मकवानपुर । मकवानपुर जिल्लाकै एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण केन्द्र स्थापना हुने भएकाे छ । सम्झौता पत्रमा हस्ताक्षर भएसँगै हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण केन्द्र स्थापना हुने भएकाे हाे ।
मृगौला अङ्ग प्रत्यारोपण, डायलासिस सेवा विस्तारका लागि सहकार्य गर्न लागि त्रिपक्षिय संझौता पत्रमा मंगलबार हस्ताक्षर गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालमा सेवा विस्तार गर्ने अभियान स्वरुप मृगौला अङ्ग प्रत्यारोपण गर्नका संझौता पत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झाैता अनुसार यस आर्थिक वर्ष भित्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा मृर्गौला प्रत्यारोपण कार्य शुरु गरिने तथा बागमती प्रदेश अन्तर्गत विभिन्न अस्पतालहरुमा डाइलाइसिस सेवा विस्तार समेत गरिने भएकाे छ ।
मंगलबार हेटौंडा अस्पतालमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, स्वास्थ्य मन्त्री निमा लामासहितको उपस्थितिमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
संझौता भएसंगै काम तत्काल अगाडी बढाइने बताइएको छ । सम्झाैता पछि मुख्यमन्त्री पाण्डेले काम गर्ने इच्छा शक्ति हुँदा आर्थिक अभाव हुन नदिने बताए । सम्झाैता अनुसारकाे काम सकिए पछी अस्पतालबाट सेवा दिन सहज हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशीले बताएए ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुष्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशी र हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रामचन्द्र सापकोटाले सम्झौतापत्रका हस्ताक्षर गरेका हुन । मृगौला प्रत्यारोपन केन्द्र स्थापना गर्न बागमती प्रदेश सरकारले यस वर्ष ८ करोड रुपैयाँ बजेट विनियाेजन गरेकाे छ ।
सम्झाैता अनुसार हेटौंडा अस्पतालमा मृर्गौला प्रत्यारोपण कार्य शुरु गर्नकाे लागि आवश्यक स्वास्थ्य परीक्षण पछी साे काे रिपाेर्टको लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा पठाउने भएकाे छ । प्रत्यारोपण केन्द्र भक्तपुरले रिपाेर्ट हेटौंडा अस्पताललाई उपलब्ध गराउने छ ।
मृगौला अङ्ग प्रत्यारोपण र डायलाइसिस सेवा बिस्तारको लागि सहकार्य गर्ने समझदारी पत्र ।
हालै विश्वलाई आक्रान्त पारेको कोरोना भाईरसको प्रकोपलाई नियन्त्रणमा ल्याउन ठूलो चुनौति हुनुका साथै नसर्ने रोग (Non-Communicable Disease) पनि देशको स्वास्थ्य क्षेत्रमा गम्भीर समस्याको रुपमा स्थापित भैसकेको छ । नेपालको करीव ७० प्रतिशत मृत्युको कारण नसर्ने रोग हो, जसमा मधुमेह र उच्च रक्तचापको कारणले हुने मृत्यु र मृगौला रोगको साथै क्यान्सर र विभिन्न दुर्घटनाबाट हुने चोटपटक पर्दछ । देशमा बर्षेनी करीव ३००० जनाको काम नगर्ने मृगौला र १००० जनाको काम नगर्ने कलेजो हुने गर्दछ । कलोजो र मृगौला प्रत्यारोपण नेपालमा शुरु भईसकेको भएता पनि आवश्यकता भन्दा अति कम संख्यामा प्रत्यारोपण सेवा उपलब्ध भएको र काम नगर्ने मृगौलाहरु प्रत्यारोपण नहुँदासम्म डायलाइसिस सेवा समेत पाउन नसक्ने बर्तमान अवस्थामा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण सेवाको थप बिस्तार र सातवटै प्रदेशमा प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने उचित व्यवस्था गराउने प्रयोजनका लागि देहायको कार्य योजना अन्तर्गत नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल हेटौँडा बीच काम नगर्ने ‘मृर्गौला भएका बिरामीहरुको लागि मृर्गौला प्रत्यारोपण सेवा शुभारम्भ गर्न तथा डाइलाइसिस सेवा विस्तार गर्नको लागि सहकार्य गर्न प्रतिवद्ध छौं ।
