बारा। बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले शान्ति सुव्यवस्था कायमकाे लागि कर्फ्यु आदेश जारी गरेका छन् । नेकपा एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहको तोडफोडलाई रोक्न कर्फ्यू जारी गरिएको प्रशासनले जनाएको छ ।
२०८२ मंसिर ३ गते मध्यान्ह १२:३० देखि राति ८:०० बजे सम्म लागू हुनेछ। कर्फ्यूको अवधि भित्र सार्वजनिक स्थानमा आवागमन र सवारी साधनको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। कर्फ्यूको मुख्य उद्देश्य सुरक्षा व्यवस्था सुदृढ गर्नु र सामाजिक दुरुत्साहनको नियन्त्रण गर्नु रहेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए।
स्थानीय प्रशासनले कर्फ्यूको समयमा सार्वजनिक सेवा र आपतकालीन कार्यवाहिका लागि विशेष अनुमति दिएको छ। आदेश उल्लङ्घन गरेमा कानूनी कारवाही गरिने चेतावनी पनि जारी गरिएको छ।
नेकपा एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको गेट तोडेको छ । केही युवाहरु विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका थिए । उनीहरुमध्ये केहीलाई प्रहरीले पछि बाहिर निकालेको थियो ।
बाराको परवानीपुरमा आज आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली बारा आउने कार्यक्रम थियो । नेताहरु बारा नपुग्दै स्थानीय युवा र एमाले कार्यकर्ताहरुबीच सिमरा बजारमा झडप भएको थियो । त्यसपछि आक्रोशि समूह एमाले नेताहरु विमानस्थल आउन लागेको सूचना पाएपछि विमानस्थलको गेट फुटाउँदै भित्र प्रवेश गरेका थिए । तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।
अनलाइन खबरको सहयोगमा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्राविधिक शिक्षा अहिलेकाे आवश्यकता भएकाे बताएका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङमा रहेको शारदा माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गर्ने उनले यस्तो बताएका हुन् ।
सोमबारबाट सुरु शारदाकाे सप्ताहव्यापी स्वर्ण महोत्सव कार्यक्रममा बानियाँले भने ‘अहिलेकाे शिक्षा भनेको देश भित्रै र बिदेशमा समेत विकाउ हुन आवश्यक छ ।’ प्रावविधिक शिक्षा तर्फ जोड दिंदै उनले यसका लागि विद्यालयलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । ‘परम्परागत शिक्षा भन्दा प्रविधिसँग जोड्ने शिक्षा अबकाे आवश्यक हाे’ उनले भने । अब पढ्दै, सिक्दै, काम गर्दै गर्न सक्ने शिक्षा आवश्यक रहेको उनले बताए ।
मुख्यमन्त्री बानियाँले शारदा गाना बिमोचन तथा स्तम्भ अनावरण समेत गरेका छन् । स्वर्ण महाेत्सव शुभारम्भकाे अवसरमा बिद्यालयका शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, निवर्तमान अध्यक्ष विदुर हुमागाई, उपाध्यक्ष मान कुमारी पाख्रिन नेपाली, शिक्षा विकास निर्देशनालयका महानिर्देशक गोपाल कंडेल, राष्ट्रिय परीक्षा वोर्ड हेटौंडा प्रमुख बद्री पाठक, विद्यालयका पूर्व अध्यक्ष बलराम घिमिरेलगायत उपस्थित थिए ।
यसैबिच, शारदा माविको स्वण महोत्सवका अवसरमा सप्ताहव्यापी कार्याक्रम अन्तरगत जिल्ला स्तरीय शिक्षक बुद्धिचाल प्रतियोगिता भएको छ । प्रतियोगितामा शिक्षक भीम तिमल्सिना प्रथम, प्रअ इन्द्रबहादुर कार्की द्वितीय, रामजीप्रसाद हुमागाईं तृतीय र दिवस दुलालले सान्त्वना स्थान हात पारेका छन् । बिद्यालयले आफ्नो स्थापनाको स्वर्ण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछ ।
प्रधानध्यापक कार्कीले स्वागत गरेकाे उद्घाटन कार्यक्रम बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष युवराज सापकोटाको अध्यक्षतामा भएको हाे ।
मकवानपुर । बागमती प्रदेशमा भएको मानव अधिकार रक्षकहरुको भेलाले प्रदेश स्तरीय सञ्जाल गठन गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भएको भेलाले बागमती प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरेको हो ।
