मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु) घरको ३ तला माथीबाट खसेका छन् ।
हिजो रात बास बसेको चितवनको भरतपुरस्थित एक घरको तीन तला माथिबाट तल खसेको ३९ बर्षिय शम्भुको स्वस्थ्य अवस्था गम्भीर रहेको बताईएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका शम्भु आज बिहान ४ बजे भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ ।
उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए ।
रास्वपाले आज बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम गर्ने पुर्व तालिका थियो ।उपनिर्वाचन नजिकिदै गर्दा चुनावी दौडधुपमा रहेको बेला चालक शम्भुको यो घटना नियोजित भएको रबिका समर्थकहरूको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

