मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचन -२०७९ मा सत्ताधारी ५ दलीय गठबन्धनमा सहमति खोज्दा महिलालाई पाखा लगाउने अवस्था आउन लागेको भन्दै नेपाली कांग्रेस मकवानपुरका नेतृहरूले आपत्ति जनाएका छन् ।
हेटौंडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले मेयर र कांग्रेसले उपमेयर पाउने केन्द्रिय सहमति भएसंगै मकवानपुरमा महिलाको नेतृत्व अवसर गुम्न लागेको प्रति ध्यानाकर्षण गराईएको हो । कांग्रेस हेटौंडा उपमहानगर कमिटीले यस अघि मेयर र उपमेयरमा नाम सिफारिस गरेर पठाइसकेको थियो । तर अब कांग्रेसले मेयर नपाउने भएपछि यस अघि मेयरको दाबिमा रहेकाहरू उपमेयरमा ओर्लिएर उपमेयरमा सिफारिस भएका महिला नेतृहरूलाई पाखा लगाउने खोजिएको भन्दै उनीहरूले आपत्ती जनाएका हुन् ।
यस अघि पार्टीको वडा हुंदै नगरकमिटिले उपमेयरमा सिफारिस गरेर पठाएको पार्टी सहसचिव इन्दिरा न्यौपाने, नेतृहरू अमृता थापा र तारा कुमारी राई कार्कीले आफूहरू मध्येबाटै उपमेयर टुङ्गिनु पर्ने माग गरेका हुन् ।
यस अघि पार्टीबाट हेटौंडाको मेयरमा दाबि गर्दै आएका भिमसेन महत, प्रभात दाहाल, राजेश बानियाँमध्ये उपमेयर फाईनल हुने आन्तरिक तयारी रहेको बुझिन आएपछि,त्यसो हुन नदिन उनीहरूले माग गरेका हुन् ।
मकवानपुर । सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा ६ महानगर, ११ उपहानगरमा गठबन्धन गर्ने सहमति भएको छ ।
सहमति अनुसार हेटौंडा उपमानरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ भने उपमेयर नेपाली कांग्रेसले पाएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरमा गठबन्धन गर्ने सहमति भएको हो ।
भागबन्डाको सहमति पत्रमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,समाजवादीका अध्यक्ष माधव नेपाल,जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडलले हस्ताक्षर गरेका छन् ।


मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । यता इन्द्रसरोवर गाउँपालिकामा अर्का एक जना घाइते भएका छन् ।
मंगलबार राती बर्षासँगै परेको चट्याङ लागेर घाइते भएका मकवानपुरको राक्सिराङ– ८ गोङरेङमा ६५ बर्षीय जीतबहादुर गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चट्याङ लागेर घाइते भएका गोलेलाई उपचारका लागि मनहरी ल्याइएको थियो । उनको उपचारको क्रममा रातिनै मनहरी स्वास्थ्य केन्द्रमा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
गोलेलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो ।
त्यसैगरी मंगलबार साँझ परेको चट्याङले इन्द्रसरोवर गाउँपालिका–२ कि एक जना महिलाको घाइते भएकी छिन् । चट्याङ लागेर ६० बर्षीय ठुलीमाया रुम्बा घाइते भएकी हुन् । उनलाई उपचारको लागि ललितपुरमा रहेको पाटन अस्पतालमा लगिएको कार्कीले बताए ।
मकवानपुर । बकैया गाउँपालिका वडा ४ का अध्यक्षका उम्मेदवार राजन दङ्गालले सरकारी सुविधा फिर्ता गरेका छन् ।
नेकपा एमालेले फेरि सर्वसहमतिमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेपछि उनले बुधबार सरकारी मोटरसाइकल र वडा कार्यालयको चावी बकैया गाउँपालिकाका प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीलाई बुझाएका हुन् ।
सर्वोच्च अदालतले बहालवाला वडा अध्यक्षहरूले फेरि उम्मेदवारी दिनुपरेमा राजिनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहितालाई कार्यान्वयन गराउने आदेश दिएसँगै आफूले सरकारी सेवासुविधा फिर्ता गरेको दङ्गालले बताए ।
यसैबिच, सर्वोच्च अदालतको आदेशसँगै स्थानीय तहका हालका जनप्रतिनिधिले फेरि उम्मेदवार बन्नका लागि राजीनामा दिनै पर्ने भए पनि त्यसका लागि स्पष्ट कानुनी व्यवस्था नहुँदा अन्योल उत्पन्न भएको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ ले जनप्रतिनिधि कसरी निर्वाचित हुन्छन्, निर्वाचित जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार के रहन्छ तथा कार्य सञ्चालन कसरी हुन्छ भन्नेबारे व्यवस्था गरेको छ ।
