मकवानपुर । स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कनको आधारमा मकवानपुरकाे हेटौडा उपमहानगरपालिका प्रथम भएकाे छ । मकवानपुरका १० वटा स्थानीय तहमध्ये हेटौडा ३७.११ अंकसहित प्रथम भएकाे हाे ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहसहित प्रदेश सरकारले प्राप्त गरेको अंक समेत फागुन ८ गते मंगलबार सार्वजनिक गरेको हो । कार्यसम्पादन मूल्याङकनको सूचकका आधारमा स्थानीय तहमा वित्तिय समानीकरण अनुदानको अंक निर्धारण हुने गर्दछ । सार्वजनिक कार्यसम्पादन मूल्याङ्कनमा थाहा नगरपालिका दोस्रो स्थानमा रहेको छ । थाहाले ३६.६६ अंक प्राप्त गरेको छ ।
मकवानपुरका स्थानीय तहमा कार्यसम्पादनमा सबैभन्दा कमजोर बागमती गाउँपालिकाकाे अंक रहेकाे छ । बागमतीले कार्यसम्पादन मुल्याङ्कनमा १६.२२ अंक मात्र प्राप्त गरेको छ । आयोगले १७ मध्ये १४ वटा सूचकमा मात्र स्थानीय तहको मूल्याङ्कन गरेको जनाएको छ । कार्यसम्पादन मूल्याङ्कन अनुसार इन्द्रसरोवर गाउँपालिकाले २५.५२ अंक पाएको छ । १४ सूचक मध्ये इन्द्रसरोवरले ८ वटा सूचकमा शुन्य अंक प्राप्त गरेकाे हाे । कैलाशले ५ सूचकमा शुन्यसहित ३२.५२, महनरीले ८ सूचकमा शुन्य अंकसहित २९.८४, भीमफेदीले ६ सूचकमा शुन्य अंकसहित ३१.९१ अंक प्राप्त गरेकाे छ ।
त्यसैगरी मकवानपुरगढीले ६ वटा सूचकमा शुन्यसहित ३१.९७, बकैयाले १० सूचकमा शुन्यसहित २४.८४ अंक र राक्सिराङले ८ सूचकमा शुन्यसहित २४.२४ अंक प्राप्त गरेको छ । सबैभन्दा कमजोर बागमती गाउँपालिकाले ९ वटा सूचकमा अंक शुन्य पाएको छ । जिल्लाकै उत्कृष्ट हेटौंडा उपमहानगरपालिकाले ५ वटा सूचकमा शुन्य अंक प्राप्त गर्दा दोस्रो थाहा नगरपालिकाले ३ वटा सूचकमा मात्र शुन्य अंक प्राप्त गरेको हो ।
यसैबीच ७ प्रदेश मध्ये कोशी प्रदेश कार्यसम्पादन मूल्याङ्कनमा ३० अंकसहित प्रथम स्थानमा रहेको छ । मधेस प्रदेशले २२.३१, बागमती प्रदेशले २७.२९ अंक पाएको छ । त्यस्तै गण्डकीले २३.०७, लुम्बिनीले १६.९९, कणालीले २०.९८ र सुदुरपश्चिम प्रदेशले २१.०८ अंक प्राप्त गरेकाे छ ।
प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश र स्थानीय तहका लागि निर्धारण गरिएको ले जनाएको छ । नतिजामा चित्त नबुझे ७ दिनभित्र आवश्यक आधार र प्रमाणसहित पुनरावलोकनका लागि आयोगमा निवेदन दिन सकिनेछ ।

मकवानपुर । मकवानपुर जिल्ला मनहरी गाउँपालिकाकी ५४ वर्षिया अनिता गौतमलाई स्वास्थ्य उपचारमा समस्या भएपछि सहयोगको अपिल गरिएको छ।
माघ १ गते आगलागीबाट घाइते भएकी मनहरी गाउँपालिका ४ मसिने निवासी अनिताको उपचारका लागि आर्थिक समस्या भएपछि सहयोगको अपिल गरिएको हो ।
हाल काठमाडाैकाे किर्तिपुर हस्पिटलमा उपचाररत अनिताको उपचारमा हालसम्म ५८ हजार ४ सय रुपैया खर्च भएको मनहरी गाउँपालिका निवर्तमान उपाध्यक्ष मनिला विष्टले बताइन् । उनकाे उपचारार्थ केही सहयाेगीहरुबाट संकलन गरिएकाे रकममध्ये अब ७ हजार ५ सय मात्रै बाँकी रहेकाेले सहयाेगीहरुलाई अपिल गर्नु परेकाे विष्टले बताइन् ।
