख रुपैयाँ प्राप्त गरेकाेः छ । प्रतियोगितामा हेटौँडाका फत्तेमान घले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । यस्तै विधागत रुपमा थाहा नगरपालिका राजन गोले उत्कृष्ट फरवार्ड, हेटौँडाका गगन सिलवाल उत्कृष्ट डिफेन्डर, थाहाका विशाल स्याङ्तान उत्कृष्ट मिडफिल्डर, हेटौँडाका सफल तिमल्सिना उत्कृष्ट गोलकिपर र थाहाका नरेन्द्र मोक्तान उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।
उनीहरूले जनही ३ हजार नगर, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजेताहरूलाई बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौँडा–१४ का वडाध्यक्ष दिपक खड्का, हेटौँडा–१० का वडाध्यक्ष किताबसिंह लामा, खेलकुद विकास समितिका अध्यक्ष सानु लामा लगायतले पुरस्कार प्रदान गरेका थिए ।
मकवानपुर । हेटौंडाबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले ६ ग्राम ४ सय ८० मिलिग्राम लागूऔषध खैरोहिरोइनसहित हेटाैडा उपमहानगरपालिकाकाे छुट्टाछुट्टै स्थानबाट २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा चितवनको रत्ननगर नगरपालिका वडा नम्वर २ टाँडी बस्ने ५२ वर्षीय नारायण खड्का र राप्ती नगरपालिका वडा नम्वर ७ बस्ने ३५ वर्षीय अर्जुन अधिकारी रहेको प्रहरीले जनाएकाे छ । शनिबार बिरगंज तर्फबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ५ ख ४८०२ नं. को यात्रुबाहक बसलाई हेटौंडा १५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार खड्काले लुकाइछिपाई ल्याएको ६ ग्राम २ सय ८० ग्राम लागूऔषध नाइट्रोभेट बरामद भएपछि निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।
यस्तै, शनिबार नै हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ सहिद स्मारक गेट नजिक शंकास्पल रुपमा हिडिरहेका अधिकारीलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध खैरोहिरोईन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम बरामद भएपछि निजलाई पक्राउ गरिएकाे रिमालले बताए ।
पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । साहित्यकार राजकुमार लामिछानेको हास्यव्यङ्ग्य निबन्धसंग्रह बुद्विपुराण शुक्रबार लोकार्पण भएको छ । सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा साहित्य संगम मकवानपुरको सभाहलमा बुद्धिपुराणको लोकार्पण गरेको हो । यस अघी २०७४ सालमा लामिछानेको ‘पुतलाको पावर’ हास्यव्यङ्ग्य निबन्ध संग्रह प्रकाशन भएकाे थियाे ।
मिनप्रसाद लामिछानेको सभाध्यक्षता तथा वरिष्ठ साहित्यकार आरसी रिजालको प्रमूख आतिथ्यमा पुस्तक लोकार्पण कार्यक्रम भएको थियो । रिजालले समाजका विकृति र बेथितिहरुमाथि व्यङ्ग्य गर्नुका साथै सामाजिक परिवर्तनमा यस पुस्तकको मागदर्शन रहेको बताए ।
सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्षसमेत रहनुभएका लामिछाने कानुन सेवाका कर्मचारी हुनुहुन्छ । निबन्धसंग्रह बुद्विपुराणमा प्रेमकुमारीलाई पत्रदेखि दरको रहर गरी २० वटा शिर्षकमा लेखकले समाजका स्थिति, वेथिति र विकृति माथि व्यङ्ग्य प्रहार गरेका छन् । भैरव स्मृति सम्मान—२०७४ बाट सम्मानित लामिछाने सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष छन् । उनी कानुन सेवाका सरकारी कर्मचारी हुन् ।
निबन्धसंग्रह बुद्विपुराण लोकार्पण कार्यक्रममा साहित्यकारहरु ह्रग्रीव आचार्य, अनिता न्यौपाने, नवराज शर्मा, रमेशमोहन अधिकारी, सुवास खनाललगायत सहभागिता रहेकाे थियाे ।
मकवानपुर । नेपालमा वित्तीय संघीयता सम्बन्धी पहिलो किताब प्रकाशन हुने भएकाे छ । शिखा बुक्सले उक्त किताबको प्रकाशक गर्ने भएकाे हाे । वित्तीय संघीयता सम्बन्धी पहिलो किताब कानुनका विधार्थी मकवानपुरका बिशभ अधिकारीका साथै सागर बराल र सम्पुर्ण बस्नेतले लेखेका हुन।
नेपालमा राजनीतिक संरचना सम्बन्धी संघीयताको बिभिन्न किताबहरू लेखियता पनि आर्थिक पाटोलाई फिल्डमै (स्थलगत अध्ययन) गरेर पहिलो चोटी अनुसन्धानमूलक किताब लेखिएको बताइएकाे छ। मुलुक भर्खरै संघीयतामा प्रवेश गरेकाले यसको आर्थिक पक्षको बिषयमा कम चर्चा भएको र संघीय सरकारले आफ्नो आर्थिक गतिविधि कसरी सन्चालन गरेका विषय किताबका विषयवस्तु रहेकाे लेखक बिशभ अधिकारीले बताए।
संघीयताको महत्वपूर्ण सम्बन्धी आधारभूत सिद्धान्तको बिषयमा किताबले जानकारी दिने अर्को लेखक सागर बरालले जनाए। किताबमा प्रक्कथन (शुभकामना) पुर्व अर्थमन्त्री तथा अर्थविद डा. प्रकाश चन्द्र लोहनी र राष्ट्रपतिको पुर्व प्रेस सल्लाहकार राजेन्द्र दाहालले दिएको लेखक सम्पुर्ण बस्नेतले बताए।