मकवानपुर । मकवानपुरकाे हेटाैडामा जिल्लास्तरीय पुरूष शिक्षक दौड र महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता हुने भएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापनमा उक्त प्रतियोगिता हुने भएको हाे ।
माघ १६ गते सहिद दिवसका दिन हेटौंडामा प्रतियोगिताकाे आयाेजना शनिबार हेटाैंडामा पत्रकार सम्मेलन गरि जानकारी गराइएकाे हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलले वडा कार्यालयले सीमित आर्थिक स्रोत हुँदा पनि शिक्षा र खेलकुद क्षेत्र काम गरिरहेको बताए ।
४ नम्बर वडामा कभर्डहल, भलिबल कोर्ट, एथ्लेटिक्स ट्रयाक निर्माणमा वडा कार्यालयले सहयाेग गरेकाे सिग्देलले जानकारी दिए । खेलकुद राष्ट्रपति समर्पित हुने भन्दै प्रतियोगिता आयोजनामा सबै निकायले भूमिका खेल्नुपर्ने उनकाे भनाइ थियाे । खेल तथा खेलाडीलाई प्रत्साहन गर्न आगामी बजेटमा शिक्षा र खेलकुदमा समेत भौतिक पुर्वाधारमा छुट्याएको बजेट बराबरकाे बजेट विनियाेजन गर्न पहल गरिने उनले बताए ।
प्रतियाेगितामा सहभागी जनाउनेले माघ १५ गते भित्र नाम दर्ता गरिसक्नुपर्ने बताइएकाे छ । ४ नम्बर वडा कार्यालयबाट सुरू हुने दौड पारिजातपथ हुँदै कान्तिराजपथबाट भैरवरोड पुगेर पुनः वडा कार्यालयमा आईपुग्ने जनाईएको छ । दौड ३ किलोमिटरको हुनेछ । प्रतियोगिातमा प्रथम हुनेलाई ७ हजार, द्वितीय हुनेलाई ५ हजार तृतीय हुनेलाई ३ हजार चौथो हुनेलाई १ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी स्लो स्कुटी रेस तर्फ प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार, तृतीय हुनेले ३ हजार पुरस्कार प्राप्त गर्नेछन् । दौडमा १ सय ५० जाना शिक्षक र स्लो स्कुटीमा करिब ७० जना सहभागी हुने अपेक्षा आयोजकले गरेकाे छ। संस्थागत र सामुदायिक विधालयका शिक्षकहरूले प्रतियाेगितामा सहभागी हुन पाउने बताइएकाे छ । सेवा निवृत्त शिक्षकहरूले पनि दौडमा सहभागी हुन सक्ने शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले जानकारी दिए ।
एथ्लेटिक्स संघका केन्द्रीय सदस्य प्रभाकर पाण्डेले प्रतियोगितामा प्राविधिक सहयोग रहने प्रतिबद्वता जनाएका छन् । जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीले खेलकुद गतिविधि बढाउन सबै निकायले सहयोग गरेकोमा खुशी व्यक्त गरे । समितिले गर्न नसकेको खेलकुल गतिविधिहरू वडा कार्यालयले गर्न लागेकोमा वडा अध्यक्ष सिग्देलको खड्गीले प्रशंसा समेत गरेका छन् ।
मकवानपुर । २०७९ सालकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ गते संचालन हुने भएकाे छ । यस वर्षकाे एसईई चैत १७ गतेबाट २९ गतेसम्म संचालन हुने राष्ट्रिय परीक्षा बाेर्डले जनाएकाे छ ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षाले एसईईकाे नियमित तथा ग्रेडवृद्धि समेतकाे समय तालिका सार्वजनिक शनिबार प्रकाशित गरेकाे छ ।
समय तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ भने साेही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने गरी तालिका सार्वजनिक गरेकाे बाेर्डले अन्तिम दिन २९ गते प्राविधिक धारतर्फको परीक्षा हुने जनाएकाे छ ।

मकवानपुर । मकवानपुरको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी ६ नयाँबस्तीमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ८४७८ नम्बरको डिजल लोड ट्याङ्कर र विपरित दिशाबाट आएको ना १४ प ९९४३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा–१५ का अन्दाजी ४० वर्षीय शंकरत्न तितुङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तितुङको उपचारको क्रममा चितवन जिल्लाको भरतपुर स्थिय पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ट्याङ्कर चालक चितवन जिल्लाको राप्ती नगरपालिका–२ का ३६ वर्षीय ईश्वर बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए ।
मोटरसाइकल दुर्घटनामा ४ जना घाइते,१ जना गम्भीर
मकवानपुरको बकैया गाउँपालिका–३, हात्तीसुडेमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा १७ वर्षीय किशोर हिमाल जिम्बा गम्भीर घाइते भएका छन् । सोही दुर्घटनामा अन्य ३ जना घाइते भएका छन । शुक्रबार साँझ ६ बजेको समयमा हेटौंडा–सिन्धुली सडकखण्डको बकैया–३, हात्तीसुडेमा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो । हात्तीसुडेबाट फापरबारीतर्फ जाँदै गरेको ना ४१ प ३००८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा ८६ प ८७०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा ना ४१ प ३००८ नम्बरको मोटरसाइकल चालक बकैया–३, हात्तीसुडेका १७ वर्षीय जिम्बा गम्भीर घाइते भएको प्रहरी चौकी हात्तीसुडेले जनाएको छ ।
यस्तै बा ८६ प ८७०४ नम्बरको मोटरसाइकल चालक बकैया–३, हात्तीसुडेका १८ वर्षीय बसन्त डङ्गोल, मोटरसाइकलमा सवार बकैया–३, बाघमाराका २२ वर्षीय तीर्थ लामिछाने र २३ वर्षीय सुजन गुरुङ घाइते भएका छन् ।
डंगोल र लामिछानेको अवस्था मध्यम रहेको र गुरुङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि हेटौंडा ल्याइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेकाे सांसद तथा मन्त्री पद खारेज भएकाे छ । सर्वाेच्च अदालतले नागरिकता मुद्दामा शुक्रबार लामिछाने विरूद्ध फैसला गरेपछी पछि सांसद र मन्त्री पद गुमेकाे हाे ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ । याे सँगै उनी रास्वपा सभापति बन्न समेत अयोग्य भएका छन् । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको छ ।
कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहितकाे सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको हाे । संवैधानिक इजलासको यो फैसलासँग गृहमन्त्री लामिछानेको चितवन–२ को सांसद पद समेत रिक्त भएको छ ।
सर्वोच्च फैसला विरूद्ध अदालत परिसर बाहिर लामिछानेको समर्थन नारावाजी भएको थियाे । नारावाजी गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताए । अरू कुनै प्रश्नको जवाफ अहिले आफूसँग नभएको उनले प्रतिक्रिया दिएका छन् ।
लामिछानेले दिए राजिनामा
रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा दिएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । लामिछाने पुस ११ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।
सर्वोच्च अदालतले लामिछाने सांसद हुन योग्य नभएको भन्दै उनको सांसद पद खारेज गरेको छ । उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्चले सांसदको उम्मेदवार हुन अयोग्य भएको आदेश दिएको छ ।
हेर्नुहाेस सर्वाेच्चकाे अादेश




मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ स्थायी घर भएका नेपाललाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेका हुन् ।
नेपाललाई प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुख कार्यलयका प्रवक्ता प्रकाश चापागाईले जानकारी दिए ।

