मकवानपुर । जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिता मकवानपुरगढीमा हुने भएको छ । आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी ५ को आयोजना र मकवानपुरगढी गाउँपालिकाकाे प्रायाेजनमा रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो ।
आयाेजक आमभञ्ज्याङ युवा क्लब मङ्गलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आगामी पुस १४ गतेदेखि १७ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएकाे हाे।
प्रतियोगितामा प्रथम हुनेलाई ६६ हजार ६ सय ६६ रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई ३३ हजार ३ सय ३३ रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेलाई ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राजेश अधिकारीले बताए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाई २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा टिम दर्ता गर्न २ हजार दस्तुर लाग्ने र टिम दर्ता १३ गते दिउँसो ३ बजे सम्म गरिसक्नुपर्ने कार्यक्रम संयोजक ईन्द्रप्रसाद सञ्जेलले बताए ।
खेलको टाइसिट पुस १३ गते दिउँसो ४ बजे सार्वजनिक गरिने सञ्जेलले बताए । प्रतियोगितामा करिब १० देखी १४ वटा टिमले भाग लिने अनुमान आयोजकले गरेको छ । प्रतियाेगितामा समावेश हुने टिमका खेलाडी मकवानपुर जिल्ला भित्रकाे मात्र हनु पर्ने आयाेजकले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरको भीमफेदीबाट शनिबार राति चोरी भएको शालिक भेटिएकाे छ । लोककवि गणेशलाल श्रेष्ठको शालिक आइतबार अनावरण गर्ने गरी राखिएकाेमा शनिबार चाेरी भएकाे थियाे ।
भीमफेदी–६ स्थित चिसापानी पुल मुनी सोमबार अपरान्न ४ बजेर ४५ मिनेटको समयमा शालिक भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीले फेला पारेकाे शालिक इलाका प्रहरी कार्यालय भीमफेदीमा राखिएको छ ।
भीमफेदीमै जन्मेर लोककविको उपाधि पाउनुभएका गणेशलाल श्रेष्ठको सम्मानमा नागरिकस्तरबाटै भीमफेदी–६, भीमफेदी बजारस्थित ज्योति पुस्तकालय परिसरमा शालिक स्थापना गर्न लागिएको हो । लोककवि श्रेष्ठको शालिक आइतबार अनावरण गर्ने कार्यक्रम तय गरिएको थियो ।
शालिक बरामद भए पनि प्रहरीले शालिक चोरीमा संलग्नलाई पहिचान गर्न सकेको छैन । शालिक चाेरी भएकाे घटनाकाे अनुसन्धान जारी रहेकोले घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउने मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरले अक्षय काेष स्थापना गर्ने भएकाे छ । फाेनिज मकवानपुरले आदिवासी जनजाति पत्रकारलाई सम्मान र परस्कार प्रदान गर्न तथा तालिम संचालन र आपतकालिन सहयोग गर्न अक्षय कोष स्थापना गर्ने भएको हाे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले कोष स्थापना गर्ने निर्णय गरेकाे हाे । साथै काेषमा सहयोग गर्न सहयोगीहरुलाई बैठकले अनुरोध समेत गरेको छ ।
फोनिज मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकले मकवानपुरका आदिवासी जनजाति पत्रकारको विस्तृत तथ्यांक संकलन गर्ने निर्णय गरेको छ । फोनिज मकवानपुरकी सचिव रुपा गुरुङ संयोजक तथा सहसचिव मनिता राना र सदस्य भुपेन्द्र राना मगर सदस्य रहेको तथ्यांक संकलन उपसमिति गठन गरिएको हाे ।
यस्तै, यही पुस २४ गते हुने फोनिज बागमती प्रदेश अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न फोनिज मकवानपुरले आवश्यक सबै सहयोग गर्ने निर्णय गरेको सचिव गुरुङले बताईन् । फोनिज मकवानपुरको वार्षिक कार्ययोजना बनाउँन आदिवासी अगुवा, पत्रकार तथा फोनिजका उच्च नेतृत्वसँग समन्वय गर्ने निर्णय गरिएको उनले बताईन् ।
बैठकले फोनिज मकवानपुरको चौथो जिल्ला अधिवेशनबाट चयन भएको कृष्ण सारु मगर नेतृत्वको निवर्तमान कार्यसमिति र फोनिजको संघीय अनुशासन विभाग प्रमुख कुमार नेगीको संयोजकत्वको निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।
मकवानपुर । मकवानपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेमबार ३४ जनामा गरिएको कोरोनाको पीसीआर परिक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा अहिले ३४ जना कोरोनाको सक्रिय संक्रमित छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा देश भर थप २ सय २० जनामा कोरोना पुष्टि भएको छ । २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २ सय १८ जना र १ हजार ४ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याे सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ९३७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २ सय ६३ जना निको भएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७४ पुगेको छ भने ८ लाख ९ हजार १ सय ५५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ जना रहेकाेमा ४ हजार ९ सय ६४ जना होम आइसोलेसनमा र २ सय ६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कवानपुर । हेटौंडा अस्पतालको सेवा सुधारका लागि मकवानपुरको नागरिक समाजका प्रतिनिधिको टोलीले बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालाई ज्ञापनपत्र बुझाएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाको नेतृत्वमा गएको टोलीले मन्त्री लामालाई अस्पताल सुधारका लागि ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री लामाले हेटौंडा अस्पतालबारे आएका सुझावलाई कार्यान्वयन गर्दै अस्पतालको सेवामा सुधार गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कोरोना महामारीको जोखिम कायमै रहेको अवस्थामा हेटौंडा अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै नागरिकले गुणस्तरीय सेवा पाउने अवस्था सिर्जना गर्ने बताए । नागरिक समाजका प्रतिनिधिहरुलाई स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुलाई औल्याएर सुधारका लागि सहयोग गर्न मन्त्री लामाले आग्रह गरे ।
नागरिक समाजकाे ध्यानाकर्षण पत्रमा हेटौंडा अस्पतालको स्तरोन्नती एवं क्षमता अभिबृद्धि गर्नुपर्ने, सबै खाले रोगको विशेषज्ञ सुविधासहितको सेवाको व्यवस्था गर्नुपर्ने, समयमा डाक्टरको उपस्थिति सुनिश्चित गर्नुपर्ने, बेवारिसे विरामीको उपचारको व्यवस्था मिलाउनुपर्ने, बनिरहेको भवन निर्माण सम्पन्न गरी चाँडै हस्तान्तरण गर्नुपर्ने, कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने, विमाको औषधीको राम्रो उपलव्धता हुनुपर्ने र टिकट वितरण प्रणाली व्यवस्थित र छरितो बनाउनुपर्ने माग गरिएको छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, नागरिक समाजका तिर्थ थापा मगर, नारी संरक्षण केन्द्रका राम मिजार, डेक नेपालकका मानबहादुर वाईबा, पुजा वाईबा, पत्रकार सरिता दाहाल, रामकुमार दानी, दलित महिला संघकी मन्जु रोका लगायतको सहभागिता रहेको थियो ।