मकवानपुर । हेटौंडामा वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विधमान समस्याका बारेमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ ।
सुरक्षित आप्रवाशनका लागि राष्ट्रिय सञ्जालको आयोजनामा वैदेशिक रोजगारका सम्बन्धमा देखा परेका वर्तमान समस्या, सरकारद्वारा जारी नीति, ऐन, नियमावलीका बारेमा प्रदेशका सरोकारवाला निकायबीच अन्तरक्रिया भएको हो ।
सञ्जालको केन्द्रीय कोषाध्यक्ष चाँदनी राणाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामा, प्रदेश नीति तथा योजना आयोगका प्रा.डा. नरविक्रम थापा, श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सचिव तिर्थराज भट्टराईलगायतको उपस्थिति थियो । श्रम तथा रोजगार विज्ञ निलाम्बर बडानले प्रस्तुतीकरण राखेका थिए ।
बडालले बागमती प्रदेश वार्षिक नीति तथा कार्यक्रम २०८०/८१ बारे जानकारी गराउँदै सातवटा प्रदेशमध्ये श्रम तथा रोजगारको क्षेत्रमा बागमती प्रदेशले बनाएको कानुन सबैभन्दा प्रभावकारी रहेको बताए । अन्य प्रदेश भन्दा बागमती श्रम तथा रोजगारको नीति निर्माणमा अब्बल देखिएको बडालको दाबी थियो ।
उनले ‘सिक्दै, कमाउँदै–कमाउँदै सिक्दै’ (व्यवसायिक र प्राविधिक शिक्षा) कार्यक्रम, सीप परिक्षणको संस्थागत प्रवन्ध (वैदेशिक रोजगारीमा आर्जित सीप), विप्रेषणलाई उत्पादनसँग जोड्न प्रोत्साहन, युवा उद्यमशीलता तथा रोजगार अभिवृद्धि कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएकाहरुको ज्ञान, सीप र क्षमता उपयोग, समस्यामा परेर फर्केकाहरुको पुनःस्थापना, नेपाल पक्षराष्ट्र भएका सन्धि प्रतिवद्धता कार्यान्वयन प्राथमिकतामा रहेको बताए ।
बडालले वैदेशिक रोजगारीमा देखिएका समस्या तथा चुनौतीमा महिला आप्रवासी श्रमिक र घरेलु श्रमिकलाई लगाइएका विभिन्न स्वरुपका प्रतिबन्धले मानव बेचबिखन र शोषणको जोखिम बढाएको बताए ।
पर्याप्त जानकारी र सीपको अभावका कारण नेपाली महिलाहरु कम पारिश्रमिकमा काम गर्न जान बाध्य भएको, लिंग र लैंङ्गिकतामा आधारित खण्डिकृत तथ्यांकको अभावमा महिला र अन्य लिंगका व्यक्तिका अनुभव र योगदानको निरन्तर वेवास्ता भइरहेको बडालको भनाई थियो । नेपालले गन्तव्य मुलुकहरुसँग गरेका अधिकांश द्विपक्षीय सम्झौतामा लैंङ्गिक प्रावधान समाविष्ट नभएको, जोर्डनसँगको बाहेक अन्य सम्झौतामा घरेलु श्रमिकका अधिकार रक्षा सुनिश्चित नभएको, सेवा सुविधाको विकेन्द्रीकरण नहुँदा वैदेशिक रोजगारीका अवसर र न्यायमा पहुँच कम भएको बडालले बताए ।
अन्तरक्रियालाई सम्बोधन गर्दै नगर प्रमुख लामाले वैदेशिक रोजगारमा जाने नेपालीहरु हरेक देशमा पुगेको बताइन् । नेपालका नागरिकलाई धेरै अधिकार रहेको बताइन् । उनले ऐन, नियम कानुन कार्यान्वयन हुन नसक्दा एउटा जनप्रतिनिधिले चाहेर पनि राम्रो काम गर्न सहज नभएको बताएकी छन् । उनले संघ, प्रदेश र स्थानीय सरकारबीच काम गर्दा सहकार्य नहुनाले श्रम तथा रोजगारको क्षेत्रमा उल्लेखित प्रगति हासिल हुन नसकेको बताइन् ।
मेयर लामाले सक्षम नागरिक उत्पादन गर्ने र श्रम गर्न वैदेशिक रोजगारमा जादा कसरी सुरक्षित हुने कुरा सिकाउन जरुरी रहेको बताइन् । माइती नेपाल मकवानपुरको समन्वयमा कार्यक्रम भएको हो । स्थानीय तहको समन्वयमा वैदेशिक रोजगारलाई व्यवस्थित गर्नुपर्ने बारे छलफल भएको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् ।
मकवानपुर । सहमतीमै नेतृत्व छान्ने कसरत गरेकाे एमाले बागमतीकाे अधिवेशन अन्ततः निर्वाचनमै गएकाे थियाे । निर्धारित समय भन्दा ढिलाे गरी सुरु भएकाे निर्वाचन शुक्रबार बेलुका सकिएकाे छ ।
एमाले बागमती प्रदेश अधिबेशनकाे लागि भूगोल, जनसंगठन र मनोनीत गरी १ हजार १ सय ७४ प्रतिनिधि चयन भएकाेमा मतदानमा जम्मा १ हजार १ सय ३५ मत खसेकाे छ । मतदानमा ३२ जना अनुपस्थित भएको निर्वाचन कमिटिले जनाएकाे छ । आजै सकिएकाे निर्वाचनकाे आजै रातीसम्म आउने बताइएकाे छ ।
बागमती प्रदेश कमिटीको निर्वाचनमा यस अघि १ सय ६२ पदमा निर्विरोध निर्वाचित भएका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेर सुरु भएकाे अधिवेशनकाे पाचाैं दिन शुक्रबारसम्ममा २ सय ४५ पदमध्ये १ सय ६२ पदमा पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
