मकवानपुर । मकवानपुर सहित बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लुको संक्रमण फैलिएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मकवानपुरसहित काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, र सिन्धुपाल्चोकमा बर्डफ्लु संक्रमण देखिएको हो ।
मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै बर्ड फ्लुको संक्रमणले महामारीको रूप लिनसक्ने भएकोले सजक रहन आग्रह गरेको छ । प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा विभिन्न जिल्लामा बर्ड फ्लु संक्रमण देखिएपछि नष्ट गरिएको मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले बताए । बर्डफ्लु रोग संक्रमण देखिएको स्थानहरुमा हालसम्म ५८ हजार २ सय ६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको पाण्डेले बताए ।
संघीय सरकारले तोकेको मापदण्ड र नीति अनुसार कृषकहरुलाई राहत स्वरुप क्षतिपूर्ति दिने सरकारको योजना रहेको सचिब पाण्डेले । “राहतको लागि केहि समय लाग्छ,तर किसानले क्षतिपुर्ति पाउनुहुन्छ” उनले भने । मन्त्रालयले बर्डफ्लु रोगको समयमै निदान र नियन्त्रणको लागि विभिन्न पहलहरु गरिरहेको जनाएको छ । प्रदेशका अन्य जिल्लामा बर्डफ्लु रोग फैलन नदिन परीक्षणको दायरालाई फराकिलो बनाइएको छ ।
एक क्षेत्रबाट अर्को क्षेत्रमा संक्रमण फैलन नदिन नमूना संकलन, परीक्षण र निगरानी कार्यहरु बढाइएको मन्त्रालयका कृषि बिकास महाशाखाका प्रमुख तथा प्रवक्ता झलकनाथ कडेलले बताए । संक्रमणको जोखिम बढ्न नदिन र रोगको नियन्त्रणको लागि प्रदेश सरकारले मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा कर्मचारीहरुलाई लामो बिदा नबस्न तथा जिल्ला नछाड्न पत्रचार गरेको छ ।
त्यस्तै मन्त्रालयले प्रदेशको सबै जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्दबाट र्यापिड टेस्ट किटबाट परीक्षणको व्यवस्था मिलाइएको छ । संक्रमित पंछीहरुको ओसारपसारमा पनि कडाइ गरिएको छ । त्यसका लागि प्रहरीको समन्वयमा पंछीपालक व्यवसायीले पंछी ढुवानीको लागि भेटेरिनरी स्वास्थ्य कार्डमा कडाई गर्ने र र्यापिड टेष्ट रिपोर्ट अनिवार्य गर्ने सम्बन्धमा छलफल गरिरहेको मन्त्रालयका प्रवक्ता कंडेलले जानकारी दिए ।
नेपाल कुखुराको मासु र अण्डामा आत्मनिर्भर बन्दै गरेको अवस्थामा बेला बेलामा फैलने यस्ता संक्रमणले समस्या ल्याउने गरेको छ । यस्ता समस्याबाट किसान हतोत्साहित नहोउन भनेर सरकारले राहतको कार्यक्रममार्फत थोरै भएपनि सम्बोधन गर्ने गरेको पाण्डेले बताए ।
मकवनपुर । मकवनपुर प्रहरीले ४२ किलाे गाजाँसहित ४ जनालाई पक्राउ गरेकाे छ । प्रहरीले मकवानपुरकाे मनहरीबाट मंगलबार उक्त परिमाणकाे गाजाँसिहत उनीहरुलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मनहरी ६ स्थित पूर्व पश्चिम सडक खण्डमा चितवन तर्फ जाँदै गरेको ना ६ ख ४४०९ नं. को ट्रकलाई जाचँ गर्दा चालक बस्ने सिट पछाडी लुकाई ल्याएको लागुऔषध गाँजा ४२ किलो फेला गरेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । पक्राउ पर्नेमा ट्रक चालक मनहरी गाउँपालिका वडा नं. ६ बस्ने ३१ बर्षको ईश्वर पाठक, सहचालक हेटौंडा ११ बस्ने २२ बर्षको सागर थिङ, सोही ट्रकमा सवार नवलपरासी रामग्राम १२ बस्ने ६० बर्षको राजेश प्रसाद रौनियार र सोही स्थान बस्ने ४० बर्षकी रेश्मा भरलाई उक्त लागुऔषध गाँजा, ट्रक सहित नियन्त्रणमा लिइएको हो ।
