मकवानपुर । बिहीबारबाट नेपाली महिलाहरुकाे महान पर्व हरितालिका तीज पर्व सुरु भएकाे छ । तीज आज हिन्दु महिलाहरुले दर खाएर मनाउँदैछन् । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ ।
विभिन्न मीठा परिकारका साथ दर खाइँदैछ । दर खाने दिनकाे भाेली पल्ट बस्ने तीजकाे व्रतका दुःख भुलाउन दिदी बहिनीलाई दर खुवाउने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ ।
दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन रहेको छ । हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ । पहिला पहिला तीजकाे अवसरमा दर खाने दिनमा मात्रै दर खाने परम्परा रहेकोमा आजभोलि एक महिना अघिदेखि नै दर खाने गरेकाे पाइन्छ ।
आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुनेछ ।
आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । तीजमा विवाहित महिलाहरू आफ्नो श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहित महिलाहरु सुयोग्य वरको आशा राखी व्रत बस्छन् । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइने गरेको पाइन्छ ।
पछिल्लो समय दर खाने परम्परागत शैलीमा परिवर्तन आउन थालेको छ । तीजको अघिल्लो दिन खाइने दर अहिले काम गर्ने ठाउँ, साथी, नातागोता वा सङ्घसंस्था सबै ठाउँमा सम्मानपूर्वक दर खुवाइने गरिएको छ । दर तीजको व्रत बस्ने पहिलो दिन खाने भएपछि पछिल्लो समय महिना दिन अघि देखि नै खान थालिएको देखिन्छ ।
दर खाँदा बढी चिल्लो, पिरो र मसलायुक्त खाना खानु हुँदैन । अघिल्लो दिन मसलायुक्त र चिल्लो खाने तर भोलिपल्ट केही नखाँदा पेटको समस्या देखिनुका साथै शरीरमा ग्लुकोजको मात्रा कम भएर बिरामी हुने खतरा रहन्छ । दर व्रतको एक दिनअघि खाइने भएकाले त्यो खानेकुरा भोलिपल्ट व्रत बस्न सजिलो हुने खालको हुनुपर्छ । पाचन प्रक्रियामा असर नगर्ने हुनुपर्छ । त्यसैले दरमा क्यालोरी, चिल्लो र मसला कम भएको खानेकुरा समावेश गर्नुपर्छ । साथै फाइबर र प्रोटिनयुक्त खानेकुरा जस्तो तरकारी, फलफूल, सम्पूर्ण अन्न हुनुपर्छ ।
पछिल्लो समय महिलामा मधुमेह, उच्च रक्तचाप, थाइराइड लगायत समस्या पनि देखिएकाले तीजको दरका नाममा जथाभाबी रूपमा अत्यधिक खानेकुरा खानु हुँदैन । दर खानु भन्दा पहिला आफ्नो स्वास्थ्य अवस्थाबारे सचेत हुनुपर्छ । यस्तै बढी क्यालोरी खाएको खानेकुरा खाँदा वजन बढ्ने समस्या हुन्छ । पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने भएकाले यसबाट बनेका खानेकुरा सन्तुलित रूपमा खानुपर्छ । यसका साथै फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ । मधुमेह, रक्तचाप, ग्यास्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ ।
दरको नाममा मादक पदार्थ सेवन गर्नु स्वास्थ्यको लागि हानिकारक हो । दर कार्यक्रममा मदिराजस्ता हानिकारक कुरा प्रयोगलाई निरुत्साहित गरिनुपर्छ । यस्तै मौसम वर्षातको भएकाले यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ । बासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दरका लागि बनाइएको खानेकुरा नसिद्धिएर पछिका लागि राखेर खाँदा स्वास्थ्य समस्या हुन सक्ने भएकोले ताजा र स्वच्छ खानेकुरा मात्र खानुपर्छ । रमझम गरी रमाइलो गर्ने तीजमा बिरामी परेर हुने बिजोगबाट बच्न खानेकुराको स्वच्छतामा ध्यान दिनैपर्छ ।