(१) यसै आर्थिक वर्ष भित्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल हेटौँडामा मृर्गौला प्रत्यारोपण कार्य शुरु गर्ने ।
(२) यस प्रदेश अन्तर्गत विभिन्न अस्पतालहरुमा डाइलाइसिस सेवा विस्तार गर्ने ।
(३) माथि उल्लेखित कार्यक्रमहरुको लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अन्तर्गत जनशक्तिको तालिम, अध्यापन आदि व्यवस्थापन गर्ने ।
(४) मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउन कार्य योजना प्रस्तुत गर्ने ।
(५) मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मृर्गौला प्रत्यारोपण फेलोशिप, एम.सि.एच युरोलोजी, डि.एम. नेफ्रोलोजि, नर्सिङ्ग विषयको स्नातक तथा स्नात्तोकोत्तर तह लगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक गृहकार्य गर्ने।
(६) अस्पतालको आवश्यकता पहिचान गरी दुबै पक्षको आपसी समझदारीमा विस्तृत कार्ययोजनामा सम्झौंता गर्ने
प्रा. डा. विश्वराज जोशी उपकुलपती डा. रामचन्द्र सापकोटा डा. पुकार चन्द्र श्रेष्ठ कार्यकारी निर्देशक
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल सुपरिटेन्डेन्ट शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
हेटौँडा, मकवानपुर प्रदेश सरकार भक्तपुर
इति सम्बत २०७९ मंसिर २० गते मंगलवार, रोज ३ शुभम्
एच. एल. ए., सि. डि. सि. ऋसम्याचको लागि सहकार्य गर्ने समझदारी पत्र ।
हालै विश्वलाई आक्रान्त पारेको नसर्ने रोग (Non – Communicable Disease) देशको स्वास्थ्य क्षेत्रमा गम्भीर समस्याको रुपमा स्थापित भैसकेको छ । नेपालको करीव ७० प्रतिशत मृत्युको कारण नसर्ने रोग हो, जस्मा मधुमेह र उच्च रक्तचापको कारणले हुने मृत्यु र मृगौला रोगको साथै क्यान्सर र विभिन्न दुर्घटनाबाट हुने चोटपटक पर्दछ । देशमा बर्षेनी करीव ३००० जनाको काम नगर्ने मृगौला र १००० जनाको काम नगर्ने कलेजो हुने गर्दछ । कलेजो र मृगौला प्रत्यारोपण नेपालमा शुरु भईसकेको भएता पनि आवश्यक्ता भन्दा अति कम संख्यामा प्रत्यारोपण सेवा उपलव्ध भएको र मृगौला फेल भएकाहरु प्रत्यारोपण नहुँदासम्म डायलाइसिस सेवा समेत पाउन नसक्ने बर्तमान अवस्थामा सातवटै प्रदेशमा प्रत्यारोपणसेवा विस्तार गर्ने प्रयोजनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल हेटौँडा बीच HLA PRA DSA CDC X match गर्नका लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको H LA Lab को उपयोग गर्न निम्न बमोजिम सम्झौता गरियो ।
(१). मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल हेटौंडामा मृर्गौला प्रत्यारोपण कार्य शुरु गर्न HLA PRA DSA CDC X match को लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा पठाउने ।
(२) शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर HLA PRA DSA CDC X match को रिपोट मदन भण्डारी स्वास्थ्य विज्ञान
प्रतिष्ठान, हेटौंडा अस्पताल हेटौँडालाई उपलब्ध गराउने ।
(३) अस्पतालको आवश्यकता पहिचान गरी दुबै पक्षको आपसी समझदारीमा बिस्तृत कार्ययोजनामा सम्झौंता गर्ने ।
प्रा. डा. विश्वराज जोशी उपकुलपती डा. रामचन्द्र सापकोटा डा. पुकार चन्द्र श्रेष्ठ कार्यकारी निर्देशक
