मकवानपुर । हेटौंडाका होटल व्यवसायीहरु तथा , निर्माण व्यवसायीहरुले बालबालिकालाई आफूहरुले श्रममा नलागाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बालमैत्री स्थानीय तह घोषणाको लागि पुरा हुनु पर्ने सूचकमा पुग्न र बालबालिकाहरुको संरक्षण आफूहरु समेत दायित्व भएको भन्दै रोजगारदाताहरुले बालश्रम न्यूनीकरणको लागि ऐक्यवद्धता जनाएका हुन् । स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने पूर्व तयारी स्वरूप हेटौंडामा श्रममा रहेका बालबालिकाको सहभागीता सम्बन्धि वकालत बैठकमा यस्ताे प्रतिबद्धता व्यक्त गरिएकाे हाे ।
कार्यक्रममा श्रम कार्यालय हेटौंडाका भिमप्रसाद शर्माले बालबालिकालाई श्रममा लगाएको पाइएमा कानुन बमोजिम कारवाही हुने बताए । बालबालिका सम्बन्धी ऐन, नियमावली तथा नेपालको दीगो विकास योजना अनुसार कार्य अगाडि बढाउन सबैक्षेत्रसँग सबैले हातेमालो गर्नुपर्ने बताइएको छ ।
राष्ट्रिय बाल संरक्षण सन्जाल, आस्मान नेपाल र बालकल्याण समाज मकवानपुरको सयुक्त आयोजनामा हेटौंडामा भएको बहस कार्यक्रममा यस्तो बताइएको हो ।
बालमैत्री घोषणा भएका स्थानीय तहमा झन् धेरै काम बाँकी रहेको बालकल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले बताए । सरोकारवाल समूहहरुमा श्रमिक बालबालिकालाई सहभागी गराउने, उनीहरूको आवश्यकता, चाहना र भावनाको सम्बोधन हुनुपर्ने उनले बताए ।
कार्यक्रममा नगर स्तरीय बाल सञ्जालका अध्यक्ष सौरभ देवकोटाले बालबालिकाहरु लुकेर बालश्रममा लाग्ने गरेको बताए । क्लबले सचेतना कार्यक्रम गर्दा गर्दै पनि अभिभावकहरुसँगै श्रममा लाग्ने गरेको अध्यक्ष देवकोटाले बताए । अभिभावकहरुमा सचेतना नभएको कारण बालबालिकाहरु चाहेरभन्दा पनि नबुझेर श्रममा रहेको सञ्जालको सदस्य सुदीक्ष बर्तौलाले बताइन् ।
कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, शिक्षक, होटल सन्चालकहरू, जिल्ला समन्वय समिति, ट्रेड युनियनका प्रतिनिधि, बाल क्लबका पदाधिकारीहरूहरूको उपस्थिति रहेको थियो
बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा आस्मान नेपालकी गंगा सुबेदीले बाल श्रमिकहरुको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
ऐन बमोजिम छैनन् बालकल्याण अधिकारी
Tags: No Comments
- गोपिनी दाहाल
मकवानपुर । ऐनले भने अनुसार बाल कल्याण अधिकारी स्थानीय तहमा नहुँदा बालबालिकाहरुको समस्या छिटो छरीतो तरीकाले सम्बोधनमा समस्या हुने गरेको छ ।
बालबालिका सम्बन्धी ऐन २०७५ र नियमावली २०७८ ले “बालबालिकाको अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन गर्न तथा बाल संरक्षण कार्य समेत गर्नका लागि स्थानीय तहमा एक जना बाल कल्याण अधिकारी रहनेछ” भन्ने व्यवस्था गरेको छ, तर मकवानपुर जिल्लाको १० मध्ये कुनै पनि स्थानीय तहले यो ऐन तथा नियमावलीको पालना गरेका छैनन् ।
कानुनको अक्षरस पालना नहुदा बालबालिकाको पक्षमा स्थानीय तहहरुबाटै बालबालिकाहरुको समस्यालाई अनुकरणीय ढंगले सम्बोधन हुन सकेको छैन । देश बालमैत्री स्थानीय शासन प्रणाली लागु गराउने अभियानमा रहदा नीति, नियम, कानुन तथा निर्देशिकाहरुले भने बमोजिमको कार्यान्वन त परको कुरा अभ्यास समेत हुन सकेको छैन ।
