मकवानपुर / हेटौंडा उपमहानगरपालिका वडा–९ मा शनिबार गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ७३ जनाको स्वास्थ्य जाँच गरिएको छ ।
वडा कार्यालयको आयोजना तथा तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–९, हेटौंडा सिमेण्ड उद्योग लिमिटेड र सिआन पुनर्स्थापना केन्द्रको सहयोगमा शिविर शिविर राखिएको थियो ।
शिविरमा मुटु, नसा, सुगर, हाडजोर्नी तथा पाठेघरको जाँच गरिएको वडा अध्यक्ष लक्ष्मण भण्डारीले बताए । स्वास्थ्य जाँच गराएका मध्ये १ सय ६० जनाको पाठेघरको जाँच गरिएको थियो । जाँच गराएका महिलाहरुमा जटिल स्वासथ्य समस्या नदेखिएको भण्डारीले बताए । सामान्य समस्या भने जचाँएका मध्ये ६० प्रतिशतमा रहेको पाइएको शिविरमा उपस्थित स्त्री रोग विशेषज्ञ डाक्टर तरन्नुम खातुनले जानकारी दिइन् ।

शिविरको लागि वीरगंजका डाक्टर खातुनसहित मुटु, पेट, छाती, डाइविटिज रोग विशेषज्ञ डाक्टर रोशन कुर्मी, नसा रोग विशेषज्ञ डाक्टर परमानन्द शाह, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ अजय यादव तथा प्रेसर तथा चिनी रोग विशेषज्ञ डाक्टर जमिल अख्तर तथा हेटौंडाकी डाक्टर सुस्मा हुज्दार ले स्वास्थ्य जाँच गरेका थिए ।

