मकवानपुर । नेकपा एमाले मकवानपुरले बागमती प्रदेशमा एमालेको तर्फबाट मन्त्रीमा नियुक्त भएकाहरुलाई स्वागत तथा सम्मान गरेको छ । एमाले मकवानपुरले बुधबार प्रदेश सरकारमा नियुक्ति भएका ३ जना मन्त्रीलाई विहीबार सम्मान गरेको हो ।
प्रदेश मन्त्रिपरिषदमा मकवानपुरका अध्यक्ष समेत रहेका एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशब प्रसाद पोख्रेल कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएका छन् ।
एमाले मकवानपुरले एक कार्यक्रमबीच तीनै जनालाई स्वागत तथा सम्मान गरेको हो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटीका सदस्यहरु रघुनाथ खुलाल, हरि बहादुर महत, जिल्ला सचिव नविन सिग्देललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । बागमती प्रदेश सरकारले आज मन्त्री परिषद् बिस्तार गरेको छ । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा आज प्रदेश प्रमुख यादबचन्द्र शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा गङ्गा नारायण श्रेष्ठ,वन तथा वातावरण मन्त्रीमा राजु बिष्ट, पर्यटन, उद्योग तथा सहकारी मन्त्रीमा डम्बर तामाङ, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रीमा उद्दब थापा, भौतिक पूर्वाधार विकास मन्त्रीमा युवाराज दुलाल, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा केशव पोख्रेललाई सपथ खुवाएका हुन् ।
यसैगरी श्रम रोजगार तथा यातायात मन्त्रीमा एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ, सामाजिक बिकास मन्त्रीमा कुमारी मोक्तानलाई नियुक्त गरिएको हो । सबै मन्त्रीहरूले सपथ लिएका छन् ।
प्रदेश सरकारमा सहभागी ५ मध्ये ३ दलले मन्त्रालयहरू पाएका छन् । १७ दिन अघि मन्त्रालय घटाउन गठित कार्यदलले दिएको सुझाव अनुसार बागमतीमा १४ बाट घटाएर ११ मन्त्रालय बनाईएको हो ।
यससंग बागमती प्रदेशमा सरकारले पुर्णता पाएको छ । सरकारमा सहभागी एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी भने मन्त्रालयको दाबिबाट पछि हटेका छन् । प्रदेशमा एमाले र माओवादी केन्द्रले ४/४ र राप्रपाले ३ मन्त्रालय पाएका हुन । प्रदेशमा सभामुख राप्रपाले र उपसभामुख एमालेले यस अघि नै पाईसकेको छ ।
मकवानपुर । बागमती प्रदेशमा मन्त्रालय घटाउन गठित कार्यदलले मुख्यमन्त्री शालिकराम जम्कट्टेल समक्ष प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन भएको कार्यदलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्री जम्कट्टेलसमक्ष प्रतिवेदन पेश गरेको हो ।
उक्त प्रतिवेदनमा बागमती प्रदेशमा मन्त्रालय संख्या बढीमा ११ कायम रहने उल्लेख गरिएको बताइएको छ । मंगलबार मुख्यमन्त्री जम्कट्टेल समक्ष पेश गरिएको प्रतिवेदन कार्यान्वयनमा आए प्रदेशको मन्त्रालय संख्या ११ कायम हुनेछ ।
कार्यदलका सदस्य आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यले मुख्यमन्त्री जम्कट्टेललाई बुझाइएको प्रतिवेदनमा प्रदेशको कुल सांसदको १० प्रतिशत मन्त्रालय रहने गरी बढीमा११ मन्त्रालयको प्रस्ताव प्रतिवेदनमा गरिएको बताए ।
प्रतिवेदन बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरेर मन्त्रिपरिषदको बैठकमा पेश गरिने बताए । गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेले मुख्यमन्त्रीको शपथ लिएकै दिन मन्त्रालय संख्या हेरफेरका लागि कार्यदल गठन गरेका थिए ।
प्रदेशमा यसअघिको १४ मन्त्रालय कायम रहदा मन्त्रालयको संख्या बढी भएको भन्दै चौतर्फी बिरोध भएको थियो । प्रदेशमा यसअघिको सरकारमा दुई पटक मन्त्री रहेका जम्कट्टेलले मुख्यमन्त्रीको सपथ लिए लगत्तै मुख्य सचिव निरौलाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेका थिए ।
