मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले रोकेका छन् ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा निर्वाचन आचारसंहिता विपरित बाड्न लैजाँदै गरेको खानेपानीको पाईप स्थानीयले रोकेका हुन् ।
बुधबार दिउँसो बकैया ७ को हर्दा हुँदै माथिल्लो विकट गाउँमा मतदातालाई प्रभावित पार्ने उदेश्यले खानेपानीको पाईप बाड्न लैजाँदै गरेको अवस्थामा एमालेबाट बकैया ७ का उम्मेद्वार सहित स्थानीयले रोकेका हुन् ।
बा ११ च ७९११ नंबरको पिकअप भ्यानमा लैजाँदै गरेको ३ क्वाईल खानेपानीको कालो पाईप नेपाली कांग्रेसले बाड्न लागेको स्थानीयले आरोप लगाएका छन् । स्थानीय र सवारी चालकबीच विवाद भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
भ्यान चालकले पाईप सडकमै झारेर फर्किएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । घटनास्थल नजिकै मतदान स्थल बुथ रहेको र बुथ छोड्न नमिल्ने भन्दै प्रहरीले खानेपानीको पाईप सोही स्थानीमा छोडेको बताए ।
उक्त खानेपानीको पाईप हालसम्म पनि सोही ठाउँमा अलपत्र रहेको र कसैले पनि जिम्मेवारी लिन नआएको बताईएको छ । यसबारे थप अनुसन्धान हुन बाकी रहेको प्रवक्ता कार्कीले बताए ।
मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा छुट्टा–छुट्टै स्थानमा २ जनाको शव फेला परेको छ ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको दुई स्थानम २ वटा शव फेला परेको हो । मनहरीको वडा नंबर ७ को मनहरी बजार र वडा नंबर ९ को रजैयामा गरी एकएक जनाको शव फेला परेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । दुबै शव मृतकहरूकै घरमा नै भेटिएको प्रहरीले जनाएको छ ।
मनहरी बजारका ५७ वर्षीय राजु प्रसाद रौनियार गएराति आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
निरीक्षक थापाले रौनियार आफ्नो तीन तलाको घरको छतमा सुत्ने गरेको र आज बिहान परिवारले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए । उनले शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको बताए ।
यसैगरि,मनहरीकै रजैयामा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक थापाका अनुसार स्थानीय ४२ वर्षीया अनिता गौपाली आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।
गौपाली आफ्नै घरमा एक्लै बस्दै आएको र आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थापाले बताए । उनले घटनाको आवश्यक थप अनुसन्धान भईरहेको बताए ।
मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका भीसी विश्वराज जोशीलाई निलम्बन गर्ने बाग्मती प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सर्बोच्चका न्यायधिश कुमार चुँडालको इजलाशले भिसी जोशीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो । सर्बोच्चको अन्तरिम आदेशसंगै भिसी जोशीलाई पदमै रहेर काम गर्ने बाटो खुलेको छ ।
बागमति प्रदेश सरकार मन्त्री परिषदको निर्णयबाट उनलाई निलम्बन गरिएको थियो । निलम्बन गर्ने प्रदेश सरकारको निर्णय बिरूद्द उनी अदालत गएका थिए । अदालतले सरकारको स्वेच्छाचारि निर्णयमाथि लगाम लगाउँदै दुबै पक्षलाई छलफलका लागि समेत झिकाएको छ ।
मकवानपुर । शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ मा हेटौंडा उपमहानगरपालिकामा मेयरको उम्मेदवार रहेका व्यक्ति नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा समाजबादीबाट हेटौंडा उपमहानगरपालिकामा मेयर उमेदवार रोमनाथ भुर्तेल एमाले प्रवेश गरेका हुन् । भुर्तेललाई नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य डोरमणि पौडेलले पार्टीमा स्वागत गरेका थिए ।
