मकवानपुर । धादिङमा साेमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्ग अन्तरगत बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडामा सोमबार बिहान पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस त्रिशूली नदीमा खसेर हो ।
बिहान करिब १: ३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट उद्धारका लागि टोली खटिएको छ । यस्तै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत उद्धारमा खटिएको बताइएको छ ।
प्रहरीका अनुसार मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको छ । घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।
घाइतेहरुको विवरण:

मकवानपुर । फागुन २१ को निर्वाचन लक्षित गर्दै ३ दिन बिदा दिन निर्वाचन आयोगले सरकार समक्ष माग गरेको छ । आइतबार सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन सिफारिस गरेको हाे ।
‘निर्वाचनमा मतदाताकाे उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फाुन २०,२१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयाेगले नेपाल सरकारलाई सिफारिस गरेकाे छ’ प्रवक्ता नारायणप्रसाद भट्टराईले भने । आयोगले माग गरेकाे ३ दिन बिदाको निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।
निकुञ्ज र रिदम पुरस्कृत
Tags: No Comments
मकवानपुर । अणकुमारी स्मृति साहित्य पुरस्कार निकुञ्ज कार्की तथा शेषजङ्ग स्मृति कथा पुरस्कार रिदम घिमिरेले प्राप्त गरेका हुन् । शनिबार साहित्य सङ्गम मकवानपुरको ३६४ औं नियमित साहित्य सन्ध्याको अवसरमा कार्की र घिमिरेलाई ५ हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।
साहित्य सङ्गमले आयोजना गरेको प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत कार्कीको ‘जीवन एक प्रयोगशाला’ शिर्षकको संस्मरण उत्कृष्ट भएको हो । कार्की ८ जनालाई पछि पार्दै उत्कृष्ट भएकी हुन् । यसैगरी कथा प्रतियोगितामा ११ जना प्रतियोगीहरुलाई पछाडि पार्दै बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा कक्षा १० मा अध्ययनरत रिदम घिमिरेको ‘अधुरो बिहानी’ कथा उत्कृष्ट भएको हो ।
अणकुमारी स्मृति साहित्य पुरस्कार कक्षा ९ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई प्रदान गर्ने गरि मकवानपुरका साहित्यकार आरसी रिजालले आमा अणकुमारी रिजालको स्मृतिमा स्थापना गरेका हुन् । यो पुरस्कार साहित्य सङ्गमले प्रत्येक पटक साहित्यका विविध विधााहरु तोकेर प्रतियोगिता सञ्चालन गरी उत्कृष्टलाई प्रदान गर्दै आएको छ ।
यस्तै शिक्षक डेन्टीजंग शाहले छोरा शेषजंगको स्मृतिमा स्थापना गरेको कथा पुरस्कार कक्षा ९ देखि कक्षा १२ सम्मका छात्र तथा छात्रा दुवैलाई प्रदान गर्दै आएको छ । यो पुरस्कार कथा प्रतियोगितामा उत्कृष्ट हुनेले मात्र प्राप्त गर्दछ । साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्य तथा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
झरनाद्वारा १० स्रष्टालाई एकै मञ्चमा सम्मान
Tags: No Comments
बकैया । झरना साहित्यिक परिवार मकवानपुरले सातौं बकैया-कला साहित्य महोत्सव-२०८२ मा विभिन्न विधाका १० जनालाई सम्मान गरेको छ ।
झरनाले ३२३ औं साहित्य शृङ्खला एवम् ३३ औं वार्षिक उत्सवका अवसरमा बुधबार १० जनालाई एकै मन्चमा पुरस्कारसहित सम्मान गरेको हाे ।
झरनाले साहित्यमा योगदान गरेबापत प्रदान गरिने नगद २१ हजार १ सय २१ रुपैयाँ राशि सहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८२ बाट पाँचथरका रमेश शुभेच्छुकलाई सम्मानित गरेको छ । बकैयाका साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
यसैगरी जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिदै आएकाे नगद १५ हजार ५ सय ५५ राशिको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२ बाट मकवानपुरका साहित्यकार डा. निमेष निखिल सम्मानित भएका छन् । साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा उक्त सम्मान स्थापना गरेका हुन् ।
यस्तै साहित्यमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गरिने नगद ८ हजार ५ सय रुपैयाँ राशिको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२ बाट नेपालगञ्जकी ऋचा लुइटेल सम्मानित भएकी छिन् । साहित्यसेवी अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