ऐन तथा नियमावलीले प्रत्येक स्थानीय तहमा बालकल्याण अधिकारीको नियुक्त गरी उनीहरुले गर्नुपर्ने काम कर्तव्य र अधिकार तथा सेवाको शर्तको व्यवस्था गरिएको छ, तर व्यवहारमा यस्तो छैन ।
बालमैत्री स्थानीय शासन लागु भएको घोषणा भैसकेको मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा बाल कल्याण अधिकारी नै छैनन् । जसले गर्दा बालबालिको सवाललाई संस्थागत रुपमा सम्बोधन गर्न समस्या भएको सरोकारवालहरुको गुनासो छ ।
जिल्लाको हेटौंडा उपमहानगरपालिका, कैलाश, बकैया, मकवानपुरगढी गाउँपालकाहरुलगायतमा बाल कल्याण अधिकारी तोकिएका छन् । तर उनीहरुलाई बाल कल्याण अधिकारीको जिम्मेवारी दिइनु भन्दा थपिएको हो । महिला तथा बालबालिका शाखाको कर्मचारीलाई नै बालकल्याण अधिकारी नियुक्त गर्दा कार्यबोझ मात्रै थपिने र काम नहुने समस्या रहेको सरोकारवालहरुले बताएका छन् ।
महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारीलाई बालकल्याण अधिकारी तोकिएपछि उनीहरुलाई कामको बोझ मात्रै थपिएको छ ।
ऐनले नयाँ नियुक्त गर्नुपर्ने भनेको भएपछि तत्काललाई झारो टार्ने हेतुले पुरानै कर्मचारीलाई नयाँ जिम्मेवारी तोकिदा जुन रफ्तारमा काम हुनुपर्ने हो, त्यसरी नभएको बाल अधिकार परिषद बागमती प्रदेश सदस्य तथा सिविन बाल हेल्प लाइन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञावलीले बताए ।
“पुराना कर्मचारीहरुलाई नयाँ जिम्मेवारी तोकिदा उहाँहरुको कार्यबोझ बढ्ने समस्या हुन्छ, इच्छा भएर पनि उहाँहरुले कार्य समय बाँड्नुपर्ने हुन्छ, जसले गर्दा बालबालिकाको केस प्राथमिकतामा नपर्न सक्छन्” ज्ञवलीले भने । तोकिएका कर्मचारीहरुलाई पनि उनीहरुको काम कर्तव्य र अधिकारबारे जानकारी छैन, उनीहरुलाई तालिम र प्रशिक्षण छैन ।
यसैगरी प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिमा गठन गरेर बालबालिकाको पक्षमा हुनुपर्ने काम तथा निर्णयमाथि निगरानी गर्दै बालबालिकाको संरक्षण, उद्धार जस्ता कार्यमा लाग्नु पर्ने मार्गदर्शन छ । तर यो पनि सबैतिर कार्यान्वयन भएको छैन । बालबालिकाहरुको विभिन्न अवस्थाको अध्ययनपछि उनीहरुलाई तत्काल उद्धार, राहत र पुनर्स्थापना गर्न तथा क्षतिपूर्ति प्रदान गर्नको लागि स्थानीय तहहरुमा बाल कोषको समेत स्थापना गर्नुपर्नेमा धेरैजसो स्थानीय तहहरु यसबारे बेखबर छन् ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट प्राप्त रकमको व्यवस्था गरेर काम कार्य गर्नुपर्ने हुन्छ ।
यसरी पुरानै कर्मचारीलाई नयाँ जिम्मेवारी तोकिएपछि उनीहरु नयाँ जिम्मेवारीमा गर्नु पर्ने काम कर्तव्य अधिकारबारे पनि जानकारी छैन । “बाल कल्याण अधिकारी तोकिएको एउटा पत्र पाएको छु, के काम गर्ने, कसरी गर्ने, केही जानकारी छैन” एक बालकल्याण अधिकारीको गुनासो थियो ।
बालबालिकाहरु मध्ये पनि श्रम क्षेत्रमा रहेको बालबालिकाको समस्या सम्बोधन गर्न, उनीहरुको हितको लागि काम गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारले ध्यान नदिएको सरोकारवालाहरुले बताएका छन् ।
बागमती प्रदेशको बालकोषमा ५ करोड बजेट भएको तर, स्थानीय तह मार्फत काम गर्न संरचना नबनेको कारण समस्या भएको ज्ञावलीले बताए । स्थानीय क्षेत्रमा रहेका ढुङ्गा गिट्टी वालुवाको कसरहरुमा बालश्रम बढी हुने गरेको पाइएको छ ।