अधिवक्ता दीपेन्द्र ढकालको संयोजकत्वमा गठित प्रदेश स्तरिय सञ्जालले मानव अधिकारका विविध चुनौती, कानुन कार्यान्वयन, जातीय विभेद, लैङ्गिक हिंसा, बालअधिकार, पर्यावरणीय हक तथा सङ्क्रमणकालीन न्यायलगायतका सवालमा समस्या पहिचान गर्दै निराकरणको लागि पहल गर्नेछ । सञ्जालले प्रदेश तथा जिल्ला स्तरमा रहेका अधिकारवादी अन्य सञ्जाल, संघसंस्था तथा सरोकारवाल निकायहरुसँग समन्वय गरेर काम गर्ने संयोजक ढकालले बताए ।
सञ्जाल गठनपछि तत्कालको गर्ने केही कार्ययोजना समेत तय गरिएको बताइएको छ । नजिकिदै गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा ९ डिसेम्बर (मानव अधिकार रक्षक दिवस) को दिन सञ्जाल परिचयात्मक कार्यक्रम गर्ने र अभियान भर सबै दिवसहरुमा समन्वयात्मक रुपमा काम गर्ने योजना तय भएको संयोजक ढकालले बताए । सञ्जालमा सह संयोजकमा सिन्धुपाल्चोकका नातीबाबु धिताल, सचिवमा मकवानपुरको सरिता दाहाल, कोषाध्यक्षमा रामेछापको अर्जुन श्रेष्ठ चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा अधिकारकर्मीहरु अधिवक्ता अप्सरा बस्नेत, कुमारी वाइवा, सिता मल्ल, शारदा चौलागाई, बिमला गोपाली, अञ्जिना गिरी, आशिष बुढाथोकी, रुद्रबहादुर खड्का, विनोद ढकाल, अस्मिता प्रजा, पवित्रा विश्वकर्मा, आश्मा भण्डारी, गोबिन्द प्रसाद न्यौपाने, सुमित्रा आचार्य, कवि पौडेल, अविनाश प्रजा र पवन गौतम रहेका छन् ।
साथै सञ्जालका सल्लाहकार तथा पर्वेक्षक समिति समेत गठन गरिएको छ । जसमा मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख उपसचिव चन्द्रकान्त चापागाईं, बाल कल्याण समाजका प्रकाश खतिवडा,सिविन बाल हेल्प लाइनका प्रमुख झविन्द्र ज्ञावली, गैसस प्रदेश कार्यवाहक अध्यक्ष कमलकुमार विश्वकर्मा, जिल्ला अध्यक्ष रमिला सापकोटा युवा अभियन्ता रञ्जन पौडेल रहेका छन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव चन्द्रकान्त चापागाईंले महिलाअधिकार, बालअधिकार, शिक्षा, स्वास्थ्य, जातीय विभेद तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकारका विषयमा सञ्जालले सहकार्य र पहल गर्नुपर्नेमा बताए । कार्यक्रममा गैरसरकारी महासंघका केन्द्रीय सदस्य बुद्धचरण लामाले मानव अधिकार रक्षकहरुले आत्मसमिक्षा गर्दै समयानुकूल आफ्नो भूमिका परिवर्तन गर्न आवश्यक रहेको बताए ।
इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेल तथा प्रलेख अधिकृत बरुण बस्यालले सञ्जाल निर्माणको लागि विशेष सहजिकरण गरेका थिए ।
मकवानपुर । मकवानपुरको भीमफेदी १ र मकवानपुरगढी ५ को सिमाना स्थित बुङ्दल सामरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर-५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुलबाट मोटरसाइकल खसेर दुर्घटना हुँदा घटनास्थलमै २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बा.प्र.०३-००५ प ७९८० नम्बरको मोटरसाइकल झण्डै ५० मिटर तल बुङदल खेलामा खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौडा २ चौकिटोल बस्ने ३९ वर्षीय बिर बहादुर गुरुङ र पुर्वी नवलपरासी कावासोती १३ घर भई हेटौडा २ चौकिटोलमा डेरा गरी बस्ने ३५ वर्षीय चन्द्र बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनास्थलको प्रकृती हेर्दा रातको समयमा भएको हुन सक्ने तथा सुपारेटार ब्यारेक तर्फबाट मकवानपुरगढीको धादिङ तर्फ जादै गरेको जस्तो देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा शव हेटौंडा अस्पतालमा रहेको जनाएको छ ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँ मूल्य बढाइएको हो ।
भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्यसूची आएकोले मूल्य बढाइएको निगमले जनाएको छ । तर निगमले उपभोक्ताको हितलाई ध्यान दिदै पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँमा मात्रै वृद्धि गरेको जनाइएको छ ।
निगमका अनुसार बढेको मूल्य शनिबार राति १२ बजेबाट लागू भएको छ ।
