मकवानपुर । जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा जनज्योति तेक्वान्दो डोजाङ प्रथम भएकाे छ । मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा भएकाे १६ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा जनज्योति प्रथम भएकाे हाे ।
प्रतियोगिता हेटौंडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएकाे प्रतियाेगितामा कर्रा तेक्वान्दो डोजाङ द्वितीय र मकवानपुर तेक्वान्दो डोजाङ तृतीय भएका छन् । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय भएकाे समूहले शिल्ड प्राप्त गरे । यस्तै, प्रतियोगिताको महिलातर्फ २० केसी तौल समूहमा नामटार तेक्वान्दो डोजाङको सन्जिता घिमिरे, ४० देखि ४५ केसी तौल समूहमा जनज्योती तेक्वान्दो डोजाङको सृजना कुवँर उत्कृष्ट खेडाली घोषित भएका छन् ।
यस्थै, पुरुषतर्फ ३२ देखि ३६ तौल समूहका इन्द्रसरोवर तेक्वान्दो डोजाङको पेम्बा लामा र ५८ देखि ६२ केसी समूहका कर्रा डोजाङका अमन माझी उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा जिल्लाभरका २१ वटा डोजाङबाट ३ सय खेलाडीहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा पुरुषतर्फ २० केजीदेखि ६२ केजी तौलसम्म तथा महिलातर्फ २० केजीदेखि ५८ केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताको विजेता र उपविजेताका लागि मकवानपुर जिल्ला खेलकुद विकास समितिले शिल्ड उपलब्ध गराएको छ । टाढाबाट आएका खेलाडीका लागि जिल्ला खेलकुद विकास समितिले आवासको व्यवस्था समेत गरिदिएको छ ।
मकवानपुर । दामोदर-लोकप्रिया स्मृति पुरस्कार अन्तरा महतो र प्रज्वल चौधरीलाई प्रदान गरिएको छ । नेपाली लेखक संघ मकवानपुरको नवौँ साधारणसभामा १२ कक्षाको परीक्षामा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने अन्तरा र प्रज्वललाई उक्त पुरस्कारबाट सम्मानित गरिएकाे हाे ।
लेखक सङ्घ मकवानपुरले जिल्लाबाट कक्षा १२ को परीक्षामा उच्चतम नतिजा ल्याउने अन्तरा र प्रज्वललाई पुरस्कृत गरेको हो । लेखक सङ्घको शनिबार हेटौंडामा भएको साधारणसभाको अवसरमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टबाट कक्षा १२ उत्तीर्ण गरेका चौधरी र महतोलाई प्रति व्यक्ति ११ हजार नगद र प्रमाणपत्रसहित उक्त पुरस्कार प्रदान गरिएको हो । अन्तराले ३.९ जीपीए र प्रज्वलले ३.७३ जीपीएसहित उत्कृष्ट नतीजा हासिल गरेका थिए ।
नेपाली लेखक सङ्घ मकवानपुरका निवर्तमान अध्यक्ष विष्णुप्रसाद गौतम र उहाँका मामा माधवप्रसाद पोखरेलले आफ्ना पूर्वजको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन । ‘यस वर्षदेखि पुरस्कार प्रदान गर्न सुरु गरिएको छ’ नेपाली लेखक सङ्घ मकवानपुर अध्यक्ष छवि अनित्यले भने’अक्षयकोष स्थापना भएकोले पुरस्कारले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने छ ।
सङ्घ मकवानपुरका अध्यक्ष अनित्यको अध्यक्षतामा भएको साधारणसभामा नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य हयग्रीव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका निवर्तमान कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने, लेखक सङ्घ मकवानपुरका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, पुरस्कार संस्थापक विष्णप्रसाद गौतमलगायको उपस्थिति रहेको थियो ।
