मकवानपुर । हेटौंडामा भएको मोहन श्रेष्ठ स्मृति ८ ए साइड भेट्रान्स कप फुटबलको विजेता खेलाडीलाई हेटौंडा-७ नम्बर वडा कार्यालयले सम्मान गरेको छ।
२०७९ साल फागुन २७ गतेबाट चैत १ गतेसम्म हेटौंडा-९ स्थित औद्योगिक क्षेत्रको खेलमैदानमा सञ्चालित वडा स्तरीय भेट्रान्स कप फुटबलको विजेता खेलाडीलाई हेटौंडा-७ नम्बर वडा कार्यालयले सम्मान गरेको हो।
हेटौंडा-७ वडा कार्यालयमा आयोजित कार्यक्रममा कप विजेता खेलाडीलाई ७ नम्बर वडाअध्यक्ष दामोदर गौतमले सम्मान पत्र सहित सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा ७ नम्बर वडा सदस्य सन्तुमाया पाख्रिन, राधिका विक,श्यामसुन्दर परियार,दिनेश थापामगर, भेट्रान्स प्रशिक्षक सोम बहादुर तितुङ,जिल्ला फुटबल संघ मकवानपुर सदस्य कृष्ण केसी, वडा सचिव प्रशान्त श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु) घरको ३ तला माथीबाट खसेका छन् ।
हिजो रात बास बसेको चितवनको भरतपुरस्थित एक घरको तीन तला माथिबाट तल खसेको ३९ बर्षिय शम्भुको स्वस्थ्य अवस्था गम्भीर रहेको बताईएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका शम्भु आज बिहान ४ बजे भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ ।
उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए ।
रास्वपाले आज बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम गर्ने पुर्व तालिका थियो ।उपनिर्वाचन नजिकिदै गर्दा चुनावी दौडधुपमा रहेको बेला चालक शम्भुको यो घटना नियोजित भएको रबिका समर्थकहरूको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । आइतबार हेटौंडामा भएको ‘हेटौंडा रन’ प्रतियोगिताको उपाधि हेटौंडा–१४, बनेलधापका उमेश गोङ्बाले जितेका छन् । नयाँ बर्षको अवसर पारेर उपमहानगरपालिकाले आयोजना गरेको ५ किलोमिटरको निर्धारित दुरी गोङ्वाले २० मिनेट ४ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेका हुन् ।
प्रतियोगितामा सहभागी सोमप्रसाद न्यौपाने प्रथम भए पनि उनि जिल्ला बाहिरको भन्ने पुष्टि भएपछि दोस्रो स्थानमा रहेका गोङ्बा स्वतः प्रथम घोषित भएका हुन् । न्यौपानेले निर्धारित दुरी १९ मिनेट ५५ सेकेन्डमा पार गरेका थिए । प्रतियोगितामा जिल्ला बाहिका खेलाडीले सहभागीता जनाउँन नपाउँने नियमका कारण प्रथम भएका न्यौपाने प्रतियोगिताबाट बाहिरिएका थिए ।
न्यौपाने बाहिरिएपछि भाग्यमानी सावित भएका गोङ्बाले उपाधिसँगै नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा सञ्जिव मिजार द्वितिय र सनिस लामा तृतीय भएका छन् । मिजारले निर्धारित दुरी २० मिनेट १० सेकेन्डमा र लामाले २० मिनेट १८ सेकेन्डमा पार गरेका हुन् । उनीहरुले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।यसैगरी प्रतियोगितामा सान्त्वना भएका सुमन आले मगर र निशान श्रेष्ठले १०/१० हजार नगद पुरस्कार पाएका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेतहरुलाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँले पुरस्कार वितरण गरेका थिए । ५६ जनाको सहभागिता रहेको प्रतियोगिता हेटौंडाको बुद्धचोकबाट सुरु भइ कान्तिराजपथको सानोपोखरा, पिप्ले हुँदै पुनः बुद्धचोकमा आएर समापन भएको थियो ।
मकवानपुर । बागमती प्रदेश सञ्चार रजिष्ट्रारमा रेवती प्रसाद सापकोटा नियुक्त भएका छन । बागमती प्रदेश सरकारमातहतको सञ्चार रजिष्ट्रारमा सापकोटा दोस्रो पटक नियुत्त भएका हुन ।
४ वर्षे पहिलो कार्यकाल पूरा गरेका सापकोटालाई गत चैत २८ गते प्रदेश सरकारले दोस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रदेश सञ्चार माध्यमसम्बन्धी ऐन २०७५ को दफा ३१ बमोजिम सापकोटालाई रजिष्ट्रारमा नियुक्त गरिएको हो ।