तर जनप्रतिनिधिको कार्यकाल कसरी समापन हुन्छ या उनीहरु कसरी बाहिरिन्छन् भन्ने बारे स्पष्ट व्यवस्था सो ऐनमा नभएको कारण समस्या भएको छ ।
कानुनी अस्पष्टताका बीच सर्वोच्चको आदेशपछि फेरि उम्मेदवार बन्ने चाहने स्थानीय तहका जनप्रतिनिधिले राजीनामा कसरी, कहाँ वा कसलाई दिने भन्नेमा अन्यौल छ ।
जनप्रतिनिधिले फेरि चुनावमा उम्मेदवारी दिन राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्थाविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको रिट न्यायाधीश तेजप्रसाद केसी र तिलप्रसाद श्रेष्ठको इजलासले मंगलबार खारेज गरेको हो ।
स्थानीय निर्वाचन आचारसंहिताको परिच्छेद ९ को धारा ३६ मा बहालवाला जनप्रतिनिधि र सरकारको पारिश्रमिक लिने व्यक्तिले उम्मेदवारी दिन राजीनामा दिनुपर्ने व्यवस्था छ ।
यसअघि दोस्रो संविधानसभाले संविधान जारी गरेपछि संविधानसभा संसदमा रूपान्तरण भएपछि सभामुख र उसभामुखको निर्वाचन १५ दिन भित्र हुनु पर्ने व्यवस्था थियो । तर तत्कालीन संविधानसभाका अध्यक्ष–उपाध्यक्षले कसलाई राजीनामा दिने भन्ने व्यवस्था थिएन ।
त्यसबेला तत्कालीन संविधानसभा उपाध्यक्ष ओनसरी घर्ती मगरले अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई तथा नेम्वाङले उपाध्यक्ष घर्तीलाई राजीनामा बुझाएका थिए ।
स्थानीय तहका हालका जनप्रतिनिधिको स्वभाविक कार्यकाल जेठ ५ गते सकिन्छ । स्थानीय तह निर्वाचन ऐनको दफा ४ ले विभिन्न चरणमा चुनाव भएको भए पनि पहिलो चरणमा भएको निर्वाचनलाई नै आधार मानेर जनप्रतिनिधिको कार्यकाल समयसीमा निर्धारण हुने उल्लेख गरेको छ ।
हेटौंडा । आसन्न स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको काम गर्नेगरी नेकपा एमालेले हेटौंडा ५ सितानगर टोलमा कार्यालय खोलेको छ ।
पार्टी जिल्ला सचिवालय सदस्य इश्वर ढुंगानाको प्रमुख आतिथ्यमा आज बुधबार कार्यालय उद्घाटन गरिएको हो ।
कार्यालय उद्घाटन गर्दै सचिवालय सदस्य ढुङ्गानाले एमालेले ५ नम्नर वडाको लागि कम बोल्ने काम बढि गर्ने नेता चयन गरेको बताउंदै यो नेतृत्वले समाजको आर्थिक सामाजिक विकासमा रोलमोडेलको काम गर्ने बताए । “तपाई हामीले हाम्रो टोलको लोकप्रिय सामाजिक व्यक्ति घिमिरेको उम्मेदवारीले समाजमा आशा जगाएको छ” ढुङ्गानाले भने । एमालेको सपना टोल बस्तिको बिकास, समृद्धिको भएको उनले बताए ।
एमालेले स्थानीय तहमा नै आय आर्जनको बाटो खोज्ने, पर्यटकीय गन्तव्यमा योजनाहरू बनाउने उनले बताए । “स्थानीय टोलको बिकास र स्थानीयवासीको समग्र सुरक्षाको लागि यसपटक एमालेको सिङ्गो टिम जिताउनुहोस” उनले भने ।
सितानगरको सुदुर भबिष्य कस्तो बनाउने भन्ने दुरगामी योजना एमालेले बनेकोले अबको कामको जिम्मेवारी सुशिल घिमिरेको टिमलाई दिन उनले आग्रह गरे । “बिगतदेखि नै एमालेको लालकिल्ला रहेको सितानगरमा अब बिजयको यात्रामा सामेल हुन बाँकी छ” ढुङ्गानाले भने ” आगामी ३० गतेको चुनाव वडाका उम्मेदवार मात्रै नभइ, टोल र समाजको भबिष्यको खाका बनाउने अन्तिम बिन्दु हो” ढुङ्गानाले भने ।
कार्यक्रम नेकपाए मालेबाट वडा अध्यक्षका उम्मेदवार सुशिल घिमिरेले सबै लागिपर्दा वडाको समृद्धि ल्याउन कठिन नभएको बताए । “हाम्रो वडा हामी सबै तरिकाले समृद्ध बनाउन सक्छौ” घिमिरेले भने “यसको लागि तपाईंहरूको साथ चाहिन्छ ।
वडाको विकासको सवालमा प्रतिबद्धता पत्रमा उल्लेख भएका योजनाहरू अनुसार काम गरेर देखाउने घिमिरेले बताए । उनले आफूलाई सामाजिक क्षेत्रमा काम गर्ने अभिलाषा पुरा गर्ने मौका दिन सितानगर टोलवासीसंग अनुरोध गरे ।

एमाले टोल समितिको अध्यक्ष सुरेश पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा अध्यक्ष पोखरेलले स्थानीय विकासको लागि स्थानीय टोलवासीलाई एक भएर एमालेको सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा पार्टी वडा अध्यक्ष पदम बजगाईं, सचिब सुरेश लामिछाने, वडाका उम्मेदवारहरू ज्ञानबहादुर थापा, रन्जिता सिलवाल, रामबहादुर राई,भगवती बिकलगायतको उपस्थिति रहेको थियो ।