एमालेमा देखिएको जनलहर र एमालेले गरेको बिकास समृद्धिका कारण एमाले रोजेको उनले बताए । देशमा अरु कुनै पार्टीको अस्तित्व नरहने र एमाले नै देश विकासको संवाहक भएको उनले बताए । उनको समर्थन एमालेका उमेदवार अनन्त पौडेललाई भएको बताए ।
कार्यक्रममा एमाले केन्द्रिय सदस्य एबम मकवानपुर सह इन्चार्ज जुनेली श्रेष्ठ, मेयर पदका उमेदवार अनन्त पौडेल, उपमेयर पदका उमेदवार सुमित्रा काफ्ले, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, सचिव एवम् वडानम्बर ४ का वडाध्यक्षका उमेदवार नवीन सिग्देल, नेता श्रीधर पोखरेललगायत नेताहरु सहभागी थिए ।
मकवानपुर । शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को सुरक्षार्थ मकवानपुरमा ३ हजार २ सय ७३ जना सुरक्षाकर्मी खटिएका छन् ।
सरकारले निर्वाचनलाई शान्तिपुर्ण र विश्वस्त बनाउन उक्त संङख्यामा सुरक्षाकर्मी खटाइसकेको छ,तर सरकारले गराउने लागेको निर्वाचन प्रति दलहरूले भने विश्वास नगरेको छनक मकवानपुरमा देखिएको छ ।
निर्वाचनको लागि भनेर नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले आफ्ना युवा दस्ता वाईसीएललाई बुथ बुथमा खटाउने भएको छ । निर्वाचन सुरक्षाका लागि सरकारले १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना खटाइने मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए । मतदान केन्द्र भित्र सुरक्षा प्रदान गर्न प्रहरी खटिने र मतदान केन्द्र बाहिरा सेना खटाइनेछ ।
यता माओवादीले पार्टी निकट युवाहरुको संगठन वाईसिएल मकवानपुरले ६ हजारको संङ्ख्यामा वाइसीएल खटाउने भएको छ । आसन्न स्थानिय चुनाव भयरहित बनाउन र शान्ति सुरक्षा कायम गर्नको लागि भन्दै जिल्लाका बुथहरुमा वाइसिएल खटाउन लागेको हो। वाइसिएल मकवानपुरका संयोजक लवराज ठकुरीको अनुसार निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउनको लागि स्वयंसेवकको रुपमा वाइसिएललाई खटाउने भएको हो ।
जिल्लामा ‘१ बुथ २५ युथ भन्ने’ नारासहित वाइसिएलले सुरक्षमा खट्न लागेको संयोजक ठकुरीले बताए । प्रशासनले अतिसंवेदनशील र संबेदनशिल भनेको स्थानहरुमा भने ५० देखी ६० जना खटाइने वाइसीएल खटिने ठकुरीले बताए ।
निर्वाचनको मौन अबधी सुरु भएपछी भित्रीरुपमा गरिने चलखेल तथा अपराधिक गतिबिधीहरुमा वाइसिएल मकवानपुरले निगरानी राख्ने ठकुरीको दाबि छ । तर वाइसीएलकै कारण वातावरणमा भयरहित हुनेमा भने आशंका रहेको नेपाली कांग्रेसका एक युवा नेताले बताए ।
‘प्रत्येक मतदातालाई भयरहित वातावरणमा आफूले चाहेको प्रतिनीधि छान्ने अधिकारको सुरक्षा गर्न वाइसिएल नेपाल लागि पर्ने भनिएको छ,तर उनीहरूले नै विवेकपुर्ण मतलाई यताउता गर्न लगाए भने के होला’ उनले भने । बुथमा कुनै पनि वाहानामा दल निकट व्यक्ति बस्दा मतदातालाई प्रभाव पार्ने गरि बस्न नमिल्ने निर्वाचन आयोगले प्रस्ट्याएको छ ।
सुरक्षाको वाहानामा वाइसिएल खटाइए कारवाही: मुख्य निर्वाचन अधिकृत
मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बुथ सुरक्षाको वाहानामा वाइसिएल खटाइए कारवाही हुने बताएका छन् । “मतदान प्रणालीलाई निष्पक्ष र भय रहित बनाउनको लागि नेपाल सरकारले नै सुरक्षाकर्मी खटाएर पाठाएको छ,त्यसरी जो बस्न मन लाग्यो त्यसले सुरक्षा गर्न पाउने भए किन राज्यको अर्वौं खर्च गर्नुपर्यो” श्रेष्ठले भने “यसो हुन दिदैनौ मतदातालाई कुनै असर पर्न हुन्न ।”
सरकारी मान्यता प्राप्त सुरक्षाकर्मी बाहेक कसैले यो भूमिका नपाउने उनले बताए । “सरकारले खटाएको सुरक्षाकर्मी भन्दा दलको युवा संगठन कसरी विश्वासिला ?” उनले प्रश्न गरे ।
