मकवानपुर । साहित्य सङ्गम मकवानपुरले विभिन्न विधाका ८ जना साहित्यकारलाई सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगमले यस बर्ष ८ जना साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गर्ने जनाएकाे छ ।
सङ्गम अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा बसेकाे मङ्गलबारको बैठकले संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार साहित्यका विभिन्न विद्यामा योगदान पुर्याएका ८ जना साहित्यकारलाई प्रदान गर्ने निर्णय गरेको हाे । वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा सङ्गमले स्थापना गरेको २१ हजार १ सय ११ रुपैयाँकाे भैरव अर्याल स्मृति सम्मान यसवर्ष हरिकला उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त सम्मानकाे लागि अर्याल परिवारले २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
यसै गरी संगमले स्थापना गरेकाे १५ हजार ५ सय ५५ रुपैयाँ राशीकाे मकवानपुर साहित्य श्री युवा साहित्यकार सुवास खनाललाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष न्याैपानेले जनाकारी दिइन् । यसैगरी सङ्गमले यसवर्ष भेषनाथ अधिकारी स्मृति पुरस्कार साहित्यकार मनोज भण्डारीलाई प्रदान गर्ने भएको छ । साहित्यकार विशाल अधिकारी (आशुतोष) ले बुबाको नाममा स्थापना गरेको यो पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेका छ ।
हाल अमेरिका निवासी मकवानपुरका दीपक मुडभरीले मातापिताको नाममा स्थापना गरेको १० हजार राशीकाे सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार साहित्यकार दीपक गौतमलाई प्रदान गरिने भएकाे छ । यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको नाममा स्थापना गरेको ७ हजार ७ सय ७७ रुपैयाँ राशीकाे मङ्गलादेवी श्रेष्ठ स्मृति नारी पुरस्कार साहित्यकार रुकु कार्कीलाई प्रदान गर्ने निर्णय भएकाे न्याैपानेले बताइन् ।
यसैगरी हास्यव्याङ्ग्यकार आरसी रिजालले माताको नाममा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार बालजागृति इङ्लिस बोर्डिङ स्कुलका सुविज्ञा सुवेदीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारकाे राशी ५ हजार रुपौयाँ रहेको छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत छात्रालाई प्रदान गरिदै आएको छ । न्याैपानेका अनुसार शेषजङ्ग स्मृति कथा पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् उषाकिरण अधिकारीलाई प्रदान गरिने भएको छ । शिक्षासेवी डेडिजङ्ग शाहले छोराको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत् विद्यार्थी बीच कथा प्रतियोगिता गराई एक जनालाई प्रदान गरिदै आएको छ ।
यस्तै साहित्यसेवी मुक्तगोविन्द वैद्यले यसवर्षबाट स्थापना गरेको १० हजार रुपैयाँ राशीकाे मुक्क्ति–तारा साहित्य पुरस्कार समिक्षक घनश्याम घिमिरेलाई प्रदान गरिने भएको छ । यो पुरस्कार साहित्यका विभिन्न विधामा योगदान पुर्याएका तथा क्रियाशिल साहित्यकारलाई प्रदान गरिने जनाइएको छ । सार्वजनिक गरिएका सम्मान तथा पुरस्कार कोभिड–१९ को संक्रमण न्यूनिकरण भएपछि विशेष साहित्यिक कार्यक्रमको आयोजना गरी प्रदान गरिने सङ्गम अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।
मकवानपुर । मकवानपुरकाे हेटाैडामा मगलबार भएकाे रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटी रोट्रयाक्ट क्लब अफ मकवानपुरको आयोजनामा मंगलबार भएकाे रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका हुन् ।
राष्ट्रिय युवा संघ नेपाल मकवानपुरद्वारा हेटौंडा–५, सानोपोखरास्थित नेकपा एमाले पार्टी कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका हुन् । यस्तै रोट्रयाक्ट क्लब अफ मकवानपुरले हेटाैडाकाे बुद्धचाेकमा आयोजना गरेकाे रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।
