मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा गाउँपालिकामा शनिबार दिउँसो बोलोरो जीप र टाटा सुमो आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरोमा सवार काभ्रेको पनौती नगरपालिका–१ का ३७ वर्षीय पूर्णबहादुर तामाङ रहेका छन् ।
हेटौंडा–भीमफेदी–काठमाडौं छोटो मार्गअन्तर्गत इन्द्रसरोवर –३, धाराढोलामा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरित दिशाबाट आउँदै गरेको बा ९७६८ नम्बरको बलेरो गाडी एक आपसमा ठोकिएर भएकाे दुर्घटनामा हाल काठमाडौं बस्दै आएका पूर्णबहादुरकाे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका पूर्णबहादुरको उपचारको क्रममा ललितपुरस्थित बी एण्ड बी हस्पिटलमा शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा १८ जना घाइते भएका छन् । उनीहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बोलेरो गाडी काठमाडौं ३२ पेप्सिकोला स्थित पानि कम्पनीका कामदारहरु लिएर सिस्नेरी मकवानपुर पिकनिकको लागि आउदै गर्दा अनियन्त्रित भई पल्टिएर सुमोमा ठक्कर खाएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले सुमो चालक काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका–१४ का ४५ वर्षीय मनोज श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
घाइतेहरुकाे विवरणः
बि.एण्ड बि.अस्पतालमा उपचारार्थ बाेलेरो पिकअप गाडिमा सवार
- जि.काभ्रे घर भई हाल जि.काठमाण्डौ पेप्सिखोला बस्ने बर्ष अं.३० को जुनु बाबु तामाङको बाया हातमा चोट मध्यम
- जि.सुनसरी घर भई हाल भत्तपुर ठिमि बस्ने बर्ष अं.२१ को समिर उरमको टाउको र ढाडमा चोट अबस्था मध्यम
- जि.महोत्तरी घर भई हाल काठमाण्डौ पेप्सिकोला बस्ने बर्ष अं.२६ को रबी मगरको टाउकोमा र ढाडमा चोट अबस्था मध्यम
- जि.नुवाकोट घर भई हाल ऐ.ऐ.बस्ने बर्ष अं.१९ को टंक बहादुर तामाङको टाउकोमा र दाईने हातमा चोट अबस्था मध्यम
- जि.काभ्रे पनौती घर भई हाल जि.ललितपुर छतिवन बस्ने बर्ष अं.३० को रोहन तामाङको टाउको र दाईने हातमा चोट अबस्था मध्यम
- जि.काभ्रे कोशिपारी घर भई हाल जि.काठमाण्डौ जडिबुटी बस्ने बर्ष अं.४० को कुमार खरेलको टाउको, दाईने हात र छातीमा चोट अबस्था मध्यम
- पिकअप चालक जि.काभ्रे घर भई हाल काठमाण्डौ पेप्सीकोला बस्ने बर्ष अं.२४ को रोशन लामाको टाउको र ढाडमा चोट अबस्थामा मध्यम
- जि.काभ्रे पनौती घर भई हाल काठमाण्डौ बस्ने बर्ष अं.२८ को सुरेश लामाको छाडी र वाया खुट्टामा चोट अबस्था मध्यम
- जि.ऐ.ऐ.घर भई हाल काठमाण्डौ जडिवुटी बस्ने बर्ष अं.२६ को सुरेश तामाङको टाउको पेटमा चोट अबस्था मध्यम
- जि.महोत्तरी बर्दीबास घर भई हाल काठमाण्डौ पेप्सिकोला बस्ने बर्ष अं.४४ को कैष्ण बहादुर सुसलिङको दाईने कुम र टाउकोमा चोट अबस्था मध्यम
- जि.सोलुखुम्बु घर भई हाल काठमाण्डौ बस्ने बर्ष अं.२८ को गोपि खड्काको टाउको, कम्मर र दुवै खुट्टामा चोट अबस्था मध्यम
- जि.रामेछाप घर भई हाल जि.काठमाण्डौ जुरिबुटि बस्ने बर्ष अं.२१ को गुणराज भुजेल बाँया खुट्टामा छातिमा भित्रि चोट सामान्य
बौद्ध अस्पतालमा उपचारार्थ पिकअपको घाईतेहरुको बिवरण :-
- जि.महोत्तरी बस्ने बर्ष अं.२० को कबिर मगरको बाया हात, कम्मर र टाउकोमा चोट अबस्था सामान्य ।
- जि.रामेछाप बस्ने बर्ष अं.१९ को सबिन मगरको कान, दुवै हात र पछाडीको भागमा चोट अबस्था सामान्य ।
- जि.ओखलढुङ्गा बस्ने बर्ष अं.१७ को अर्जुन मगरको टाउकोमा चोट अबस्था सामान्य ।
- जि.काभ्रे बस्ने बर्ष अं.१० को शिशिर तामाङको टाउकोमा चोट अबस्था सामान्य ।
ट्रमा सेन्टरमा उपचारार्थ सुमोको घाईतेको बिवरण :-
- जि.सिन्धुपाल्चोक बलेफि गा.पा.६ बस्ने बर्ष अं.५५ की लक्ष्मि श्रेष्ठ निधारमा चोट सामान्य
- जि.काठमाण्डौ चन्द्रागिरि न.पा.९ बस्ने बर्ष अं.४५ कि शान्ति महर्जन सुमोबाट झर्ने क्रममा दाहिने खुट्टामा सिसाले काटेको सामान्य
मकवानपुर । विश्व वातावरण दिवस–२०८३ को अवसरमा हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नं. १८ र वडा नं. ६ मा बोतलसंग फलफूलका बिरुवा साटासाट गरिएको छ ।
