मकवानपुर । हेटौंडामा जारी जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा सोमबारदेखि सुरु प्रतियोगितामा समूह चरणको खेल मंगलबार सकिएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो ।
समूह ‘क’ को विजेता बन्दै बकैया गाउँपालिका समेफाइनलमा प्रवेश गरेकाे छ । बकैयाले सेमीफाइनलमा समूह ‘ख’ को उपविजेता हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको टिमसँग खेल्ने छ । यस्तै समूह ‘ख’ को विजेता बन्दै सेमीफाइनल प्रवेश गरेकाे मकवानपुरगढी गाउँपालिका समूह ‘क’ को उपविजेता थाहा नगरपालिकासँग सेमीफाइनलमा भेट पक्का गरेको छ। सेमीफाइनल चरणको खेल बुधबार बिहान हुनेछ भने फाइनल खेल बुधबार दिउँसो हुने आयाेजक प्रतिष्ठानका महासचिव वसन्त कुमार सिटौलाले बताए ।
सोमबारदेखि सुरु जिल्लास्तरीय महिला भलिबल प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको थियो । हुप्रचौरमा जारी प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि उपविजेताले २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने सिटौलाले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेश प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरुप सोमबार यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वको समयमा बढी भिडभाड तथा आम नागरिकलाई यात्रामा असहजता हुनसक्ने हुँदा बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी संचालनमा ल्याईएको हो ।
चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत मकवानपुर जिल्लामा ८ वटा, चितवन जिल्लामा ४, धादिङ जिल्लामा ६, नुवाकोट जिल्लामा ६, रसुवा जिल्लामा ६, काभ्रे जिल्लामा ९, सिन्धुपाल्चोक जिल्लामा ५, दोलखा जिल्लामा १, रामेछाप जिल्लामा २ र सिन्धुली जिल्लामा ५ वटा गरी ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी एकैपटक संचालनमा ल्याईएको बागमती प्रदेश प्रहरी कार्यालय जानकारी दिएकाे छ । बागमती प्रदेश अन्तर्गतका व्यस्त बसपार्क तथा बढी भिडभाड र आवतजावत हुने स्थानहरुमा ट्राफिक प्रहरीसहितको सहायता कक्ष स्थापना गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले बताए ।
स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरीसहित १ सिफ्टमा १ सय ५६ जना प्रहरी हुने गरी २४ औं घण्टा प्रहरी परिचालन गरिएको छ । प्रवक्ता रेग्मीले ‘यात्रा गर्दा तथा आफूलाई कुनै समस्या पर्न गएमा तत्काल यात्रु तथा नागरिक सहायता कक्षमा सम्पर्क राखि आफ्नो समस्या समाधान गर्न समेत अनुरोध गरेका छन् ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा भएको उपमेयर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको उपाधि १७ नम्बर वडाले जितेको छ ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा सोमबार हुप्रचौरमा भएकाे खेलमा १९ नम्बर वडालाई ३–१ को सेटमा पराजित गर्दै १७ नम्बर वडाले उपाधि जितेको हो ।
पहिलो सेट २५–२१ ले अग्रता लिँदै १७ नम्बर वडाले दोस्रो सेटमा १६–२५ ले पछि परेको थियो । पछिल्लो दुई सेट २५–२१ र २८–२६ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । उपाधिसँगै १७ नम्बर वडाले ५० हजार रुपैयाँ हात पारेकाे छ । उपविजेता १९ नम्बर वडाले २५ हजार रुपैयाँ जितेकाे छ ।
उपमेयर कप भलिबल प्रतियोगिताअन्तर्गत महिला तर्फको हिजो आइतबार भएको फाइनल प्रतियोगितामा पनि १७ नम्बर वडा विजयी भएको थियो । ५ नम्बर वडालाई ३–१ को सेटमा पराजित गर्दै १७ नम्बर वडाले उपाधि जितेको थियाे ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका खानेपानी र ढल निर्माण योजनाकाे तयारीमा रहेकाे छ । बढ्दाे शहरीकरणसँगै व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउने तयारीमा हेटौंडा उपमहानगरपालिका जुटेको हाे ।
हेटौंडाको शहरी ढल व्यवस्थापन, भूमिगत ढल र शहरी लेदोजन्य फोहर व्यवस्थापन सम्बन्धी सोमबार उपमहानगरपालिकामा भएकाे छलफलमा व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउने तयारीमा रहेकाे बताइएकाे हाे । एसियाली बिकास बैंकको सहयोग तथा नेपाल सरकार खानेपानी बिकास मन्त्रालयमार्फत् उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत हेटौंडामा व्यवस्थित खानेपानी बितरण र ढल व्यवस्थापनको तयारी गरेको जनाएकाे छ ।