कार्यदलको सदस्यमा आन्तरिक तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव तथा कानुन र प्रशासन हेर्ने सचिव सदस्य रहेका थिए।
कार्यदलले बुझाएको प्रतिवेदनअनुसार बागमती प्रदेशका रहने मन्त्रालय
१. मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
२. आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३. आर्थिक मामिला तथा योजना मन्त्रालय
४. वन तथा वातावरण मन्त्रालय
५. पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
६. खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय
७. भौतिक पूर्वाधार विकास मन्त्रालय
८. कृषि तथा पशुपन्छी विकास मन्त्रालय
९ श्रम रोजगार तथा यातायात मन्त्रालय
१०. स्वास्थ्य मन्त्रालय
११. सामजिक विकास मन्त्रालय
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध अफिमसहित १ जनालाई नियन्त्रणमा लिएकाे छ । सोमबार दिउँसो ३ बजेकाे समयमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ बाट पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–८ रंगपुरटारीका ५० वर्षीय शेख भिखारीलाइ अफिम १ केजी सहित नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मनहरी ८ दारिमबासस्थित भित्री सडकखण्डमा कान्द्राङबाट मनहरीतर्फ आउँदै गरेको बा ४ ख ५१४८ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्दा भिखारी र १ केजी अफिम नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए ।
कार्कीका अनुसार बा ४ ख ५१४८ नम्बरकाे बसमा लागुऔषध लिई आउदै गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक कृष्णराज ढकालको कमाण्डमा प्रहरी टोली खटिइ बसलाई सुरक्षाजाँच गर्दा बसमा सवार भिखारीलाई शंका लागि सुरक्षाजाँच गर्दा लागुऔषध अफिम १ केजी फेला पारेको हाे । उक्त लागुऔषधसहित भिखारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता माघ २९ गतेबाट हुने भएकाे छ । फागुन ११ गतेसम्म नकआउट चरणमा संचालन हुने प्रतियाेगिताकाे साेमबार जिल्ला फुटबल संघ मकवानपुरले पत्रकार सम्मेलन गरी जानकारी दिएकाे हाे ।
पत्रकार सम्मेलनमा फुटबल संघ केन्द्रीय सदस्य समेत समेत रहेका जिल्ला अध्यक्ष टिका लामाले प्रतियोगितामा आयोजक मकवानपुरसहित १२ वटा क्लबहरुले भाग लिने जानकारी दिए । गोल्डकपको तयारी तीब्र पारिएको लामाले बताए । उनका अनुसार हेटौंडा–५ पिप्ले स्थित क्याम्पा रंगशालमा हुने प्रतियोगितामा आयोजक मकवानपुरसहित मनाङ् मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्रिस्टार क्लब, एनआरटी क्लब, त्रिभुवन आर्मी क्लब, हिमालयन शेर्पा क्लब, मच्छिन्द्र क्लब, सातदोबाटो युवा क्लब, जवलाखेल युथ क्लब र एभिनिर एफ सि क्यामरुन क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद ५० हजार, विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएकाे छ । सर्बोकृष्ट खेलाडीलाई यसअघिको तेस्रो र चौथो संस्करणमा हेटौंडा स्कुल म्यानेजमेन्टले रोयल इन्फिल्ड बाइकको प्रायोजन गर्दै आएको थियो । यस पटक पनि बाइकको प्रायोजनका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्टसँग छलफल गरिने जिल्ला फुटबल संघ मकवानपुरले जनाएकाे छ ।
जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा फुटबल संघले सहिद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ ।२०६२/०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो । पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको सभाध्यक्षता तथा बागमती प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायतको उपस्थिति रहेको थियो ।
