मकवानपुर । मकवानपुर क्याकुशिन कराँते संघद्वारा आयाेजित बालकुमारी क्याकुशिन बेल्ट वितरण कार्यक्रम गरिएकाे छ । केही दिनअघि लिइएकाे बेल्ट टेस्ट प्रतियाेगितामा सफल भएका खेलाडिहरुलाई बेल्ट तथा प्रमणपत्र वितरण गरिएकाे हाे ।
कार्यक्रममा हेटाैडा ४ का वडा अध्यक्ष नविन सिग्देलले व्यवसायीक खेलकुदकाे प्रवर्द्वन गर्नुपर्ने बताए । मकवानपुर क्याकुशिन कराँते संघद्वारा आयाेजित बालकुमारी क्याकुशिन बेल्ट वितरण कार्यक्रममा बाेल्दै वडा अध्यक्ष सिग्देलले खेल क्षेत्रकाे प्रवर्द्वन र खेलाडीकाे संरक्षणकाे लागि खेलकुदलाई व्यवसायिक रूपमा विकास गर्न आवश्यक रहेकाे बताए ।
खेलकुदकाे विकासकाे लागि संरचना निर्माण, नियमित प्रशिक्षण र प्रतियाेगिता आवश्यक रहेकाे बताउँदै खेल क्षेत्रकाे समग्र विकासकाे लागि राज्यले ध्यान दिनुपर्ने उनले बताए । ३५ जना खेलाडीलाई बेल्ट ग्रेडिङ्ग गरि बेल्ट र प्रमाणपत्र वितरण गरिएकाे थियाे । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक विष्णु श्रेष्ठ, केन्द्रीय सदस्य तथा प्रशिक्षक सुदर्शन खतिवडा, सहायक प्रशिक्षक सुमन कर्मचार्य, सुजाता भुजेल तथा अभिभावककाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । दोस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिता जेठ १५ गते साेमबारदेखि हुने भएको छ । नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुने प्रतियोगिता हेटौंडा–५, पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा सञ्चालन हुने हेटौंडा उपमहानगरपालिका युवा तथा खेलकुद शाखाका अधिकृत बसन्त कुमार सिटौलाले बताए ।
नकआउट चरणमा हुने प्रतियोगिता अन्तर्गत फाइनल खेल जेठ २५ गते हुने बताइएकाे छ । प्रतियोगितामा सहभागी हुन उपमहानगरभित्रका सबै वडालाई पत्र पठाइसकेको सिटौलाले जानकारी दिए । उपमहानगरपािलकाकाे पत्रमा प्रतियोगितामा सहभागीको लागि जेठ १३ गतेसम्म टिम दर्ता गर्न भनिएको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख ५० रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई ५०–५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीलाई ५–५ हजार रुपैयाँ प्रदान गरिने सिटौलाले जानकारी दिए ।

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका अन्तरगत टोलस्तरमा गठित बालसमूहहरूलाई खेल सामग्री वितरण गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा न ५ भित्र गठित १६ वटा टोलस्तरीय बाल समूहहरूलाई पालिका सन्चार प्रा.लिले खेल सामग्री वितरण गरेको हो । हेटौंडा ५ वडा कार्यालयको आर्थिक सहयोगमा शनिबार खेल सामग्री बितरण गरिएको हो । बाल क्लबका अध्यक्ष, सचिब र संरक्षकहरूलाई बाल समूह, बाल अधिकारलगायतको बिषयमा अभिमुखीकरण समेत गराईएको थियो ।

वडा अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा अभिमुखीकरण तथा खेल सामग्री वितरण गरिएको थियो । कार्यक्रममा अध्यक्ष घिमिरेले बालबालिकाहरूलाई वितरण गरिएको खेल सामग्रीले खेलप्रतिको लगाब बढाउने र आगामी दिनमा खेलकुदमा सहभागी सङ्ख्या बढाउने बताए । “खेल जीवनको लागि अपरिहार्य पाटो हो, बालबालिकालाई अनुशासित बनाउन यस्ता अवसरहरू महत्त्वपूर्ण हुन्छन्” उनले भने ।
कार्यक्रममा वडा सदस्य तथा बालमैत्री सम्पर्क ब्यक्ति रन्जिता सिलवालले हरेक क्षेत्रमा बालबालिकालाई अग्रसर बनाउन शिक्षासंगै खेलकुदमा पनि अभिभावकत्व आवश्यक भएकोले वडाले यो कार्यालाई सकारात्मक रूपमा लिएको बताइन् ।