यस्तै मकवानपुरका महिला साहित्यकारलाई प्रदान गरिने नगद ७ हजार ७ सय ७७ राशिको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८२ बाट मकवानपुरकी एस आर मन्जरी सम्मानित भएकी छिन् । साहित्यसेवी राजन दङ्गालले आफ्नी छोरीको स्मृतिमा उक्त सम्मान स्थापना गरेका हुन् ।
यसैगरी मकवानपुरको साहित्यकाे सेवा गरे वापत प्रदान गरिदै नगद ७ हजार ७ सय ७७ रुपैंया राशिकाे सञ्जीवन-बुटी साहित्य सम्मान–२०८२ बाट मकवानपुरका डा. अर्पण पराजुली सम्मानित भएका छन् । उक्त सम्मान साहित्यसेवी तुलसी गिरीले स्थापना गरेका हुन् ।
यस्तै संस्थाको गतिविधि प्रचार प्रसारमा सहयोग तथा पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदरवापत प्रदान गरिदैं आएकाे नगद ११ हजार १ सय ११ रुपैंयाको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८२ बाट मकवानपुरका पत्रकार दीपक अधिकारी सम्मानित भएका छन् । गोकर्ण गौतमको परिवारद्वारा उक्त सम्मान स्थापना गरेका हुन् ।
बकैयाका नवप्रतिभाको सम्मान गर्ने उदेश्यले स्थापना भएकाे नगर ५ हजार ५ सय ५५ रुपैयाँ राशिको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८२ बाट बकैया ३ स्थित बुद्धमावि हात्तीसुढेकी मोनिका नेगी सम्मानित भएकी छिन् । बकैयाका चन्द्रकुमार राईले उक्त सम्मान स्थापना गरेका हुन् ।
बकैयामा रही कला क्षेत्रकाे माध्यमबाट योगदान गरेवापत प्रदान गरिदै आएकाे नगद ७ हजार ७ सय ७७ रुपैयाँ राशिकाे खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८२ बाट मकवानपुरका सूर्य सन्यासी सम्मानित भएका छन् । बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
यसैगरी छन्द कवितामा योगदान गरेवापत प्रदान गरिदै आएकाे नगद ९ हजार ९ रुपैयाँ राशिकाे ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवि खनाल साहित्य सम्मान–२०८२ बाट भैरहवाकी सिर्जना खनाल सम्मानित भएकी छिन् । जर्नादन खनालले आफ्ना मातापिताको नाममा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
यस वर्ष स्थापना भएकाे ‘कुलकुमारी झलकनाथ लोक साहित्य सम्मान-२०८२’ बाट साहित्यकार एवं लोकगायक बझाङका नन्दकृष्ण जोशी सम्मानित भएका छन् । आफ्ना मातापिताको सम्मानमा झरना साहित्यिक परिवार मकवानपुरका संरक्षक उद्धव सापकोटा तथा भरत सापकोटाद्वारा स्थापित नगद ११ हजार १११ राशिकाे उक्त सम्मान लोक गीतसंगीतमा सेवा गरेबापत जोशीलाई प्रदान गरिएको हो ।
झरना साहित्यिक परिवारले फागुन ५ र ६ फागुनमा महेन्द्र मावि, बकैयामा ३२३ औं साहित्य शृङ्खला एवम् ३३ औं वार्षिक उत्सव र महाेत्सव कार्यक्रम गरेको झरनाकी अध्यक्ष गायत्री रुपाखेतीले जानकारी दिइन् । उनका अनुसार महाेत्सवमा पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्यहरू, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई ७ प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन, नवसर्जक रचना वाचनलगायतको कार्यक्रम भएको हो ।
कार्यक्रममा झरनाको ४० औ अंक लोकार्पण समेत गरिएको थियो । यसैगरी झरनाका निवर्तमान अध्यक्ष विश्वनाथ सन्जेललाई विद्यावारधी उपाधी प्राप्त गरेकोले सम्म्मानित गरिएको थियो ।
२०७६ सालबाट साहित्यिक महाेत्सव गर्दै आएको झरनाको ३३ औं वार्षिक उत्सव तथा बकैया कला साहित्य महोत्सव बकैया ४ स्थित महेन्द्र माविकाे सहकार्य तथा बकैया गाउँपालिकाकाे सहयोगमा भएकाे हाे ।
मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१९ सान्नानटारमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो पूर्व–पश्चिम राजमार्गको हेटौंडा मनहरी सडक खण्ड अन्तर सान्नानटारमा मनहरीबाट हेटौडा आउँदै गरेको लु.३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ख ११७९ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक रुपन्देही जिल्लाका २८ वर्षीय जगदीश थारु घाइते भएकोमा उपचारको क्रममा हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा घाइते मोटरसाइकलको पछाडि सवार दाङ जिल्लाको राप्ती–६ का २२ वर्षीय आदित्य चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
ट्रिपर चालक हेटौंडा–१५ भोर्लेका २६ वर्षीय रोहित तामाङलाई नियन्त्रण लिइएको तथा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।