माओवादीले दियो लक्ष्मीलाई धोकाः भन्छिन् अब “पार्टी प्रवृत्ति विरुद्ध लड्छु”
Tags: No Comments
मकवानपुर । नेकपा एकीकृत माओवादीले आफूलाई आश्वासन दिएर धोका दिएको भन्दै नेत्री लक्ष्मी माझी कृपाले पार्टी प्रवृत्ति विरुद्ध लड्ने घोषणा गरेकी छिन् ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ को निर्वाचनमा मकवानपुरको बकैया गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी एकिकृत माओवादीकी नेत्री लक्ष्मी माझीलाई जिल्ला समन्वय समिति मकवानपुरको सभापति बनाउने सहमतिमा ब्याक गराइएको थियो । तर हिजो ३० जेठमा जिल्ला समन्वय समितिको उम्मेदवारी दिनबाट पनि पार्टीले आफूलाई रोकेको उनको गुनासो छ ।
बकैया गाउँपालिकाको अध्यक्षको उम्मेदवारी फिर्ता लिन र जिल्ला समन्वय समिति मकवानपुरको सभापति बनाउनको लागि पार्टीको जिल्ला, प्रदेश र केन्द्र तहका नेताहरुको सहमति थियो । तर एकाएक आफूलाई यो मौका पनि नदिएको भन्दै उनले पार्टी प्रवृत्ति सही नभएकोले आफू यस विरुद्ध लड्ने बताएकी छिन् ।
“पार्टीले जे जे गरेपनि हामीले हाम्रो पार्टी महान, हाम्रो पार्टी सही भन्दै हिडेकै हौं, सधै यस्ता गलत प्रवृतिलाई कसरी सही भनिराख्ने ? ” उनले सञ्चारकर्मीसँग भनिन् ।
सोमबार जिल्ला समन्वय समितिको सभापति चयनको लागि बसेको पार्टी बैठकमा समेत आफूलाई समर्थन गर्नेको बहुमत रहेको तर नाटकीय रुपमा अर्को व्यक्ति खडा गरिएको भन्दै उनले आक्रोस पोखिन् । “बैठकमा मेरो समर्थनमा बहुमत देखिएपछि, प्रदेशलाई सिफारीस ग-यौ भने, पछि प्रदेशको निर्णय भन्दै अर्को निर्णय सुनाइयो” उनले भनिन् “तर यो विषय प्रदेश कमिटीमा पुगेकै रहेनछ ।”
याे पनि पढ्नुहाेस्
जिसस मकवानपुरको निर्वाचनः आज उम्मेदवार बिरुद्ध दाबि विरोध
गाउँपालिका अध्यक्षबाट ब्याक हुनको लागि प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले मन्त्रालयमै बोलाएर जिसस सभापति बनाउने सुनौलो सपना देखाएकी थिइन् । यसैगरी पार्टी केन्द्रीय स्तरको नेताले पनि घरैमा बोलाएर सम्झाए पछि लक्ष्मी पालिका अध्यक्षबाट ब्याक भएकी थिइन् । जिल्ला समन्वय सभापतिमा लक्ष्मीलाई ल्याउँदा अल्पसंख्यक जाति, महिला दुबैको प्रतिनिधित्वि हुने र यसको लागि गाउँपालिकाको कार्यपालिका सदस्यमा मनोनीत गरेर जिल्ला समन्वयमा ल्याउने बाटो तय गर्ने सहमति भएको थियो ।
यसै अनुसार उनी अध्यक्षबाट ब्याक भइन् र कार्य पालिका सदस्यमा मनोनीत पनि भइन् । तर जिसस सभापतिमा आउने बाटो बन्द गरिएपछि उनले आफूलाई विगतमा आश्वासन देखाएको तर अहिले अमानविय निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा पनि हरियो घाँस देखाएर घाटी रेट्ने काम भएको भन्दैै गुनासो गरेकी छिन् ।

जिसस मकवानपुरको सभापतिको लागि पार्टीबाट सिफारीस भएका ललित घलानलाई बधाइ दिंदै उनले पार्टीको निर्णय प्रति खबरदारी गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेस बुकमा लेखेकी छिन्: बधाई छ ललित दाई तपाईको भद्र शालिन र प्रभावशाली व्यक्तित्वप्रति मेरो कुनै गुनासो छैन । बिडम्बना मेरो पक्षमा बहुमत प्रदेश सदस्यहरुको राय र सुझाव हुदाहुदै निर्णय गर्न नसक्ने मकवानपुरको महान एवं गौरवशाली पार्टी नेकपा माओवादीप्रति भने नतमस्तक छु।
पार्टीमा योग्यता, क्षमता र बहुमतको कदर नभएको भन्दै उनले स्टाससमा व्यङ्ग्य गर्दै भनेकी छिन् : अल्पमतको सदर र बहुमतको बदर गर्ने अर्को महान नेकपा माओवादी प्रदेश कमिटीलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दछु ।
