मकवानपुर प्रहरीद्वारा विभिन्न मितिमा बरामद लागुऔषध नष्ट
Tags: No Comments
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मितिमा बरामद गरेको लागु औषध गाँजा, नाइट्रोभेट,चरेसलगायतका लागुऔषध जलाएर नष्ट गरेको छ । मकवानपुर प्रहरीले २०८० भदौ २७ गतेदेखि असोज १० गतेसम्म बरामद गरेकाे १ हजार ३९ किलो गाँजा, २ सय ४ ग्राम, चरेश ३ ग्राम ७ सय ४० मिलि ग्राम खैरो हिरोइन र नाइट्रोभेट १ हजार ४१ टेयाब्लेट जलाएर नष्ट गरेको हो ।
अदालतबाट अनुमति प्राप्त गरि प्रहरीले बरामद गरिएकाे उक्त परिमाणकाे लागुऔषध शनिबार हेटौँडा वडा नम्बर १० स्थित राप्ती खोला किनारमा जलाएर नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा अन्तरगतका चौकीबाट खटी गएको प्रहरी टोलिले जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको लागुऔषधहरु अनुसन्धान तथा कारबाहीको प्रक्रिय पुरा गरी जलाएर नष्ट गरेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
उक्त लागुऔषध जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी, संचारकर्मी लगायत सरोकारवालाहरुको उपस्थितिमा जलाए नष्ट गरेको हो ।
मकवानपुर । साहित्य सङ्गमद्वारा मकवानपुरका ९ जना स्रष्टा सम्मान गरिएको छ । २०७९ सालमा साहित्य तथा अन्य विधामा पुस्तक प्रकाशन गरेका मकवानपुरे ९ जना स्रष्टालाई सङ्गमले सम्मान गरेको हो ।
शनिबार सङ्गमको ३ सय ३५ औँ साहित्य सन्ध्यामा उनीहरु सम्मानित भएका हुन । सङ्गमले ‘छेलिएका अनुहार’ पुस्तकका लेखक प्रताप विष्ट, ‘शिक्षकको भाषा’ का छवि अनित्य, ‘छैनौ कसोरी तिमी’ का पुरूषोत्तम आचार्य, ‘मानचित्रमा देश’ र ‘अक्षर आराधन’ का मसान उपासक, ‘खुसी’ लघुकथा सङ्ग्रहका किशन पौडेल, कविता सङ्ग्रह ‘तिल गङ्गा गोविन्द’ का सुभाषचन्द्र पौडेल, ‘कोरिएका धर्साहरू’ कविता सङ्ग्रहका ऋत्विक के. बी., ‘अभियुक्त समय’ कविता सङ्ग्रहका समर्पण न्यौपाने, ‘कठघरामा देश’ का सर्जक बिर्खे अन्जानलाई सम्मानित गरेको हो ।
साहित्य सङ्गम मकवानपुरको नियमित साहित्य सन्ध्यामा सम्मानित स्रष्टाहरू के.बी, न्यौपाने,अनित्य,पौडेल,अन्जान,पौडेल भीमफेदीया तथा कार्यक्रमका समीक्षक हरिकृष्ण काफ्ले तथा शान्तिप्रिय वन्दनाले रचना वाचन गरेका थिए।
यसैगरी कविहरू दिनेश शर्मा,सुवास खनाल,जनार्दन खनाल,मनोज पोखरेल,कुवेर पराजुली,कृष्टिना कार्की,सरजु भण्डारी,दीपिका लम्साल,बिजनेस सन्जेल,प्रकृति अर्याल,अनसूया खनाल,रिजन राना,सुवास सजल,रोशनी चौलागाई,बैकुण्ठ लामिछाने,ठाकुराम भण्डारी,कमल नेपाल,विष्णु न्यौपाने,पुण्यशिला श्रेष्ठ, ऋषि के.बी,सानुभाइ विश्वकर्मा,लक्ष्मी कँडेल,ऋषिराम पाण्डे,ओमभक्त भण्डारी,स्वस्तिका बानियाँ,रजनी पौडेल, सम्प्रस पौडेल र सन्जित श्रेष्ठलगायतका स्रष्टहरुले रचना वाचन गरेका थिए।
साहित्यकार नवराज शर्मा तिमिल्सिनाको प्रमुख आतिथ्य तथा सङ्गम अध्यक्ष डीबी बर्तौलाको सभापतित्वमा सम्मान तथा सन्ध्या भएकाे हाे ।
मकवानपुर । ३५ औ जिल्ला जुनियर तथा युवा रेडक्रस गोष्ठी शनिबार सकिएकाे छ । गत शुक्रबारदेखि सुरु भएको नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाको ब्यबस्थापन तथा युवा रेडक्रस सर्कल बालबोध मावि हटियाको आतिथ्यतामा आयोजित गोष्ठी १३ बुदे बालबोध घोषणा पत्र जारी गर्दै सकिएकाे हाे ।
गोष्ठीमा जुनियर युवा सर्कलको गरेको बार्षिक कार्यक्रमको समीक्षा गरि २०८०/८१ को बार्षिक कार्ययोजना निर्माण, हाजिरीजवाफ प्रतियोगिता, रेडक्रसका अधारभुत ७ सिदान्तको नाटक प्रदर्शन गर्दै नेतृत्व बिकाश, रेडक्रस अभियान, डेङ्गु सचेतना र बिपद ब्यबस्थापनको कार्यशालाको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरि दाहालले जानकारी दिए ।
गोष्ठीमा मकवानपुर जिल्लाका एक सय सामुदायिक तथा संस्थागत विद्यालय एवं समुदाय स्तरमा गठित जुनियर एवं युवा रेडक्रस सर्कलका प्रतिनिधि तथा शिक्षक नायकलगायत ३ सय ५० जनाको उपस्थिति रहेको थियो । गोष्ठीले ३६ औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी भुटनदेबी माविको आतिथ्यमा २०८१ साल मंसिर महिनामा आयोजना गर्ने निर्णय गरेकाे छ । उक्त ३६ औं गोष्ठीकाे लागि भुटनदेवी मावि शिक्षक नायक षडानन्द चौलागाईंलाई रेडक्रसको झन्डा हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा भएकाे जुनियर रेडक्रस गोष्ठी उपमन्त्री तथा जिल्ला जुनियर/ युवा समितीका संयोजक दाहालको अध्यक्षतामा भएकाे थियाे । शुक्रबार गाेष्ठीकाे उद्घाटन बागमती प्रदेशका सामाजिक बिकाश मन्त्री कुमारी मोक्तानले गरेकी थिइन् ।
समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका अध्यक्ष भोला रुपाखेती, मकवानपुर शाखाका मन्त्री शुमित्रा काफ्ले, उपकोषाध्यक्ष मंगल रखाल, सदस्य कृष्ण सापकोटा, पूर्व उपसभापति उमेश बास्कोटा, पूर्वमन्त्री पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, हटिया उपशाखाका सभापति राजकुमार बास्तोला, बालबोध माविका प्रअ दिपकलाल श्रेष्ठ, उपशाखा सचिब मोहनचन्द्र चौलागाईं लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश अधिवेशनबाट रामेछाप जिल्लाका नेता कैलाश ढुङ्गेल भारी मतान्तर सहित अध्यक्षमा निर्वाचित भएका छन् ।
शुक्रवार राती आएको मत परिणामअनुसार ढुङ्गेलले ६९६ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिष्पर्धी मकवानपुरका कृष्ण दाहालले ४३९ मत ल्याएका हुन् ।
यसैगरी उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन् ।
यस्तै सचिव पदमा नवराज सिलवालले १ मतले विजयी भएका छन् । सिलवालले ५६८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हस्त पण्डित ५६७ मत ल्याएका हुन् ।
यस्तै उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मत लिएर विजयी भए ।
शुक्रवार दिउँसोबाट सुरु भएको मतदानमा बेलुकासम्म मतदान भएको थियो । ११७२ जना मतदातामध्ये ११२६ जनाले खसेको थियो भने ४१ जना अनुपस्थित भएको थियो ।
ढुंगेल रामेछापको पार्टी अध्यक्षका रुपमा तीन कार्यकाल काम गरको छन्। प्रतिनिसभामा चारपटक टिकट पाएर पराजित भए पनि २०७४ मा प्रदेशसभा जितेर बागमति प्रदेशको अर्थमन्त्री भएका थिए। ढुंगेललाई प्रदेश अध्यक्षको लागि नेता महेश बस्नेत पक्षले साथ दिएको थियोे ।
अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी दर्ता भए पनि अन्य तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि दाहाल र ढुङ्गेल बिच प्रतिष्पर्धा भएको थियो ।
मकवानपुर । असोज १३ शनिबार आज हेटौंडामा मिस्टर मकवानपुर भेट्रान्स २०८० हुदैछ । नेपाल शारीरिक संगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा हुने पहिलो पटक हेटौंडामा हुन लागेको मिस्टर मकवानपुर भेट्रान्स तथा महिला फिजिक्स प्रतियोगिताको तयारी पूरा भएको छ ।
कार्यक्रम संयोजक सुनिल मोक्तानका अनुसार प्रतियोगितामा विभिन्न तीन विधा गरी ४५ खेलाडीहरुको सहभागिता रहनेछन् । प्रतियोगितामा मिस्टर मकवानपुर, वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप, मिस्टर मकवानपुर भेट्रान्स गरी तीन विधाका खेलहरुमा प्रतिस्पर्धा हुनेछन् ।
साथै प्रतियोगितामा ५५ औ एसियन बडिबिल्डिङ च्याम्पियन वुमन फिजिक्स तर्फ ५५ केजी मा गोल्ड मेडलिस्ट रजनी श्रेष्ठको प्रशिक्षण तथा प्रदर्शन रहने कार्यक्रम संयोजक मोक्तानले बताए । मिस्टर मकवानपुर विधामा ५५, ६०, ६५, ७०, ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप विधा अन्तरगत खुल्ला तौल समूहमा प्रतिस्पर्धा गराइनेछ ।
यस्तै, मिस्टर मकवानपुर भेट्रान्स विधा अन्तरगत पनि खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक मोक्तानले जानकारी गराए । मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई तीस हजार नगदसहित ट्रफि मेडल प्रदान गरिनेछ ।
प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ट तथा अनुशासित क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगदसहित सम्मान गरिने फिट्नेस महासंघका अध्यक्ष राजेश भेटवालले बताए । साथै पुराना खेलाडी र खेलको प्रवर्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिने भएको छ ।
कार्यक्रम हेटौंडा–२ स्थित पल्पसा हलमा अपरान्ह ४ बजेदेखी हुने प्रतियोगिता मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित हुनेछ ।
