मकवानपुर । मकवानपुरको हेटौंडामा खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन प्रतियोगिता हुने भएको छ ।
हेटौंडा उपमहानगरापालिकाको सहयोग र नगर खेलकुद बिकास समितिको व्यवस्थापनमा फागुन १८ गते प्रतियोगिता सञ्चालन हुने आईतबार पत्रकार भेटघाट गरी जानकारी दिइएको हो । गत वर्षमा जिल्ला स्तरीय प्रतियोगितामा सिमित रहेको हेटौंडा रनलाई यस बर्ष पहिलो पटक राष्ट्रिय प्रतियोगिताको रुपमा सञ्चालन गर्न लागिएको नगर खेलकुद विकास समिति अध्यक्ष रबिन्द्र घिमिरेले जानकारी दिए ।
हेटौडा रन प्रतियाेगिता ५ किमिकाे हुनेछ । हेटौंडाको बुद्धचोकबाट हेटौंडा–५ पिप्ले पुगि पुनः बुद्धचोकमा फर्किएर दौडपुरा हुने बताइएकाे छ ।दौडमा १६ बर्ष उमेर पुरा भएका नेपाली नागरीक सहभागी हुन पाउने छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमश: ६० हजार, ५० हजार, ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेलकुद शाखा प्रमुख बसन्त सिटौंलाले जानकारी दिए ।
यसैगरी प्रोत्साहन स्वरुप दुई जना १०/१० हजार रुपियाँ सान्त्वना पुरस्कार प्रदान गरिने सिटौंलाले बताए । उनका अनुसार प्रतियोगितामा सहभागी हुनेले फागुन १८ गते विहानसम्म नाम दर्ता गर्न सक्नेछन् । करिब ४ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा १ सय जनाको सहभागिता रहने अनुमान आयोजकले गरेको छ ।
मकवानपुर / खानी उत्खननपछि निस्केको डस्टले खोला भरिएर दुर्घटनाको संभावना हुंदासम्म खानी सन्चालक शिवम सिमेन्टले वास्ता नगरेपछि स्थानीयले प्रशासन गुहारेका छन् । खानी पीडितहरू खानीको ओभर बडेनको कारण ग्रामीण बस्तिमा हुनसक्ने दुर्घटना औल्याउँदै जीवन रक्षाको माग गरेका छन् ।
मकवानपुरगढी गाउँपालिकाको सुकौरामा शिवम् सिमेन्ट उद्योगले जंगलका सालका रुख समेत काटेर खानी क्षेत्र बिस्तार गर्दै ओभर बडेन समेत यत्रतत्र फालेको छ । खानी बिभागसँगको सम्झौता विपरित सुकौराको खोटार खानी क्षेत्रमा हरिया सालका रुख समेत एक्साभेटरले उखलेर फालेको पाईएको छ । खानी क्षेत्रको ओभरबडेन समेत त्यसै फालिएको छ ।
जंगलको पहाड जथाभावि रुपमा खन्दै तल त्यसै फाल्दा यहाँको बस्ती समेत जोखिममा परेको छ । शिवम सिमेन्ट उद्योगले तोकिएको जंगल क्षेत्रबाट मात्र उत्खनन् गर्नुपर्ने स्थानमा त्यसको पाँच गुना समेतको क्षेत्रफलमा उत्खनन् गरिरहेको स्थानीय प्रतक्षदर्शीहरु बताउँछन् । जंगलको एरिया समेत उत्खनन् गरेर त्यसै फाल्दा मकवानपुरगढीको चार वटा वडाका वासिन्दाहरु निकै समस्यामा परेको स्थानीय वासिन्दाहरुले बताएका छन् ।
मकवानपुर गढी गाउँपालिकास्थित खोटार खानीमा भएको अव्यवस्थित उत्खनन् कारण उत्पन्न समस्याहरुका बारे ब्यापक जनगुनासो आएपछी शनिबार मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बतौलाको नेतृत्वमा खानी क्षेत्रको अनुगमन गरिएको छ ।