आगाे ताप्ने क्रममा कपडामा आगाे सल्केर घाइते भएकी अनिता ८ वर्षदेखि एक्लै बस्दै आएकी छिन् । अरुकाे घरमा भाँडा माझ्ने दैनिक ज्यालादारी काम गर्ने गरेर जुगारा चलाउँदै आएकी उनलाई बचाइदिन विष्टले अनुराेध गरिन् ।
हालसम्म विभिन्न सामाजिक अभियन्ताहरुबाट सहयोग संकलन गरेर खर्च जुटाएको तर अझै समस्या भएको विष्टले बताइन् । आर्थिक सहयोगले औषधि उपचारदेखि बिरामीलाई चाहिने कपडा खाना खाजा बिरामी कुरुवा समेतको दैनिक खर्च व्यहोर्न समस्या भएको उनले बताइन् ।
‘आगामी दिनमा कसरी उपचार गर्ने भनेर नै आत्तेस लागिसक्यो’ उनले भनिन् । बिरामीको अवस्था भने सुधार भएको विष्टले बताइन् ।
उपचारको क्रममा हस्पिटलको तर्फबाट बेड र डक्टर शुल्क छुट गरिएको तर औषधि उपचार, अन्य सामग्रीहरु जुटाउन सहयोगको अपिल गरिएको हाे ।
मकवानपुर । मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा शसस्त्र प्रहरीकाे फुटबल क्लब एपीएफ फाइनल प्रवेश गरेको छ ।
प्रतियाेगिता अन्तर्गत मंगलबारकाे दोस्राे सेमिफाइनलमा त्रिभुवन क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै एपीएफले फाइनलमा स्थान बनाएकाे हाे । बागमती गाउँपालिका फापरवारीस्थित जनता माविकाे खेल मैदानमा एपीएफले पहिलो हाफकाे ४ औं मिनेटमा गोल गर्दै अग्रता बनाएकाे थियाे । एपीएफ तर्फबाट फोडेफोफनाले गरेकाे १ गोल नै खेलकाे निर्णायक गोल रह्याे ।
अब फाइनलमा एपीएफले मच्छिन्द्रसँग भिड्ने छ । प्रतियोगिता अन्तर्गत सोमबार भएकाे पहिलाे समिफाइनलमा न्युरेाड टिम (एनआरटी) लाई सहज जीतका साथ मच्छिन्द्रले फाइनल प्रवेश गरेकाे हाे । मंगलबार भएकाे समिफाइनल खेलको म्यान अफ द म्याच एपीएफका बुद्धीमान राई घाेषित हुदै नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । पाँचौं संस्करणको उपाधीको विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिकाले भने यो प्रतियोगितामा सहभागिता जनाएको छैन ।
मकवानपुर । मुक्तक मञ्च मकवानपुरले ३ जना मुक्तककारलाई सम्मान गरेको छ ।
सोमबार मञ्चको प्रथम अधिवेशन तथा १४ औँ मुक्तक वाचन श्रृङ्खला कार्यक्रममा मुक्तककार दीपक समिप (पोखरा),हरिकृष्ण काफ्ले(रौतहट) र बिर्खे अन्जान(मकवानपुर)लाई सम्मान गरिएको हो ।
मुक्तक मञ्च मकवानपुर अध्यक्ष डिबी बर्तौलाले आफ्ना पिताको स्मृतिमा स्थापना गरेको ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८०’ बाट पोखराका मुक्तककार समिप सम्मानित भए । उक्त सम्मानको राशि ७ हजार ७ सय ७७ रुपैयाँ नगद रहेको छ । गत वर्ष उक्त सम्मानबाट सिन्धुलीका मुक्तककार लोकेन्द्र डहरे सम्मानित भएका थिए ।
यस्तै मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलद्वारा स्थापित तारा स्मृति सम्मान २०८० बाट मुक्तककार काफ्लेलाई प्रदान गरेको छ । उक्त सम्मानको राशि ७ हजार ५ सय रुपैया रहेको छ । गत वर्ष सो सम्मानबाट मकवानपुरका देवराज खरेल सम्मानित भएका थिए ।