बालबालिकाहरूलाई चेस, डोरी, फुटबल, ब्याडमिन्टन, लुडोलगायतको सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा वडा सदस्यहरू रामबहादुर राई, बिमला बि. क, हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा निर्देशक बिष्णुकुमारी लामिछाने, शाखा प्रमुख बिना ठिके, वडास्तरीय टोल विकास संस्थाको अध्यक्ष टीकाबहादुर खड्का, पिप्ले शहरी स्वास्थ केन्द्रको प्रमुख दुर्गा दाहाल, ५ नम्बर वडामा रहेका विभिन्न टोल विकास संस्थाहरूको अध्यक्ष तथा प्रतिनिधिहरू, बिद्यालयमा गठन बालसमूहका बालबालिका तथा संरक्षक शिक्षकहरू समेतको उपस्तिथि रहेका थियो ।
हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्न लागिएको सन्दर्भमा पालिका सन्चार प्रा लि ले बालबालिकाको सवालमा विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष उज्वल अधिकारीले बताए ।
मकवानपुर । शैक्षिक गुणस्तर सुधारमा जनप्रतिनिधिले ध्यान दिनु पर्ने हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देलले बताएका छन । प्राथमिक शिक्षकलाई एकीकृत पाठ्यक्रम प्रवोधिकरण कार्यक्रममा वडा अध्यक्ष सिग्देलले स्थानीय तहले शिक्षामा पर्याप्त बजेट विनियाेजन गर्नुपर्ने बताए।
‘नगरलाई समृद्व र उत्कृष्ट बनाउन शिक्षालाई उत्कृष्ट बनाउनु पर्छ’ सिग्देलले भने -‘भाैतिक विकाससंगै शिक्षा, स्वास्थ्य, खेलकुद, राेजगारी उत्पादनसम्बन्धी क्रियाकलाप समेत संगै गरिनु पर्छ ।’ शैक्षिक सुधार समिति, हेटाैँडा ४ का संयाेजक तथा श्रमिक माविका प्रधानध्यापक श्रीराम दाहालले निरन्तर क्रियाकलाप, प्रतिस्पर्धा र समन्वयकाे माध्यमद्वारा शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न समिति लागिपरेकाे बताए । कार्यक्रममा वडाले शैक्षिक सुुधारकाे लागि गरेकाे विभिन्न गतिविधि र भावी याेजनाबारे समेत जानकारी गराईएकाे थियाे ।
हेटौंडा ४ नम्बर वडा शैक्षिक समितिले प्राथमिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रमसम्बन्धी प्रवोधिकरण गरेको हो । प्राथमिक तहमा नेपाली, अंग्रेजी, सेरोफेरो, विज्ञान र गणित विषयको एकीकृत पठनपाठन प्रभावकारी रहने भएकोले शिक्षकलाई नै प्रशिक्षित गरिएको हो ।

४ नम्बर वडामा ३ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालय छन् । कार्यक्रममा ८ वटा विद्यालयका ७० जना शिक्षकको सहभागिता रहेको बताइएको छ । एकीकृत पाठ्यक्रमसम्बन्धी प्रवोधिकरणमा नेपाली विषयको वेदराज कोइराला, सामाजिक र सेरोफेरो विषयको राम सागर गुरागाई, अंग्रेजी विषयको सूर्यप्रसाद घिमिरे, गणित विषयको दीपक अधिकारी र विज्ञान विषयको सुवास खनालले सहजीकरण गरेका छन ।
वडा शैक्षिक सुधार समितिका अध्यक्ष एवम् श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहालको अध्यक्षता तथा वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आधुनिक राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष माेहमद समिम,भुटनदेवी माविका प्रअ माधव दाहाल, आधुनिक माविका सप्रअ मालती पाेखरेल, वडा सचिव टीका कंडेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । हेटौंडा जेसिजले वैशाख ३० गते शनिबारबाट सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत वैशाख ३० गते शनिबार हेटौंडा ५ पिप्लेदेखि गढिगाउपालिका ४ स्थित मनकामना मन्दिरसम्म साइक्लिङ प्रतियोगिता हुने भएको छ । जेसिजले शुक्रबार पत्रकार सम्मेलनमार्फत् कार्यक्रमबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा साइक्लिङ प्रतियोगितामा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जेसिज वर्ष २०२३ का अध्यक्ष श्रवण कुमार वर्तौलाले जानकारी दिए ।
त्यस्तै वैशाख ३१ गते आइतबार हेटौंडा–४ हुप्रचौरमा रक्तदान कार्यक्रम, जेठ १ गते सोमबार जेसिज वक्तित्वकला प्रतियोगिता र जेठ २ गते मंगलबार मकवानपुर बहुमुखी क्याम्पसमा सामान्य ज्ञान प्रतियोगिता आयोजना गरिने बर्तौलाले बताए ।
यसैगरी जेठ ३ गते बुधबार हेटौंडा मुख्य बजार क्षेत्रमा ‘स्लो बाइक’ प्रतियोगिता आयोजना गरिने छ भने जेठ ४ गते विहीबार हेटौंडा– १५ चिप्लेटीस्थित सामुदायिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको जेसिजका कार्यकारिणी उपाध्यक्ष अमृत बर्तौलाले जानकारी दिए । जेठ ५ गते शुक्रबार सप्ताहव्यापी कार्यक्रमको समारोह आयोजना गरी विभिन्न प्रतियोगितामा विजयी भएकाहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको उनले बताए ।
यसैबीज जेसिजले नयाँ थप भएका २९ जना
सदस्यलाई स्वागत गरेको छ । जेसिज वर्ष २०१४ का अध्यक्ष कबिन सांगामीले नयाँ सदस्यहरुलाई जेसिजमा औपचारिक स्वागत गरेका हुन् । सो अवसरमा हेटौंडा जेसिजका कार्यकारिणी उपाध्यक्ष विकेशलाल श्रेष्ठले जेसिज सबैको साझा र परोपकारी भावना बोकेको संस्था भएको उल्लेख गर्दै संस्थामा आवद्ध नयाँ सदस्यहरुको नेतृत्व र व्यत्तित्व विकासमा टेवा पुर्याउन पहल गरिने बताए ।
नयाँ सदस्यहरुको आगमनले जेसिजमार्फत् जनहितका लागि हुँदै आएका गतिविधिलाई थप प्रभावकारी रुपमा अघि बढाउन प्रेरणा मिलेको बताउँदै सामाजिक अभियानलाई जनस्तरसम्म पुर्याइने उनले बताए ।
सप्ताहव्यापी कार्यक्रमलगत्तै युवालक्षित पब्लिक स्पिकिङ प्रतियोगिता आयोजना गर्न लागिएको समेत जेसिजले जनाएको छ ।