विहिबार हेटौंडामा भएको श्रममा रहेको बालबालिकाको सहभागीता विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले श्रमिक बालबालिकाहरुको सवाल सधैं ओझेलमा परेको गुनासो गरे ।
बालअधिकारकर्मीहरुले श्रमिक बालबालिकाको उद्धार गर्दा अभियानकर्मीलाई श्रम खोसेको आरोप आउँने गरेको बाल कल्याण समाज मकवानपुरका प्रमुख प्रकाश खतिवडाले बताए । श्रमबाट उठाएर उपयुक्त स्थानमा ब्यावस्थापन गर्न नसक्दा बालश्रमिकहरु पुन श्रममा फर्कन बाध्य रहनु सबैभन्दा पीडादायि भएको आस्मान नेपालमा मनिराम आचार्यले बताए ।
नेपालको दीगो विकास योजनाले पनि बालश्रम मुक्त राष्ट्रको कल्पना गरेको छ । तर देशको धेरै बालबालिका आज पनि स्कुलभन्दा बाहिर र श्रममा रहेको सहभागीहरुले बताए ।
श्रममा रहेको बालबालिकाहरुको श्रम शोषणसँगै यौनशोषण समेत हुने गरेको, उनीहरुले समयमा खाना खाने, बिरामी पर्दा औषधि उपचार नपाउने, राति अबेरसम्म काम गर्नु पर्ने, अत्यधिक धुवाँ र धुलोको काम गर्नुपर्दा जटिल स्वास्थ समस्या समेत हुने गरेको कार्यक्रममा कार्यपत्र प्रस्तोता गंगा सुवेदीले बताइन् ।
ति बालबालिकाहरु कुलतको शिकार हुने, अभिभावक नहुदां नागरिकता प्राव्तिमा समेत समस्या हुने गरेको सुवेदीले बताइन् ।
बाल कल्याण समाज मकवानपुरको समन्वय र आस्मान नेपालको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले बाल बालिका सम्बन्धी नियमावली २०७८ को नियम ३ उप नियम २र ३ मा बालक्लब वा संस्थाखोल्दा उनीहरुको सहभागिता अनिवार्य भनेको भएपनि व्यवाहारमा यो समेत नभएकोमा गुनासो गरेका थिए ।
कार्यक्रममा गैसस बागमती प्रदेश अध्यक्ष आरती पाठक, इन्सेक बागमती प्रदेश प्रमुख गणेश भण्डारीऽ माइती नेपाल मकवानपुर प्रमुख माया तामाङ, हिमराइट्स मकवानपुर प्रमुख तथा गैसस मकवानपुरको उपाध्यक्ष कुमारी वाइबा, गैसस मकवानपुर सचिव सन्तोष पौडेललगायतले बाल सराेकारकाे सवालमा धारणा व्यक्त गरेका थिए ।
मकवानपुर । मकवानपुरको छुट्टाछ्ट्टै ठाउँबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।
गौरबाट हेटौडा तर्फ आउँदै गरेको प्रदेश २–०३–०२० प ६८६२ नम्बरको मोटरसाइकल हेटौंडा–१५ रातोमाटेमा चेकजाँच गर्दा लागूऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे हो । मोटरसाइकलमा पछाडी सवार रौतहट राजपुर फरदहवा नगरपालिका–४ बस्ने २२ को महमद दहमिदको साथबाट प्रहरीले गाँजा सानो ७ प्याकेट, नाईट्रोभेट १८ पिस, कोरेक्स सय वटा बरामद गरेको हो । त्यसैगरी मोटरसाइकलका चालक २० वर्षिय उमेश मन्सुरी र मोटरसाइकल समेतलाई नियन्त्रणमा लिइ अनुसंधान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
यसैगरी थाहा नगरपालिका वडा नम्बर–८ चौतारामा घरबाट प्रहरीले लागूऔषध गाँजाको धुलो फेला पारेको छ । चौताराका दाजुभाइ ५७ वर्षिय लाल बहादुर घलान र ५३ वर्षिय शेर बहादुर घलानको घरमा गाँजाको धुलो विक्रि वितरण गर्ने गरेको खबर प्राप्त भएपछी प्रहरीले घर खानतलासी गरेकाे थियो ।
घर खानलतासी गर्दा लाल बहादुर घलानको घरबाट लागू औषध गांजा धुलो ४५ किलो र शेर बहादुर घलानको घरबाट लागू औषध गाँजाको धुलो ६३ किलो गरी जम्मा १०८ किलो फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । लागू औषध गाँजाको धुलाे सहित लालबहादुर प्रहरीकाे नियन्त्रणमा आए पनि शेरबहादुर भने फरार रहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । केही महिनाअघि निकै समस्याको रुपमा रहेको डेंगु संक्रमण अहिले मकवानपुरमा नियन्त्रणमा आएको छ ।