“१० वटा बोतलका बिरुवा बराबर १ वटा फलफूलको बिरुवा” साट्ने व्यवस्था गरिएको उक्त कार्यक्रममा दुई स्थानबाट गरी ४०० भन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले बताउनुभयो ।
स्थानीय बासिन्दाले खेर गएका कुनै पनि प्लास्टिकका बोतल ल्याई उन्नत जातका फलफूलका बिरुवा प्राप्त गरेका थिए। टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष अधिकारीले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा घरघरमा फलफूल उत्पादनको संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
उहाँले नगरलाई हराभरा र वातावरणमैत्री बनाउने अभियानमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। त्यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष अनिलकुमार बानियाँले यस्ता कार्यक्रमले वातावरण संरक्षणसँगै स्थानीय स्तरमा फलफूल उत्पादन बढाउन महत्वपूर्ण योगदान पुर्याउने बताउँदै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने बताउनुभयो।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले घरमै उत्पादन गरेका बिरुवाको उचित उपयोग हुनुका साथै फलफूलका बिरुवा प्राप्त गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका थिए। यस्ता कार्यक्रमले वातावरण संरक्षणप्रति नागरिकको चासो बढाउनुका साथै वृक्षारोपण अभियानलाई थप प्रभावकारी बनाएको उनीहरूको भनाइ थियो।
कार्यक्रम अन्तर्गत उन्नत जातका लिची, आँप, अम्बा, एभोकाडो, कागती लगायतका फलफूलका बिरुवा वितरण गरिएको थियो। आयोजकका अनुसार विश्व वातावरण दिवस–२०८३ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नगरका विभिन्न ६ स्थानमा यस्ता कार्यक्रम सञ्चालन हुने छन्। अभियानमार्फत १,००० भन्दा बढी फलफूलका बिरुवा वितरण गर्ने लक्ष्य रहेको र हालसम्म उत्साहजनक सहभागिता प्राप्त भएको जनाइएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा फलफूल खेती विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले नगरवासीमा सकारात्मक सन्देश प्रवाह गर्ने दाबि गरिएको छ ।
मकवानपुर । माध्यमिक तहस्तरीय मुक्तक प्रतियोगितामा स्वरुपा गुरागाईं प्रथम भएकी छिन् । मुक्तक मञ्च मकवानपुरले मंगलबार आयोजना गरेको मुक्तक प्रतियोगितामा हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयकी स्वरुपा गुरागाईं प्रथम भएकी हुन ।
हेटौंडा उपमहानगरपालिकाको प्रवर्धनमा भएको
प्रतियोगितामा हेटौंडा-५ स्थित जीएस निकेतनकी नित्यश्री अधिकारी द्वितीय र हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयकी रोशिका भट्टराई तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगितामा हेटौंडा-१० स्थित तुलसीमेहर मेमोरियल स्कूलकी अनसुया खनाल र अमर माध्यमिक विद्यालयकी समृद्धि बर्तौलाले सान्त्वना स्थान हासिल गरेका छन् । सान्त्वना हुने दुबै जनाले १/१ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले ‘असल समाज निर्माणमा विद्यार्थीको दायित्व एवम् जिम्मेवारी’ विषयलाई आधार मानी लेखेका मुक्तक वाचन गरेका थिए । मुक्तक मञ्चको ३४ औं मुक्तक वाचन श्रृङ्खलाअन्तर्गत माध्यमिक तहस्तरीय मुक्तक प्रतियोगिता आयोजना गरिएको मञ्च मकवानपुर अध्यक्ष सागर तिमल्सिनाले बताए ।
मुक्तक मञ्च अध्यक्ष तिमल्सिनाको सभाध्यक्षता तथा हेटौंडा-१ का वडाध्यक्ष सबिन न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
मकवानपुर । सुर्तीजन्य पदार्थको प्रयोगको कारण नेपालमा हरेक वर्ष करिब ३९ हजार मानिसको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अधिकृत लक्ष्मण घिमिरेले विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी दिनुभएको हो।
सुर्तीजन्य पदार्थ सेवनका कारण हुने मृत्युमध्ये करिब २८ प्रतिशत मृत्यु मुटु सम्बन्धी रोगका कारण हुने गरेको बताउनुभयो। उहाँका अनुसार धूम्रपान सुरु गर्ने औसत उमेर १७.७ वर्ष रहेको छ, जसले युवापुस्तामा बढ्दो जोखिमलाई संकेत गर्छ।