चितवन, सिन्धुपाल्चोक,काभ्रे, रसुवा जिल्लामा सर्वसम्मत हुँदा ९ जिल्लामा आंशिक निर्विरोध भएकाे नेता शेरबहादुर तामाङले बताए । निर्विरोध भएका १ सय ६२ पद मध्ये पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन भएकाे हाे । एमाले पार्टी कार्यालय च्यासलमा भएकाे मतदानमा ४० वटा विद्युतीय मेसिन प्रयोग गरिएकाे थियाे ।
बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् । ढंगेल र दाहालले अन्य ४ पदाधिकारी पदमा समेत प्यानल बनाएका छन् ।
त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै उपाध्यक्षमा पनि पाँच जनाको उम्मेदवारी परेको थियाे । उपाध्यक्षमा ठकुरी, खतिवडा, लामा, पोखरेल र राजेन्द्र राजथला उम्मेदवारी दिएकाेमा राजथलाले पछि उम्मेदवारी फिर्ता लिएका थिए । यसैगरी सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र रामकुमार अधिकारीले उम्मेदवार छन्।
उपसचिवमा १२ जनाको उम्मेदवारी दिएका छन्। खड्कबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उपसचिवमा उम्मेदवार छन्।
मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितिले खेलाडीको बीमा गरेको छ । समितिले १० जना खेलाडीको ५ लाख रुपैयाँको सामुहिक दुर्घटना बीमा गरेको हो ।
खेलकुद विकास समिति अन्तर्गतको विभिन्न खेलसँग आबद्ध खेलाडीको बीमा गरिएको हो । खेलकुदको दौरानमा हुनसक्ने दुर्घटनालाई ध्यानमा राख्दै खेलाडीहरुको बीमा गरिएको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेष खड्गीले जानकारी दिए ।
मकवानपुरमा खेलकुदको गतिविधि बढ्दै गएको तर खेलकुदमा सहभागी हुदा दुर्घटनामा परेका खेलाडीको उपचार लगायतका सुरक्षामा कसैले ध्यान नदिएको उनले बताए । धेरै खेलाडीहरु घाइते भएपश्चात उपचार खर्च गर्न नसकेर त्यसै बस्नुपर्ने अवस्थामा रहेको अबस्थामा बीमा गरिएको उनले जानकारी दिए ।
यस्तै समितिले काजकिस्तानको अस्तान शहरमा हुने एशियन जुनियर तथा युथ बक्सिङ प्रतियोगितामा ५० केजी तौल समूहमा छनौट भएकी मकवानपुरकी १ खेलाडीलाई नगद ८ हजार रुपैयाँसहित सम्मान गरेको छ ।
हेटौंडा १४ निवासी रोश्नी घलानलाई नगद ८ हजार रुपैयाँले सम्मान गर्दै प्रतियोगितामा जीतको शुभकामना समेत दिइएको हो ।
मकवानपुर ।देशको विभिन्न जिल्लामा चिकित्सकहरूमाथी भइरहेको आक्रमणको विरुद्ध आज मकवानपुरको मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा बिरोध जनाईएको छ ।
नेपाल चिकित्सक संघ मकवानपुर अध्यक्ष डा. हरि खड्काको नेतृत्वमा करिव ४० जनाले चिकित्सकहरूले हेटौंडा १ स्थित हेटौंडा अस्पतालको प्राङ्गणमा उभिएर सांकेतिक रूपमा शान्तिपुर्ण बिरोध प्रदर्शन गरेका हुन् ।
गत भदैको अन्तिम साता हेटौंडाको सन्चो हस्पिटलका २ जना चिकित्सकहरू पिटिएपछी अहिले लगातार बिभिन्न जिल्लामा स्वास्थकर्मीहरू दुर्व्यवहार खेपिरहेकोले सरकारले तत्काल स्वास्थकर्मीको ज्यान सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्ने डा खड्काले बताए ।
मकवानपुर । मकवानपुरमा एक युवाले आफ्ना बुबा, आमा र भाइलाई पिटेर घाइते बनाएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बुलनटोलका बद्रिनाथ मैनालीले घरायसी विवादको कारण बुबा, आमा र भाइलाई कुटपिट गरेकाे प्रहरीले जनाएकाे छ ।
बुधबार घरायसी विवाद हुँदा ५० वर्षीय बद्रिनाथले चिरपटले हानेर बुबा आमा र भाइलाई घाइते बनाएकाेमा प्रहरी उनलाई पक्राउ गरेकाे हाे । बद्रिनाथले चिरपटले हान्दा उनका बुबा ७३ वर्षीय रामजी मैनाली, आमा ६५ वर्षीया माया मैनाली र भाइ ४० वर्षीय भाइ केदार मैनाली घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
घाइते तीनै जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकाेमा आमा मायाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएकाे छ । प्रहरीले बद्रिनाथलाई पक्राउ गरी अनुसन्धान तथा आवश्यक कारवाहीकाे प्रक्रिया सुरु गरेकाे बताइएकाे छ ।