पछिल्लो दुई साता दैनिक परीक्षण गर्दा समेत संक्रमितको संङ्ख्या शून्य रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा लामखुट्टे नियन्त्रणका लागि किटनाशक औषधि छर्कनेलगायतको अभियानलाई निरन्तरता दिएपछि लामखुट्टेको संक्रमण कम भएको हो ।
हेटौँडा उपमहानगरपालिकामा गत वैशाख, जेठबाट डेङ्गु रोगको सङ्क्रमण सुरु भएकामा भदौ, असोजमा पुग्दा महामारीको रूप लिएको थियो । उपमहानगरपालिकाले सतर्कता अपनाउँदै वर्षापूर्व नै लामखुट्टे नियन्त्रण गर्न किटनाशक औषधि छर्कने अभियान सुरु गरेको जानकारी दिएको छ ।
दुई दिनयता हेटौंडामा पानी परेको र दिनको तापक्रम बढेको छ । अब फेरि यो संक्रमण बढ्न सक्ने भएकोले स्वास्थ्य कार्यालयले यसको तयारी थालेको बताइएको छ । “सरसफाइबारे जनचेता र लार्भा नाशको लागि औषधि छिट्ने काम अब फेरि सुरु गर्नुपर्ने हुनसक्छ, हामी त्यसको लागि तयारी छौ” स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले भने ।
हेटौडा र आसपासका क्षेत्रमा गर्मीको सुरुवातसँगै लामखुट्टेको टोकाइबाट हुने सङ्क्रमणको जोखिम बढ्न थालेको उनले बताए । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणका कारण चालू आर्थिक वर्ष २०७९÷८० मा हेटौँडा उपमहानगर क्षेत्रका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कमा रहेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार गत साउनदेखि हालसम्ममा मकवानपुरमा महिला दुई हजार ६५६ जनासहित पाँच हजार ८६१ जनामा सङ्क्रमण भएको छ ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक घिमिरेले चालु आवमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा चार हजार ३४० जनामा र त्यसपछि मनहरी गाउँपालिकामा एक हजार ५३ जनामा सङ्क्रमण भएको छ । सङ्क्रमण फैलिन नदिन सचेतना अपनाउन आग्रह गरिएको छ । थाहा नगरपालिकामा गत साउनयता हालसम्म १७५ जनामा सङ्क्रमण भएको पाइएको छ ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखाका वरिष्ठ अहेव अधिकृत अनन्त बास्कोटाले गत वैशाखदेखि असोजसम्म देखिएको सङ्क्रमणले नगर क्षेत्रमा फैलिएको त्रास रोक्न यस पटक बर्खाअघि देखि नै लामखुट्टे नियन्त्रण गर्ने कार्य सुरु गरिएको र बर्खापछि पुनः लामखुट्टे नियन्त्रण गर्न कीटनाशक औषधिको प्रयोग गरिने बताए ।
“अब महामारीको रूपमा नआओस् भनेर अभियान सञ्चालन गरी संक्रमण नियन्त्रण गर्ने प्रयास सुरु गरिएको छ” बास्कोटाले भने । लामखुट्टे नियन्त्रण गर्ने कार्यका लागि कीटनाशक औषधि छर्कन पाँचवटा मेसिन प्रयोगमा ल्याइएको छ । शाखाका अनुसार अहिले लामखुट्टे नियन्त्रणका लागि प्रयोग भइरहेको औषधिले मानव स्वास्थ्यमा भने नकारात्मक असर नपर्ने बताइएको छ ।
स्थानीय तह र स्वास्थ्या कार्यालयहरुले मात्रै पहल कदमी गरेर डेङ्गुको संक्रमण नियन्त्रण लिन सकिदैन । सर्वसाधारण सबैले आ–आफ्नो सुरक्षाको लागि शरिर ढाक्ने लुगा लगाउने, हातगोडामा तेल लगाउने, घर र विद्यालय वरपर झाडिहरु नराखि सरसफाइन ध्यान दिन स्वास्थ्यकर्मीहरुको अनुरोध छ । सहीखबर प्रिन्ट सस्करणबाट ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी चैत १० गते विश्वासको मत लिने भएका छन् ।