मकवानपुर । संघीय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कमजोर आर्थिक अवस्थाको कारण उपचारमा कोहिमा कोहि बञ्चित हुनुनपर्ने बताएका छन । शनिबार हेटौंडामा पत्रकारसंग कुरा गर्दै मन्त्री बस्नेतले नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको दावी गरे । ‘वर्तमान सरकारले स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित हुने रणनीति लिएको छ ।’
मन्त्री बस्नेतले देशैभरका अस्पतालहरुमा १० प्रतिशत निःशुल्क उपचारको निर्णय कार्यान्वयन भइरहेको बताउँदै उक्त सुविधा लिन नसकेका विपन्न नागरिकको उपचार सरकारले गर्ने बताए । ‘हामीले सरकारी तथा प्राइभेट स्वास्थ्य संस्थाहरुलाई जनताको स्वास्थ्य उपचारको लागि सहज र सुलभ सेवा प्रवाह गर्न निर्देशन दिएका छौँ’ उनले भने चिकित्सा शिक्षा क्षेत्रको समस्या समाधानका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर अघि बढ्ने तयारी भइरहेको छ ।’ स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत सुधारसँगै कार्यान्वयनमा पनि सरकारले जोड दिएको उनले बताए ।
मन्त्री बस्नेतले चिकित्सकमाथि पटक पटक आक्रमणको घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याइने बताए । चिकित्सक र स्वास्थ्यकर्मीहरु माथि भएका आक्रमणमा छानबिन गरी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको समेत उनको भनाई छ । पत्रकार भेटघाृटमा काङ्ग्रेस मकवानपुरका सभापति बुद्ध लामा, बागमती प्रदेश वन तथा वातावरण मन्त्री मसिना खड्का लगायतकाे सहभागीता रहेको थियो ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका कुन्छालमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
असोज २० गते शनिबार बिहान ४: ३० बजे थाहा नगरपालिका वडा नम्बर ११ कुन्छाल स्थित त्रीभुवनराजपथ सडक खण्डमा कण्टेनर दुर्घटना हुदा चालक नुवाकोटका ४२ वर्षीय दिप श्रेष्ठको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिरगजंतर्फ बाट काठमाण्डौतर्फ जादै गरेको ना.६ ख ३९८७ नम्बरको कन्टेनर गाडी मोडमा आफै अनियन्त्रित भई सडक बाट ५० मिटर तल खसी दुर्घटना भएकोमा चालक नुवाकोट बेलकोट नगरपालिका ५ बस्ने श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनाको सम्बन्धमा कानुनी प्रकृया पूरा गरि थप अनुसन्धान भइरहेको बताईएको छ । दुर्घटना भएको कन्टेनर घट्नास्थलमा रहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको बालज्योति माविमा स्वस्थकर खाना प्रदर्शनी भएको छ । हेटौंडा ५ पिप्लेस्थित बालज्योतिमा शुक्रबार स्वस्थकर खाना प्रदर्शनी गरिएको हो ।
स्वस्थ्यकर खानाको प्रदर्शन गरी विद्यालयका सबै विद्यार्थीलाई स्वस्थ खानाको आवश्यकता, महत्व र फाईदाको जानकारी गराइएको विद्यालयकी नर्स प्रतिमा सेढाइले बताइन् ।
नर्स सेढाईका अनुसार स्वस्थकर खाना प्रदर्शनी कार्यक्रममा प्रयोग भएको फ्लेक्स, चार्टपेपरहरु विद्यार्थीले आफैँ बनाएका थिए ।
विद्यालयले स्वस्थ खानपिन, पोषिलो खानेकुरा र असल व्यवहारलाई लक्ष्य बनाएर कार्यक्रम सञ्चालन गरेको हो । नर्स सेढाईका अनुसार चिनी, चिल्लो, नुन, तेल सीमित रुपमा खानुपर्ने बताउनुभएको छ । एउटा स्वस्थ आमा बन्नका लागि किशोर उमेरदेखि नै स्वस्थ खानपिन गर्न आवश्यक पर्ने सेढाईले बताईन ।
कक्षा ६ देखि माथिका विद्यार्थीले बनाएको पोषण पिरामिडमा आवश्यकता अनुसार अन्न र कन्दमुल, गेडागुडी दाल, फलफुल र सागपात, पशुपंक्षीजन्य र माछामासु राखिएको थियो ।
स्वस्थकर खाना प्रदर्शनीको वडाध्यक्ष सुशील घिमिरेसहित वडा सदस्यहरु, शिक्षक, अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले अवलोकन गरेका थिए ।