पछिल्लाे समय कोभिड–१९ का कारण रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएकोले युवा संघले रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीका अध्यक्ष लक्ष्मण उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्य रहेको थियो ।
रोट्रयाक्ट क्लब अफ मकवानपुरले हेटाैडाकाे बुद्धचाेक रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्कीको प्रमुख आतिथ्य तथा क्लबका अध्यक्ष प्रतीक्षा न्यौपानेको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको हो ।
रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रम भएकाे हाे । कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका निवर्तमान अध्यक्ष कविन संगामी, रोट्रयाक्टका पदाधिकारी तथा पूर्व समितिहरुको उपस्थिति रहेको थियो ।

मकवानपुर । मकवानपुर प्रहरीले १ सय १० किलाे गाँजासहित सहित १ जनालाई पक्राउ गरेकाे छ । लागुऔषध गाँजा १ सय १० किलोसहित राक्सिराङ–५ का ३६ वर्षीय राम कुमार प्रजालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
माघ १७ गते साेमबार ईलाका प्रहरी कार्यालय मनहरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले राक्सिराङ–५ स्थित सडकखण्डमा मानिसहरु शंकास्पद रुपमा पिढ्युँमा भारी बोकी आईरहेको अवस्थामा प्रजालाई नियन्त्रण लिई जाँच गर्दा उक्त परिमाणकाे गाँजा बरामद गरेकाे हाे ।
उक्त गाँजा ओसरपसारमा संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलास कार्य भइरहेको र प्रजालाई लागुऔषध गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको रिमालले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेश सरकारले साेनाम ल्होसार र न्वागी पर्वमा सार्वजनिक विदा दिने भएकाे छ । तामाङ समुदायकाे सांस्कृतिक तथा धार्मिक पर्व २८५८ औँ सोनाम ल्होछार पर्व र चेपाङ समुदायको मुख्य पर्व न्वागीमा सार्वजनिक विदा दिने भएकाे हाे ।
वर्षेनी तामाङ समुदाय र चेपाङ समुदायले आफ्नो मुख्य चाडमा सार्वजनिक विदा मागिरहेको अवस्था प्रदेश सरकारले साेमबार सार्वजनिक विदाकाे निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले साेनाम ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागी पर्वमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मकवानपुर लगायत बागमती प्रदेशका जिल्लाहरुमा साेनाम ल्हाेछारमा सार्वजनिक विदा माग गर्दै यस अघी मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ज्ञापनपत्र समेत बुझाएका थिए । नेपाल तामाङ घेदुङ संघीय कार्य समितिले प्रदेशमा सोनाम ल्होछारका अवसरमा ३ दिन सार्वजनिक विदा दिन माग गर्दै ज्ञापना पत्र बुझाएका थिए ।
मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) मकवानपुरले सोमबार बागमती प्रदेश मुख्यमन्त्री कार्यालयमा ‘थाल ठटाएर’विरोध गरेका छ । बागमती प्रदेशको वन ऐन,२०७६ संशोधन गर्न माग गर्दै महासंघ मकवानपुरले सोमबार १ घण्टा मुख्यमन्त्री कार्यालयको मुख्यगेटमा विरोध प्रदर्शन गरेको हाे ।
फेकोफन मकवानपुरले देशव्यापी रुपमा सचालन गरेकाे सप्ताहव्यापी विराेध कार्यक्रम अन्तर्गत प्रदेश वन ऐन,२०७६ विरोधमा आइतबार बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयमा धर्ना दिएको थियो ।
बागमती प्रदेश सरकारले ऐनलाई संशोधन नगरेको र आन्दोलन स्वरुप १ घण्टा थाल ठटाएर विरोध प्रदर्शन गरेको फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाईले बताए । विरोध प्रदर्शनमा वन ऐनका ९४ दफामध्ये ८० वटाभन्दा धेरै दफा नेपालको संविधान र संघीय वन ऐन २०७६ संग बाझिएकाले ऐन संशोधन वा खारेज गरी नयाँ ऐन तर्जुमा गर्न माग गरिएको छ ।