माओवादी आन्दोलनले अल्पसंख्यक जनजाति, निरक्षर तथा महिला वर्गको पक्षका सवाललाई बेवास्ता गरेको उनको उल्लेख गरेकी छिन् । पार्टीलाई चाहिदा योग्य व्यक्ति, सामाजिक अभिभारा बोक्न अयोग्य भन्ने गलत बुझाइ रहेको प्रति उनले व्यङ्ग गरेकी छिन् “हामी कुनै बेला क्रान्तिको अब्बल लाल भरिया थियौ होला । अबको सामाजिक अभिभारा बोक्न योग्यता पुग्दैन ।”
९ पदका लागि १२ जनाको उम्मेदवारी, प्रमुख पदमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले मनोनयन दर्ता
मकवानपुर । जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरको निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता सकिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुख, उपप्रमुख र सदस्य पदका लागि १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आज मनोनयन दर्ता गराएका उम्मेदवारमाथि दावी विरोधको समय रहेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए
९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उप-प्रमुख र ७ जना सदस्य रहने प्रावधान रहेको छ । प्रमुख पदमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले मनोनयन दर्ता गराएका छन् ।
घलान स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष निर्वाचित भएका थिए । त्यस्तै प्रमुख पदमा नेकपा एमालेबाट इन्द्रसरोवर गाउँपालिकाका बुद्धिराम डिम्डुङले मनोनयन गराएका छन् । डिम्डुङ स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट इन्द्रसरोवर ३ को वडा सदस्यमा निर्वाचित भएका हुन् ।
उप–प्रमुख पदमा भने गठबन्धनको तर्फका नेपाली कांग्रेसबाट मनहरी गाउँपालिकाका सानुकाजी लुइँटेलले मनोनयन गराएका छन् । सो पदमा उनले मात्रै मनोनयन गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लुइँटेल स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट मनहरी गाउँपालिका ३ को वडा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै जिसस सदस्यमा ३ जना महिला रहने प्रावधान भएकोमा ४ जनाले मनोनयन दर्ता गराए छन् । उक्त पदका लागि निर्वाचन हुने भएको छ । महिला सदस्य पदमा नेपाली कांग्रेसबाट क्रमशः तारा ढुंगाना, विष्णुमाया थपलिया, सुमित्रा थिङ र नेकपा एमालेकी बिनाकुमारी थिङ लामाले उम्मेदवारी दिएका हुन् ।
त्यस्तै दलित तथा अल्पसंख्यक सदस्यतर्फ नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारले मात्रै उम्मेदवारी दर्ता गराएकी छिन् । अन्य खुल्ला सदस्यहरुमा नेकपा एकीकृत समाजवादीबाट विरेन्द्र कुमार लामा, नेकपा माओवादी केन्द्रका सुवर्ण गोपाली माओवादीकै खड्गबहादुर पुलामी र एमालेका तोयानाथ तिमल्सिनाले उम्मेदवारी दिएका हुन् । खुल्ला सदस्य ३ जना हुने व्यवस्था भएपनि ४ जनाको उम्मेदवारी परेकोले सो पदमा पनि निर्वाचन हुने भएको हो ।
आज उम्मेदवार विरुद्ध दाबि बिरोध तथा मनोनयन पत्रको जाँच र उजुरी परेमा त्यसउपर निर्णय गरिने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, कसैले उम्मेदवारी फिर्ता लिन चाहेमा लिन सकिने र नलिएको अवस्थामा अन्तिम नामावली प्रकाशन हुनेछ । असार १ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने र २ गते मतदान हुने कार्यसूचि रहेको जनाइएको छ ।
मकवानपुरमा १ उपमहानगरपालिका, १ नगरापलिका र ८ वटा गाउँपालिका रहेका छन् । कानून अनुसार सबै पालिकाको प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको लागि मतदान गर्न पाउनेछन् । स्थानीय तह सदस्य निर्वाचन,२०७९ बाट निर्वाचित जनप्रतिनिधिहरु मध्ये पालिका प्रमुख र उप प्रमुखमा कांग्रेसको ९, माओवादी केन्द्रको ७, नेकपा एमालेको ३ र एकीकृत समाजवादीको १ जना मतदाता रहेका छन् ।