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल सुपरिटेन्डेन्ट शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
हेटौँडा, मकवानपुर प्रदेश सरकार भक्तपुर
इति सम्बत २०७९ मंसिर २० गते मंगलवार, रोज ३ शुभम्
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट लागूऔषध गाँजा २०० ग्राम र लागूऔषध नाइट्राभेट २७ ट्याब्लेटसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा हेटौंडा–१२ बस्ने २५ वर्षीय बिशाल घलान, हेटौंडा–१३ बस्ने २१ वर्षीय विजय रिजाल, हेटौंडा–१७ बस्ने २० वर्षीया शर्मिला भोम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार हेटौडा बसपार्कमा शंकास्पद रुपमा हिडिरहेका घलान रिजाल र भाेम्जनलाई चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध बरामद भएपछि पक्राउ गरिएको हो । उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाइएको छ ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका १ खोप्लाङमा महोत्सव हुने भएको छ । मंसिर २९ गतेबाट भीमफेदी–हेटौंडा–सामरी महोत्सव हुने भएको हो ।
ओम शक्ति मारुती इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मंसिर २९ गतेबाट पुस १० गतेसम्म भीमफेदी-हेटौंडा-सामरी महोत्सवको आयोजना हुने भएको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रालिका अध्यक्ष अजित राईले हेटौंडा बजार क्षेत्रमा मात्रै हुने मेला महोत्सवलाई गाउँपालिकामा पनि लैजाने उद्देश्यले महोत्सवको तयारी गरेको जानकारी दिए ।
भीमफेदी–हेटौंडाको पर्यटक प्रर्वद्धन, कला साहित्यको प्रचारसहित ब्यापार व्यवसायलाई बढवा दिनको लागि महोत्सवको आयोजना गर्न लागिएको राईले बताए । उनका अनुसार, करिब १ सय ५० देखि २ सय वटा स्टल रहने महोत्सवमा राष्ट्रिय कलाकारहरु धिरज राई, बद्री पंगेनी, मिलन लामा, ज्योति मगर, प्रिती आले, एलिना चौहान लगायतका कलाकारहरुले प्रस्तुती रहनेछ ।
सहभागीको लागि १ सय रुपैँयाको टिकट तोकिएको मेलामा बाल उद्यम, विभिन्न खेलकुद, खाना, लुगा कपडा, कृषि प्रर्दशनी लगायतका स्टलहरु रहने आयोजकले जनाएको छ ।
एसियाली टोली जापान र दक्षिण कोरिया विश्वकप फुटबलबाट बाहिरिएका छन् । सोमबार राति भएको खेलमा जापान क्रोसियासँग पेनाल्टी सुटआउतमा पराजित भयो भने मंगलबार बिहान भएको खेलमा दक्षिण कोरिया ब्राजिलसँग ४–१ ले पराजित भयो ।
यो बिजयीसंगै ब्राजिल र क्रोसिया अन्तिम १६ औ बाट क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले मध्यान्तर अगाडी नै ४-० ले अग्रता लिएको थियो भने मध्यान्तर पछि दक्षिण कोरियाले एक गोल गरेको थियो । ब्राजिलको तर्फबाट भिनिसियस जुनियर, नेमार, रिचार्लिसन र लुकास पक्वेटाले पहिलो ४५ मिनेट अगाडी पालैसंग गोल गरेका थिए । ७६ औं मिनेटमा दक्षिण कोरियाले एक गोल फर्कायो । अब ब्राजिल शुक्रबार क्रोसियासंग भिड्ने छ ।
यता, फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत सोमबार पेनाल्टी सुटआउटमा जापानलाई पराजित गर्दै साविक उपविजेता क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा पुगेको हाे । जापान र क्रोएसियाबीचको खेल निर्धारित/अतिरिक्त समयमा १–१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा जापान दुर्भाग्यशाली साबित हुँदा क्रोएसिया १–३ ले विजयी भयो ।