यस वर्षको विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको नारा “सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं, कुलतबाट टाढा बसौं, स्वस्थ जीवन रोजौं” रहेको जानकारी दिँदै उहाँले बजारमा उपलब्ध करिब १६ हजार प्रकारका स्वादयुक्त निकोटिन तथा धूम्रपानजन्य उत्पादनले विशेषगरी युवालाई आकर्षित गरिरहेको बताउनुभयो।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट विश्वभर हरेक वर्ष ८० लाख मानिसको मृत्यु हुने गरेको छ। तीमध्ये करिब १२ लाख व्यक्तिले आफैं धूम्रपान नगरे पनि अरूले गरेको धूम्रपानको धुवाँका कारण ज्यान गुमाउने गरेका छन्।
हालको अवस्था कायम रहे सन् २०३० सम्म सुर्तीजन्य पदार्थका कारण हुने वार्षिक मृत्यु संख्या एक करोड पुग्ने अनुमान गरिएको छ।
नेपालले सुर्तीजन्य पदार्थका प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक सन्देश लागू गरेपछि Bloomberg Philanthropies Award प्राप्त गरेको उल्लेख गर्दै हाल २०८२ भदौ १ गतेदेखि १०० प्रतिशत चेतावनीमूलक सन्देश लागू गरिएको छ।
घिमिरेले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐनअनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ती सेवन निषेध गरिएको सूचना टाँस्नुपर्ने व्यवस्था भए पनि कार्यान्वयन पक्ष अझै प्रभावकारी बन्न नसकेको बताउनुभयो।
मकवानपुर । विश्व वातावरण दिवस–२०८३ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज हेटौंडा उपमहानगरपालिका–१ स्थित पाथीभरा मन्दिर जाने बाटो क्षेत्रमा विरुवा रोपिएको छ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न जातका १०० भन्दा बढी फूलको विरुवाहरू रोपिएको हो।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको उपस्थितिमा हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहाल, हेटौंडा उपमहानगरपालिका वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी, वातावरण इन्जिनियर चन्दा खड्का, वातावरण शाखा प्रमुख हिमप्रसाद पौडेल, टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुब अधिकारी, उपमहासचिव एवं कार्यक्रम संयोजक देवकुमार श्रेष्ठ, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–११ का अध्यक्ष यज्ञ बहादुर आचार्यलगायत जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा नगर प्रमुख मिना कुमारी लामाले वृक्षारोपण केवल विरुवा रोप्ने कार्य मात्र नभई भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्ने महत्वपूर्ण अभियान भएको बताइन्। उनले वातावरण संरक्षणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै रोपिएका विरुवाको संरक्षणमा स्थानीय समुदाय, मन्दिर व्यवस्थापन समिति तथा टोल विकास संस्थाहरूले विशेष जिम्मेवारी लिनुपर्ने बताइन्।
नगरलाई हराभरा, स्वच्छ र वातावरणमैत्री बनाउने अभियानमा उपमहानगरपालिका निरन्तर लागिरहेको उनको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष एवम् टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले विश्व वातावरण दिवसलाई केवल औपचारिकतामा सीमित नगरी व्यवहारिक रूपमा वातावरण संरक्षणका गतिविधिहरू सञ्चालन गरिएको बताए। उनले गत वर्ष विश्व वातावरण दिवस तथा अन्य अवसरहरूमा यस क्षेत्रमा रोपिएका बिरुवाहरू स्थानीय समुदायको संरक्षण र अपनत्वका कारण राम्रो अवस्थामा रहेको उल्लेख गर्दै यस वर्ष थप क्षेत्रमा वृक्षारोपण गरिएको जानकारी दिए।
वातावरण संरक्षण सरकार वा कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै उनले रोपिएका विरुवाहरूको दीर्घकालीन संरक्षणका लागि स्थानीय बासिन्दा, मन्दिर व्यवस्थापन समिति तथा टोल विकास संस्थाहरूले प्रतिबद्धता व्यक्त गरेको बताए।
कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ नगर निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएका विविध गतिविधिहरूले वातावरणीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
वृक्षारोपण कार्यक्रमले पाथीभरा मन्दिर क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न र हरियाली विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।