मकवानपुर । मकवानपुर प्रहरीले ८ किलो लागुऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–७ का २९ वर्षीय सुमिन्द्र कुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बधुबार बिहान साढे ११ बजेकाे समयमा मकवानपुरकाे राक्सिराङ गाउँपालिकास्थित प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ–५, चैनपुरमा सुरक्षाजाँच गर्ने क्रममा दर्जीले लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा फेला परेकाे प्रहरीले जनाएकाे छ ।
दर्जीलाई लागुऔषध गाँजासहित पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । युक्रेनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन नेपाल सरकारले आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी अति आवश्यक कामले बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो ।
त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरि अत्यावश्यक बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत नेपालीहरुलाई मन्त्रालयले अनुरोध गरेको छ । रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै सचेत हुन समेत आग्रह गरेको छ।
युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकहरूसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको परराष्ट्रले जनाएको छ । युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिन र मस्कोमा सम्पर्क गर्न सक्ने परराष्ट्रले बताएको छ ।
रुसले युक्रेनबाट अलग हुन संघर्षरत दुई राज्य लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र मुलुकको मान्यता दिएपछि युक्रेनी सीमामा तनाब बढेको छ । युक्रेनबाट अलग भएको घोषणा गरेका यी दुई ओब्लास्ट क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रुसी कदमविरुद्ध पश्चिमा देशहरु छन् । यही तनाबका कारण दुई देशबीच युद्ध हुने आंकलनहरु भइरहेका छन् ।
यसै बीच युक्रेनी संसदले बुधबार यूक्रेनी राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्मा यूक्रेनबाट छुट्टिएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता दिएको भन्दै १० वर्षका लागि रूसी अधिकारीहरूलाई प्रतिबन्ध लगाउन प्रस्ताव पारित गरेको छ ।
यस प्रस्तावनालाई ४ सय ५० मध्ये ३ सय २२ जना विधायकले समर्थन गरेकाे अन्तराष्ट्रिय संचार संस्था सिन्ह्वाले जनाएकाे छ । प्रस्तावनाको लक्ष्य र उद्देश्यहरू युक्रेनी राष्ट्रिय सुरक्षा र रक्षा परिषद्को निर्णयको लागि आवश्यक कानूनी स्वरूप प्रदान गर्नु हो जुन व्यक्तिगत विशेष आर्थिक तथा अन्य प्रतिबन्धात्मक उपाय घोषणाका लागि मार्गप्रशस्त गर्नु रहेकाे बताइएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले मोटरसाइकल चोरी गर्ने १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ बस्ने २८ वर्षीय युवक थोकर रहेका छन् ।
उनलाई ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो गढी–४ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । सोमबार दिउँसो १२ः २० बजेको समयमा उक्त स्थानमा ना ४९ प ८४७८ नम्वरको मोटरसाइकल दुर्घटना भएको सूचनाको आधारमा पुगेको प्रहरीले मोटरसाइकल चालक थोकरलाई कागजपत्र मग्दा नभएको बताएका थिए ।
दुर्घटना भएकाे माेटरसाइकल चेक गर्दा भारत पुर्वी चम्पारण मोतिहारी जिल्ला घर भई हाल हेटौंडा–८ औधोगिक क्षेत्रभित्र रहेको यति पोलिकम प्रा.लि. मा कार्यरत ५० वर्षीय रामदरस सहनीको गत फागुन ५ गते कम्पनीको आवास क्षेत्रबाट हराएको मोटसाइकलको ईन्जिन र च्यासिस नम्बर मिलेकोले थाेकरलाई पक्राउ गरिएकाे प्रवक्ता रिमालले जानकारी दिए ।
पक्राउ परेका थोकरलाई मंगलबार मकवानपुर जिल्ला अदालतबाट चोरी मुद्धामा १० दिन म्याद थप गरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरमा सवारी दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे छ । २ छुट्टाछुट्टै स्थानमा भएकाे मोटरसाइकल दुर्घटनामा परेर २ जनाको ज्यान गएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । हेटाैडा १९ दारिमटारमा भएकाे माेटरसाइकल दुर्घटनामा स्थानीय सुदिप तितुङ र इन्द्रसराेवर २ मा भएकाे माेटरसाइकल दुर्घटनामा दाेर्जे लामाकाे मृत्यु भएकाे हाे ।
प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तरगत हेटौंडा-मनहरी सडकखण्डको हेटौंडा १९ दारिमटारमा बस्तिपुरबाट नेवारपानी तर्फजाँदै गरेकाे बागमती प्रदेश ०३-००५ प-१५०३ नम्बरको मोटरसाइकल ना.५ त ७३३८ नम्बरको ट्रयाक्टरसँग ठोक्किंदा माेटरसाइकल चालक स्थानीय १७ वर्षीय तितुङको मृत्यु भएको हाे । दुर्घटनामा घाइते भएका तितुङको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, हेटौंडा-फाखेल-काठमाडौं सडकखण्डको इन्द्रसरोवर गाउँपालिका-२ मा काठमाडौंबाट आउँदै गरेको बा.५७ प ८५७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा माेटरसाइकल चालक ३३ वर्षीय लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मकवानपुर । विश्व स्वास्थ्य संगठन (डब्ल्रएचओ) सुर्तिजन्य पदार्थको लत छुटाउने एप सार्वजनिक गरेको छ । डब्ल्रएचओ दक्षिण–पूर्वीय एसियाले एप सार्वजनिक गरेकाे हाे ।
डब्लूएचओले सुर्तीजन्य पदार्थ सेवनकर्ताहरुलाई लक्षित गर्दै यसकाे लतबाट छुटउन सहजताकाे लागि ‘क्विट टोबाको’ नामक एप सार्वजनिक गरेको हो । सुर्ति नियन्त्रणका लागि डब्लुएचओले १ वर्षदेखि सञ्चालन गर्दै आएको ‘कमिट टु क्विट’ (त्यागका लागि प्रतिबद्ध) अभियान अन्तर्गत एप सार्वजनिक गरिएको हो ।
सुर्ती सेवनकर्तामा पुर्याउने असरको बारेमा जानकारी दिदैँ उनीहरुमा लतको व्यवस्थापन गरी सोको परित्यागमा मुख्य केन्द्रित हुन मद्दत गर्नु एपको मुख्य उद्देश्य रहेको बताइएको छ । डब्लुएचओका अनुसार, सो एप प्लेस्टोर एवम् एपस्टोर दुवैबाट डाउनलोड गर्न सकिन्छ ।
सुर्तीजन्य पदार्थ सेवनलाई बचाउन सकिने मृत्युको रुपमा लिइन्छ । यसको प्रयोगले प्रत्येक वर्ष ८० लाख मानिसको ज्यान लिने गरेको डब्लूएचओको तथ्यांकले देखाएको छ ।