प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीद्वारा आफ्नो हजुरआमाको स्मृतिमा स्थापित नगद ५ हजार पाँच सय ५५ रुपैयाँ राशिको ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मानबाट २०७९’ थाहा नगरपालिकाका मुक्तककार बिर्खे अञ्जान सम्मानित भए । गत वर्ष उक्त सम्मानबाट माध्यमिक तह स्तरीय मुक्तक प्रतियोगिता विजेता समर्पण न्यौपाने सम्मानित भएका थिए ।
तीनै जना स्रष्टालाई नेपाली मुक्तक लेखनको क्षेत्रमा योगदान गरेकोमा नगदसहित सम्मान गरिएको मञ्च मकवानपुरले जनाएको छ ।
यस्तै मुक्तक मञ्चलाई विभिन्न माध्यमबाट सहयोग गरेको भन्दै पत्रकार सुजन ढकाल र प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी समेतलाई सम्मान गरिएको थियो । मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा अग्रज मुक्तककार देवराज खरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सम्मानित श्रष्टाले ५/५ वटा तथा किशन पौडेल, अजिता ओझा, देव निर्दोष, अनुसिया खनाल, प्रविना प्रयासीलगायतले मुक्तक वाचन गरेका थिए ।

मुक्तक मञ्च मकवानपुर अध्यक्षमा तिमल्सिना चयन
मुक्तक मञ्च मकवानपुरको अध्यक्षमा सागर तिमल्सिना चयन भएका छन् । सोमबार भएको प्रथम अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै मञ्च उपाध्यक्ष मेनु तिमल्सिना, सचिव सुवास सजल, सहसचिवमा स्वस्तिका बाँनिया र अजर फुयाँल, कोषाध्यक्ष मिथिला अधिकारी चयन भएका छन् । यसैगरी सदस्य अनु रोक्का, बैकुण्ठ लामिछाने, कमल नेपाल, देव निर्दोष र प्रयासी प्रविना चयन भएका छन् ।
मच्छिन्द्र क्लब बागमती गोल्डकपकाे फाइनलमा
Tags: No Comments
मकवानपुर । मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गरेको छ ।
सोमबार न्युरेाड टिम (एनआरटी) सँगकाे पहिलो सेमिफाइनलमा मच्छिन्द्रले सहज जीतका साथ फाइनलमा स्थान बनाएकाे हाे । बागमती गाउँपालिका फापरवारीस्थित जनता माविकाे खेल मैदानमा मच्छिन्द्रले एनआरटीलाई ५–१ काे फराकिलाे गोल अन्तरले पाखा लगाएकाे हाे ।
मच्छिन्द्रले खेलकाे पहिलाे हाफमा ३ गोलले अग्रता बनाएकाे थियाे । दोस्रो हाफकाे खेलमा मच्छिद्रले थप २ गोल गरी फराकिलाे अन्तर बनाएकाे थियाे । एनआरटीकाे तर्फबाट दाेस्राे हाफकाे ६० औ मिनेटमा सान्त्वना १ गोल भएकाे थियाे । खेलको म्यान अफ द म्याच मच्छिन्द्रका हिसुब थपलिया घाेषित हुदै नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत मंगलबार दोस्राे सेमिफाइनल खेल त्रिभुवन आर्मी र एपीएफ क्लबबीच हुनेछ । मच्छिन्द्रले अब त्रिभुवन आर्मी र एपीएफ क्लब बोचकाे खेलकाे विजयीसँग उपाधीकाे लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । पाँचौं संस्करणको उपाधीको विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिकाले भने यो प्रतियोगितामा सहभागिता जनाएको छैन ।