मकवानपुर । बागमती प्रदेशसभामा आज मंगलबार बस्दै छ । दिउँसो २ बजे बस्ने प्रदेश सभामा ५ वटा प्रतिवेदन पेश हुने भएको छ ।
बैठकमा मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को बार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको बार्षिक प्रतिवेदन पेश गर्नेछन् ।
यसैगरी आजकै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मटेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गर्नेछन् । बागमती प्रदेश सरकारले भोलि बजेट सार्वजनिक गर्दैछ । भोली १ असारको अपरान्ह ४ बजे प्रदेश सभा बैठकमा बजेट पेश हुने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको छ ।
बागमती प्रदेश सभाले १९ गतेमा आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम पास गरेको थियो । उक्त नीति तथा कार्यक्रमलाई पुरापुर सम्बोधन गर्ने गरी बजेट ल्याइने तयारी भएको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागु औषध गाँजा ९६ किलो ८४० ग्राम सहति अटो र ३ जना मानिस पक्राउ गरेको छ ।
मकवानपुरको अस्थाई प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरी टोलीले मकवानपुर जिल्लाको भिमफेदी गाँउपालिका वडा ९ चुनिया भित्री सडकमा घैराङगबाट चुनिया बजारतर्फ आउदै गरेको ना २ ह ३५३६ नंम्बरको अटोलाई चेक गर्दा गाँजा फेला परेको हो ।
अटो चालक मकवानपुर भिमफेदी गाउँपालिका २ रिठ्ठेपानी बस्ने ३० वर्षिय अभिषेक लामासंगै सोही ओमा रहेका कैलाश गाउँपालिका ९ घैराङग बस्ने ३७ वर्षको ज्ञान बहादुर गोले र कैलाश गाउँपालिका १० बस्ने बर्ष ४९ को चन्द्र लामालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक रामचन्दा घिमिरेले बताए । लागुऔषध गाँजा र अटो सहित नियन्त्रणमा लिईएकाहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडामा आज भएको चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उपाधि बिभागिय टिम त्रिभुवन आर्मीले हात पारेको छ ।
साबिक बिजेता आर्मीले हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली एफसी विजय युथलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
उपाधिसँगै आर्मीले १५ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता बनेको घरेलु टिम एफसी विजय युथले १० लाख रुपैयाँ पाएको छ ।
चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै घरेलु टिम एफसी विजय युथका क्याप्टेन अशोक बरालले बुलेट बाइक पाएका छन् । फाइनल खेलमा उपविजेता बनेको एफसी विजय युथका बराल ए डिभिजन क्लबमा व्यावसायिक फुटबल खेलाडी हुन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि बुलेट बाइकको प्रायोजन हेटौंडा स्कूल अफ म्यानेजमेन्टले गरेको हो । यसअघि तेस्रो संस्करणमा पनि हेटौंडा स्कूल अफ म्यानेजमेन्टले नै बुलेट बाइकको प्रयोजन गरेको थियो । तेस्रो संस्करणमा मकवानपुरकै अमीर श्रेष्ठले बुलेट बाइक पाएका थिए ।
यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका बिकेश कुथु घोषित भए । उत्कृष्ट मिडफिल्डरमा आर्मीका विवेक बस्नेत, स्ट्राइकरमा आर्मीकै दिनेश हेम्जन र प्रशिक्षकमा आर्मीका नवीन न्यौपाने घोषित भए । विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाएका छन् ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । मकवानपुरका १० वटै स्थानीय तहको लगानीमा प्रतियोगिता भएको हो ।
