मकवानपुर । राष्ट्रिय सभा सदस्य पदकाे लागि विहीबार भएकाे मतदान दिउँसाे ३ बजे सकिएकाे छ । बामगती प्रदेशकाे ४ सहित १९ सदस्य पदका लागि भएको निर्वाचन सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हाे ।
आगमी फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो । १ पदमा भने राष्ट्रपतिबाट मनाेनित हुनेछ । बागमती प्रदेश अन्तरगत हेटौडाकाे भुटनदेवी माविमा भएकाे मतदानमा ३ सय ४२ मतदाताले मतदान गरेका छन् ।
प्रदेश सभाकाे १ सय १० र स्थानीय तहका २ सय ३७ मतदातासहित ३ सय ४७ मतदाता रहेको बागमतीमा काठमाडौँका मेयर बालेन शाहसहित ५ जना मतदानमा अनुपस्थित भए । प्रदेश तर्फ १ सय ८ र स्थानीय तर्फ २ सय ३४ मतदाताले मतदान गरे । प्रदेश तर्फ २ र स्थानीय तर्फ ३ मत खसेन । प्रदेश तर्फ हाम्राे नेपाली पार्टीका शैलेन्द्र बज्राचार्य र सरिता खड्की र स्थानीय तह तर्फ नुवाकाेट किस्पाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङ र काभ्रे चौरी देउराली गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङ मतदानमा सहभागी नभएकाे निर्वाचन अधिकृतकाे कार्यालय हेटौडाले जनाएकाे छ ।
निर्वाचन आयोगले बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । बागमतीमा मतगणना बारे सर्वदलीय सर्वपक्षिय बैठक बस्ने तयारी भइरहेकाे छ । बैठक पछि आजै मतगणना सुरु गरिने निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । संभवत आजै मतपरिणाम समेत सार्वजनिक हुनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदाता रहन संवैधानिक प्रावधन बमाेजिम मतदानमा सहभागी भएका हुन् ।
कोसी प्रदेशमा कुल ३ सय ६७ मतदाता रहेकोमा ३ सय ६४ मत खसेकाे छ । धरानका हर्क साम्पाङ र मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार अनुपस्थित भएका छन् । झापा गाउँपालिकाका जयनारायण साह भ्रष्टाचार मुद्दामा निलम्बित भएकाले उनी पनि मतदानमा सहभागी भएनन् ।
मधेस प्रदेशमा एक जना मतदाता बाहेक सबैले मतदान गरेका छन् । प्रदेशमा ३ सय ७४ मतदाताले मतदान गरेका छन् । त्यस्तै गण्डकीमा २ सय २९ जनाले मतदान गरे । सहकारी ठगी काण्डमा फरार रहेका ढोरपाटनका मेयर देवकुमार नेपाली भने मतदानमा सहभागी भएनन् । त्यस्तै लुम्बिनीमा ३ सय ५ जना मतदाता रहेकोमा स्थानीय तहकाे दुइ जनाले मतदान गरेनन् ।
यसैगरी १ सय ९६ मतदाता रहेका कर्णालीमा शत प्रतिशत मतदान भएको निर्वाचन आयाेगले जनाएकाे छ । सुदूरपश्चिममा २ सय २६ मतदाताले मतदानमा सहभागी जनाएका छन् । निर्वाचन आयाेगले सात प्रदेशमा एक–एक मतदान स्थल र दुई–दुई मतदान केन्द्र कायम गरेर मतदानको व्यवस्था गरेको थियो ।
बागमती प्रदेशबाट अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लस्टर) का चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा मतदान भएकाे हाे । राष्ट्रिय सभा सदस्य रहेका बागमती प्रदेशका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र सांसद खिमलाल देवकोटाको पद रिक्त हुँदैछ। जस अनुसार निर्वाचनमा महिला, अपांगता÷अल्पसंख्यक, दलित र अन्य समूहका १/१ सिटका लागि प्रतिस्पर्धा भएकाे हाे ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाबाट प्रहरीले लागुऔषध गाँजा र नगदसहित १ जनालाई नियन्त्रणमा लिएकाे छ ।
थाहा नगरपालिका ८ गल्छीबाट प्रहरीले धादिङ किरानचोक–४ घर भई हाल गजुरी गाउँपालिका–८ महादेवखर्क बस्ने ४३ वर्षीय सानुकान्छा स्याङ्तानलाई १० किलो लागुऔषध गाँजा र ७५ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
