मकवानपुर । मकवानपुरमा बसोबास गर्ने गुरुङ समुदायले तमु ल्होछार मनाएका छन् । सोमवार हेटौंडा ११ स्थित सहिद स्मारकमा शुभकामना आदान–प्रदानसँगै नाचगान गरेर तमु अर्थात् गुरुङ समुदायको नयाँ वर्ष ल्होछार मनाएका हुन् ।
तमु ह्युल छोंज धि (गुरुङ राष्ट्रिय परिषद्) मकवानपुरले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले तमु ल्होछारसहित जनजातिको विशेष पर्वहरुको संरक्षण र प्रवर्द्धनका लागि तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्ने बताए । हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडाध्यक्ष ढलक बहादुर थापाले सस्कृती जोगाउन यस्ता पर्वहरुले महत्व दिने बताए । उनले भने ‘आफ्नो भाषा, संस्कृतिसँगै ल्होछार जस्ता पर्वको मौलिकता जोगाउन आदिवासी जनजाति गम्भीर हुनुपर्ने बेला भएको छ ।’
त्यसैगरी, गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य जंगबहादुर गुरुङले गणतान्त्रिक नेपालमा ल्होछारमा सार्वजनिक बिदा दिनु सकारात्मक भएपनि मौलिक संस्कृति संरक्षण गर्न सरकारले बजेट विनियोजन गरी योजना बनाउनु पर्ने बताए । मकवानपुर जिल्लामा बजेट बिनियोजन गर्ने क्रममा आदिवासी जनजातिलाई अन्याय भएकाे समेत उनको भनाइ थियो । उनले मकवानपुर जिल्लामा गुरुङ समुदाय सातौं स्थानमा रहेका बताए । ‘मकवानपुरमा मात्रै १५ सय १८ जना गुरुङ समुदायको बसोबास रहेको छ’ उनले भने । गुरुङले आफ्नो सस्कृती जोगाउन सबै गुरुङ समुदाय एकजुट भएर लाग्न पनि आग्रह गरे ।
‘बागमती प्रदेश सरकारले तामाङ भाषा र नेवार भाषालाई सरकारी कामकाजी भाषाको रुपमा ल्याइएको छ । त्यसैगरि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजीकि रुपमा अघि सारेको छ ,’ उनले भने, ‘यसैगरि सरकारले आदिवासी जनजातीको हितमा काम गर्दा सस्कृतीको जगेर्ना हुने देखिन्छ ।’
कार्यक्रममा गुरुङ समुदायबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएकाे छ । सम्मानित हुनेमा नेपाल पत्रकार महासघ मकवानपुरका नव निर्वाचित कार्यसमिति सदस्य निशा गुरुङसहित ६ जना रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय मकवानपुरमा कार्यरत शाखा अधिकृत संगिता गुरूङ, त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र विषयको दर्शनाचार्य परीक्षामा सर्वोत्तम श्रेणीमा उतिर्ण मकवानपुर तमु समुदायबाट पहिलो व्यक्ती मनिराज गुरूङ, `फिजियोथेरापी करियर पथ´ का लेखिका रती कुमारी गुरुङ, मेडिकल ब्यवसायी राजु गुरुङ , भु तथा जलाधार व्यस्थापन कार्यालय मकवानपुरका कार्यालय प्रमुख सृजना गुरुङलाई कार्यक्रममा सम्मानित गरिएकाे थियाे ।
यस्तै कार्यक्रममा स्वर्गीय माधव गुरुङको नाममा स्थापित माधव गुरुङ अक्षयकोष-२०७५ बाट प्रदान गरिने छात्रवृत्तिमा मनहरी गाउँपालिका-८ की करिष्मा गुरुङ, थाहानगरपालिका-५ का सुदीप गुरुङ, थाहानगरपालिका-५ कै प्रेरणा गुरुङ, कैलाश गाउँपालिका-१ की विनुता गुरुङ र कैलाश-१ कै विना गुरुङलाई नगद ८ हजार ५ सय सहित छात्रवृत्ति प्रदान गरिएको थियो ।
गुरुङ राष्ट्रिय परिषद् मकवानपुरका अध्यक्ष केशर बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवापुरका अध्यक्ष कालु घलान, किरात राई यायोक्ख्या मकवानपुरका अध्यक्ष केबी राई, नेपाल मगर संघ मकवानपुर अध्यक्ष सन्देश मगर, थारू कल्याणकारिणी सभा मकवानपुरका अध्यक्ष संचता नन्द थारू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गुरुङ पहिरनमा सजिएका गुरुङ युवायुवती,बालबालिकाहरुले गुरुङ साँस्कृतिक नाँच-गाँन प्रस्तुत गरेका थिए । मकवानपुरमा २०५५ सालबाट गुरुङ समुदायले सामुहिक रुपमा तमू ल्होछार मनाउँदै आएका छ्न ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले तुम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
प्रदेश प्रमुख देवकोटाले आज (सोमबार) शुभकामना सन्देश प्रकाशन गर्नुहुदैं नेपालको खासगरी पहाडी र उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने तमु अर्थात् गुरुङ समुदायको नयाँ बर्षको रूपमा मनाइने ल्होसार पर्वको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नु भएको हो । ‘बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्दछु’ उहाँले सन्देशमा भन्नुभएको छ ।