आज लिने भनिएको विश्वासको मत गठबन्धनमा कुरो नमिलेपछि १० गतेलाई सारीएको हो । आज ३ बजे बस्ने भनेको बैठकमा काँग्रेसका सांसदहरु उपस्थित नभएपछि बैठक सारीएको हो ।
प्रदेश सभा सचिवालयले बुधबार बस्ने भनिएको बैठक विशेष कारणवश सारीएको भन्दै सूचना मार्फत जानकारी गराएको छ । सभामुख भुवन कुमार पाठकले मिति २०७९ चैत्र १० गते शुक्रबार दिनको १ बजे बस्ने गरी समय निर्धारण गरेको सचिवालयले जनाएको छ ।
उक्त बैठकमा मुख्यमन्त्री जम्कट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा वागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेस वागमती प्रदेश कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेपनि बुधबार सबै सांसदहरु हेटौंडा आएनन् । गठबन्धन भित्रको कुरा नमिल्दा सांसदहरु हेटौंडा नआएपछि निर्धारित समयभन्दा २ घण्टापछि सूचना टाँस गरी बैठक प्रदेश सभा बैठक सारीएको हो । प्रदेश संसदीय दलको बैठकले प्रदेश समिति बैठकले गरेको निर्णयको आधारमा मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको थियो।

यता नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिन शर्त राखेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बागमती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले राजीनामाका लागि शर्त अघि सारेको बुझिएको छ ।
आफूहरु प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेशसभा बैठकमा आफ्ना धारणा राखेरमात्र राजीनामा बागमती प्रदेशसभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।
केन्द्रमा बनेको समीकरण अनुसार नै हामी चल्छौ, तर हामी राजीनामा दिनु अघि प्रदेशसभा बैठकमा आफ्नो कुरा राख्छौ” थपलियाले भने । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री जम्कट्टेललाई सरकारबाट एमाले हटेपछिमात्र विश्वासको मत दिने र अन्य प्रक्रिया अघि बढाउन दबाब दिएको बुझिएको छ ।
यता एमालेले प्रदेशसभा बैठक जहिले बोलाउँछन्, त्यही बेला आफूहरुको कुरा राखेर राजीनामा दिने तयारी गरेका थिए । प्रदेशसभा बैठक बसेको भए आजै राजीनामा दिन तयारी एमालेको मन्त्रीहरुको थिए ।
आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूचीसहित प्रदेशसभा बैठक आह्वान गरिएको थियो । तर उक्त बैठकमा नेपाली कांग्रेसका सांसद भने अनुपस्थित भए । आफूहरुसँग सल्लाह नै नगरी मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेको भन्दै कांग्रेसले प्रदेशसभा बैठकमा अनुपस्थित हुने जानकारी मुख्यमन्त्री जम्कट्टेललाई गराइसकेको थियो ।
मुख्यमन्त्रीले बिश्वासको मत लिने दिन संसदमा सम्बोधन गरेर मात्र नेकपा एमालेले निर्णय लिने नेकपा एमाले बागमती प्रदेश संसदीय दलले निधो गरेको छ ।
नेकपा एमालेको मिसन ग्रासरुट अभियानको मुख्य कार्यक्रम रहेकोले चैत १० र ११ गते प्रदेश सभामा उपस्थित हुन नसक्ने भएकोले १२ गते प्रदेश सभा बैठक राख्न लिखित अनुरोध गर्ने निर्णय एमाले बागमती प्रदेश संसदीय दलले गरेको नेकपा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिए । यता सचिवालयले भने १० गते नै संसद बस्ने बारे सूचना सार्वजनिक गरेको छ । बागमती प्रदेश सरकारमा नेकपा एमालेबाट ४ जना मन्त्री छन् ।
