मकवानपुर । मकवानपुरकाे मनहरीमा भएकाे सवारी दुर्घटनामा १ जना घाइते भएका छन् । हेटौंडा–नारायणगढ सडकखण्डअन्तर्गत मनहरीकाे रजैयामा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकल चालक कैलाश गाउँपालिका–८ का ३२ वर्षीय सुरेश मोक्तान गम्भीर घाइते भएका हुन् ।
सोेमबार राती ९ बजेर ४५ मिनेटको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै बा प्र ०२–०३१ प ५९०० नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट जाँदै गरेको युपी ५२ बीबी ९९०० नम्बरको भारतीय कारले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका मोक्तानलाई उपचारको क्रममा चुरेहिल ल्याइएको थियो ।
घाइतेको अवस्था जटिल भएपछि सीएमसी अस्पताल रिफर गरिएकाेमा मोक्तानको सीएमसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने कार र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
मकवानपुर/राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । गृहनगर हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गरी थापाले राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष थापाले भने, कठिन परिस्थितीको कारण अप्रिय निर्णय लिन परेको बताए । “अत्यन्त भारी मन र पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु” थापाले भने । यसअघि उनले सोमबार काठमाडौंमा आफू निकट नेताहरूसँग छलफल गरेका थिए । त्यसमा पनि उनले आफू राप्रपाबाट अलग हुने बताएका थिए ।
सोमबार उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई स्थानीय तहको निर्वाचन घोषणा हुनुअघि आफ्ना माग सम्बोधन गर्न समय दिएका थिए । सोमबार नै सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । त्यसको भोलिपल्ट मंगलबार हेटौंडा पुगेर थापाले राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् । लिङ्देन नेतृत्वको केन्द्रीय कार्यसमितिले आफ्ना माग सम्बोधन नगरेको र पार्टीबाट अलग हुन बाध्य पारेको थापाको भनाइ छ ।

“पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाई नहुने भएपछि मैले यो अप्रिय निर्णइ लिन बाध्य भएको हुँ” थापाले भने । आफ्नो सुझावको सुनुवाई पार्टीमा नभएपछि पार्टीलाई माया गरेर बस्नुको अर्थ नभएको भन्दै उनले आगामी फागुन भरमा नयाँ पार्टी खोल्ने समेत सकेंत गरेका छन् ।
मकवानपुर । हेटाैडामा भएकाे सवारी दुर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा ९ पशुपतिनगरमा सवारी दुर्घटना हुँदा हेटाैडा १ चाइनाक्वाटरका अर्जुनप्रसाद घिमिरेकाे मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासका अनुसार सोमबार दिउँसो वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्वरको बसले विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियाे ।
दुर्घटनामा परी गम्भीर घाइते भएका घिमिरेकाे हेटौंँडा अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ । ठक्कर दिने बसको चालक फरार रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
मकवानपुर । प्रहरीले मकवानपुरकाे राक्सिराङ र कैलाश गाउँपालिकामा अवैध लागुऔषध गाँजा तथा अफिम खेती फडानी गरेकाे छ । लागु औषध ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा, र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोली उक्त स्थानमा २९ बिगाह १० कठ्ठामा लगाइएकाे लागुऔषध गाँजा र २१ बिगाहमा लगाइएकाे अफिम खेती फडानी गरी नष्ट गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा जिल्ला भित्रका बिभिन्न स्थानहरुमा हुने “अवैध लागुऔषध गाँजा/ अफिम उत्पादन तथा खेती नियन्त्रण कार्यक्रम अन्तर्गत माघ २१ शुक्रबारदेखि माघ २३ आइतबारसम्म ३ दिनकाे अवधीमा उक्त परिणामकाे लागु औषध फडानी गरी नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
प्रहरी निरीक्षक सुमन बाँनियाको कमाण्डमा कमाण्डमा ५० जना राक्सीराङ गाउँपालिका अन्तर्गतका वडाहरुमा र प्रहरी निरीक्षक कविर प्रधानको कमाण्डमा ५० जना कैलाश गाउँपालिका अन्तर्गतका वडाका २ स्थानमा सय जना जना नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरी बल नेपालको ३० जनाको टोली संयुक्त रुपमा गाँजा तथा अफिम खेती फडानी कार्यमा खटिएकाेमा उक्त परिणामकाे लागु औषध फडानी गरेकाे निरीक्षक देवेन्द्र दासले बताए ।
उक्त टाेली २ सय किलो बराबरको काटी सुकाई राखेको गाँजा समेत नष्ट गरिएको प्रहरीले जनाएकाे छ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–५ मा रहेको पुष्पलाल स्मृति पुस्तकालय परिसरमा सरस्वती पूजा र पुस्तक दिवस मनाइएकाे छ । पुष्पलाल स्मृति पुस्तकालय आयोजनामा आइतबार सरस्वती पूजा (वसन्त पञ्चमी) तथा ९ औं पुस्तक दिवस मनाइएको हाे ।
साहित्य सङ्गम मकवानपुर र हेटौंडा उपमहानगरपालिका कार्यालयको साझेदारीमा सञ्चालित पुस्तकालयले सरस्वती पूजा तथा पुस्तक दिवसको अवसरमा ‘ पठन संस्कृतिको विकास गरौं’ विषयमा विमर्श तथा रचना वाचन कार्यक्रमको आयोजना गरेको हो । पुस्तकालयमा सरस्वतीको पुजा गरेर प्रसाद वितरण गरिएको थियो ।
कार्यक्रममासर्जक सञ्जालका अध्यक्ष निमेष निखिल, समिक्षक घनश्याम घिमिरे, झरना साहित्य परिवारका अध्यक्ष दीपक गौतम, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, साहित्यकार रमेशमोहन अधिकारी, सुदर्शन अधिकारी, ह्यग्रिव आचार्य, श्यामकुमार बानियाँ, शान्तिप्रिय वन्दना, नवसर्जक चौतारीकी केन्द्रीय उपाध्यक्ष उषाकिरण अधिकारी, देवराज खरेल,साहित्यसेवी मुक्ती गोविन्द वैद्य, पत्रकार सुरेश श्रेष्ठले पठन संस्कृति बारेमा आआफ्नो विचार राखेका थिए ।
कार्यक्रममा अनिल कोइराला, इलिसा पराजुली, प्रतिक्षा गुरुङ, रियाज कार्की, स्वस्तिका दाहाल, स्व्स्तिका बानियाँ, उज्वल बराल,समर्पण न्यौपानेलगायतले रचना वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण पुस्तकालय प्रमुख डिबी बर्तौलाले गरेका थिए ।
कार्यक्रम साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका कार्यालयका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेको प्रमुख आतिथ्यतामा भएको थियो ।