४ जनालाई लागुऔषध गाँजा र ट्रकसहित नियन्त्रणमा लिइएको विषयमा थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । हेटौंडा ३ जम्बोमा घरायसी विवादको क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट उनको श्रीमान् ४३ बर्षीय मित्रलाल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार आपसी विवादको क्रममा विकले सुनारलाई कुटपिट गरि धकेल्दा अचेत भएका उनकाे हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । विकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर/सदनमा सांसदको गणपूरक संख्या नपुगेपछि आज बसेको वागमती प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरेका हुन् । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४० मिनेट ढिलो गरी सुरु भएको थियो । यद्यपि गणपुरक संङ्ख्या नपुगेपछि बैठक केहि मिनेट मात्रै बसेर स्थगित गरिएको थियो ।
बैठकले सदनमा पेश भएको ३ वटा विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।
बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल गरी त्यसको दफावार छलफलका लागि समितिमा पठाउन स्वीकृती प्रदान गरेको हो ।
मकवानपुर /नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडामा भएको बैठकले कोषाध्यक्षसहित विभिन्न समिति र विभागहरु गठन गरेको छ ।
प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले कोषाध्यक्षमा दीर्घमान श्रेष्ठलाई चयन गरेको हो । बैठकले १६ सदस्यीय कार्यसम्पादन समितिसमेत थप गरेको छ । समितिको सदस्यहरुमा प्रभात तामाङ, सन्तबहादुर प्रजा, प्रमोद रिमाल, ईन्द्रमान महर्जन, तारा गुरुङ्ग कैलाश कोइराला, गंगा दाहाल रहेका छन् ।
त्यस्तै अर्जुन उप्रेती, नातिकाजी कार्की, सरु बानियाँ, विवशकुमार वाईबा, जितबहादुर मगर,चित्रबहादुर कार्की, महान अर्याल, डा. भगवान खड्का र लक्ष्मी महर्जन रहेका छन् ।
त्यसैगरी बैठकले ९ सदस्यीय प्रदेश संसदीय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा जगदिशनरसिं केसी, लामा कार्पु तामाङ, तिलक रुवाली,दीपेन्द्र आचार्य, भद्रा भण्डारी, कृष्णलाल भँडेल, निमा लामा, छिरिङ्ग दोर्जे लामा र अर्जुन न्यौपाने रहेका छन् ।
त्यस्तै बैठकले प्रवक्ता, लेखा समिति संयोजक, अनुशासन समिति र विभागको संयोजकहरु समेत गठन गरेको छ । कांग्रेस बागमती प्रदेशको प्रवक्तामा तिलक रुवाली, लेखा समपति संयोजक कृष्णकुमार श्रेष्ठ (सिन्धुली) र सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा चम्फुरत्न लामा र तारादेवि दुलाल पन्त सदस्य रहेको प्रदेश अनुशासन समिति गठन गरिएको छ ।
हेटौंडामा भएको तेश्रो बैठकले प्रदेश विभाग प्रमूखहरुसमेत तोकेको छ ।
कानून तथा संसदीय मामिला विभागमा सानुकान्छा श्रेष्ठ, प्रदेश तथा स्थानीय निकाय उपेन्द्र लम्साल, भातृसंस्था समन्वय विभागमा प्रज्वल दवाडी, पेशागत तथा बुद्धिजीवीमा प्रा.डा. केशवभक्त सापकोटा रहेका छन् ।
त्यस्तै भाषा, साहित्य कला संस्कृतिमा धनकुमारी थापा (सरु), शिक्षा विज्ञान तथा प्रविधिमा रमेशकुमार बखती, स्वास्थ्य विभागमा डा. अमित सिं कार्की, गैरसरकारी संस्था तथा सामाजिक सेवामा रुकु अधिकारी, उद्योग व्यापार वाणिज्य तथा आपूर्तिमा निर्मला पण्डित, युवा तथा खेलकुदमा राजिव पौडेल, ट्रेड युनियन तथा श्रमिकमा भगवती कुमारी खड्का र बैदेशिक रोजगार समन्वय विभागमा सविन तामाङ्ग संयोजक रहनुभएको प्रवक्ता रुवालीले जानकारी दिए ।
सोमबार रातीसम्म चलेको बैठकले मूख्य कार्यालय उद्घाटन गर्न हेटौंडा आइपुगेका पूर्व केन्द्रीय महामन्त्री एवं केन्द्रीय सदस्य प्रकाशमान सिंहलाई धन्यवाद ज्ञापनसमेत गरेको प्रवक्ता रुवालीले जानकारी दिए । प्रदेश कार्यसमितिका सदस्यहरुलाई आज मंगलबार दिउँसोसम्म स्थानीय तह निर्वाचन सम्बन्धि प्रशिक्षण कार्यक्रम रहेको प्रबक्ता रुवालीले जानकारी दिए ।