नियमित औषधी प्रयोग गर्ने महिलाको लागि तीजको निराहार व्रत उपयुक्त हुँदैन । पानी पनि नखाई व्रत बस्दा उनीहरूको ज्यान पनि जान सक्छ । यदि व्रत बस्नै पर्ने अवस्था भए पानी तथा फलफूल धेरै खानुपर्छ र औषधी त छुटाउनै हुँदैन । शरीर कमजोर हुनेहरूले व्रत बस्दा शरीर झन् कमजोर हुनसक्छ । त्यसैले बिरामी भएका महिलाहरूले व्रत नबस्दा ठिक हुन्छ । यस्तै गर्भवती, मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वास तथा फोक्सोको समस्या भएका वा अन्य कुनै दीर्घरोग लागेका महिलाले व्रत बस्नु हुँदैन ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा जागरुक महिला सम्मानबाट खेलकर्मी र डकर्मी महिला सम्मानित भएका छन् । हेटौंडाबाट संचालन हुँदै आएकाे सामुदायिक रेडियो, रेडियो मकवानपुरले बुधबार हेटौंडा ५ की खेलकर्मी सरेशा ढुङ्गाना र हेटौंडा १९ बस्तीपुरकी डकर्मी गौरिमाया सिन्तानलाई सामुदायिक सम्मानले सम्मानित गरिएकाे हाे ।
रेडियोले आयोजना गरेको जागरुक महिला सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा ढुङ्गाना र सिन्तानलाई जनही १०/१० हजारसहित सम्मानित गरिएकाे हो । ढुङ्गाना तीन दशकदेखि तेक्वान्दो खेलसँग आबद्ध रहेकी छिन् भने सिन्तान १२ वर्षदेखि डकर्मी पेशामा रहेकी छिन् । ढुङ्गाना मकवानपुरबाट तेक्वान्दो खेलको पहिलो महिला मेडलिष्ट हुन् । सिन्तान भने आर्थिक अवस्था कमजोर भएपछि घर बनाउने काममा लागेर महिला मिस्त्रीका रुपमा परिचित रहेकी छिन् ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ र रेडियोका अध्यक्ष आनन्दराम पराजुलीले नगद, प्रमाणपत्र र दोसल्ला प्रदान गरेका हुन् । कार्यक्रममा कलाकारहरुले प्रत्यक्ष दोहोरी प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने १० जना सहभागीहरुलाई रेडियोले पुरस्कृत समेत गरेको छ ।
विगत १४ वर्षदेखि प्रत्येक वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्ने महिलाहरुलाई सम्मानित गर्दै आइरहेको रेडियोले हालसम्म २८ जनालाई सम्मानित गरिसकेको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए । कार्यक्रममा रेडियोका सन्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले समाजमा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरुकाे कामको सम्मान गर्दै उनीहरुको हौसला बढाउनु सामुदायिक सञ्चारमाध्यमको जिम्मेवारी भएको बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, कांग्रेस मकवानपुरका उपसभापति आनन्द कठायत, हेटौंडा ११ नम्बर वडा सदस्य जुना दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष ध्रुव अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाट, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, दिव्यतारा बहुउद्देश्यीय सहकारीका अध्यक्ष डा.गणेश बल लामा लगायतले संस्कृतिको जगेर्ना गर्दै तीजलाई सभ्य तरिकाले मनाउनुपर्ने धारणा व्यक्त गरे ।
काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक संघीय संसदबाट पारित भएकाेमा १८ वर्ष अघिदेखि अवरुद्ध नेपालको सङ्क्रमणकालीन न्यायमा आशा पलाएको जनाइएकाे छ ।
१९ भदौ मा विज्ञप्ति प्रकाशन गरी उक्त विधेयक ३० साउन २०८१ मा प्रतिनिधि सभा र ६ भदौ २०८१ मा राष्ट्रिय सभाबाट पारित १३ भदौमा राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै १८ वर्ष अघिदेखि अवरुद्ध नेपालको सङ्क्रमणकालीन न्यायको विषयमा आशा पलाएको इन्सेकले जनाइएकाे छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा विगत १८ वर्षदेखि सत्तासीन र प्रतिपक्षको गृहकार्यको अभावमा अलमली रहेकाे सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित भएसँगै सङ्क्रमणकालीन न्याय सफल कार्यान्वयका लागि निरन्तर निगरानी आवश्यक भएको उल्लेख छ ।
न्यायिक प्रकृयाको लामो चरण पार गर्न अझै केही महत्वपूर्ण कार्य सम्पादन गर्न बाँकी रहेको भन्दै विज्ञप्तिमा विधेयक राजनीतिक दलहरूबिच सर्वस्वीकार्य बनाउन भएको समझदारीको पीडक व्यक्ति वा समूहले प्रकृयाको फाइदा नलिओस् भन्नका लागि सरोकार र निगरानीको निरन्तरताको खाँचो औँल्याइएको हो । विज्ञप्तिमा आयोगको गठन वा आयुक्तहरूको चयन, कार्यविधि र सरकारबाट अपेक्षित आर्थिक–प्रशासनिक सहयोगजस्ता विषयहरूमा अबका दिनमा हामी सूक्ष्म तरिकाले अध्ययन र सराेकार रहिरहने जनाइएको छ ।
