मकवानपुर । वर्षाका कारण पहिरो जाँदा हेटौंडा-काठमाडौंको वैकल्पिक मार्ग सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको छ ।
शुक्रबार रातिबाट परेको वर्षाको कारण सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ । ठुलो पहिरो गएकोले तत्काल पहिरो पन्छाएर बाटो खुलाउन सकिने सम्भावना नरहेको बताइएको छ ।
बाटो सुचारु गर्न सडक डिभिजन र गाउँपालिकासँग समन्वय भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले सिस्नेरी हुदै काठमाडौँ जाने बाटो अवरुद्ध भएकाले अन्य बाटो प्रयोग गर्न भनेको छ।
मकवानपुर । तालीम लिने तर व्यवहारमा नल्याउने परिपाटीको अन्त्य गर्ने उपप्रमुख राजेश बानियाँले आग्रह गरेका छन् । तालिममा सहभागी हुने तर, व्यवसाय नगर्ने, नगरपालिकाको लगानी मात्रै खेर जाने भएकाेले नगरपालिकाले यस्ताे लगानी नगर्ने उनले बताए ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र हेटौंडा उपमहानगरपालिका रोजगार शाखाको सहयोगमा हेडम्वा डेपलपमेन्ट एडभाइजरद्वारा संचालित काठको ठेकी बनाउने ३० दिने तालिममा उनले यस्तो बताएका हुन् ।
महिलालाई उद्यम बनाउन, बजार र अर्थसंग जोड्नको लागि दिइएको तालिमलाई ‘टाइमपास’को रुपमा नलिन उपप्रमुख बानियाँले आग्रह गरे ।
‘तालिमलाई व्यवहारमा उतार्न, व्यवसायिक बनाउन अनुदान समेत दिंदा पनि गरिबी घटेन भने के काम’ उनले भने । तालिम लिएकाहरुले आपसमा समूह बनाएर बजारलाई उत्कृष्ट बनाउन उनले आग्रह गरे । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख कार्यकारी अधिकृत सुर्यप्रसाद गौतमले सानो वा ठूलो जस्तो व्यवसाय भए पनि लगाव निरन्तर हुनुपर्ने बताए ।
कार्यक्रममा हेउमनपा सामाजिक विकास महाशाखाका भिम तिमल्सिना, ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, सदस्य रामबहादुर राई, टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुब अधिकारी, रोजगार शाखा संयोजक बिजन श्रेष्ठलगायतको सहभागीता रहेको हेडम्वा डेपलपमेन्ट एडभाइजरका अध्यक्ष अनन्त बानियाँले बताए ।
२० जनाको सहभागीता रहेको तालिममा मकवानपुर थाहानगरपालिका वडा ७ का राम बहादुर सुनारले प्रशिक्षण दिएका थिए ।

मकवानपुर । मकवानपुरको मनहरीमा लडेर एक जनाकाे मृत्यु भएको छ। मनहरी ६ सुनाचुरीमा एक जना पुरुष लडि घाईते भएकाेमा उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।
बिहीबार मनहरी ६ सुनाचुरीमा बाराको कोल्हवी ८ मधुवन घर भइ चितवन खैरेनी ९ सिमलटाँडीमा लेबर काम गर्दै आएका अन्दाजी ३०/३२ वर्षीय पुजन राम लडि घाइते भएका थिए । उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएकोमा उपचारकाे क्रममा मृत्यु गएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
पुजन लडेको अवस्थामा राजेश रामले फेला पारी सुनाचुरी प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल लगिएकाे थियाे । प्रहरीका अनुसार घाइतेको दाहिने आँखी भौँ माथि भित्री चोट रहेको थियाे ।
मकवानपुर । मकवानपुरको भिमफेदीमा जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् ।
मकवानपुर प्रहरीका अनुसार बिरामी हुनेमा भिमफेदी गाउँपालिका–६ उर्लाघारी बस्ने ६५ वर्षीया मगंली माया स्याङतान, ३२ वर्षीया बुद्धि बहादुर स्याङतान, ३० वर्षीया पासाङ माया स्याङतान, ७ वर्षीय लासाङ स्याङतान, १९ वर्षीय लक्ष्मी माया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र ७ वर्षीया आरती स्याङतान रहेका छन् ।
मगंली र लक्ष्मीको हेटौंडा अस्पताल र बाँकी ५ जनाको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लासाङको अबस्था गम्भीर रहेका छ ।
हालसम्म मकवानपुरमा जंगली च्याउ खादा हालसम्म ३ जनाको मृत्यु भएइसकेको छ । प्रहरीका अनुसार मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दुगुवाङ बस्ने ५५ वर्षीय बल बहादुर प्रजा, कैलाश ९ नामटार बस्ने २५ वर्षीय निरुमाया रुम्बा, नामटारकै बिनोद लामाको छोरा ४ वर्षीय दिपेशको जंगली च्याउ खादा मृत्यु भएको हो ।
असार ३ गतेदेखि असार २० गतेसम्म मकवानपुरको भिन्नाभिन्नै स्थानमा जंगली च्याउ खाँदा ३७ जना रहेको बिमारी भएका छन् । जस मध्ये ८ जना हालसम्म उपचाररत रहेको तथा २६ जना डिश्चार्ज भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । राष्ट्रिय सुचना आयोगको आयोजना तथा जिल्ला बार एशोसियसन मकवानपुरको संयोजनमा सुचना हाम्रो अधिकार सुशासन विकासको आधार भन्ने मुल नाराका साथ सुचनाको हकमा महिला सशक्तिकरण विषयक अन्तरक्रिया कार्यक्रम हेटाैंडामा भएको छ ।
कार्यक्रममा सुचना आयुक्त कमला ओली थापाले सूचनाकाे पहुँचले महिला शसक्तिकरण बढाउने बताइन् । आवश्कता पर्दा माग गरेकाे सूचना सम्बन्धित निकायले नदिएमा अदालति प्रकृयामा अघि बढ्न सकिने प्रावधानबारे उनले स्पष्ट पारेकी थिइन् । कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रि कुमारी मोक्तानले सूचना अधिकार ताेकेर सार्वजनिक निकायहरुले सूचना दिने व्यवस्थालाई अझै बलियाे बनाउनु पर्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय सुचना आयोगका सचिव हेमप्रसाद लुइटेलले सूचनाकाे हकबारे नेपालमा भएका कानूनी व्यवस्थाबारे प्रस्तुति गरेका थिए । जिल्ला बार एशोसियशनका जिल्ला अध्यक्ष अप्सरा बस्नेत, मानव अधिकारकर्मि शर्मिला श्रेष्ठ, उद्याेग वाणिज्य संघ महिला विभाग सभापति अंकिता सुमार्गि, माइती नेपाल संयोजक माया लामालगायतको उपस्थिति रहेको थियाे ।
कार्यक्रममा सर्वसाधारणले पनि पाउनु पर्ने हो तर प्राप्त गर्न कठिनाइ भएकाे, जनप्रतिनिधिलाई समेत कानुन बुझ्न गाह्राे भएकाे, कानुनको कार्यान्वयन सहज नभएकाे, सरकार गठनका क्रममा ३३ प्रतिशत महिला नपुगेको जस्ता सवालमा प्रश्न उठाइएकाे थियाे ।