खानी क्षेत्रका वासिन्दाहरुलाई प्रत्यक्ष रुपमा असर पर्नेगरी भएको उत्खनन् र ओभरबडेन फालेका कारण तलको वस्ती जोखिममा परेको भन्दै सांसद बतौलाको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइ, स्थानीय वासिन्दाहरु सहितले खानी क्षेत्रको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा सांसद बतौलाको नेतृत्वको टोलिले पाँच वुँदे निर्देशन दिएको छ । शिवम सिमेन्ट उद्योगले खानी सन्चालन सम्बन्धी मापदण्ड र सम्पुर्ण शर्तहरू पुर्ण कार्यान्वयन गरेर मात्रै खानी सन्चालन गर्नुपर्ने, खानीबाट निस्किएको र जथाभावी रुपमा खोलामा फालिएको ओभरबडेनलाई तत्काल व्यवस्थित गर्नुपर्ने, उक्त कार्य सम्पन्न नहुँदासम्म खानी उत्खनन कार्य बन्द गर्नुपर्ने, प्रभावित क्षेत्रमा बस्ती संरक्षणलगायत सामाजिक उत्तरदायित्व अन्तर्गतका कामहरु गर्नुपर्ने, आगामी दिनमा गाउँपालिकाको नेतृत्वसँग परामर्श, जानकारी र समन्वय गरेर मात्रै खानी सम्बन्धी सम्पूर्ण कार्य अगाडि बढ्ने र बढाउने निर्देशन दिइएको सांसद बतौलाले बताए ।
अनुगमनमा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईं, जिल्ला समन्वय समिति सभापति ललित घलान, गाउँपालिकाका प्रतिनिधिहरूको उपस्थिति थियो । अनुगमनको क्रममा पुगेका नेतृत्वसंग स्थानीयहरूले जीवन सुरक्षाको माग गरेको थिए ।
घिमिरेको माटोको मोह लोकार्पण
Tags: No Comments
मकवानपुर । मकवानपुरका साहित्यकार तुलसी घिमिरेको कविता संग्रह माटोको मोह लोकार्पण गरिएकाे छ । साहित्य संगमकाे ३ सय ४० औं सन्ध्यामा हेटौडामा शनिबार घिमिरेकाे कविता संग्रह विमाेचन गरिएकाे हाे ।
कृतिकार घिमिरे,समाजसेवी मुक्तिगाेविन्द वैद्य, व्यङ्यकार आरसी रिजाल, प्राध्यापक निरा शर्मा, हेटौडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, अग्रज साहित्यकार देवराज खरेल, साहित्य संगम मकवानपुर अध्यक्ष डीबी बर्तौलालगायतले माटोकाे माेहकाे लाेकार्पण गरेका हुन् ।साहित्य संगम मकवानपुर संस्थापक हाल सल्लाहकार कवि घिमिरेकाे यस अघि फूलका कुरा जूनका कुरा गीत संग्रह २०७१ प्रकाशित छ ।
विमाेचन गरिएकाे कृतिमाथि कवि सुवास खनाल र समिक्षक घनश्याम घिमिेरेले समिक्षात्मक टिप्पणी गरेका थिए । कवि खनालले घिमिरे लेखनका विविध आयाम कविता, गजल, मुक्तक, गीतलगायतमा फेलनु भएका बताए । सचेतता र वैचारिकताका साथ लेखन यात्रामा रहनु भएका घिमिरेकाे माटोकाे माेह कृति भित्रका कवितामा ग्रामिण परिवेश जीवनप्रतिकाे प्रेम र देशकाे सही यात्राकाे अपेक्षा गरिएकाे खनाले बताए । उनले देशकाे व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै रहेकाेले राजनीति प्रतिकाे असन्तुष्टि स्वभाविक ढंगले कृतिमा आएकाे बताए । गाउँ तथा देश छाडी जानेहरुलाई फर्केर आफ्नै माटोमा पसिना बगाउन समेत उनले कवितामर्फत आग्रह गरेकाे खनालले बताए ।
यसैगरी समिक्षक घनश्यामले कवितामा अहिलेका पुस्ताले बिर्सिसकेका तथा सुन्दै नसुनेका शब्दकाे प्रयाेग गरेर कविता लेखिएकाले भाषा साहित्यका विद्यार्थीकाे लागि अनुसन्धानकाे विषय हुने बताए । कविताहरुमा आर्गानिक बिम्बहरुका साथ लेखिएका कविता कृतिले पाठकमा मनमा प्रभाव छाड्न सक्ने बताए ।
यसैगरी साहित्य सङ्गम मकवानपुरले प्रदान गर्ने ‘शेषजङ्ग स्मृति कथा पुरस्कार-२०८०’ ‘आदर्श मानव’ कथाकालागि समर्पण न्यौपानेलाई प्रदfन गरिएकाे छ । नगद ५ हजार रुपैया राशीकाे उक्त पुरस्कार स्वर्गीय डेन्टिजङ्ग शाहले आफ्नो छाेराकाे नाममा स्थापना गरेका थिए । संगमले समयावधी ताेकेर सूचना प्रकाशित गरी माग गरिएको कथाहरूको मूल्याङ्कनबाट ज्ञानदीप शिक्षा निकेतन माविका छात्र न्यौपाने उत्कृष्ट हुँदै उक्त पुरस्कारद्वारा सम्मानित भएका संगम अध्यक्ष डीबी बर्तौलाले बताए ।