साथै विज्ञप्तिमा सङ्क्रमणकालीन न्याय निरूपणका सन्दर्भमा सत्य निरूपण आयोगमा रहेका ६३ हजार र बेपत्ता आयोगमा रहेका ३ हजार उजुरीको निरूपण गर्न सर्वस्वीकार्य मानव अधिकार, राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय कानुनका विज्ञ व्यक्तिहरू आवश्यक हुनेहुँदा पदाधिकारीको छनौट द्वन्द्वकालको कहाली र पीडा बारेमा चिन्तन गरेका व्यक्तित्वको प्रतिनिधित्व आवश्यक रहेकाे उल्लेख छ ।
विज्ञप्तिमा विगतमा आयोगका पदाधिकारीहरू राजनीतिक दलका निकटताका आधारमा मात्र सिफारिस गरिएकाे, विषयका बारेमा कम जानकार भएका तथा पदीय जिम्मेवारी बहन गर्न नसक्दा आजसम्म सङ्क्रमणकालीन न्याय प्रकृया लम्बिने एउटा उल्लेखनीय कारण आयोगका सदस्य चयनमा देखिएको समस्यालाई समेत औँल्याइएको छ ।
बेपत्ता पारिएका व्यक्तिका परिवारजनले बेपत्ता पारिएका व्यक्तिको अवस्थाबारे जान्न पाउने अधिकार र हत्या गरिएका व्यक्तिका परिवार वा अङ्गभङ्ग भएका, यौनहिंसामा परेका, विस्थापित बनाइएका मानिसहरूले ‘आफूमाथि किन अपराध भयो’ ? भन्ने जानकारी पाउने अधिकार पनि पीडितलाई भएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
मकवानपुर । हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेकोले उक्त क्षेत्रमा वर्षा भइरहेकाे जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाे अनुसार देशमा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकोले ५ प्रदेशकाे केही स्थानमा वर्षाकाे संभावना समेत रहेकाे छ ।
बुधबार दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा भएकाे ४ खेलबाट एफसी इन्टरनेट, न्यू डाँफे युवा क्लब, सक्षम युवा क्लब, रियल स्टार क्लब विजयी भएका छन् । हेटौंडा–११ स्थित सिमलटार खेल मैदानमा दुई र हेटौंडा–६ स्थित गौरीटार रंगशालामा दुई गरी मंगलबार प्रतियोगिताको ४ खेल भएको हो ।
सिमलटारमा भएकाे पहिलो खेलमा एफसी इन्टरनेटले विजय युथ क्लबलाई १–० गोलले हरायाे । विजय युथका अर्जुन गोलेले गरेकाे आत्माघाति गोल नै इन्टरनेटकाे जीतकाे कारण बन्याे । खेलको म्यान अफ द म्याच इन्टरनेटका मिक्सन लामा घोषित भए । यस्तै सिमलटारमै भएको दोस्रो खेलमा हेटौंडा फुटबल एकेडेमीलाई ३–० गोलको हराउँदै साविक विजेता न्यू डाँफे युवा क्लब विजयी बन्यो । यसअघि उद्घाटन खेलमा डाँफे क्लबले महाबीर क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको थियाे । खेलको म्यान अफ द म्याच किशन थापा मगर घोषित भएका छन् ।
यता, गौरीटार रंगशालामा भएको पहिलो खेलमा सक्षम युवा क्लबले आरआर वाईसीलाई २–० गोलले पराजीत गर्यो । खेलको म्यान अफ द म्याच उत्तम श्रेष्ठ घोषित भएका छन् । दोस्रो खेलमा महाबीर क्लबलाई ६–० गोलले हराउँदै रियल स्टार क्लब विजयी भएको छ । म्यान अफ द म्याच अनिल मोक्तान घोषित भएका छन् ।
१४ भदौबाट सुरु लिगको प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । लिग विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् । जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी जिल्ला लिग सुरु गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन गरिएकाे हाे ।
प्रत्येक समूहको पहिलो, दोस्रो र तेस्रो हुने क्लव ए, चौथो र पाँचौ हुने क्लव वी, तथा छैठौं र सातौं हुने क्लव सी श्रेणीमा रहने जिल्ला फुटबल संघले जनाएकाे छ । यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्र्पोटर्स एकेडेमी उपविजेता बनेको थियो। कोरोना संक्रमणको कारण २०७६ सालपछि जिल्ला लिग हुन सकेको थिएन ।