आयोजनाअन्तर्गत सन् २०५५ सम्मको डिपिआर योजनासहित शहरी क्षेत्रमा बिस्तारै बढ्दै गएको ढलजन्य लेदो तथा अन्य फोहोर व्यवस्थापन र व्यवस्थापनको बिषयमा छलफल भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाले जमिन वर्गीकारणको कामलाई रोक्दै एकीकृत व्यवस्थित शहरको निर्माण र विकासमा अघि बढ्ने बताइन् ।
उनले सरकारी क्षेत्रबाट हुने गुरुयोजना र आवधिक योजनाको काम कहिले सकिन्छ भन्ने टुङ्गो नभएका कारण कार्यान्वयनमा जान समस्या हुने गरेको बताइन् । उनले भनिन् ‘अब हुने बिकासको काममा यस अघी लगानी भएका पूर्वाधारको प्रयोग गरेर अघि बढ्दा सहज हुन्छ ।’ उनले उपमहानगरपालिका आवधिक र गुरुयोजना बनाएरै बिकासको काममा अघि बढ्ने तयारीमा रहेको बताइन् ।
कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले अहिलेसम्म उपमहानगर क्षेत्रमा खानेपानीको बितरण, आवश्यक पूर्वाधार र व्यवस्थापन सम्बन्धमा बताएका थिए । बिष्टले अहिलेसम्म बोर्डले २२ वटा डीप बोरीङ, ७ वटा समवेलवाट उत्पादन भएको पानी २२ हजार २ सय ५० धारामार्फत् खानेपानीको बितरण भैरहेको बताए । बोर्डले अहिले दैनिक १ लाख ८२ हजार लिटर पानी दैनिक बितरण गर्दै आएको उनले जानकारी दिए ।
व्यवस्थित ढल र खानेपनीको व्यवस्थापनमा परामर्शदातासहितको टोलीले हेटौडा उपमहानगरपालिकाकाे बिकसित हुँदै गरेका वडामा निर्माण हुने भवन र पूर्वाधारलाई सहयोग पुग्ने गरी काम गर्न अनुगमन गरेका छन् । छलफल कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईं खानेपानी तथा ढल व्यवस्थान आयोजनाका प्रमुख बालमुकुन्द श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । आफ्नो पदावधि सकिएको दश दिन बित्दासम्म बागमती प्रदेशको पुर्व सभा ससदहरूले आफूले पदमा रहदा प्रयोग गरेको सामानको बरबुझारथ गर्न आनाकानी गरेका छन् ।
कानून अनुसार पदावधि सकिएपछि प्रदेश सभालाई फिर्ता गर्नु पर्ने सामन फर्स्यौट गर्न आनाकानी गरेका हुन् । गत १ असोजमा निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएसँगै कार्यकाल अन्त्य भए पनि बागमती प्रदेशका दुईवटा समितिका सभापतिले गाडी, मोबाइल, ल्यापटपलगायत सरकारी सुविधा फिर्ता नगरेका हुन् ।
सोही दिन अर्थात् १ साउनमै प्रदेश सभा सचिवालयमा बिदाइ कार्यक्रम भए पनि उद्योग, पर्यटन तथा वातावरण समिति सभापति रमा आलेमगर र प्रदेश मामिला समिति सभापति माधवप्रसाद पौडेलले सेवा सुविधा फिर्ता नगरेका हुन् ।
प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार अन्य सबैले आफ्नो जिम्मेवारीमा रहेको सामन एक साताभित्र फिर्ता गरेका थिए । उद्योग, पर्यटन तथा वातावरण समिति सभापति एकीकृत समाजवादीकी मगरले प्रदेश ३–०३–००१ झ ००२२ नम्बरको स्कारपियो र ल्यापटप बुझाएका छैनन् । यसैगरी प्रदेश मामिला समिति सभापति एकीकृत समाजवादीका पौडेलले प्रदेश ३–००३–००१ झ ००२३ नम्बरको स्कारपियो र ल्यापटप फिर्ता गरेका छैनन् ।
प्रदेश सभा सचिवालयका अनुसार सार्वजनिक लेखा समिति सभापति कांग्रेसका न्हुच्छेनारायण श्रेष्ठले पनि सरकार ल्यापटप फिर्ता गरेक छैनन् । उनले प्रदेश ३–०३–००१ झ ००२० नम्बरको स्कारपियो भने फिर्ता बुझाएका छन् ।
प्रमुख प्रतिपक्ष दलकी नेता अष्टलक्ष्मी शाक्यले प्रदेश ३–०३–००१ झ ००२१ नम्बरको स्कारपियो, प्रमुख सचेतक दीपक निरौलाले प्रदेश ३–०३–००१ झ ००२८ नम्बरको स्कारपियो र सत्तापक्ष एकीकृत समाजवादीकी मुख्य सचेतक मुनु सिग्देलले प्रदेश ३–०३–००१ झ ००२४ नम्बरको स्कारपियो गाडी बुझाइसकेका छन् ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति एमालेका केशवप्रसाद पोखरेलले प्रदेश ३–०३–००१ झ ००२५ नम्बरको स्कारपियो, अर्थ तथा विकास समिति सभापति एमालेका नारायणबहादुर सिलवालले प्रदेश ३–०३–००१ झ ००२७ नम्बरको स्कारपियो बुझाएका छन् ।
निर्वाचन मिति नजिकिदै जांदा नेताहरू चुनाव केन्द्रित भएका छन् तर उनीहरूले प्रयोग गरेको सामग्री बरबुझारथ नगर्दा उनीहरूको इमान्दारितामै प्रश्न उठेको छ । कानुनत: उनीहरूले पदमा रहदा प्रयोग गरेको सामग्री पद सकिएको एक साताभित्र बुझाउनु पर्ने प्रावधान छ । नयाँ पत्रिकाको सहयोगमा ।