साथै वीरगंजबाट नै आएका अहेबहरु, परिवार नियोजन संघका स्टाफ नर्सहरु, चुरेहिल अस्पतालका स्टाफ नर्स तथा लामसुरे शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले सहयोग गरेकाे हेटौंडा सिमेण्ड उद्योग लिमिटेडका स्वास्थ्य अधिकृत विनाेद लामीछानेले बताए ।
वडावासीको स्वास्थ्यप्रति सचेत हुनु आफ्नो जिम्मेवारी भएकोले वार्षिक रुपमा यस्ता शिविरहरु राख्दै आएको अध्यक्ष भण्डारीले बताए । शिविरमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको समेत उपस्थिती रहेको थियो । शिविरको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख महतले नागरिक स्वास्थ्यमा समयमै चासो राख्नाले ठुला जोखिमहरु टार्न सकिने भएकोले सचेत हुन आग्रह गरे ।
तस्बिर साैजन्य:विनाेद लामीछाने
मकवानपुर । नेपाल पछिल्लो २४ घण्टामा १ हजार १ सय ६७ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६ हजार ३२ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा २ सय २४ जना संक्रमण निको हुँदा २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७ सय ५५ जना सक्रिय संक्रमित छन् ।
यसैगरी मकवानपुर जिल्लामा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दोक्रममा रहेकाे छ । जिल्लामा आइतबार एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १६ जना र मनहरी गाउँपालिकाका एक जना रहेका छन् ।
मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सहकारी प्रत्यक्ष जनतासँग जोडिएको संस्था भएकाले सहकारीको विकासको लागि प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन् ।
शनिबार हेटौंडा उपमहानगरपालिका १३, शिखरपानीस्थित चुरेशिखर कृषि सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले उक्त कुरा बताइकी हुन् । साधारणसभाको उद्घाटन गर्दै माेक्तानले सहकारी ऐनमा संशोधन गर्न सकिने भन्दै त्यसका लागि पहल गर्ने बताईन् । ‘सहकारी ऐनमा केही समस्या छ भने पुर्नविचार गर्नुपर्छ, गर्न सकिन्छ,’ उनले भनिन्, ‘प्रदेश सरकारले ऐन, कानून बनाउँदा पत्रकार, यातायात, बालबालिका, महिलाको संघसंस्थासँग छलफल समेत गर्ने गरेको छ ।’ दुग्ध उत्पादकसहित धेरै किसानलाई प्रदेश सरकारले प्रत्यक्ष अनुदान र प्रोत्साहन रकम दिई रहेको भन्दै उनले जनतालाई सरकारले धेरै लाभ दिन किसान लक्षित कार्यक्रमका लागि सहकारीमार्फत् सुझावको अपेक्षा रहेको बताईन् ।
गाउँगाउँमा रहेको कृषि सहकारीहरु उत्पादनमा जोडिएकोमा खुशी व्यक्त गर्दै उनले उत्पादन बढाउँदै उद्योगसँग जोड्न पनि आग्रह गरिन् । कार्यक्रममा सहकारीले जेष्ठ नागरिक सम्मान, जोडी सम्मान, असल बचतकर्ता, उत्कृष्ट बाल बचत, उत्कृष्ट कृषकहरुलाई नगदसहित सम्मान गरिएको थियो । ३ करोड ३५ लाख ७६ हजार रुपैंया बचत र ३ करोड २६ लाख ४९ हजार रुपैंया लगानी रहेको सहकारीमा ७ सय ८९ जना शेयर सदस्य रहेको बताईएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष महारत्न लामाको विशेष आतिथ्य रहेको कार्यक्रम सहकारीका अध्यक्ष राजु दर्लामीको सभाध्यक्षतामा भएको थियो । हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, जडिबुटी सहकारी संघ मकवानपुरका सचिव लिलाकुमार घलान, स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिपेश थिङ, नारायणी संघ हेटौंडाका निवर्तमान अध्यक्ष बद्री प्रसाद चौलागाई, जनप्रिय प्राविधिक शिक्षालय, हटियाका अध्यक्ष रमेश खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । कवि शान्ति प्रियवन्दनाकाे कविता संग्रह “जिल खाइरहेकाे एक्काइसौं शताब्दी” शनिबार हेटाैडामा विमाेचन गरिएकाे छ । सर्जक सजाल मकवानपुरको आयोजनामा कविता संग्रहकाे विमाेचन भएको हाे ।
वरिष्ठ कवि समालाेचक कुन्ता शर्मा, साहित्यकार विन्दु शर्मा, समालोचक घनश्याम घिमिरे, सर्जक सजाल मकवानपुरका संरक्षक कवि निमेष निखिल,लेखक केदार न्याैपाने, कृतिकार शान्ति प्रियवन्दना, उनकी आमा मैना सुवेदी र छोरा दृष्टान्तले एकसाथ कृति विमोचन गरेका थिए ।
कविता संग्रह जिल खाइरहेकाे एक्काइसौं शताब्दीकाे बारेमा समालाेचकहरू घिमिरे, कुन्ता शर्मा र विन्दु शर्माले आआफ्नाे धारणा राखेका थिए । मकवानपुरका कवि नवराज शर्मा र ह्यगृब आचार्यले शुभकामना टिप्पणी गरेका थिए भने प्रकाशित कविता संग्रहबाट मकवानपुरका भावना सापकाेटा, झापाका माया मितु न्याैपाने, र राैतहटका रेनुका जिसीले १–१ कविता वाचन गरेकाे थिए ।
कार्यक्रममा कवि शान्तिले पहिलाे कविता २०५४ मा छापिएपछी साहित्यमा निरन्तर लागेकाे बताइन् । कविकाे जिल खाइरहेकाे एक्काइसौं शताब्दी साहित्यमा पहिलाे संग्रह हाे । कविता बाहेक निबन्ध , गजल मुक्तक र अखबारीय लेखनमा समेत सक्रिय रहेकी कवी प्रगतिशील लेखक संघ मकवानपुरकाे वर्तमान अध्यक्ष हुन् ।
कार्यक्रममा शर्माद्वय, घिमिरे, निखिल, माया मितु न्याैपाने जीसीलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे । मकवानपुरे कवि निखिलकाे सभाध्यक्षता र कुन्ता शर्माकाे प्रमुख आथित्यतामा विमाेचन कार्यक्रम भएकाे थियाे । रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको कविता संग्रहमा ३५ वटा कविता समेटिएको छ ।

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजा ६० किलो बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीको संयुक्त टोलीले शनिबार मनहरी गाउँपालिका ६ स्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट उक्त परिणामको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
विशेष सुचनाको आधारमा पुगेको प्रहरी टोलीलाई देखेर बोरा बोकी हिडेका अज्ञात ब्यक्तिले बोरा फाली भागेकोमा उक्त बोरा खोलि चेकजाँच गर्दा सो परिणामको गाँजा बरामद गरेको हो । उक्त गाँजालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडी बढाईएको र पहिचान नखुलेका फरार ब्यक्तिहरुको खोजतलाश कार्य भईरहेको प्रहरी निरीक्षक सापकोटाले बताए ।