सापकोटालाई आइतबार एक कार्यक्रमबीच प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूम मन्त्री गंगानारायण श्रेष्ठले शपथ ग्रहण गराएका हुन् ।शपथ ग्रहण कार्यक्रमपछि नियुक्तिको प्रमाणपत्र मन्त्रालयका सचिब ध्रुब गैँडाले सापकोटालाई हस्तान्तरण गरेका थिए ।
४ वर्ष अघि सापकोटालाई बागमती प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सञ्चार रजिष्ट्रारको रुपमा पदबहाली गराएका थिए । दोस्रो कार्यकालको लागि नियुक्त भए संगै सापकोटाले ४ वर्षे कार्यकाल उल्लेखनीय भएको बताए । पहिलो पटक रजिष्ट्रारमा नियुक्ति हुँदा प्रदेशमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ मात्रै रहेको स्मरण गर्दै सापकोटाले नियमावली बनाएर कार्य गरेकोमा हाल ऎन ३ पटक र नियमावलीमा ४ पटक संसोधन भएको जानकारी दिए ।
कार्यालय,कर्मचारी र सेवाग्राही समेत नभएको अबस्थामा आफूले सुरुमा नियुक्ति लिएकोमा हाल एफ एम रेडियो, केवलमा आधारित टेलिभिजन, अनलाइन सञ्चार माध्यम, परिचयपत्र प्राप्त गर्ने पत्रकार, लेखन बृत्ति प्राप्त गर्ने पत्रकार, तालिम प्राप्त गर्ने पत्रकार तथा प्राविधिकसहित झण्डै १५ सय सेवाग्राही प्रत्यक्ष सञ्चार रजिष्ट्रारको कार्यालयसँग उनले बताए ।
‘सञ्चार क्षेत्रबाट राजस्व संकलन हुन्छ भन्ने थाहा नै थिएन, प्रदेश सरकारको क्षेत्राधिकारका फाइल संघीय सरकारमा थिए’ उनले भने
चार बर्षका लागि नियुक्ति लिदै गर्दा सपथ मन्त्रालयको आर्थिक सहयोगमा गरिएको कोभिड बिमामा (९४५ जना) र चालु आर्थिक बर्षको दुर्घटना बिमामा (१५८४जना) पत्रकार बागमती प्रदेशसँग जोडिएका छन ।
सेवाग्राहीलाई सेवा दिने, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने काम हेटौडा र काठमाडौ उपत्यका कार्यालयबाट भइरहेको समेत सापकोटाले जानकारी दिए ।
प्रदेश सरकारका लागि बार्षिक एक करोड भन्दा बढी राजस्व संकलन गर्ने तथा एफ,एम रेडियो, केवलमा आधारित टेलिभिजन र अनलाइन सञ्चार माध्यमलाई लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउने कार्यालयको रुपमा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय स्थापित भएको समेत उनले बताए ।
आगामी चार बर्षे कार्यकालमा अघिल्लो अवधिमा भएका कामलाई थप संस्थागत गर्ने, संघीय सरकारबाट फाइल हस्तान्तरण गर्न प्रशासनिक पहल गर्ने, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ ले दिएका थप जिम्मेवारीको अधिकतम बहन काम गर्ने र प्रदेश सरकारले दिएका अन्य जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता समेत सापकोटाले व्यक्त गरेका छन ।
मकवानपुर । केही प्रदेशमा मौसम बदली भएको भएता पनि वर्षा कम हुँदा डडेलो लाग्नेक्रम बढेको छ । डडेलोका कारण बाताबरण प्रदुषणमा वृद्धि भएको छ । तर देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकोकोले हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली र बांकी भु-भागहरुमा आंशिक बदली देखी सामान्यतया सफा अवस्था रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार ३ वटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहनेछ । आइतबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।
नेपालमा वर्षाका गतिविधि कम भएको तथा डढेलोका घटनाहरुमा बढेसंगै प्रदुषण समेत वृद्दि भईरहेको महाशाखाले जनाएको छ । महाशाखाले मेघगर्जन/चट्याङ्ग,हावाहुरी, डढेलो र प्रदुषणबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु आग्रह समेत गरेको छ ।
