मकवानपुर । ३५ औ जिल्ला जुनियर तथा युवा रेडक्रस गोष्ठी शनिबार सकिएकाे छ । गत शुक्रबारदेखि सुरु भएको नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाको ब्यबस्थापन तथा युवा रेडक्रस सर्कल बालबोध मावि हटियाको आतिथ्यतामा आयोजित गोष्ठी १३ बुदे बालबोध घोषणा पत्र जारी गर्दै सकिएकाे हाे ।
गोष्ठीमा जुनियर युवा सर्कलको गरेको बार्षिक कार्यक्रमको समीक्षा गरि २०८०/८१ को बार्षिक कार्ययोजना निर्माण, हाजिरीजवाफ प्रतियोगिता, रेडक्रसका अधारभुत ७ सिदान्तको नाटक प्रदर्शन गर्दै नेतृत्व बिकाश, रेडक्रस अभियान, डेङ्गु सचेतना र बिपद ब्यबस्थापनको कार्यशालाको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरि दाहालले जानकारी दिए ।
गोष्ठीमा मकवानपुर जिल्लाका एक सय सामुदायिक तथा संस्थागत विद्यालय एवं समुदाय स्तरमा गठित जुनियर एवं युवा रेडक्रस सर्कलका प्रतिनिधि तथा शिक्षक नायकलगायत ३ सय ५० जनाको उपस्थिति रहेको थियो । गोष्ठीले ३६ औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी भुटनदेबी माविको आतिथ्यमा २०८१ साल मंसिर महिनामा आयोजना गर्ने निर्णय गरेकाे छ । उक्त ३६ औं गोष्ठीकाे लागि भुटनदेवी मावि शिक्षक नायक षडानन्द चौलागाईंलाई रेडक्रसको झन्डा हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा भएकाे जुनियर रेडक्रस गोष्ठी उपमन्त्री तथा जिल्ला जुनियर/ युवा समितीका संयोजक दाहालको अध्यक्षतामा भएकाे थियाे । शुक्रबार गाेष्ठीकाे उद्घाटन बागमती प्रदेशका सामाजिक बिकाश मन्त्री कुमारी मोक्तानले गरेकी थिइन् ।
समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका अध्यक्ष भोला रुपाखेती, मकवानपुर शाखाका मन्त्री शुमित्रा काफ्ले, उपकोषाध्यक्ष मंगल रखाल, सदस्य कृष्ण सापकोटा, पूर्व उपसभापति उमेश बास्कोटा, पूर्वमन्त्री पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, हटिया उपशाखाका सभापति राजकुमार बास्तोला, बालबोध माविका प्रअ दिपकलाल श्रेष्ठ, उपशाखा सचिब मोहनचन्द्र चौलागाईं लगायतकाे उपस्थिति रहेकाे थियाे ।