मकवानपुर । गत आम निर्वाचन २०७९ को समिक्षात्मक समाचार लेखेको आरोपमा मकवानपुरमा २ जना पत्रकाहरु पिटिएका छन् । यही विषयलाई लिएर अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुर परीसर अशान्त बनेकाे छ ।
नेपाली काँग्रेसभित्र आन्तरीक द्वन्द्व रहेको र अन्तरघातकै कारण गठबन्धनले हार व्यहोर्नु परेको समिक्षात्मक समाचार लेखेको कारण आपसमा भनाभनपछि हातपात भएको हो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर १ ख बाट नवनिर्वाचित प्रदेश सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै पत्रकारमाथि कांग्रेस कार्यकर्ताहले कुटपिट गरेको घाइते पत्रकारहरुले बताएका छन् ।
बागमती एक्सप्रेस साप्ताहिकमा आएको समाचारको विषयमा विवाद हुँदा पत्रिकाको प्रकाशक रमेश बञ्जरा इन्द्र र पत्रकार रामकुमार रिजाल एलन माथि कुटपटि भएको हो । हेटौँडाको एक होटलमा आइतबार राति करिब सवा ९ बजेको समयमा कांग्रेसका युवा नेता राजेश भेटवालको नेतृत्वमा आएका टोलीले आफूहरुलाई एक्कासी कुटपिट गरेको पत्रकारहरुले आरोप छ । करिब एक दर्जन कार्यकर्ताले बञ्जरा र एलनमाथि आक्रमण गरी घाइते बनाएका बताइएको छ । घाइते दुई पत्रकारले भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँसहितको नाम उल्लेख गरी ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गर्न लागेका छन् ।
यसैबीच नेकपा एसनिकट समाजवादी प्रेस संगठनले एलनलाई कुटपिट गर्ने र योजनाकारको पहिचान गरी कारबाही गर्न माग गरेको छ । संगठनका उपमहासचिवसमेत रहेका एलनलाई राजेश भेट्वालसहितको टोलीले कुटपिट गरेको र पत्रकार महासंघ बागमतीका महासचिव कृष्ण सारु मगरमाथि पनि कुटपिट गरिएको भन्दै समाजवादी प्रेस संगठनले घटनाको विरोध गरेको हो । महासचिव मगर सामान्य घाइते भएको तथा एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको संगठनका महासचिव भूपराज खड्काले बताए ।
वागमती एक्सप्रेसमा हालै सम्पन्न चुनावमा कांग्रेसभित्रको घात-अन्तर्घातको समाचार प्रकाशित भएको थियो ।मकवानपुर कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरी समाचार झूट रहेको र त्यस्तो समाचार प्रकाशन नगर्न चेतावनी दिएको थियो ।
पत्रकार महासंघ मकवानपुर शाखाले पनि पत्रकार एलन, रमेश माथिको कुटपिटको भत्सना गरेको छ ।समाचारका विषयमा चित्त नबुझे खण्डन गर्ने र कानूनी उपचारको बाटो खोज्ने उपाय हुँदाहुँदै समाचार लेखेकै विषयलाई लिएर पत्रकारमाथि भौतिक आक्रमण हुनु अत्यन्तै निन्दनीय कार्य भएको र उक्त घटनामा छुट्याउन जाने क्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगरलाई समेत दुव्र्यवहार भएकोले पत्रकारमाथि आक्रमण तथा दुव्र्यवहार घटनाको घोर भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरिएको नेपाल पत्रकार महासंघ मकवानपुर शाखा सचिव शुभलक्ष्मी विश्वकर्माद्धारा हस्ताक्षरीत विज्ञप्तिमार्फत माग गरिएको छ ।
यस कुटपिटमा संलग्न रहेको आरोपित पक्षले भने राजनीतिक आरोप प्रत्यारोपको कुरा भन्दा पनि मादकपदार्थ सेवन गरिरहेको बेला भनाभन भएको र सामान्य हात हालाहाल भएको दाबि गरेको छ । अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा यसै बिषयलाई लिएर सामान्य झडपको अवस्था सिर्जना भएको छ । विवादका क्रममा जिल्ला प्रहरी कार्यालय परिसरमा रहेका पत्रकारहरु माथि आक्रमण गर्दै नेपाली काग्रेस निकट तरुण दल सम्बद युवाहरुले नारा जुलुस गरिरहेका छन् ।