विशेष सूचनाको आधारमा बुधबार ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी निरीक्षकको टोलीले पैदलयात्री स्याङ्तानलाई जाँच गर्दा उक्त परिमाणकाे लागुऔषध गाँजा र नगद फेला पारेको थियो । स्याङ्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तरगत हेटौंडास्थित भुटनदेवी मावि मतदान केन्द्रमा मतदान जारी रहेको छ । मतदानमामा अहिलेसम्म प्रदेशसभातर्फ प्रदेश तर्फ १ सय र स्थानीय तर्फ २ सय २५ जनाले मतदान गरेका छन् ।
प्रदेशसभातर्फ ११० मतदाता रहेका छन् । स्थानीय तहतर्फ २३७ मतदाता रहेका छन् । बागमतीमा रिक्त हुने ४ पदका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मतदान विहान ९ बजे सुरु भएकाे छ भने दिउँसाे ३ बजे सम्पन्न हुने छ । निर्वाचन लगत्तै आजै मतगणना गरी नतिजा सार्वजनिक गरिने निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा नर्सिङ दिवसको अवसरमा प्रजनन स्वास्थ्य शिविर संचालन गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाईमा राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको हाे ।
हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा नेपाल नर्सिङ संघ मकवानपुरले आयोजना गरेको प्रजनन् स्वास्थ्य (भिआइए) परीक्षण गरिएको हो । शिबिरमा हेटौंडा १५ चुरीयामाईका १ सय ५७ जनाले सुबिधा लिएका थिए । शिविरमा आएका मध्य ८७ जनाको (भिआइए) परिक्षणमा ४ जनामा समस्या देखिएको संघका अध्यक्ष गंगाकुमारी दाहालले जानकारी दिइन् ।
उनका अनुसार १ जनामा रिङ्ग राखिएकाे को छ । बुधबार बिहानबाट सुरु भएको शिविरले महिलाहरुलाई परेको समस्या गाउँमै पुगेर निराकरणको प्रयास भएको अध्यक्ष दाहाले बताइन् ।
एक दिन सञ्चालन भएको शिविरको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । शिविरको उद्घाटन गर्दै नगर प्रमुख लामाले आफूलाई परेको स्वास्थ्य समस्या नलुकाउन आग्रह गरीन् । समस्या लुकाउँदा पछि आफैलाई समस्या हुने भन्दै परिवारसँग खुलेर कुरा गर्दै रोगबाट बच्न सुझाब दिइन् । घरमा भन्न नसक्दा घेरै महिलाहरु रोगको शिकार भएको भन्दै समस्या बताउनका लागि उपमहानगरपालिकाले गाउँगाउँमा यस्ता शिविर सञ्चालनका लागि सहकार्य गरेको बताइन् ।
संघ मकवानपुरका अध्यक्ष गंगाकुमारी दाहालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान, चुरियामाई स्वास्थ्य चौकी प्रमुख धनेश्वर शाह, हटिया अस्पतालका प्रमुख अनन्त बास्कोटा, चुरियामाई माविका प्रधानाध्यापक भिमसेन तिमल्सिना लगायतको उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित बालगृहलाई हेटौडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेकाे उपभाेक्ता समितिले साद्यान्न सहयाेग गरेकाे छ । हेटौडा २ मा गठन भएकाे पुरानो मकवानपुर रोड सडक, ढल, पेटी निर्माण उपभोक्ता समितिले बालगृहलाई खाद्यान्न सहयोग गरेको हाे ।
समितिका पदाधिकारीले खाद्यान्न अभाव झेल्दै आएका भीमफेदी बालगृहका बालकका लागि बुधबार बालगृह पुगेर सहयोग प्रदान गरेको हो । बालगृहमा खाद्यान्नकाे अभाव रहेकाे जानकारी पाएपछि समितिले बचतबाट आएको व्याज रकमबाट चामल, दाललगायतका खाद्यान्न बालगृहलाई सहयोग गरिएको समितिका अध्यक्ष मञ्जु दाहाल खतिवडाले बताइन् ।
खतिवडाका अनुसार अनुसार बालगृहमा चामल, दाल, चिउरा, तेल, चना, चिनी, गेडागुडी, अण्डा, नुन, चियापत्तीलगायतका खाद्यान्न ३० हजार रुपियाँ बराबरको सहयोग बालगृहमै नेपाल बाल सङ्गठन मकवानपुरका अध्यक्ष अशोक सारू मगरलाई हस्तान्तरण गरिएकाे हाे ।
उपभोक्ता समितिले दैनिक उपभोग्यका सामग्रीहरु नेपाल बाल सङ्गठन मकवानपुरका अध्यक्ष अशोक सारू मगरलाई हस्तान्तरण गरेको थियो । खाद्यान्न हस्तान्तरण कार्यक्रममा उपभोक्ता समितिका उपाध्यक्ष राजु श्रेष्ठ, सचिव शैलेश मानन्धर, कोषाध्यक्ष अजय मानन्धर, सदस्य कृष्णकला पुडासैनी, सङ्गठनका जीवन तिमिल्सनालगायतको उपस्थिति रहेको थियो ।
बालगृहमा हाल १४ जना बालक रहेका छन् । बाल गृहमा आश्रित बालिकाहरुलाई अन्य बालगृहमा स्थानान्तरण गरिएकाे बताइएकाे छ ।
