मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा भएकाे ४ खेलबाट एफसी इन्टरनेट, न्यू डाँफे युवा क्लब, सक्षम युवा क्लब, रियल स्टार क्लब विजयी भएका छन् । हेटौंडा–११ स्थित सिमलटार खेल मैदानमा दुई र हेटौंडा–६ स्थित गौरीटार रंगशालामा दुई गरी मंगलबार प्रतियोगिताको ४ खेल भएको हो ।
सिमलटारमा भएकाे पहिलो खेलमा एफसी इन्टरनेटले विजय युथ क्लबलाई १–० गोलले हरायाे । विजय युथका अर्जुन गोलेले गरेकाे आत्माघाति गोल नै इन्टरनेटकाे जीतकाे कारण बन्याे । खेलको म्यान अफ द म्याच इन्टरनेटका मिक्सन लामा घोषित भए । यस्तै सिमलटारमै भएको दोस्रो खेलमा हेटौंडा फुटबल एकेडेमीलाई ३–० गोलको हराउँदै साविक विजेता न्यू डाँफे युवा क्लब विजयी बन्यो । यसअघि उद्घाटन खेलमा डाँफे क्लबले महाबीर क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको थियाे । खेलको म्यान अफ द म्याच किशन थापा मगर घोषित भएका छन् ।
यता, गौरीटार रंगशालामा भएको पहिलो खेलमा सक्षम युवा क्लबले आरआर वाईसीलाई २–० गोलले पराजीत गर्यो । खेलको म्यान अफ द म्याच उत्तम श्रेष्ठ घोषित भएका छन् । दोस्रो खेलमा महाबीर क्लबलाई ६–० गोलले हराउँदै रियल स्टार क्लब विजयी भएको छ । म्यान अफ द म्याच अनिल मोक्तान घोषित भएका छन् ।
१४ भदौबाट सुरु लिगको प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । लिग विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् । जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी जिल्ला लिग सुरु गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन गरिएकाे हाे ।
प्रत्येक समूहको पहिलो, दोस्रो र तेस्रो हुने क्लव ए, चौथो र पाँचौ हुने क्लव वी, तथा छैठौं र सातौं हुने क्लव सी श्रेणीमा रहने जिल्ला फुटबल संघले जनाएकाे छ । यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्र्पोटर्स एकेडेमी उपविजेता बनेको थियो। कोरोना संक्रमणको कारण २०७६ सालपछि जिल्ला लिग हुन सकेको थिएन ।