तमु ल्होसार पर्व संस्कृति रक्षक गुरुङ समुदायले बडो उत्साहका साथ मनाउँदछन् । परम्परागत भेषभुषाले सजिएर, इष्टमित्रसँग भेटघाट, खानपिन, नाचगान र शुभकामना आदानप्रदान गरेर गुरुङ समुदायले नयाँ सम्वत शुभारम्भको उत्सव मनाउँने गर्दछन् । ‘चाडपर्वहरू हाम्रा अमूल्य गहना हुन्, हाम्रो देश नेपाल बहुजातीय, बहुधार्मिक, बहुसंस्कृतिक विशेषताले भरिएको विविधतामा एकताको अनुपम नमुना भएको सुन्दर मुलुक हो’ सन्देशमा भनिएको छ ।
‘नेपाल आफैमा एक विश्व हो, हामीले आफ्नो मौलिक पहिचानको संरक्षण र सम्बर्द्धनमा यथाशक्य जोड दिनुपर्दछ’ उहाँले भन्नुभएको छ ।
सभ्य, सुसंस्कृत र सहिष्णु समाज निर्माणमा मैलिक परम्पराले थप टेवा दिने उहाँले बताउनु भएको छ । यी पक्षहरूलाई सुखी जीवनको मानकको रूपमा लिन सक्नु पर्ने उहाँले सन्देशमा भन्नु भएको छ ।
प्रदेश प्रमुख देवकोटाले इस्बी सम्बत् २०२५ को पूर्वसन्ध्यामा सन् २०२४ लाई मूल्यांकन गरेर कमीकमजोरी सच्याउँदै अग्रगमनको दिशामा लाग्न २०२५ ले प्रेरणा मिलोस भन्ने शुभकामना समेत दिनु भएको छ । जनवरी १ तारीखलाई टोपी दिवसको रूपमा पनि मनाउन थालिएको सन्दर्भमा पनि उहाँले शुभकामना दिन भएको छ । आफ्ना मौलिक संस्कृतिका रक्षार्थका सभ्य, अनुशासित र अर्थ पूर्ण क्रियाकलापहरूप्रती हामी सबैको गर्व र समर्थन हुनु आवश्यक रहेको उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ ।
मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ५ बसन्तपुरमा बाघको आक्रमणमा एक बृद्धाको ज्यान गएको छ ।
आइतबार सांझ घाँस काट्न बारीको छेउमा गएकी मनहरी गाउंपालिका ५ कि ७२ बर्षीया कान्छीमाया रुम्बालाई बाघले आक्रमण गरेको मनहरी गाउँ पालिका वडा ५ को अध्यक्ष दिपेन्द्र अधिकारीले बताए ।
घाँस काट्न गएकी कान्छीमायाँ लामो समयसम्म पनि नफर्केपछि खोज्न गएका युवाहरुले कान्छीमायाँको मोबाइल कपडा छरपस्ट भेटेपछी पछ्याउँदै जांदा बाघले उनको शब छाडेर भागेको थियो ।
‘बाघले कान्छीमायालाई बोकेर हिँडेको हुनुपर्छ’, ५ नं वडाध्यक्ष अधिकारीले भने–‘भीडभाड देखेपछि बाघले लास छाडेर भागेको अनुमान गरिएको छ ।शवको टाउको तथा तिघ्राका भागको मासु बाघले लुछेको अबस्थामा रहेको उनले बताए ।
घटना स्थल मनहरी गाउँपालिका वडा नं ५ को कार्यालयबाट १ सय मिटर पश्चिमतर्फ पर्दछ । पर्सा बन्यजन्तु आरक्षसंग सिमना जोडिएको मनहरी गाउँपालिकामा बन्यजन्तुले पटक पटक दुख दिनेगरेको छ । जंगली हात्ती, गैडा बाघले अन्नबाली नाश गर्ने , घरपालुवा जनावर (गाईभैसी,बाख्र,रांगाहरू) खाने, घरमा भण्डारण गरिएको अन्नबाली र घर भत्काउनेलगायत मानवीय क्षती समेत गर्ने गरेको छ ।
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ । आइतबार राक्सिराङ–५, चाक्ले बगरमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा शान्तबहादुर गोम्बाको मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
बोलेराे दुर्घटनामा कैलाश गाउँपालिका–३ का ५६ वर्षीय गोम्बा गम्भीर घाइते भएकाे उपचारको क्रममा मनहरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१–००१ च २९४६ नम्बरको बोलेरो ब्रेक फेल भएर दुर्घटना भएकाे थियाे । गोम्बा बाेलेरो धनी रहेकाे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ । बोलेरोमा ८ जना सवार रहेकाेमा अन्य ७ जना घाइते भएकाे तथा अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ । दुर्घटना पश्चात सम्पर्कमा नरहेका बलेरो चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४, भोलनटोल बस्ने बिमला डिम्डुङको श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको छ ।
मनहरी गाउँपालिका–२, टाँडी घर भई हाल मामाघर बस्दै आएकी १८ वर्षीय बिमलालाई श्वासप्रश्वासमा समस्या भएपछि शनिबार हेटौंडा अस्पताल लगिएकाे थियो । स्थानीय गंगाराम मोक्तानको घरमा बस्दै आएकी उनलाई थप उपचारको लागि सिएमसी चुरेहिल अस्पताल लगिएकाे थियो ।
चुरेहिल अस्पतालमा उपचारको क्रममा शनिबार नै बिमलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बिमलाका बुबा कारागारमा रहेको र आमा बैदेशिक रोजगारीको सिलसिलामा जोर्डन रहेको प्रहरीले जनाएकाे छ । मृतककाे शव सोही अस्पतालमा रहेकाे छ ।