यसैगरी ‘णकुमारी स्मृति साहित्य पुरस्कार-२०८०’ बाट सुजिता कुमारी विश्वकर्मा सम्मानित भएकी छिन् । मकवानपुरका अग्रज साहित्यकार तथा व्यङ्यकार आरसी रिजालले आफ्नी आमाकाे स्मृतिमा स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी नगद ५ हजार रुपैया रहेकाे छ । समयावधी ताेकेर सूचना प्रकाशित गरी माध्यमिक विद्यालयका छात्राहरू बिच स्थलगत निबन्ध प्रतियोगिता गराई प्रतियोगितामा उत्कृष्ट हुदै ज्योति माध्यमिक विद्यालय हर्नामाडीकी छात्रा विश्वकर्मा उक्त पुरस्कारबाट सम्मानित भएकी हुन् ।
संगम अध्यक्ष डीबी बर्तौताकाे अध्यक्षता वडा अध्यक्ष नविन सिग्देलकाे प्रमुख आतिथ्यतामा भएकाे ३ सय ४० साहित्य सन्ध्या कृति लाेकार्पण तथा पुरस्कार समर्पण कार्यक्रमकाे सहजीकरण संगम सचिव मनोज पोखरेलले सहजीकरण गरेका थिए ।

मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा पर्खाल ढलेर च्यापिदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौडा ५ सिचाईटोलका बसन्त महर्जन रहेकाे प्रहरीले जनाएकाे छ ।
शुक्रबार अपरान्ह हेटौडा ५ सिचाईटोलमा खानेपानीको काम गर्ने क्रममा पर्खाल ढलेर च्याप्पिदा ४० वर्षीय महर्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । खानेपानीको काम गर्ने क्रममा ईट्टाको पर्खाल ढलेर च्याप्पिदा उनी गम्भिर घाईते भएका थिए । गम्भीर अवस्थामा उद्धार गरी उपचारार्थ हेटौंडा अस्पताल ल्याईएकोमा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
शव हेटौँडा अस्पतालमा रहेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुर । श्यामप्रसाद श्रेष्ठको लघु कथासंग्रह “व्यथाभित्रको कथा” सार्वजनिक गरिएको छ । पोखरामा आयोजना भएकाे नेपाल–भारत साहित्य महोत्सवमा हेटौंडाका श्रेष्ठको कथासंग्रह सार्वजनिक गरिएको हो ।
पाँचौं संस्करणको महोत्सवअन्तर्गत पहिलो दिन बिहिबार कृति लोकार्पणसँगै लघुकथा एवम् काव्य वाचन भएको छ । महोत्सव भाेलीसम्म संचालन हुनेछ । क्रान्तिधरा साहित्य अकादमीद्वारा आयोजित महोत्सवको उद्घाटन सत्रमा हेटौँडाका लघुकथाकार किशन पौडेलको हिन्दी अनूदित लघुकथा कृति “अन्तरदृष्टि” लघुकथा संग्रहको औपचारिक लोकार्पण र समीक्षा समेत गरिएको थियो ।
विमोचित कृतिमाथि भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट र भारतका वरिष्ठ साहित्यकार विभा रानी श्रीवास्तवले चर्चा गरे । क्रान्तिधरा साहित्य अकादमीका संस्थापक अध्यक्ष विजय पण्डितको संयोजकमा आयोजित कार्यक्रममा वरिष्ठ काव्यकार डा. बलराम उपाध्याय रेग्मीको सभाध्यक्षतामा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालको प्रमुख आतिथ्यता,वीरगन्जका साहित्यकार गणेश प्रसाद लाठकाे विशिष्ट आतिथ्यता, भारतीय दूतावासका अधिकारी सत्येन्द्र दहिया, नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठानका पूर्व उपकुलपति सरुभक्त श्रेष्ठ, बर्दघाट प्रज्ञा प्रतिष्ठानको उपकुलपति डा. घनश्याम परिश्रमी, भारत पटनाको वरिष्ठ लघुकथाकार विभा रानीको पनि आतिथ्य रहेको थियो ।